Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आईजीपीको घुमुवा नराख्ने निर्देशनः डीआईजी र एसपीले गरे उल्लंघन


    बुधबार, बैशाख १९ २०८१
    3.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सादा पोशाकका प्रहरी परिचालन नगर्न र काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा फिर्ता गर्न दिएको निर्देशन मातहतका प्रदेशका डीआईजी र एसपीले नै उल्लंघन गरिरहेका छन् ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी कुवेर कडायतको निर्देशनमा पाल्पा दरबन्दी भएका प्रहरी सहायक निरीक्षक (असई) कमल भट्टराईलाई नवलपरासीको घुमुवा राखिएको छ । डीआईजीको निर्देशनमा नवलपरासीका एसपी काजीकुमार आचार्यले उनलाई घुमुवा राखेका हुन् । सिपाहीबाट जागिरमा प्रवेश गरेका उनी रुपन्देहीबाट कहिल्यै पनि बाहिर खटिनु नपर्ने र सधैं घुमुवा बसेर लाभ लिनेमा पर्दछन् । उनका बारेमा धेरै गुनासो आएपछि लुम्बिनीका तत्कालीन डीआईजी उमेशराज जोशीले दाङमा सरुवा गरेका थिए ।

    जोशी सरुवा भएर कडायत लुम्बिनीको डीआईजीमा हाजिर हुनासाथ असई भट्टाईलाई नवलपरासी काजमा पठाएका छन् । जबकि आईजीपी कुँवरले दरबन्दी पठाओ अभियान डीआईजी हुँदादेखि नै संचालन गरेका थिए ।

    त्यसैगरी, डीआईजी कडायतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काजमा कार्यरत अर्का असई सन्तोष रायमाझीलाई भैरहवाका ६ वटा क्यासिनोमा मासिक दस्तुरी संकलनमा लगाएको आरोप छ । रायमाझीको दरबन्दी रोल्पा  हो । रायमाझी मुकुन्द आचार्य डीआईजी हुँदा प्रदेशका घुमुवा थिए ।

    आचार्यदेखि पछिका डीआईजी रविन्द्र धानुकका पनि उनी घुमुवा थिए । दानबहादुर कार्की बुटवलमा डीएसपी हुँदादेखि कपिलबस्तुको एसपी हुँदासम्म उनका घुमुवा बसेका रायमाझी पनि असुलीमा विवादमा परेका थिए । प्रहरी प्रधान कार्यालयबाट एसएसपी दानबहादुर कार्कीले रायामाझीलाई रोल्पाबाट रुपन्देही सरुवा गरिदिएका हुन् । कार्की बुटवल इलाका प्रहरीको डीएसपी हुँदादेखि कपिलबस्तुको एसपी हुँदासम्म रायमाझी उनका घुमुवा थिए ।

    त्यसैगरी, जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी आचार्यले काजमै कार्यरत सहायक हवल्दार अमरेशकुमार यादवलाई घुमुवा राखेका छन् । यादवको दरबन्दी कपिलवस्तु हो । तर उनी ३ बर्षदेखि नवलपरासीको एसपीको घुमुवाको रुपमा कार्यरत छन् ।

    रुपन्देहीका एसपी रंजितसिंह राठौरले काजमै कार्यरत प्रहरीलाई घुमुवा राखी तस्करीको लाइन दिने गरेको बिषयमा यसअघि नै नेपालफेसले उजागर गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार