– नारायणप्रसाद शर्मा
काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै शीर्ष नेतृत्व र प्रमुख पदाधिकारीहरूको कानुनी तिकडमका कारण रक्षात्मक बन्न पुगेको छ ।
पार्टीका सभापति रवि लामिछाने आफैँ सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कानुनी घेराबन्दीमा परेर अदालतबाट प्रभु बैंकको करोडौं रकम धरौटी जमानतमा मुक्त भइरहेकै बेला पार्टीका केन्द्रीय कोषाध्यक्ष डा. मनोहर प्रधानको अर्को डरलाग्दो भ्रष्टाचार काण्ड सार्वजनिक भएको हो ।
संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. मनोहर प्रधान, नेपाल मेडिकल काउन्सिल र काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूसहित कुल १७ जनाविरुद्ध विशेष अदालतमा हालेको भ्रष्टाचारको मुद्दाको पूर्ण विवरण र मिसिल अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ ।
वर्तमान सरकारमा स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण सल्लाहकार जस्तो गरिमामय पदमा समेत आसीन रहेका प्रधान कसरी मेडिकल माफिया र सरकारी सम्पत्ति दोहन गर्ने खेलमा संलग्न थिए भन्ने तथ्यले ‘जान्नेलाई छान्ने’ रास्वपाको भित्री रूपलाई छताछुल्ल पारेको छ ।
१. देवदह मेडिकल कलेजको त्यो नक्कली प्रतिवेदन काण्ड
वि.सं. २०७१ सालमा रूपन्देहीको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटलाई मापदण्ड नपुग्दा–नपुग्दै पनि अवैध रूपमा एमबीबीएस कक्षा सञ्चालन गर्न र सिट संख्या तोक्नका लागि डा. मनोहर प्रधानकै नेतृत्वमा एउटा विशेष अनुगमन टोली खटिएको थियो । नेपाल मेडिकल काउन्सिलको सदस्यसमेत रहेका प्रधानको टोलीले २०७१ असोज २२ गते (२२ अक्टोबर २०१४) का दिन अख्तियारको भाषामा ‘झुट्टा, बनावटी, तथ्यहीन र बद्नियतपूर्ण’ प्रतिवेदन तयार गरी बुझाएको थियो । यो प्रतिवेदन तयार गर्न प्रधानको समूहले ठूलो परिमाणमा रकम डील गरेको बुझिएको छ ।

उक्त कलेजमा एमबीबीएस कक्षा सञ्चालन गर्नका लागि तोकिएको न्यूनतम भौतिक पूर्वाधार, योग्य फ्याकल्टी (शिक्षकहरू) र ३०० बेडको शिक्षण अस्पताल हुनुपर्ने अनिवार्य कानुनी मापदण्ड कतै पनि पुरा भएको थिएन ।
मापदण्ड पुरा नभएको अवस्थामा विद्यार्थी भर्ना रोक्नुपर्नेमा डा. प्रधानको टोलीले कलेजको प्रभाव र प्रलोभनमा परी दोब्बर बढी पूर्वाधार रहेको भन्दै झुट्टा विवरण पेश ग¥यो । अनुसन्धानको तहकिकातबाट के खुलेको छ भने, कलेजमा स्वीकृत भएका भनिएका शिक्षकहरूमध्ये केवल ३ जनामात्रै भौतिक रूपमा उपस्थित थिए ।
प्रस्तावित फ्याकल्टीमा ६ जना प्राध्यापक, ३ जना सहप्राध्यापक र २९ जना सहायक प्राध्यापकको दरबन्दी कागजमा देखाइए पनि काठमाडौँ विश्वविद्यालयको परीक्षा नियन्त्रणको रेकर्डमा भने ती नामहरू फेक (नक्कली) प्रमाणित भएका थिए । कलेज व्यवस्थापनसँग अवैध साँठगाँठ गरी, हुँदै नभएको तथ्य सिर्जना गरेर प्रतिवेदन बुझाएका कारण अख्तियारले प्रधानविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा हदैसम्मको सजाय र जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२. भरतपुर अस्पतालको ३१ बिघा जग्गा लिजमा प्रधानको अदृश्य सेटिङ
डा. मनोहर प्रधानको विवादित पृष्ठभूमि देवदह मेडिकल कलेजमा मात्र सीमित छैन । वि.सं. २०६२ सालदेखि नै चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा कार्यरत रहेका प्रधानले आफ्नो दुई कार्यकाल (वि.सं. २०६६–२०७० र २०७०–२०७४) मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा बिताउँदा शक्तिको चरम दुरुपयोग गरेको आरोप छ ।
भारतीय नागरिक डा. नटराज भी. प्रसादको स्वामित्वमा रहेको कलेज अफ मेडिकल साइन्सेज (भरतपुर) का लागि भरतपुर अस्पतालको नाममा रहेको नेपाल सरकारको बहुमूल्य झण्डै ९ बिघा सरकारी जग्गा कौडीको मोलमा लिज (भाडा) मा दिलाउने मुख्य योजनाकार डा. प्रधान नै रहेको तथ्य बाहिर आएको छ ।
९ विघा जग्गा लिजमा लिए पनि कलेजले झण्डै ३१ बिघा नै मालपोतमा रोक्का राखी नेपाल इन्भेष्टमेन्ट मेद्दा बैंकबाट १ अर्ब ३५ करोड रुपैयाँ ऋण लिएको छ । यसरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा अवैध रूपमा धितो राखेर उक्त भारतीय कम्पनीका लागि १ अर्ब ३५ करोड रुपैयाँ बराबरको विशाल ऋण प्रवाह गराउने खेलमा पनि प्रधानकै प्रत्यक्ष मिलेमतो र सेटिङ रहेको बताइन्छ ।
सरकारी जग्गा निजी वा विदेशी कम्पनीले बैंकमा धितो राख्न नपाउने कानुनी व्यवस्थाको धज्जी उडाएर गरिएको यो अर्बौँको घोटालाबारे अख्तियारमा उजुरी परे पनि तत्कालीन समयमा राजनीतिक पहुँच र प्रशासनिक ओतप्रोतका कारण यो फाइललाई तामेलीमा राखेर मिलाइएको थियो ।
३. नक्कली प्रतिवेदन खडा गर्ने ती १७ ‘हाई–प्रोफाइल’ प्रतिवादीहरू
देवदह मेडिकल कलेजको सिट निर्धारण र नक्कली पूर्वाधार प्रमाणित गर्ने खेलमा डा. मनोहर प्रधान मात्र एक्ला पात्र होइनन् । अख्तियारले उनीसँगै चिकित्सा क्षेत्र, कानुन क्षेत्र र विश्वविद्यालयका १७ जना प्रतिष्ठित मानिने व्यक्तिहरूलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । आरोपपत्रमा उल्लेख गरिएका व्यक्तिहरूको तीनपुस्ते विवरण यस प्रकार छः
१. डा. मनोहर प्रधानः धमनारायण प्रधानको नाति, जवाहरलाल प्रधानको छोरा, भरतपुर महानगरपालिका–२, नारायणगढ (तत्कालीन सदस्य, नेपाल मेडिकल काउन्सिल तथा हाल कोषाध्यक्ष, रास्वपा) ।
२. ज्योति बानियाँ (वरिष्ठ अधिवक्ता )ः सनमान सिंहको नाति, नरबहादुर बानियाँको छोरा, बेसीसहर नगरपालिका–६, लमजुङ (उपभोक्तावादी भनिने प्रख्यात कानुन व्यवसायी) ।
३. डा. शिवजी पौडेलः बेनीमाधव पौडेलको नाति, बद्रीप्रसाद पौडेलको छोरा, साविक चिलाउनेबास गाविस–६, झारखोला, स्याङ्जा ।
४. डा. अनिलकुमार झाः वागभद्र झाको नाति, तृप्तनारायण झाको छोरा, साविक तिलाठी गाविस–३, सप्तरी (तत्कालीन सदस्य, नेपाल मेडिकल काउन्सिल) ।
५. प्रद्युम्न श्रेष्ठः भगतलाल देवजूको नाति, श्रीकृष्ण देवजूको छोरा, साविक धुलिखेल नगरपालिका–३, काभ्रेपलाञ्चोक (प्रबन्धक, काठमाडौँ विश्वविद्यालय, धुलिखेल) ।
६. प्रा.डा. पन्ना थापाः भैरव थापाको नाति, विश्व थापाको छोरा, काठमाडौँ महानगरपालिका–१४, प्राध्यापक तथा पूर्व परीक्षा नियन्त्रक, काठमाडौँ विश्वविद्यालय ।
७. डा. जगदीश चटौतः जगन्नाथ चटौतको नाति, बलराम चटौतको छोरा, काठमाडौँ महानगरपालिका–१०, नयाँ बानेश्वर ।
८. सुरजप्रसाद सिंहः वैजनाथप्रसाद सिंहको छोरा, साविक खड्ग भद्रकाली गाविस–६, काठमाडौँ (काठमाडौँ विश्वविद्यालय सम्बद्ध) ।
९. नीलकण्ठ काफ्लेः दुर्गादत्त काफ्लेको नाति, नेत्रलाल काफ्लेको छोरा, वालिङ–८, स्याङ्जा (अध्यक्ष, देवदह मेडिकल कलेज प्रा.लि.)।
१०. प्रेमनारायण ज्ञवालीः तुलसीराम ज्ञवालीको नाति, सुनवल नगरपालिका–२, नवलपरासी (सञ्चालक, देवदह मेडिकल कलेज) ।
११. डा. अङ्कुर साहः रेवी साहको नाति, डा. हुकुमदेव साहको छोरा, साविक तारापट्टि सिसिया गाविस–७, धनुषा ।
१२. डा. रोशन पियाः हरिप्रसाद पियाको नाति, प्रेमकुमार पियाको छोरा, भरतपुर, नारायणगढ (तत्कालीन सदस्य, मेडिकल काउन्सिल) ।
१३. डा. नीरज पन्तः दिव्यप्रसाद पन्तको नाति, अनिरुद्ध पन्तको छोरा, साविक घटाल गाविस, डडेल्धुरा ।
१४. डा. कुलदीप गोइतः रघुनाथ गोइतको नाति, डा. गङ्गाप्रसाद गोइतको छोरा, साविक गोडकोयलपुर गाविस–६, धनुषा ।
१५. डा. सतिशकुमार देवः बच्चुलाल देवको नाति, सरदीप नारायण देवको छोरा, साविक सबसंहरिया गाविस–३, सप्तरी (महाराजगञ्ज मेडिकल क्याम्पस)।
१६. प्रा.डा. अनवर एलाही अन्सारीः अब्दुल बुनियाद मियाँको नाति, अब्दुल हकिमको छोरा, वीरगञ्ज–१७, बहुअरी (तत्कालीन उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल) ।
१७. डा. रजनीश जिन्दलः केदारनाथ जिन्दालको नाति, कृष्णलाल जिन्दालको छोरा, अकालसर जीटी रोड, पञ्जाब, भारत (सञ्चालक तथा अस्पताल निर्देशक, देवदह मेडिकल कलेज) ।
४. रास्वपाको ‘नैतिकता र सुशासन’ माथि गम्भीर प्रश्नचिन्ह
देशमा नयाँ र स्वच्छ राजनीतिको विकल्प दिने भन्दै आएको रास्वपाले यति ठूलो भ्रष्टाचारको मुद्दा बोकेका र मेडिकल माफियासँग साँठगाँठ भएका डा. मनोहर प्रधानलाई पार्टीको आर्थिक प्रशासन हेर्ने सबैभन्दा संवेदनशील पद ‘केन्द्रीय कोषाध्यक्ष’ किन बनायो ? यो प्रश्नले अहिले रास्वपाभित्र र बाहिर ठूलो भुँइचालो ल्याएको छ । पुराना दलहरूलाई भ्रष्टाचारी देख्ने रवि लामिछानेको पार्टीले आफ्नै पदाधिकारीको खल्तीमा रहेको भ्रष्टाचारको मुद्दाको फाइल कसरी देखेन वा नियतवश देख्न चाहेन ? भावी दिनमा प्रष्ट हुने नै छ ।
अहिले रास्वपाका कार्यकर्ताहरू समेत यो नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको सल्लाहकार जस्तो नीतिगत निर्णय गर्ने ठाउँमा यस्ता आरोपित व्यक्ति रहिरहनुले नेपालको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रलाई अझ कता धकेल्ने हो भन्ने चिन्ता बढाएको छ ।
राज्यका तर्फबाट अख्तियारले दर्ता गरेको यो मुद्दा विशेष अदालतमा विचाराधीन रहे पनि नैतिक रूपमा प्रधानले तत्काल दुवै पदबाट राजीनामा दिनुपर्ने माग नागरिक समाजले उठाएको छ। ‘जान्नेलाई छान्ने’ भित्र लुकेका यस्ता पथभ्रष्ट अनुहारहरूको पर्दाफास नभएसम्म नेपालमा सुशासन केवल गफमा मात्र सीमित रहने प्रष्ट देखिन्छ ।
५.प्रतिक्रियाका लागि बेवास्ता
देवदह मेडिकल कलेजको भ्रष्टाचारको विषयमा प्रतिक्रियाका लागि कोषाध्यक्ष तथा स्वास्थ्य सल्लाहकार प्रधानसँग सम्पर्क गर्दा उनको मोबाइल फोन उठेन । २०८३ कात्तिक १६ गते प्रकाशित डायरी एक्सप्रेस साप्ताहिकबाट साभार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन् । आज सामाजिक...
काठमाडौँ। स्वास्थ्य अवस्था जटिल बनेपछि इलाममा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लगिएको छ। उनलाई सेनाको हेलिकप्टरबाट सोमबार बिहान इलामबाट काठमाडौं लगिएको हो। चिकित्सा...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ। काँग्रेस संसदीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend