मोहनकुमार घिमिरे
संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण गर्ने मूल कानुनी आधार हो ।
त्यसैले यसको निर्माण गर्दा आजका कर्मचारीको सुविधामात्र होइन, भोलिको नेपालको प्रशासन कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ ।
तर संसदमा पुगेको संघीय निजामती सेवा विधेयकले एउटा गम्भीर प्रश्न जन्माएको छ—राज्यले सेवामा प्रवेश गराउँदा दिएको सेवा–सर्त आफैंले बीच बाटोमा एकतर्फी रूपमा परिवर्तन गर्न पाउँछ ?
विधेयकमा ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष उमेर पुगेका वा ३० बर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यसपछि नियुक्त हुने वा बाँकी रहने कर्मचारीका लागि नियमित अवकाश उमेर ६० बर्ष बनाउने प्रस्ताव छ । ५५ बर्ष वा ३० बर्षका कारण तत्काल अवकाशमा जाने कर्मचारीको पेन्सन नघटाउनेगरी केही संरक्षणात्मक व्यवस्था पनि प्रस्ताव गरिएको छ । तर प्रश्न पेन्सनको मात्र होइन ।
नियुक्तिको बेला राज्यले के भनेको थियो ?
निजामती सेवामा प्रवेश कुनै व्यक्तिगत कृपा वा राजनीतिक नियुक्ति होइन । लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा पार गरेर नागरिक राज्यको स्थायी प्रशासनिक सेवामा प्रवेश गर्छ । उसले नियुक्तिका बेला प्रचलित कानुनले निर्धारण गरेको सेवा–सर्त स्वीकार गर्छ र त्यसकै आधारमा आफ्नो व्यावसायिक तथा व्यक्तिगत जीवनको योजना बनाउँछ ।
आजको कानुनअनुसार निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ बर्ष हो । अझ महत्वपूर्ण कुरा, निजामती सेवा ऐन, २०४९ को दफा ५८ ले नियुक्तिका बेला लागू रहेको तलब, उपदान, निवृत्तिभरण र अन्य सुविधासम्बन्धी सेवा–सर्तमा कर्मचारीको स्वीकृतिबिना प्रतिकूल असर पर्नेगरी परिवर्तन गर्न नहुने व्यवस्था गरेको छ । लोकसेवा आयोगले पनि विधेयकबारे परामर्श दिँदा यही विषयमा सरकारको ध्यानाकर्षण गराएको सार्वजनिक भएको छ ।
यसैले प्रश्न उठ्नु स्वाभाविक छ—सेवामा प्रवेश गराउँदा ५८ बर्षसम्म सेवाको अपेक्षा निर्माण गर्ने राज्यले बीचमा कानुन बदलेर ५५ वर्षमै घर पठाउँदा त्यसको बैधानिकता मात्र होइन, राज्यप्रतिको विश्वासको प्रश्न उठ्दैन ?
कानुन संशोधन गर्ने अधिकार संसद्लाई छ । तर कानुन बनाउने अधिकार असीमित अधिकार होइन । संविधान, विद्यमान कानुन, समानताको सिद्धान्त, वैध अपेक्षा र स्थापित कानुनी मान्यताको सीमाभित्र रहेर त्यसको प्रयोग हुनुपर्छ ।
त्यसैले नयाँ कानुन बनाउँदैमा पुरानो कानुनले सुरक्षित गरेको सेवा–सर्त स्वतः असुरक्षित हुन्छ भन्ने मान्यता स्थापित गर्नु खतरनाक नजिर बन्न सक्छ ।
कर्मचारी हटाउने होइन, प्रशासन कमजोर बनाउने जोखिम
सरकारले प्रशासनमा नयाँ पुस्ता ल्याउन चाहनु स्वाभाविक हो । उमेरगत सन्तुलन, नयाँ ऊर्जा र दक्ष जनशक्तिको प्रवेश आवश्यक पनि छ । तर नयाँलाई प्रवेश गराउने नाममा अनुभवीलाई निष्कासन गर्नु प्रशासन सुधारको एकमात्र उपाय हुन सक्दैन ।
एकैपटक ठूलो संख्यामा कर्मचारीलाई अवकाश दिने व्यवस्थाले प्रशासनबाट अनुभव, संस्थागत स्मृति र व्यावसायिक दक्षता गुम्ने जोखिम हुन्छ । विधेयकको मस्यौदाले त्यस्तो व्यवस्था ल्याउँदा करिब १० हजार कर्मचारी प्रभावित हुनसक्ने विवरण सार्वजनिक भएका थिए ।
प्रश्न यो होइन कि पुराना कर्मचारीलाई कहिल्यै अवकाश दिनुहुँदैन । प्रश्न हो—कसरी, कुन आधारमा र कुन न्यायपूर्ण संक्रमणमार्फत् अवकाश दिने ? राज्यले आफ्नो जनशक्तिलाई आवश्यकता पर्दा बर्षौं लगाएर दक्ष बनाउने अनि आवश्यकता फेरियो भन्दै अचानक बोझका रूपमा व्यवहार गर्ने हो भने त्यसले कर्मचारीको मात्र होइन, समग्र प्रशासनिक प्रणालीको मनोबलमा असर पार्छ ।
उत्साहविहीन कर्मचारीबाट उत्साही प्रशासन कसरी बनाउने ?
सरकारी कर्मचारी नागरिक र राज्यबीचको सबैभन्दा नजिकको सम्पर्कबिन्दु हो । नागरिकले सरकारलाई धेरैपटक सिंहदरबारमा होइन, आफ्नै वडा कार्यालय, जिल्ला प्रशासन, मालपोत, नापी, स्थानीय तह वा अन्य सरकारी कार्यालयमा भेट्छ ।
त्यसैले सरकारी कर्मचारी जनताको सबैभन्दा नजिकको र भरपर्दो साथी बन्नुपर्छ । तर भरोसायोग्य प्रशासन निर्माण गर्न कर्मचारीमा पेशागत गौरव, उत्साह, हौसला र भविष्यप्रतिको विश्वास हुनुपर्छ ।
जहाँ सेवाको स्थायित्वमाथि निरन्तर प्रश्न हुन्छ, जहाँ सरुवा–बढुवामा दबाबको अनुभूति हुन्छ, जहाँ निर्णय गर्दा दण्डको भय हुन्छ र जहाँ राज्यले आफैंले तोकेको सेवा–सर्तलाई बीच बाटोमा फेरबदल गर्न सक्छ भन्ने असुरक्षा रहन्छ—त्यहाँ कर्मचारीले जोखिम लिएर सिर्जनशील काम गर्ने वातावरण कसरी बन्छ ?
निराशा बोकेको कर्मचारीबाट उत्साही प्रशासन र कुण्ठित मनोबलबाट जनमैत्री सेवा खोज्नु आफैंमा विरोधाभास हो ।
त्यसैले निजामती सेवा सुधारको पहिलो सर्त कर्मचारीलाई नियन्त्रण गर्नु होइन, जिम्मेवार ढंगले काम गर्ने आत्मविश्वास दिनु हो ।
प्रशासनमाथि राज्यकै अविश्वास किन ?
अझ गम्भीर प्रश्न अर्को छ । राज्यले आफ्नै प्रशासनलाई नीति कार्यान्वयनको स्थायी संयन्त्र मान्ने हो कि परिस्थितिअनुसार बदल्न सकिने साधन ?
यदि अनुभवी कर्मचारीलाई एकैपटक हटाउनु नै प्रशासन सुधारको मुख्य औजार हो भने समस्या कर्मचारीमा मात्र देखिएको हो कि राज्यको मानवस्रोत व्यवस्थापनमै ?
प्रशासनमा समस्या छन्। ढिलासुस्ती छ, अनुत्तरदायित्व छ, राजनीतिक प्रभाव छ, सरुवा–बढुवामा विकृति छन्। यी सबै सुधार्नुपर्छ । तर कर्मचारी प्रशासनका कमजोरी सुधार्नु र कर्मचारी प्रशासनमाथि नै अविश्वास गर्नु फरक कुरा हुन् ।
सरकारले प्रशासनलाई सुधार्ने हो भने कार्यसम्पादन मूल्यांकन बलियो बनाओस्, जिम्मेवारी तोकोस्, परिणाममा आधारित जवाफदेहिता कायम गरोस्, भ्रष्टाचार र अनुशासनहीनतामा शून्य सहनशीलता अपनाओस् । तर सेवा–सर्तमाथि अनिश्चितता सिर्जना गरेर प्रशासन सुधार्न खोज्नु दीर्घकालीन उपाय हुन सक्दैन ।
‘आदेश पालक’ होइन, कानुनको संरक्षक प्रशासन
निजामती कर्मचारी राजनीतिक नेतृत्वको प्रतिस्पर्धी होइन । तर ऊ राजनीतिक नेतृत्वको प्रत्येक आदेशमा ‘हजुर’ मात्र भन्ने संयन्त्र पनि होइन ।
सरकार नीति बनाउँछ, प्रशासनले त्यसलाई कानुन, तथ्य, प्रक्रिया र सार्वजनिक हितअनुकूल कार्यान्वयन गर्छ । आवश्यक पर्दा प्रशासनले राजनीतिक नेतृत्वलाई असहज लाग्ने भए पनि सही कानुनी र प्राविधिक सुझाव दिन सक्नुपर्छ । यसका लागि कर्मचारीमा व्यावसायिक स्वतन्त्रता र सुरक्षा आवश्यक हुन्छ ।
यदि कर्मचारीले आफ्नो भविष्य असुरक्षित ठान्यो भने उसले सही कुरा भन्नुभन्दा सुरक्षित कुरा भन्न थाल्न सक्छ । त्यसबाट जन्मिने प्रशासन ‘यस हजुर’ प्रशासन हुन सक्छ—र लोकतान्त्रिक शासनलाई त्यस्तो प्रशासन होइन, निर्भीक, व्यावसायिक र उत्तरदायी प्रशासन चाहिन्छ ।
ट्रेड युनियनलाई व्यवस्थित गरौँ, समाप्त होइन
निजामती सेवामा ट्रेड युनियनको प्रश्न पनि यही दृष्टिले हेर्नुपर्छ । ट्रेड युनियनका नाममा कार्यालयको काम प्रभावित हुने, राजनीतिक हस्तक्षेप बढ्ने वा प्रशासनिक अनुशासन कमजोर हुने अवस्था स्वीकार्य छैन । तर त्यसको समाधान ट्रेड युनियनको अस्तित्व नै समाप्त गर्नु पनि होइन ।
कर्मचारीका पेशागत हक, सेवा–सर्त र गुनासो राख्ने लोकतान्त्रिक संयन्त्र आवश्यक हुन्छ। त्यसैले ट्रेड युनियनका गतिविधिलाई स्पष्ट कानुनी सीमा, जिम्मेवारी र उत्तरदायित्वसहित व्यवस्थित गर्न सकिन्छ । युनियनको विकृति हटाउने हो, कर्मचारीको आवाज होइन ।
राज्यले आफ्नो प्रतिबद्धता आफैं कमजोर नबनाओस्
निजामती सेवा केवल जागिर होइन । यो राज्यले नागरिकलाई दिएको सार्वजनिक सेवाको संस्थागत संरचना हो ।
आज नियुक्त भएको कर्मचारीलाई राज्यले एउटा सेवा–सर्त देखाउँछ । उसले त्यही आधारमा परीक्षा दिन्छ, नियुक्ति लिन्छ, जीवनको योजना बनाउँछ र आफ्नो सक्रिय जीवन राज्यसेवामा समर्पित गर्छ । त्यसपछि राज्यले बीच बाटोमा त्यही सर्तलाई प्रतिकूल रूपमा परिवर्तन गर्छ भने त्यसको प्रभाव एउटा कर्मचारीको अवकाशमा मात्र सीमित रहँदैन।
यसले भविष्यमा राज्यका संस्थाप्रति नागरिकको विश्वासमा समेत प्रश्न उठाउन सक्छ । राज्यले कर्मचारीलाई कानुन मान्न सिकाउँछ भने राज्य स्वयं पनि कानुनको सीमाभित्र बस्नुपर्छ ।
अब विधेयक सच्याउने ठाउँ संसदमा छ
विधेयक संसदमा पुगिसकेको छ । त्यसैले अब सरकार, संसद् र सम्बन्धित समितिका लागि यो सुधार गर्ने अवसर पनि हो । ५५ बर्ष वा ३० बर्षे अनिवार्य अवकाशको व्यवस्था राख्ने हो भने पनि त्यसको संवैधानिकता, सेवासर्त, समानता, संक्रमणकालीन व्यवस्था, प्रशासनिक निरन्तरता र जनशक्ति व्यवस्थापनलाई स्पष्ट आधारमा सम्बोधन गर्नुपर्छ ।
पेन्सन सुरक्षित गरिदिँदैमा सेवा–सर्तको सम्पूर्ण प्रश्न समाप्त हुँदैन ।
एक दिन अगाडि सेवामा प्रवेश गरेको र एक दिन पछाडि सेवामा प्रवेश गरेको कर्मचारीलाई कानुन प्रारम्भ भएको एउटा निश्चित मितिले फरक व्यवहार गर्ने अवस्था न्यायसंगत छ कि छैन भन्ने प्रश्न पनि संसद्ले गम्भीरतापूर्वक हेर्नुपर्छ । कानुनले विभेद होइन, न्याय खोज्नुपर्छ ।
अन्त्यमा—कस्तो निजामती सेवा ?
हामीलाई न कर्मचारीतन्त्रको अन्धसमर्थन चाहिएको हो, न कर्मचारीलाई राज्यको बोझ ठान्ने दृष्टिकोण ।
हामीलाई चाहिएको छ—जवाफदेही कर्मचारी, सक्षम प्रशासन र भरोसायोग्य राज्य ।
त्यसका लागि कर्मचारीलाई अधिकारसँगै जिम्मेवारी चाहिन्छ। सुविधासँगै उत्तरदायित्व चाहिन्छ । स्वतन्त्रतासँगै अनुशासन चाहिन्छ । र सबैभन्दा महत्वपूर्ण—कानुनसम्मत काम गर्दा राज्यबाट सुरक्षा र विश्वास चाहिन्छ ।
निजामती कर्मचारीलाई हटाउन सजिलो होलास तर वर्षौंको अनुभव, संस्थागत स्मृति र पेशागत दक्षता पुनःनिर्माण गर्न सजिलो हुँदैन ।
त्यसैले प्रशासन सुधारको नाममा राज्यले आफ्नै प्रशासनको मनोबल नतोडोस् ।
सरकारले कर्मचारीमाथि शासन गर्ने होइन, कर्मचारीमार्फत् सुशासन गर्ने हो ।
नागरिकको नजरमा सरकारी कर्मचारी सरकारको सबैभन्दा नजिकको अनुहार हो । त्यो अनुहारमा उत्साह, आत्मविश्वास र जिम्मेवारी देखिनुपर्छस निराशा, कुण्ठा र हीनताबोध होइन ।
त्यसैले संघीय निजामती सेवा ऐन बनाउँदा प्रश्न केवल यति होइन—कति कर्मचारी राख्ने र कति हटाउने ?
मूल प्रश्न हो- कस्तो प्रशासन बनाउने, जसले नागरिकको विश्वास जितोस्, राजनीतिक नेतृत्वलाई सही सल्लाह दिन सकोस्, कानुनको मर्यादा जोगाओस् र राज्यको दीर्घकालीन हितमा निर्भीक भएर काम गर्न सकोस् ?
यही प्रश्नको उत्तर खोज्न नसक्ने निजामती सेवा ऐनले प्रशासनलाई व्यवस्थित होइन, अझ असुरक्षित बनाउन सक्छ ।
अब बहस कर्मचारीको होइन—राज्यको विश्वसनीयता र प्रशासनको भविष्यको हो ।
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याउने र ह्याकिङ गरी बोलपत्र कब्जा गर्ने ८ व्यवसायीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको...
काठमाडौं । बागमती प्रदेश सरकारले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा सरुवा गरेका काठमाडौं महानगरपालिकाका आठौं तहका कर्मचारी श्याम न्यौपानेले खटाएको कार्यालयमा जान अटेर गर्दैआएका छन् । न्यौपानेको...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोक्का(कल्याण)लाई नियुक्ति गरेपछि एमालेभित्र चर्को असन्तुष्टि पैदा भएको छ...
काठमाडौं । सरकारले नागरिकहरुलाई निशुल्क रुपमा प्रदान गर्ने ९८ प्रकारका औषधीमध्ये आइरन चक्कीलगायतका कतिपय औषधि स्थानीय निकायले नै खरिद गरी बितरण गर्ने ब्यवस्था छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend