Nepal Face
  • बुधबार, ७ असोज २०८३
  • रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेप, धेरै पटक रक्तदान गर्ने कर्माचार्यलाई कोषाध्यक्षबाट हटाइयो


    सोमबार, असोज ५ २०८३
    2.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ । र, कविन्द्र कार्कीलाई कोषाध्यक्षमा मनोनीत गरिएको छ । कीर्तिपुरका कविन्द्र कार्की रास्वपाका स्थानीय नेता हुन् । सर्वाधिक रक्तदान गर्ने कर्माचार्यले रेडक्रसमा अनियमितताको बिरोध गर्दैआएका छन् ।

    अध्यक्ष बिशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनालले रेडक्रसबाट हटाइएका उपनिर्देशक दीपक घिमिरेलाई ४० लाखभन्दा बढी सेवा सुविधा दिने निर्णयदेखि कतिपय बिषयमा असहमति राख्दैआएका थिए ।

    रकम धेरै भएको र यो भुक्तानी दिंदा भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न सक्छ, दिनुहुँदैन भन्दैआएका कर्माचार्यलाई कोषाध्यक्षबाट हटाइएको छ ।
    कर्माचार्य रेडक्रस अभियानमा लामो समयदेखि जोडिएका र सर्वाधिक रक्तदान गर्ने रक्तदाता भएकाले उनलाई समाजकल्याण मन्त्रालयले कोषाध्यक्ष बनाउने निर्णयलाई सबैले उचित मानेका थिए । तर नियम कानुन बिपरीतको रकम भुक्तानी दिन नमिल्ने भनेपछि अध्यक्ष भण्डारी र महामन्त्री खनालले उनलाई हटाएको आरोप छ ।

    रेडक्रसमा करारमा जागिर खाएका घिमिरेको करार भंग गरेपछि उनले श्रम अदालतमा मुद्दा दायर गरेका थिए । श्रम अदालतबाट घिमिरेको पक्षमा आदेश आएपछि रेडक्रस सोसाइटीले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । तर बिशाल भण्डारी र खनालले सर्वोच्चको मुद्दा फिर्ता लिएर दीपक घिमिरेको सबै सुविधा दिने निर्णय गराउन खोजेका थिए । तर कर्माचार्यले असहमति राखेपछि उनैलाई पदबाट हटाइएको छ ।

    राजनीतिक हस्तक्षेपको बिरोध गर्दै एमाले, नेकपा समाजवादी हुँदै उज्यालो नेपाल पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका विशालकुमार भण्डारीलाई नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको अध्यक्ष बनाएको थियो । तर भण्डारी आएपछि रेडक्रसलाई एकपछि अर्को गरी राजनीतिक भर्तिकेन्द्र बनाएका छन् ।

    भक्तपुरमा निर्वाचित जिल्ला समिति भंग गरी रास्वपाका जिल्ला सदस्यलाई अध्यक्ष बनाएका भण्डारीले रेडक्रसलाई पार्टीको भर्तिकेन्द्र बनाउने क्रमलाई निरन्तरता दिएका छन् ।

    कर्माचार्य पनि गएको चुनावअघि सुशासन कायम गर्ने, सामाजिक संघसंस्थामा राजनीतिक हस्तक्षेप नगर्ने अपेक्षाका साथ रेडक्रसमा लागेका थिए । उनलाई रास्वपाले रेडक्रसको कोषाध्यक्ष बनाएकोमा रेडक्रसकर्मीले सही निर्णय मानेका थिए । तर राजनीतिकरणको बिरोध गर्दैआएको रास्वपाले रेडक्रसलाई रास्वपाको भर्तिकेन्द्र बनाएको, बिधिबिधानबिपरीत निर्णय गरेकोमा उनले त्यसको बिरुद्ध अडान राख्दैआएका थिए ।

    कर्माचार्य प्रख्यात सामाजिक कार्यकर्ता, अभियन्ता र नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन् । उनी नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर कीर्तिमान बनाएका व्यक्ति तथा रक्तदाताका रूपमा परिचित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार