Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाईगोरुको तस्करीः लुम्बिनी प्रदेशदेखि काँकडभित्तासम्म प्रहरी र क्वारेन्टाइन सेटिङ


    बुधबार, फाल्गुन ७ २०८१
    3.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । हेटौंडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रक आइतबार राति पथलैयामा बरामद भयो । प्रहरीले नै स्कर्टिङ गरेर तस्करी भइरहेको गोरुसहितको बा. प्र. ०३–००१ ख १४२४ नम्बरको ट्रक रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका कटाइसकेपछि पथलैयामा नियन्त्रणमा लिइएको थियो ।

    गोरु बोकेको गाडी स्कर्टिङ गरेको समाचार आएपछि हेटौंडा–१५ रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार कारबाहीस्वरुप जिम्मेवारीबाट हटाएको छ । पथलैयामा पनि गोरु लोड भइको उक्त ट्रक प्रहरीले बरामद गरेको होइन, पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरको पहलमा नियन्त्रणमा लिइएको थियो ।

    गाईगोरु तस्करी लुम्बिनी प्रदेशका कपिलपस्तु, रुपन्देही, बाँके, बर्दियादेखि प्रहरीको उच्चतहकै सेटिङमा हुँदैआएको छ । रातमाटे चौकीका सईदेखि र सिपाही हवल्दारलाई जिल्लामा तानेर गोरु तस्करी प्रकरणमा सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान चरितार्थ गरिएको छ ।

    गाईगोरु तस्करीको नेटवर्क कपिलवस्तुदेखि काँकडभित्तासम्म

    लुम्बिनी प्रदेशका मुख्यतया कपिलवस्तु र रुपन्देहीबाट भारतीय गाईगोरु नेपालतर्फ तस्करी हुन्छ । भारतबाट ल्याइएका गाईगोरु लुम्बिनी प्रदेशबाट बागमती प्रदेशका चितवन, मकवानपुर, मधेश प्रदेशका बारा हुँदै कोशी प्रदेशका सुनसरी, मोरङ हुँदै झापाको काँकडभित्ताबाट बंगलादेश पुर्याउने गरिएको छ ।

    सई सन्तोष रायमाझी

    भारतीय सीमा जोडिएका लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, दाङ, बाँके र बर्दियाबाट पनि नेपालतर्फ गाईगोरुको तस्करी हुँदैआएको छ । तर सबैभन्दा बढी कपिलवस्तु र रुपन्देहीबाट गाईगोरुको तस्करी हुने गर्दछ । लुम्बिनी प्रदेशका कपिलवस्तु र रुपन्देहीसहितका जिल्लाबाट तस्करीको गाईगोरुका तस्करहरुको सेटिङ भैरहवामा दसौं बर्षदेखि कार्यरत प्रहरी नायब निरीक्षक(सई) सन्तोष रायमाझीले गर्दैआएको स्रोत बताउँछ । रायमाझी अहिले प्रदेश कार्यालयको घुमुवाका रुपमा सबैतिर समन्वय गर्दैआएका छन् । उनकै समन्वयमा असई श्याम चौधरीको नेतृत्वमा प्रदेशमा सादा पोशाकमा घुमुवा परिचालित छन् ।

    गाईगोरु तस्कर नुनु मुसलमान, रोशन डल्लाकोटीहरुले लुम्बिनी प्रदेशभरको सेटिङ सई रायमाझीमार्फत् मिलाउने र बागमती, मधेश प्रदेशदेखि कोशी प्रदेशका जिल्लामा पनि मिलाएर निर्वाध रुपमा काँकडभित्ता पुर्याउने गरेका छन् ।   आइतबार उनीहरुले हेटौंडाको पशु क्वारेन्टाइनमा सेटिङ नमिलाएकाले मात्र गोरु बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    गाईगोरु तस्करीमा को को छन्  ?

    प्रहरी स्रोतका अनुसार लुम्बिनी प्रदेशबाट गाईगोरु तस्करी गरी काँकडभित्ता हुँदै भारत पुर्याउनेहरुमा रोशन डल्लाकोटी, नुनु मुसलमान, कान्छा लामा, वोसी मुसलमानको समूह हुन् । उनीहरुले जिल्लाका विभिन्न स्थानबाट गाईगोरु संकलन गरे झापा पुर्याउने गरेका छन् । कपिवलस्तुका कृष्णनगर, विजयनगर, महाराजगञ्जका भारतीय सीमा क्षेत्र, मर्यादापुर, हरदौना, हथिहवा क्षेत्रका सीमानाकाबाट धपाएर गोरुहरु नेपालको भूमितर्फ ल्याइन्छ । त्यसपछि नेपालका रैथाने छाडा गाईगोरुसमेत ट्रकमा लोड गरी काँकभित्ता हुँदै बंगलादेश बिक्रीका लागि लाने गरिएकोे छ ।

    कपिलवस्तुदेखि झापासम्म बीसौं ठाउँमा प्रहरी र सशस्त्रका चेकपोष्ट भए पनि तस्करहरुले सबैतिर सेटिङ गरी गाईगोरु झापा हुँदै बंगलादेशमा बिक्रीका लागि दैनिक लगिरहेका छन् । सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा हुन्छ । तर भारतबाट गाईगोरु खेदेरै सीमामा ल्याउने र नेपाल प्रवेश लगत्तै किसानबाट किनेको नक्कली कागजपत्र बनाएर, भेटनरी चिकित्सकको क्वारेन्टाइन प्रमाणपत्र र भिसिटिएस अनलाइन बनाएर झापाको काँकडभित्ता हुँदै बंगलादेशसम्म बिक्री गर्दैआएका छन् ।

    गाईगोरु तस्करी गर्ने नुनु मुसलमान र रोशन डल्लाकोटीको समूहले प्रहरी, सशस्त्र र क्वारेन्टाइन सबैतिर सेटिङ मिलाउँदैआएका छन् । तर पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरलाई नुनु मुसलमानको समूहले सेटिङ नगर्दा मकवानपुरको रातमाटे प्रहरीले स्कर्टिङ गरेर कटाए पनि बाराको पथलैयामा गोरु बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिन बाध्य भएको थियो ।

    हिन्दू धर्ममा गाईगोरुको बध निषेध छ । ठूलो पापका रुपमा लिइन्छ । तर हिन्दूहरुको संख्या ८० प्रतिशत भएको भारतबाट नेपाल हुँदै बंगलादेशमा बधकै लागि गाईगोरु तस्करी गरी लाने गरेकोमा हिन्दूवादी संघसंस्थाले बेलाबेलामा विज्ञप्ति निकाल्ने गरेका छन् । तर गाईगोरु तस्करी भने रोकिन सकेको छैन ।

    भारतबाट गाईगोरु तस्करी गरी नेपालमा भित्र्याउने मुख्य नाका इलाका प्रहरी कार्यालय गोरुसिंगे र वडा प्रहरी कार्यालय चन्द्रौटा हुन् । गाईगोरु तस्करीको सेटिङ हुने भएकाले ती प्रहरी कार्यालयमा इन्चार्ज हुनका लागि प्रहरी निरीक्षकको ठूलै हानथाप हुने गरेको छ । इप्रका गोरुसिंगेको प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनार छन् भने वप्रका चन्द्रौटामा सुजनविक्रम शाह छन् । गाईगोरु तस्करीमा विवाद आइरहेकै बेला गोरुसिंगेका प्रहरी निरीक्षक सुनार मंसिर महिनाको ‘पुलिस अफ दी मन्थ’ बाट पुरस्कृत भएका थिए । उनलाई २ महिनाअघि गएको पुस ४ गते डीआईजी दानबहादुर कार्कीले पुरस्कृत गरेका थिए । जिल्लाका एसपीले पुरस्कृत गर्दा हुने भए पनि उनलाई डीआईजीले नै पुरस्कृत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार