सांसद हुँदा बोले, मन्त्री बनेपछि बिर्सिए ! प्रसंग हो स्वतन्त्र सांसद तथा नवप्रवर्तनमन्त्री महावीर पुनको । सरकारमा नजाँदा महावीरले सदनमा ट्याक्सीको कुरा उठाएका थिए ।
ट्याक्सीको विषय उठान गर्ने उनी सम्भवतः पहिलो सांसद हुन् । ट्याक्सीमा सिन्डिकेट भएको, नम्बर प्लेटको १५ लाखमा खरिदबिक्री भइरहेको, लामो समयदेखि ट्याक्सीको नयाँ दर्ता नखुलेको, आम सर्वसाधारणले दुःख पाइरहेको, काठमाडौं उपत्यकामा ९ हजार मात्र ट्याक्सी हुँदा अपुग भएको विषय उनले जोडसँग सदनमा उठाए ।
सो विषय उठाएपछि केही दिन उनको चर्चा पनि भयो । चर्चा हुनुको कारण थियो–जनताले भोगेको पीडा । ट्याक्सीको दादागिरी आम नागरिकले लामो समयदेखि भोग्दै आएका छन् । उपत्यकामा जम्मा ९ हजार ट्याक्सी हुँदा आपत परेको बेला सहजै ट्याक्सी पाइँदैन । ट्याक्सी चढ्नकै निम्ति जनताले धेरै दुःख भोग्दै आएका छन् । ट्याक्सी कम हुँदा भाडामा मनलाग्दी छ । सरकारले तोकेको भाडामा ट्याक्सी चालकले यात्रु बोक्दैनन् । उनीहरुकै आफ्नो मनलाग्दी भाडा छ ।
ट्याक्सीबाट स्वदेशीमात्र नभई विदेशी पनि ठगिरहेका छन् । नयाँ दर्ता नखुल्दा सित्तैंमा पाउने नम्बर प्लेट १७ लाखमा खरिदबिक्री भइरहेको छ । केही महिनाअघिसम्म १५ लाखमा खरिदबिक्री भइरहेकोमा दुई लाख बढिसकेको छ । जबकि, सरकारले नामसारीबापत जम्मा पाँच सय रुपैयाँ राजस्व पाउँछ । मुलुककै प्रमुख विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा २ सय ७ वटा ट्याक्सी छन् । ती ट्याक्सीमा मीटर जडान गरिएको छैन ।
ट्याक्सी चालकले एक किलोमिटरमै हजार रुपैयाँ माग्छन् । नयाँ दर्ता नखुल्दा ट्याक्सी चालकको दादागिरी चलेको छ । ‘चढे आफूले भन्या जति भाडा तिरेर चढ, नत्र झर’ भन्छन्, ट्याक्सी चालक । सरकार कुनै पनि क्षेत्रमा सिन्डिकेट लगाउन नपाउने भन्छ । सिन्डिकेट लगाउनेलाई कारबाही हुने कानुन छ । तर, ट्याक्सी व्यवसायीले सिन्डिकेट लगाइरहेकै छन् । यो कुरा त सांसद र मन्त्री पुन स्वयंलाई जानकारी छ । उनैले सदनमा कुरा उठाएका थिए । अहिले मन्त्री बनेपछि उनलाई बोल्न केले रोक्यो ? महावीर क्याबिनेटमा छन् ।
उनले सिधै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई जानकारी गराउन सक्छन् । प्रधानमन्त्री बालेन्द्र साहसँग भन्न सक्छन् । तर, भन्दैनन्, किन ? प्रश्न उठ्छ–के उनले चर्चा कमाउनका निम्ति मात्र सो कुरा उठाएका थिए ? सांसद हुँदा जनताले दुःख पाएको भन्ने अनि सरकारमा गएपछि आँखा चिम्लिदिने ? यसो गर्न नैतिकताले दिन्छ ? हुन त नेपालमा यो रोग अहिलेदेखि विगतदेखि नै देखिँदै आएको छ । सदनमा कुरा उठाउने, सरकारमा पुगेपछि बिर्सिने प्रवृत्ति पुरानै हो ।
नयाँ भनाउँदामा पनि सोही रोग देखिएको छ । पुराना र नयाँमा फरक छैन भन्ने कुरा चार महिनामै छर्लङ्ग भएको छ । सदनमा कुरा उठाउने तिनै महावीर अहिले सञ्चारकर्मीले प्रश्न सोध्दा चुप भन्दै हिँड्छन् । प्रतिक्रिया नदिइकन दौडिन्छन् । यस्तो पाराले कतिञ्जेल चल्छ ? देश बन्छ ? बेतिथि रहेको देख्दादेख्दै पनि नबोल्ने ? उनलाई जनताले आफ्ना समस्या उठाउन र सरकारको ध्यानाकर्षण गराउन सदनमा पुर्याएका हुन् । तर, पदमा पुगेपछि उनले पनि आफ्नो जिम्मेवारी बिर्सिए ।
फूलाई मन्त्री बनाउने प्रधानमन्त्री सामुन्ने पुनले आत्मसर्मपण गरेको देखिन्छ । नयाँ दर्ता खुल्दा यात्रुलाई मात्र नभई राज्य र देशलाई फाइदा हुन्थ्यो । नयाँ ट्याक्सीको दर्ता खुल्दा राज्यलाई राजस्व आउँथ्यो । देशमै गरिखान्छु भन्नेहरुले ट्याक्सी चलाएर घरपरिवार पाल्थे । यात्रुले सहजरुपमा ट्याक्सी पाउँथे । बजारमा खुला प्रतिस्पर्धा हुन्थ्यो । ट्याक्सी चालकको दादागिरीको अन्त्य हुन्थ्यो । भाडा पनि घट्थ्यो । ट्याक्सी व्यवसायीले स्क्र्याप गरेको नम्बर प्लेटको १७ लाख भाडामा जोडेर यात्रुबाट असुल्दै आएका छन् ।
जसका कारण यात्रु मर्कामा परेका छन् । नयाँ दर्ता खुल्नेबित्तिकै नम्बर प्लेट सित्तैमा आउँछ, यात्रुलाई राहत हुन्छ । नम्बर प्लेटको पैसा त यात्रुले तिर्नुपर्दैन । नयाँ दर्ता नखुल्दा निजी प्लेटका सवारी साधनले यात्रु बोक्न थालेका छन् । त्यसबाट राज्यलाई एक रुपैयाँ पनि कर आएको छैन । निजी प्लेटका सवारी साधनले यात्रुबाट मनलाग्दी भाडा उठाउने गरेका छन् । त्यहाँ पनि नियमन छैन । सार्वजनिक यातायातजस्तो आवश्यकीय क्षेत्रमा भएको सिन्डिकेट हटाउन नसक्ने, तोकिएको भाडादर कार्यान्वयनमा लैजान नसक्नेले अरु के गर्ला भन्ने अपेक्षा जनताले राख्ने ?
जनताको कुरा सोध्दा यहाँ प्रधानमन्त्री पनि लुकेर हिँड्छन्, मन्त्री पनि र सांसद पनि । कोही पनि जनताको विषयमा बोल्नै चाहँदैनन् । यदि जनताको कुरा नै नसुन्ने हो भने किन जनप्रतिनिधि बनेको ? २०६९ माघमा एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले पाँच हजार नयाँ ट्याक्सी दर्ता खोल्नका लागि यातायात मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।
त्यसैगरी, वर्षैपिच्छे नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्ने भनिएको थियो । कार्यालयले प्रस्ताव गरेको पनि १४ वर्ष बितिसक्यो । तर, अहिलेसम्म नयाँ दर्ता खुल्नसकेको छैन । कार्यालयले प्रस्ताव गर्ने बेला प्रधानमन्त्री डा बाबुराम भट्टराई र यातायातमन्त्री हृदयेश त्रिपाठी थिए । त्यसपछि कति प्रधानमन्त्री र मन्त्री फेरिए ? तर, कसैलै नयाँ दर्ता खोल्न चासो देखाएनन् । अरु सरकारलाई जानकारी भएन होला, तर अहिले त यो विषय सदनमै उठेको छ । तैपनि, हेलचेक्य्राइँ गरिएको छ । सरकारले यसका लागि बजेट छुट्याउनुपर्दैन । मन्त्री वा क्याबिनेटबाट नयाँ दर्ता खोल्ने भनी निर्णय गर्दा सकिहाल्यो ।
नयाँ ट्याक्सी खोल्दा फाइदैफाइदा छ । किनकि, नयाँ आउने ट्याक्सी सबै विद्युतीय हुन्छन् । अहिले थोत्रा ट्याक्सीले यात्रु बोकिरहेको छ । महँगो भाडा तिरेर यात्रुले राम्रो सेवासुविधा पाउन सकेका छैनन् । विदेशीको सामुन्ने नेपाल लज्जित बनिरहेको छ । यता, विद्युतीय ट्याक्सीको आयु ३० बर्ष छ । यसले प्रदूषण पनि कम हुन्छ । भाडा पनि कम हुन्छ । यात्रुले राम्रो सेवासुविधा पाउँछन् । तर, सरकार निर्णय गर्नै चाहँदैन । २०५७ सालअघि दुई लाखमा खरिद गरेको ट्याक्सीले करोडौं कमाइसक्यो ।
तैपनि, नम्बर प्लेट १७ लाख रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यात्रु ठगेर करोडौं कमाए, नम्बर प्लेट बेचेर लाखौं । काठमाडौं उपत्यकामै ट्याक्सी चढ्नका लागि घण्टौं कुर्नुपर्छ । ट्याक्सी नपाउँदा यात्रु निजी प्लेटका कार चढ्न बाध्य छन् । ट्याक्सीको परमिट उपत्यकाभित्र मात्र छ । बागमती प्रदेशको १३ जिल्लामध्ये पुतलीसडक र न्यूरोडमा ट्याक्सी देखिन्छ, अन्त देखिँदैन । उपत्यकाबाहेकका जिल्लामा पनि घना बस्ती छ ।
उपत्यका बाहिर पनि अस्पताल बनेको छ । त्यहाँको जनता ट्याक्सी चढ्न नपाउने ? यो जनतामाथि सरकारले गरेको विभेद होइन र ? सबै जिल्लामा जनताले आफ्नो जनप्रतिनिधि जिताएर पठाएर पठाएका छन् । तर, कोही जनतासँग जोडिएको विषय सदनमा उठाउँदैनन् । राज्यलाई राजश्व आउने, रोजगारी पाउने, जनताले सुःख पाउने विषय सांसद किन उठाउँदैनन् ? जनता ट्याक्सी चिन्दैनन् । निजी प्लेटको गाडीलाई ट्याक्सी भन्छन् । योभन्दा विडम्बनापूर्ण कुरा के होला ? यातायात तथा सवारी ऐन, २०४९ र नियमावली २०५४ ले निजी प्लेटले यात्रु बोकेर पैसा कमाउन नपाउने व्यवस्था गरेको छ ।
ट्याक्सी हुनका लागि अनिवार्य कालो प्लेट र मीटरजडित हुनुपर्छ । तर, न यो कुरा जनप्रतिनिधिलाई थाहा छ, न जनतालाई न सञ्चारकर्मीलाई । सरकारले फ्ल्याकडाउनबापत ५० र प्रतिकिलोमिटर भाडादर ५६ तोकेको छ । तर, निजी प्लेटले एक किलोमिटरमै हजार उठाउँछन् । यो ठगीधन्दा होइन ? यद्यपि, सरोकारवाला निकाय मौन बसेका छन् ।
–अनुशा थापा, भक्तपुर
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend