Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारा यातायातमा कर्मचारी र ट्राफिक सेटिङ, दररेट तोक्दै फेल भएकालाई लाइसेन्स


    आइतबार, पुष २० २०८२
    2.1K
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • बीरगंज । बारा जिल्लामा रहेको यातायात व्यवस्था कार्यालय, कलैयामा दररेट तय गर्दै सवारीचालक अनुमतिपत्र( ड्राइभिङ लाइसेन्स) बितरण हुने गरेको छ ।

    यातायात व्यवस्था कार्यालय, कलैयामा पछिल्लो समय व्यापक आर्थिक चलखेल, संगठित भ्रष्टाचार र सत्ताको दुरुपयोग हुँदैआएको छ । जसले यातायात ब्यवस्था कार्यालयको सवारी अनुमतिपत्रको परीक्षाकै विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

    यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख अबिन्दर दासले लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीहरूलाई समेत रकम असुली गरी उत्तीर्ण गराइरहेको आरोप लागेको छ । कार्यालयमा हाजिर भएदेखि नै दासले लाइसेन्समा यस्तो ठाडो भ्रष्टाचार गर्दैआए पनि न त मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालय न त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तदारुकताका साथ अनुगमन गर्न सकेको छ ।

    कलैया यातायात कार्यालयका प्रमुख दासले प्रदेशको यातायात मन्त्रीदेखि सचिवसम्मलाई प्रभावमा पारी खुलेआम फेल भएकालाई समेत लाइसेन्स दिएका तथ्यहरु नेपालफेसलाई प्राप्त भएका छन् ।

    सेवाग्राही र आन्तरिक स्रोतहरूका अनुसार प्रमुख दासले आफ्ना विश्वासपात्र कर्मचारी, ट्रायल प्रमुख र बिचौलियाहरू परिचालन गरी लाइसेन्सको किसिम अनुसार दररेट तोकेर घुस उठाउने गरेका छन् ।

    सेवाग्राहीहरूका अनुसार मोटरसाइकलको लाइसेन्सका लागि १० हजारदेखि १५ हजार रुपैयाँ, चारपाङ्ग्रे सवारीका लागि १५ हजारदेखि २५ हजार रुपैयाँ, हेभी सवारी तथा मेसिनरी साधनका लागि २५ हजारदेखि ७० हजार रुपैयाँसम्म रकम लिई लिखित वा ट्रायल परीक्षामा फेल भएकाहरूलाई पास गराउने गरेका छ ।

    पैसा बुझाएपछि कम्प्युटर प्रणालीमै पास देखिने गरी लाइसेन्स भेरिफिकेसन मिलाइने गरिएको छ । स्रोतका अनुसार ट्रायल सेन्टरमा जडान गरिएका सिसिटिभी क्यामेराका फुटेजसमेत आवश्यकताअनुसार सम्पादन गरी हटाइने गरिएको छ ।

    यस्तो खुलेआम घुस कारोबारमा कार्यालय प्रमुख दासका विश्वासपात्र ट्रायल प्रमुख, एक जना नेतासँग नजिकको सम्बन्ध भएका व्यक्ति तथा दर्जनभन्दा बढी बिचौलिया सक्रिय रहेको पीडितहरूको भनाइ छ । लिखित परीक्षामा सेटिङ भएका परीक्षार्थीलाई ५–६ वटा प्रश्नमा मात्र संकेत चिन्ह लगाउन लगाई बाँकी खाली छोडेपछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरूले नै उत्तर भरी पास गराउने गरिएको छ ।

    प्रयोगात्मक परीक्षामा सेटिङ भएका परीक्षार्थीहरूका लागि प्रमुख दासले व्यक्तिगत रूपमा खरिद गरेका मोटरसाइकल प्रयोग गरिने, दक्ष चालकलाई हेल्मेट र मास्क लगाएर अनुहार नदेखिने गरी ट्रायल दिन लगाइने गरेको स्रोतको दाबी छ ।

    यसैगरी, ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक किरण कार्की पनि लाइसेन्समा घुस लेनदेनमा संलग्न रहेका छन् । उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक के.सी.का विश्वासपात्र भएकाले ट्रायल सेन्टरमा उनको प्रभाव अत्यधिक रहेको यातायातका कर्मचारीहरु बताउँछन् ।

    स्रोतका अनुसार सई कार्की जुनसुकै जिल्लामा सरुवा भए पनि सोर्स–फोर्सको बलमा ट्रायल सेन्टरमै बसेर आर्थिक लाभ लिँदै आएका छन् । उनी यसअघि पर्सा र रौतहट जिल्लाका ट्रायल सेन्टरमा कार्यरत रहँदा लाइसेन्समा घुस असुली गरेको आरोपपछि तत्कालीन मधेश प्रदेश प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले उनलाई मधेश प्रदेशबाट हटाएका थिए । तर हाल पुनः बारा ट्रायल सेन्टरमा सरुवा भएपछि लाइसेन्स बितरणमा घुस कारोबार झनै खुलेआम भइरहेको आरोप छ ।

    कलैया यातायाताका एक कर्मचारी भन्छन्, ‘यातायात कार्यालयमा प्रमुखपछि सबैभन्दा ठूलो प्रभाव सई किरण कार्कीको छ । ट्रायल सेन्टरमा कसलाई पास गर्ने र कसलाई फेल गर्ने भन्ने निर्णय धेरै हदसम्म उनकै हातमा हुन्छ ।’

    पास भइसकेकाहरूलाई समेत फेल गराई पुनः रकम असुल्ने गरिएको गुनासो सेवाग्राहीले गर्ने गरेका छन् । लिखित तथा प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुने भएकाले उनीहरूको सहमतिविना कुनै काम अघि बढ्दैन । मधेश प्रदेश ट्राफिक प्रहरी नेतृत्व र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको मिलेमतोमा भ्रष्टाचार मौलाएको सेवाग्राहीहरूको भनाइ छ ।

    विवादास्पद कर्मचारीका रूपमा चिनिएका अबिन्दर दास यसअघि बीरगंज यातायात कार्यालयमा नायब सुब्बा रहँदा कानूनविपरीत भारतीय सवारी चालक अनुमतिपत्रलाई नेपाली बनाएको र त्यसको अभिलेख नष्ट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेपछि निलम्बनमा परेका थिए ।

    पछि सेटिङमा मुद्दा जितेर निलम्बन फुकुवा गराएपछि उनी रौतहट यातायात कार्यालयको प्रमुख बनेका थिए । त्यहाँ पनि उनको विवादास्पद कार्यशैलीका कारण कार्यालय बदनाम भएको थियो । त्यसपछि मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयले उनलाई काजमा तानेको थियो ।

    मन्त्रालयबाट २०८१ माघ ९ गते बारा सरुवा भएर आएका दासले दर्जनौँ बिचौलियामार्फत् लाइसेन्स बिक्री गर्दै करोडौँ रुपैयाँ असुलेको आरोप छ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १३ श्रीनगर, धर्मशाला टोल निवासी दासले रामनगर गाउँपालिका वडा नं. ३ सर्लाही निवासी आफ्ना नातामा बहिनीज्वाइँ पर्ने सिकिन्द्र दासलाई मुख्य हर्ताकर्ता बनाएका छन् । सिकिन्द्र दासको बसोबास कलैयामै रहेको र बिचौलियाहरूसँगको सम्पूर्ण हिसाबकिताब उनीमार्फत् हुने गरेको छ । प्रमुख दासका भाइ भिखारी दास र बिकेश दास तथा उनका चालक सुशील सिंहसमेत असुली कार्यमा संलग्न रहँदैआएका छन् ।

    कलैया यातायात कार्यालयमा मासिक रूपमा करोडौँ रुपैयाँको घुस कारोबार हुने गरेको छ । संकलन भएको घुस प्रमुख दासको भागमा २० प्रतिशत, प्रहरी निरीक्षक दीपक के.सी. को भागमा २० प्रतिशत, लिखित प्रमुख तथा कर्मचारीहरूको भागमा २० प्रतिशत, ट्रायल प्रमुख सन्तोष सिंहको भागमा १५ प्रतिशत र बाँकी २५ प्रतिशत अन्य व्यवस्थापन तथा मिलेमतोमा भागशान्ति हुँदैआएको स्रोत बताउँछ ।

    सई किरण कार्कीले हिसाबकिताब गरी प्रहरी निरीक्षक के.सी. लाई बुझाउने र त्यसमध्ये केही भाग मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक राजकुमार सिलवालसम्म पुग्ने गरेको गम्भीर आरोप पनि स्रोतले लगाएका छन् ।

    यसैबीच, बारा यातायात कार्यालयमा भएको अव्यवस्थाले हिंसात्मक रूपसमेत लिएको छ । मंसिर १७ गते बुधबार साँझ करिब साढे पाँच बजे कार्यालयभित्रै प्रमुख अबिन्दर दास र खरिदार सत्यनारायण साहबीच लाइसेन्सको घुस लेनदेन नमिलेको विषयमा हाताहात भएको थियो । कुटाकुटका क्रममा खरिदार साहको अनुहार सुन्निएको र प्रमुख दासको अनुहारमा समेत चोट लागेको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको थियो । पछि विषय बाहिर नआओस् भन्ने उद्देश्यले घटनालाई सामसुम पारिएएको थियो ।

    बाराको यातायात कार्यालयमा भइरहेको यो अव्यवस्था र भ्रष्टाचार दीर्घकालसम्म लुक्न नसक्ने स्थानीयहरूको धारणा छ । पीडित सेवाग्राही तीन जनाले अवैध लुटपाटविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दिने तयारीमा छन् । तर अख्तियारले यस विषयमा चासो नदिएको आरोपसमेत उनीहरूले लगाएका छन् । कार्यालय प्रमुख दासले आफ्नो पहुँच मन्त्री तथा मुख्यमन्त्री कार्यालयसम्म सिधा रहेको भन्दै कर्मचारीहरूलाई समेत त्रसित बनाउने गरेका छन् । सेटिङ गरी भ्रष्टाचार मुद्दा जितेर पुनः यातायात कार्यालयमै फर्किएका उनी झन् बढी घुस असुलीमा लागेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्य जिल्लाका यातायात कार्यालयहरूमा स्टीङ अपरेसन गरी मुद्दा दायर गरिरहँदा बारा यातायात कार्यालयमा हुने गरेको घुस लेनदेनमा मौन बसेको आरोप लाग्दैआएको छ । हालै भरतपुर, चितवन यातायात कार्यालयमा कार्यालय सहयोगी इन्द्रजित गुरुङ घुससहित पक्राउ परी मुद्दा दर्ता भएको घटनालाई उदाहरण दिँदै सेवाग्राहीहरूले बारामा पनि तत्काल स्टीङ अपरेसन गरी दासका बिचौलिया पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

    मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतिश सिंह र तत्कालीन श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई प्रभावमा पारी विवादास्पद र बदनाम छविका अविन्दर दासले यातायात व्यवस्था कार्यालय, कलैया, बाराका प्रमुखको जिम्मेवारी पाएका थिए ।

    अब प्रश्न उठेको छ—मधेश प्रदेश सरकारका नवनियुक्त श्रम तथा यातायात मन्त्री मनिष सुमनले यस्ता भ्रष्ट कार्यालय प्रमुख, कर्मचारी र सुरक्षाकर्मीहरूविरुद्ध कडा कारबाही गर्छन् कि भ्रष्टाचारको स्वाद चाखेर आँखा चिम्लेर बस्छन् ? सुशासन, कानूनी शासन र नागरिकको विश्वास कायम राख्न बारा यातायात कार्यालय प्रकरणमा तत्काल निष्पक्ष अनुसन्धान र कठोर कारबाही अपरिहार्य देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार