Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीमा विवादित सईलाई घुमुवा कमाण्डरको जिम्मा


    सोमबार, फाल्गुन ११ २०८२
    2.5K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सूचना लिनका लागि खटाउने गरिएका सादा पोशाक प्रहरीलाई हाकिमहरुले अतिरिक्त आम्दानीका लागि घुमुवाका रुपमा खटाउँदा नेपाल प्रहरी बदनाम हुँदैआए पनि त्यो क्रम रोकिन सकेको छैन । यसैक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एक विवादित बरिष्ठ सईलाई प्रदेशकै घुमुवाका रुपमा खटाएको छ ।

    लामो समयदेखि घुमुवाका रुपमा कार्यरत बरिष्ठ सई बम रावललाई हालका डीआईजी भूपेन्द्र खत्रीले पनि लुम्बिनी प्रदेशकै घुमुवाका रुपमा परिचालन गरेका छन् । बरिष्ठ सई बम प्रहरीमा भर्ना भएर तालिम लिएपछि एकाध बर्ष बर्दी लगाएर ड्युटी गरेको र केही बर्ष लेखापाल भएका उनी त्यसपछि लुम्बिनी प्रदेश अन्तर्गत नै सधैं सादा पोशाकमा घुमुवाका रुपमा कार्यरत रहँदैआएका छन् ।

    लुम्बिनी प्रदेशमा रविन्द्रबहादुर धानुक, मुकुन्दराज आचार्य, कुवेर कडायत लगायतका डीआईजीको पालामा पनि प्रदेशको घुमुवा भई इन्चार्जलाई खुसी पार्दैआएका रावललाई खत्रीले पनि परिचालन गरेका छन् । उठाउने, लिने र बुझाउने मामिलामा दख्खल भएकाले डीआईजी खत्रीले पनि उनैलाई घुमुवाका रुपमा खटाएका छन् ।

    लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलवस्तु, बाँके जिल्लाका तस्करहरु र क्यासिनोसँग रावलले दररेट राखेरै असुली गर्दैआएका छन् । क्यासिनो र तस्करीको संजालका जानकार र अनुभवी भएकाले डीआईजी खत्रीले पनि बमलाई घुमुवाका रुपमा राखेका छन् ।

    विवादित र बदनाम भएकाले रावललाई बसन्तबहादुर कुँवर आईजीपी हुँदा कारबाहीस्वरुप कालीकोटमा काजसरुवा गरेका थिए । कुँवरको अवकाशलगत्तै दीपक थापा आईजीपी भएपछि उनलाई नेपालगंज तालिम केन्द्रमा काजमा ल्याएका थिए । हालका आईजीपी कार्कीले रावलका बारेमा जानकार भएकाले चासो नै दिएनन् । भूपेन्द्र खत्री लुम्बिनीको डीआईजी भएपछि रावललाई प्रदेशको घुमुवा कमाण्डर बनाएका छन् ।

    भैरहवाका प्रत्येक क्यासिनोले जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई दररेट बुझाउने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार जिल्लाको २ र प्रदेशको १ लाखको दररेट तोकिएको छ ।

    भैरहवामा होटल निर्वाणामा सञ्चालित क्यासिनो गोल्डेन स्टार, होटल लाकौलमा सञ्चालित ह्याप्पी आवर प्रालिको ह्याप्पी आवर ग्यामिङ क्लब (क्यासिनो) र नान्स होटलमा सञ्चालित सिद्धार्थ ग्यामिङ जोनद्वारा सञ्चालित क्यासिनो प्याराडाइज छन् । भैरहवाको मौर्य होटलमा रहेको अपूर्व ग्यामिङ जोन प्रालिद्वारा सञ्चालित ग्याबलिङ ग्यालेक्सी, एशियन बुद्ध होटलमा सञ्चालित एलिगेन्ट इन्टरटेनमेन्ट प्रालि र भैरहवा गार्डेन रिसोर्टमा सञ्चालित क्यासिनो छन् ।

    माथिका मिनी क्यासिनोहरु हुन् भने रुपन्देहीमा टाइगर प्यालेस बाइ सोल्टीमा ठूलो क्यासिनो सञ्चालनमा छ । मिनी क्यासिनो मापदण्ड अनुसार नचलेको र प्रहरीसँग सेटिङ मिलाएर नेपालीलाई जुवा खेलाउने गरेका छन् । भैरहवामा सञ्चालनमा रहेका क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने गरेका समाचारहरु बारम्बार सार्वजनिक हुँदैआएका छन् ।

    यसअघि नियमविपरीतसञ्चालन गरेको र सञ्चालकले अकूत सम्पत्ति आर्जन गरेको विषयबारेमा रुपन्देहीमा सञ्चालित ६ वटा मिनी क्यासिनोमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धानसमेत सुरु भएको थियो ।

    नेपालगंजका क्यासिनोबाट पनि असुली

    नेपालगंजमा ८ वटा क्यासिनो संचालित छन् । होटल सोल्टीमा महाजोङ, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कल्पवृक्षमा एसएन ब्लु, ड्रिमल्यान्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी गेमिङ सञ्चालनमा छन् ।

    नेपालगंजका क्यासिनोमा जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवाको सेटिङ नमिल्दासम्म नेपालीलाई प्रवेश निषेध जस्तै गरियो । तर जीसी सरुवा भएको असोज महिनादेखिकै दररेट बढाएर दिन तयार भएपछि अहिले बाँकेका क्यासिनोमा निर्धक्क नेपालीलाई समेत प्रवेश खुल्ला गरिएको छ ।

    नेपालगंजका प्रत्येक क्यासिनोले विगतमा १ लाख जिल्लामा दिंदैआएकोमा २ लाख दिनुपर्ने माग भएपछि त्यही अनुसार दिएर सेटिङ मिलाएको स्रोत बताउँछ । नेपालगंजका क्यासिनोबाट प्रदेशका घुमुवाले अलग्गै दररेट उठाउने गरेका छन् । नेपालगंजमा संचालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने र खेल्न जाने व्यक्तिहरूको विवरण इन्ट्री नगर्ने गतिविधि भइरहेको पाइएको छ ।

    क्यासिनो नियमावली २०८२ पालना नगरी मनपरी क्यासिनो संचालन गर्दैआएकाले प्रहरीलाई मासिक दररेट बुझाएर संचालन गर्दैआएका छन् । केही क्यासिनोमा नेपाली नागरिकले भारतीय आधारकार्डको झुटो प्रमाणपत्र देखाएर प्रवेश गर्ने गरेको पाइएको छ ।

    घुमुवासँग सेटिङ मिलेपछि मुस्ताङबाट तस्करी भएको इलेक्ट्रिक सिगरेट(भेप) समेत नेपालगंज नाका हुँदै भारततर्फ पार हुने गरेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार