Nepal Face
  • शुक्रबार, १६ असोज २०८३
  • चोलेन्द्रशमशेर पक्राउको नालीबेली


    शुक्रबार, असोज १६ २०८३
    2.3K
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • सम्राट उपाध्याय

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी सरकारी पक्षले गरिरहेको छ ।

    २०६९–०७० तिर चुडामणि शर्मा काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा बिचौलियामार्फत् देवानी मुद्दामा ठेक्का लिई दबाब दिई मिलापत्र गराउने गरेका थिए । यदि कसैले चुडामणिले भनेको कुरा मानेन भने निजको सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सुरक्षित राख्नू भनी प्रहरी कार्यालयलाई जिम्मा लगाउने गरेका थिए । उदाहरणका लागि कोटेश्वेरमा रहेको पुष्पान्जली पेट्रोल पम्प(हाल बन्द) को विवादको प्रत्यक्षदर्शी यो पंक्तिकार पनि हो ।

    चोलेन्द्रशमशेर जबराले सरकारको आदेश मान्नुपर्ने कुनै कानुनी अवस्था छैन । किनभने उनी सेवानिवृत्त पूर्वप्रधानन्यायाधीश हुन् । सेवानिबृत्त कर्मचारीले नागरिकका रुपमा राज्यले प्रदान गरेका हकअधिकार प्रयोग गर्न पाउँछन् । नेपालका अदालतका न्यायाधीशले कसैले भनेको मात्र भरमा आफ्ना राय तयार गर्दैनन् । त्यसो भए चोलेन्द्रशमशेर जबरालाई किन पक्राउ गरियो त भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ ।

    राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा: पक्राउको मुख्य कारण

    प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन बाध्य बनाउन निकै पटक प्रत्यक्ष अप्रत्यक्ष सन्देश पठाउने र दबाब दिने गरी नै रहेका छन् । तर पौडेल राजीनामा दिन तयार छैनन् । पौडेलले राजीनामा नदिएपछि उनको मानमर्दन गर्न प्रधानमन्त्री शाहले कुनै पनि मौका बाँकी राखेका छैनन् । जस्तै आफैंले तयार गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले बाचन गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिंडेका थिए । जुन अशोभनीय भएको भन्दै शाहको चर्को आलोचना पनि भयो ।

    राष्ट्रपति बोल्दाबोल्दै हिंड्नुको उनको आसय राष्ट्रपतिले नैतिक आधारमा नीति कार्यक्रम पढ्न छाड्नेछन् भन्ने थियो । तर पौडेलले पूरै पाठ बाचन गरेर मात्र हिंडे । आफैंले तयार गरेको नीति कार्यक्रम बहिस्कार गर्दा पनि पौडेलले पदबाट राजीनामा दिएनन् ।

    भारतका सेनापतिलाई मानार्थ दर्जा दिने कार्यक्रम बहिस्कार

    गएको भदौ ३ गते शितल निवासमा भारतीय सेनाका प्रधानसेनापति (सीओएएस) जनरल धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्दा प्रधानमन्त्री तथा रक्षामन्त्रीको हैसियतमा वालेन्द्र शाहको उपस्थिति अनिवार्य नै थियो । तर राष्ट्रपति पौडेलले भारतीय सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्र्दा प्रधानमन्त्री शाह उपस्थित भएनन् । उक्त बहिस्कार गरे । प्रधानमन्त्री शाहको अनुपस्थितिलाई भारतीय सेनाले आफ्नो अपमान ठानेको बुझिएको छ ।

    राष्ट्रपति फेर्न प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशसभाको बहुमत सदस्य आवश्यक पर्छ । जुन रास्वपासँग छैन । बैधानिक बाटोबाट राष्ट्रपति हटाउने संभावना नै रहेन । अतः प्रधानमन्त्री शाहले दबाबमूलक अस्त्र प्रयोग गरी राष्ट्रपति हटाउन खोजेको स्पष्ट देखिन्छ ।

    राष्ट्रपतिका उम्मेदवार को को ?

    सामान्यतया नेपालको महत्वपूर्ण पदमा राजनीतिक दलहरुले नै नियुक्ति गर्ने हो । तर त्यस्ता नियुक्तिमा भारत र अमेरिकाको पनि चासो हुने गरेको बुझाई राजनीतिक बृत्तमा रहेको छ । यस्तो अभ्यास विगतमा पनि देखिने गरेकै थियो । जेनजी आन्दोलनपछि त त्यो प्रकट रुपमै देखापरेको टिप्पणी हुने गरेको छ ।

    राष्ट्रपतिका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र नेत्ररोग बिशेषज्ञ डा. सन्दुक रुइत रहेको चर्चा हुँदैआएको छ । उनीहरुलाई एक पक्षले अगाडि सारेको छ । अर्को पक्षको चाहना भारतीय चाहना रामचन्द्र पौडेलकै निरन्तरता वा बिकल्पमा डा. बाबुराम भट्टराई रहेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समूहले चोलेन्द्रशमशेर जबरालाई राष्ट्रपति बन्न उक्साएको देखिन्छ । सेनाका तर्फबाट पनि एक ब्यक्ति रहेको चर्चा हुने गरेको छ, जसको नाम राष्ट्रपति निर्वाचन अगाडि आउने संभावना छ ।

    सुशीला कार्कीले कल्याण श्रेष्ठलाई राजनीतिक रुपमा तेजोबध गरी उनको ओज र तेज घटाएको स्पष्ट छ । अतः कल्याण श्रेष्ठ राष्ट्रपतिको दह्रो उम्मेदवारका रुपमा देखिंदैनन् । अतः सन्दुक रुइत र चोलेन्द्रशमशेर राणा नै आगामी राष्ट्रपतिका मुख्य प्रतिस्पर्धी देखिएका छन् । चोलेन्द्रको तेजोबध गरेपछि अब डा. सन्दुक रुइतलाई निर्विवाद राष्ट्रपति बनाउने बाटो निष्कटंक देखिन्छ ।

    त्यही योजनामा हामी नेपालका संयोजक रुइत, गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री वालेन्द्र शाह र नेपालमा चलेको अनलाइनका संचालक सामेल भई चोलेन्द्रका बारेमा बिभिन्न मुद्दा लगाई तेजोबध गर्र्ने सरकारको अभिलाषालाई पृष्ठपोषण गर्न एक दर्जन अनलाइनबाट एकै भाषाका समाचार प्रवाह गर्न लगाइएको देखिन्छ । प्रमुख अनलाइन मिडियाले २०८२ भदौ २४ गते जेनजी समूह पशुपतिनाथ मन्दिरमा आगो लगाउन गए भन्ने समाचार प्रशारण गरेको इतिहास साक्षी छ । त्यसैगरी चोलेन्द्रशमशेरबिरुद्ध पनि मिसन पत्रकारिताको अभियान सुरु भएको घटनाक्रमले देखाउँछन् ।

    राष्ट्रपतिमा कसको दाबी बलियो ?

    कात्तिक मसान्तपछि मधेशवादी दलले गर्ने आन्दोलन, दुर्गा प्रसाईको सदाबहार आन्दोलन, हर्क साम्पाङको आन्दोलनको प्रभाव र रास्वपामा भएको चरम गुटबन्दीले प्रादेशिक निर्वाचनको रङरुप निर्धारण गर्नेछ ।

    प्रधानमन्त्री वालेन्द्र शाहले राजीनामा दिन प्रत्यक्ष/अप्रत्यक्ष दबाब र दूतमार्फत् सन्देश दिए पनि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पूर्ण कार्यकाल राष्ट्रपति हुने स्पष्ट छ । डा. सन्दुक रुइतमाथि उत्तर कोरियाको जासुसी गरेको आरोप, नेपालमा जेनजी मिसनमा उनको संलग्नताको बारेमा नैतिक चस्माबाट हेर्ने र नकारात्मक पात्रको रुपमा चित्रित गर्ने गरिएको छ । डा. रुइतका मुख्य कार्यकर्ताका रुपमा सुधन गुरुङ भन्ने भाष्य बनाइएको छ ।

    एकपटक अथाह सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा पदबाट राजीनामा दिनुपरेका गुरुङले रास्वपाको आन्तरिक कलहका बीच फेरि पद गुमाएको खण्डमा त्यसलाई आश्चर्य नमाने हुन्छ । अतः नेपालका लागि डा. रुइतलाई राष्ट्रपतिका उम्मेदवारका रुपमा अगाडि सार्दा पनि विवाद निम्तिने देखिन्छ ।

    चोलेन्द्रशमशेर जबरा पनि न्यायाधीशको सेवामा प्रवेशदेखि नै विवादै विवादमा रहेका पात्र हुन्् । उनको प्रधानन्यायाधीश नियुक्तिमा आधा दर्जन पत्रकार सुनुवाइ समितिमा जुलुस गरेर जाँदा पनि जबर्जस्ती उनको नियुक्ति अनुमोदन भएको थियो । चोलेन्द्र प्रधानन्यायाधीश भएपछि नक्कली भ्याटबिल सम्बन्धी मुद्दा, भाटभटेनीको मुद्दा, एनसेलको लाभकरको मुद्दामा राज्यलाई जिताएको देखिन्छ ।

    एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले देवघाटमा जाने कालीगण्डकीको पानी तिनाउ खोलामा लान खोज्दा चोलेन्द्रशमशेरले रोकेका थिए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर बाराको निजगढमा बनफँडानी गर्ने यति समूहलाई रोक लगाउने आदेशसमेत उनले दिएका थिए । उक्त आदेशकै कारण निजगढ विमानस्थलको वन फँडानीबाट रोकिएको र पर्यावरणीय सन्तुलन कायम भएको बुझाइ पनि कतिपयको छ ।

    यस्ता केही उल्लेखनीय फैसला पनि राणाले गरेका थिए । वर्तमान स्थितिमा राणाले गरेका सानातिना कमीकमजोरीलाई वालेन्द्र शाहको काराबासले उन्मुक्ति दिएको देखिन्छ । चोलेन्द्रशमशेरलाई पक्राउ गरेर भविष्यमा राष्ट्रपतिको उम्मेदवार हुनबाट रोक्न खोजिएको देखिन्छ । तर नियन्त्रणमा लिइएको २४ घन्टा नपुग्दै छाडिनुले अझै पनि राष्ट्रपतिमा चोलेन्द्रकै पल्ला भारी रहेको बिश्लेषण गर्नेहरुको कमी छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार