Nepal Face
  • बिहिबार, २१ साउन २०८३
  • बजारमा ग्याँसको हाहाकार, आयल निगम ३ महिनादेखि नेतृत्त्वबिहीन


    बिहिबार, साउन २१ २०८३
    235
    Shares
    बिहीबार बिहानै (साउन२१) गते अनामनगरमा ग्याँसको लाइन(तस्वीर साभार : देवशंकर पौडेलको फेसबुक)
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्याँसको हाहाकार छ । टेकू र बालाजुमा ग्याँसको लागि सयौं नागरिक हरेक दिन बिहानदेखि लाइनमा लाग्ने गरेका छन् । लाइनमा लाग्दा पनि ग्याँस पाउने नपाउने एकीन छैन । आयल निगम ग्याँस पर्याप्त रहेको सूचना निकाल्छ । तर बजारमा उपभोक्ताले ग्याँस पाउन सकेका छैनन् ।

    ग्याँस नपाए सम्पर्क गर्नू भने पनि टोल टोलका ग्याँस डिपोमा लाइन उस्तै देखिन्छ । जान्नेलाई छान्ने भनेर रास्वपालाई दुईतिहाई बहुमत दिएर वालेन्द्र शाहको नेतृत्वमा सरकार बनाए । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि देशले विकासमा छलाङ हान्ने ठानेका जनता चुनाव सकिएको ४ महिना बित्न नपाउँदै खाना पकाउने ग्याँस पाउन समेत लाइनमा बस्नुपरेको गुनासो गर्न थालिसकेका छन् ।

    देशको विकासमा छलाङ हान्ने तिलस्मी आश्वासन दिएर चुनाव जितेर सरकार बनाएको वालेन्द्र नेतृत्वको सरकारले ग्याँस आपूर्ति र बितरणको जिम्मा पाएको नेपाल आयल निगमको कार्यकारी निर्देशक ३ महिनासम्म नियुक्त गर्न सकेको छैन । अध्यादेश ल्याएर राजनीतिक नियुक्ति खारेज गरेको वालेन्द्र सरकारले अत्यावश्यक दैनिक उपभोग्य सामानको आपूर्ति गर्ने निगमको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई कायमै राखेको थियो । तर, नयाँका नाममा निगममा जान खोज्ने समूहले दबाब दिएपछि निगमको कार्यकारी निर्देशकबाट गएको बैशाख २९ गते भट्टले राजीनामा दिए ।

    भट्टले राजीनामा दिएको ३ महिनासम्म पनि सरकारले आयल निगमजस्तो संस्थालाई नेतृत्वबिहीन राखेको छ । निगमको नेतृत्व नहुँदा पनि ग्याँस अभावको समस्या हल गर्ने कार्यले मूर्तरुप पाउन नसकेको बताइन्छ । गोपालबहादुर खड्का निगमको नेतृत्वमा हुँदा भारतले लगाएको नाकाबन्दीमा तेल र ग्याँसको हाहाकार भएको थियो । तर त्यसपछि निगमको नेतृत्वले कोरोना महामारीदेखि हरेक विपत्तिमा कहिल्यै पनि ग्याँसको यस्तो अभाव हुन दिएको थिएन । तर, अहिले ‘सुशासन’को बर्को ओढेको वालेन्द्र सरकारको पालामा ग्याँसको हाहाकार हुनुमा निगममा कार्यकारी निर्देशक नियुक्ति गर्न नसक्नु पनि एक कारक मानिएको छ ।

    यसैबीच, निगमको नेतृत्वका लागि तीन जनाको नाम आइतबार(साउन १७ गते) उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको छनोट सिफारिस समितिले बुझाइसकेको छ । तर बुधबार बसेको मन्त्रिपरिषद बैठकले पनि निगमको कार्यकारी निर्देशक नियुक्त गरेको सार्वजनिक भएको छैन । निगमको कार्यकारी निर्देशका लागि कौशल केसी, नागेन्द्र साह र संजीवकुमार देवलाई सिफारिस गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार