Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • चुनाव जितेपछि अमरेशको उन्माद, कांग्रेस नेतामाथि सर्लाहीमा आक्रमण


    आइतबार, फाल्गुन २४ २०८२
    710
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचनमा सफलता पाएपछि विपक्षी पार्टी समर्थकहरुमाथि आक्रमण नगर्न दिएको निर्देशन बिपरीत सर्लाही ४ मा नेपाली कांग्रेस समर्थकमाथि आक्रमण गरिएको छ ।

    रास्वपाको तर्फबाट  सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहका भतिजा गोपेशकुमार सिंहले सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण गरेका छन् ।

    आज दिउँसो बलरा–४ स्थित बाटोमा सिन्हामाथि आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन् ।

    डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा गाडीमाथि आक्रमण भएको हो ।

    सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको पीडित कमलेश्वर सिन्हा पक्षको भनाइ छ ।

    आक्रमणबाट घाइते भएका डा। सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

    कांग्रेस सभापति गगन कुमार थापालाई पराजित गर्दै अमरेशकुमार सिंह सर्लाही–४ मा विजयी भएका छन । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा कांग्रेस सभापति थापाले जम्मा २२ हजार ८३१ मत प्राप्त गरे ।

    घटनाप्रति नेपाली कांग्रेस सर्लाही–४ ले घोर आपत्ति जनाएको छ। विजय जुलुसको क्रममा डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानूनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार