Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशमा डीआईजीका घुमुवाहरूको असुली आतंक


    बुधबार, माघ २३ २०८१
    4.4K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं – भावी आईजीपीको दाबी गर्दैआएका लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दानबहादुर कार्कीले बदनाम प्रहरीलाई सादा पोशाकमा घुमुवाका रुपमा खटाएका छन् ।

    कार्की कपिलवस्तुको एसपी हुँदा नै घुमुवाका रुपमा खटिएका र भन्सारछली तस्करी गर्नेहरुसँग बाक्लो उठबस भएका असई श्यामकुमार चौधरीको टोलीलाई डीआईजी कार्कीले लुम्बिनी प्रदेशका ५ वटै जिल्लाको सादा पोशाकमा घुमुवाका रुपमा खटाएका छन् । दर्जाले असई भए पनि चौधरी कपिलवस्तुका ५ भन्दा बढी एसपीका घुमुवाका रुपमा अतिरिक्त आम्दानीका लागि परिचालित भएका जुनियर अधिकृत हुन् ।

    कपिलवस्तुका एसपीहरु प्रेम बस्नेतदेखि नवरत्न पौडेलसम्मका घुमुवा असई चौधरीको बारेमा धेरै गुनासो आएपछि तत्कालीन डीआईजी कुवेर कडायतले उनको दरबन्दी रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा फिर्ता गरेका थिए । तर आफूलाई ‘स्वच्छ छवि’को देखाउन खोज्ने र भित्रभित्रै कम्बल ओढेर खाने कलामा निपूण भनेर चिनिएका डीआईजी कार्कीले पदबहाली गरेको १ महिनामै तिनै बदनाम चौधरीलाई नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दिया जिल्लामा घुमुवाका रुपमा अतिरिक्त आम्दानीका लागि खटाएका छन् ।

    इलाका प्रहरी कार्यालय बुटवलको डीएसपी हुँदादेखिका कार्कीका घुमुवा बसेका सई सन्तोष रायमाझीले प्रदेशका पाँचै जिल्लामा घुमुवाको समन्वय गर्ने जिम्मा पाएका छन् । उनै रायमाझीले असुलीका लागि असई चौधरीको नेतृत्वमा प्रदेशको घुमुवा टीम खटाएको स्रोत बताउँछ । एक बर्ष पनि जागिर अवधि नभएका रायमाझी डीआईजी कार्कीका विश्वासपात्र हुन् ।

    रायमाझीकै योजनामा चौधरीको टोलीले नवलपरासी र रुपन्देहीमा तस्करहरुलाई सेटिङमा ल्याइसकेको छ । चौधरीले करिब तीन साताअघि नवलपरासीको भुजहवास्थित गोदाममा छापा मारी २० बोरा चिनी बरामद गरेका थिए । डीआईजी कार्यालयबाट खटिएका घुमुवाले चिनी बरामद गरेको हल्ला चलेपछि नवलपरासीका नाकाबाट लसुन, मकै र कवाडीको कारोबार गर्नेहरु असई चौधरीको सम्पर्कमा आएर लाइन मिलाइसकेको स्रोत बताउँछ ।

    असई चौधरी प्रहरी जवानमा भर्ना भएदेखि नै नवलपरासी, कपिलवस्तु, रुपन्देहीमा कार्यालय प्रमुखको घुमुवाका रुपमा सादा पोशाकमा परिचालित छन् । हालका डीआईजी कार्की कपिलवस्तुमा हुँदा पनि चौधरी घुमुवाका रुपमा अतिरिक्त आम्दानी गर्न खटाइएका थिए ।

    नेपालबाट मकै, लसुन र कवाडीको तस्करी

    नवलपरासी, रुपन्देही र कपिवलस्तुसहित लुम्बिनी प्रदेशका बर्दिया र बाँकेका नाकाबाट लसुन, ब्राजिलियन मकै र कवाडीको तस्करी हुँदैआएको छ । तेस्रो मुलुकबाट मकै नेपाल ल्याएर भारतमा तस्करी गर्ने समूहले बिगतमा सुपारी, केराउ र मरिचको कारोबार गथ्र्यो । ब्राजिलियन मकैको भारतमा ठूलो माग छ । मकै ब्राजिल र अफ्रिकन मुलुकबाट नेपाल ल्याएर भारतमा लैजाने गरिएको छ ।

    नेपालबाट अमेरिकी डलरमा एलसी खोलेर मकै ल्याउने गरिन्छ । डलरमा खरिद गरेको मकै भारत तस्करी हुँदैआएको छ । डलरमा खरिद भएको मकैको भुक्तानी गैरकानुनी रुपमा हुन्डीमार्फत् नेपालमा आउने गर्दछ । तस्करीको मकैको भुक्तानी अबैध हुन्डीमार्फत् ल्याएर ब्यक्ति धनी हुने तर राज्यको अर्थतन्त्र खोक्रो पार्ने कार्य हुँदैआएको छ ।

    नवलपरासी, रुपन्देही र कपिलवस्तुबाट ठूलो परिमाणमा भारतमा कवाडी लैजाने सन्तोष गुप्तासँग सई सन्तोष रायमाझीले सेटिङ गरिसकेको स्रोत बताउँछ । स्रोतका अनुसार गुप्ताले प्रहरी, सशस्त्र र सीडीओलाई गरी मासिक ५० लाख घुस बुझाएर निर्धक्क कवाडी र लसुन भारतमा तस्करी गर्ने गरेको स्रोत बताउँछ ।  केही बर्षअघि नेपालबाट कवाडी लिएर गएको गाडी लखनउमा भारतीय प्रहरीले चेकजाँच गर्दा लागूऔषध भेटिएको थियो ।

    डीआईजीकै घुमुवाका रुपमा असई श्याम चौधरी खटिएपछि गुप्तासहितले उनलाई मिलाएर तीनवटै जिल्लाबाट मकै, लसुन, कवाडीका तस्करहरु उनको सम्पर्कमा पुगेर सुरक्षित कारोबार गर्नेतिर लागिसकेका छन् ।

    रुपन्देहीका ब्यापारीसँग पनि सेटिङ

    असई चौधरीको टोलीले रुपन्देहीको धकधई क्षेत्रमा २०८१ माघ १७ गते ९ बोरा चिनी बरामद गरेको थियो । डीआईजीको टोलीले बरामद भनेपछि सबै ब्यापारी घुमुवा चौधरीको कनेक्सनमा पुग्न बाध्य भएका छन् । चिनी बरामद गरेर मिसकल दिनासाथ धकधईबाट कारोबार गर्नेहरु सबै चौधरीकोमा पुगेर मासिक बुझाउने कबुलियतनामा गरिसकेको स्रोत बताउँछ । बेलहियापछिको सबैभन्दा बढी आकर्षक इलाका हो धकधई ।

    रोकिएको गोरु तस्करी सुचारु

    भारत हुँदै कपिलवस्तुबाट रुपन्देही, नवलपरासीबाट पूर्वतिर हुने गोरु तस्करी केही समय रोकिए पनि फेरि सुरु भएको छ । प्रदेशबाट खटिएका घुमुवा चौधरीले मासिक दररेट बुझाएर गोरु तस्करी सुचारु गरेका छन् । गोरुतस्करले मासिक ५ लाख बुझाउनेगरी डिल गरेको स्रोत बताउँछ । ३ महिनाको एकैपटक बुझाएपछि गोरु तस्करी सुरु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार