Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिटिल एन्जल्स स्कुलद्वारा २० रोपनीभन्दा बढी जग्गा अतिक्रमण, अरबौंको जग्गा खोज्दै प्राधिकरण


    शनिबार, कार्तिक २२ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । लिटिल एन्जेल्स स्कुलका संचालक तथा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले २० रोपनी रोपनी भन्दा बढी भेल्पा–हात्तीवनको जग्गा कब्जा गरेको खुलासा भएको छ ।

    श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको १ सय १२ रोपनी जग्गा कब्जा गरी मालपोतमा दर्ताका लागि पेश गरेको बिषयमा पनि विवादमा छन् । गुठियारमा पहुँचवालाहरुलाई राखी ल्याबोरोटरी स्कुल संचालनका लागि त्रिबिले उपलब्ध गराएको अरबौं मूल्यको जग्गा कब्जा गर्न श्रेष्ठले शक्तिकै आडमा मालपोतमा दर्ता गर्ने प्रयास गरेका थिए ।

    लिटिल ऐन्जन्स स्कुल परिसरको जग्गा भेल्पा–हात्तीवन आयोजनाको गुरुयोजना(डीपीआर) भित्र पर्दछ । तर भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाको डीपीआरबाट अलग हुनका लागि लिटिल एन्जल्स लागेको छ । भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाको गुरुयोजनाभित्र परेका जग्गाधनीको ६५ प्रतिशत जग्गा बाटोदेखि बिभिन्न मापदण्ड पूरा गर्दा घटेको छ । तर डीपीआरभित्र परेको लिटिल एन्जल्स स्कुल भने उक्त आयोजनाबाट अलग हुन खोजिरहेको छ ।

    भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाले अतिक्रमणमा परेको सरकारी जग्गा खाली गर्न ३५ दिने सूचना निकालिसकेको छ । विगतमा शक्तिको आडमा भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनबाट अलग हुने प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेका लिटिल एन्जल्स स्कुलका संचालक उमेश श्रेष्ठ र उनका भाइ राजेश श्रेष्ठले अतिक्रमण गरेको जग्गा खाली गराउन अटेर गर्दैआएका छन् ।

    लिटिल एन्जल्स स्कूलभित्रको जग्गा २०२१ सालको नापीनक्सा अनुसार १ सय १० रोपनी ५ आना १ पैसा २.४० (५६१३३.११ वर्गमिटर) क्षेत्रफल रहेको छ । तर स्कुलसँग जग्गाधनी पूर्जा १ सय रोपनी १४ आना २.५१ (५१३२३।८४ वर्गमिटर) मात्रको छ । २०२१ सालको नापीनक्सा अनुसार स्कुलले करिब १० रोपनी जग्गा अतिक्रमण गरेको देखिन्छ । क्षेत्रफल भन्दा बढीको जग्गा स्वतः सरकारी हुन्छ । तसर्थ लिटिल एन्जेल्स स्कुलले १० रोपनी जग्गा अतिक्रमण गरेको २०२१ सालको नापीनक्साबाटै पुष्टि हुन्छ ।

    लिटिल एन्जल्स स्कुलले २० रोपनीभन्दा बढी जग्गा अतिक्रमण गरेको र कर्मनाशा खोलालाई स्कुलभित्रै हालेको बिषयमा पनि भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाले छानबिन गर्ने भएको छ । भेल्पा–हात्तीवन आयोजनाको डीपीआरभित्र परेका सबै जग्गाको नापीनक्सा पुनः गराउने योजनामा आयोजना प्रमुख घनश्याम पौडेल छन् ।

    पूर्जाभन्दा बढी जग्गा पनि लिटिल एन्जेल्सले अतिक्रमण गरेको विवरण पनि नेपालफेसलाई प्राप्त भएको छ । लिटिल एन्जेल्स स्कुलको परिसरभित्र नापीनक्सा अनुसार र पूर्जा अनुसार फरक क्षेत्रफल १ रोपनी २ आना १ पैसा देखिएको छ ।

    लिटिल एन्जेल्स स्कुलले बगरको बगरको जग्गा पनि अतिक्रमण गरेको तथ्य प्राप्त भएको छ । बगरको १० रोपनी ३ आना २ पैसा (५१९८.६० बर्गमिटर) जग्गा सो स्कुलले अतिक्रमण रेको छ । लिटिल एन्जेल्स स्कुलको कुलोको जग्गाको क्षेत्रफल १ रोपनी २ आना ३ पैसा २ दाम (६००.५५ बर्गमिटर) रहेको छ । कुलो पनि सरकारी जग्गा नै मानिन्छ ।

    मापदण्डअनुसार खोलाको चौडाईको १० मिटर घटाउँदा नेपाल सरकारको बगर जग्गा बाँकी ४ रोपनी १४ आना २ पैसा २. ९५(२५०१.८७ बर्गमिटर) हुन आउँछ । खोलाको बगर स्वतः सरकारी जग्गा हो ।

    २०२१ को नापीनक्सा अनुसार लिटिल एन्जेल्स स्कुलले २० रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको देखिन्छ ।

    काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले लिटिल एन्जेल्स स्कुलसहितका संघसंस्थाहरुलाई ३५ दिनभित्र अतिक्रमित जग्गा खाली गर्न गएको कात्तिक २ गते सार्वजनिक सूचना निकालेको थियो । जुन सूचना निकालेको २० दिन नाघिसकेको छ ।

    भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले आयोजनाको डीपीआरबाट कोही पनि अलग्गिनै नसकिने बताए । डीपीआरभित्रका सबै जग्गा नापनक्सा गरिनेछ । सार्वजनिक जग्गा खाली गर्न सूचना निकालिसकिएको छ । खाली नगर्नेहरुको हकमा कानुनबमोजिम कारबाही अगाडि बढ्नेछ ।

    ३५ दिनभित्र जग्गा खाली नगरी अटेर गरेमा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिम कामकारबाही हुने सूचनामा उल्लेख गरिसकिएको छ । पौडेलले भने ।
    पाँच बर्षभित्र सम्पन्न गर्नेगरी स्थापना गरिएको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको काम १२ बर्ष बितिसक्दा पनि सकिएको छैन । ४ सय घरधुरी रहेको आयोजनाको जग्गा १२ बर्षदेखि रोक्का छ । किनबेच गर्न, बैंकमा राख्न पाएका छैनन् । तर आयोजनाका इन्जीनीयरदेखि प्रमुखसम्म जग्गा हस्तान्तरण गर्नभन्दा पनि झुलाउनमात्र ब्यस्त देखिएका थिए ।

    घुस दिने जग्गाधनीको जग्गा हस्तान्तरण गर्ने तर घुस नदिनेको झुलाएर राखिएको गुनासो भेल्पा हात्तीवनबासीको रहँदैआएको छ । पौडेलले सरुवा हुनासाथ अतिक्रमणमा परेको जग्गा खाली गराउने र भेल्पाबासीको समस्या समाधान गर्ने कार्यमा जुटिसकेका छन् । भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको जग्गाको बारेमा जेनजीको समेत सहयोग लिने तयारीमा आयोजना रहेको छ ।

    यस्तो छ लिटिल एन्जल्स स्कुलको जग्गाको विवरण, अतिक्रमणमा कति परेको छ ?

    १. २०२१ सालको नापी नक्सा अनुसार ५ह, ५ घ १ र ५ च १ को कूलो, सार्वजनिक, पर्ति र व्यक्तिगत जग्गा लिटिल एन्जल्स स्कुलभित्रभित्रको क्षेत्रफल ११०–५–१–२.४० (५६१३३.११ व.मि.)

    २. पूर्जा अनुसारको क्षेत्रफल १००–१४–०–२.५१ (५१३२३.८४ व.मि.)

    ३. नापी नक्सा अनुसार र पुर्जा अनुसार फरक क्षेत्रफल १–२–०–१ जग्गाधनीको पूर्जा बढी

    ४. ५ च १ को कि.नं. २ र ४ को नापी नक्सा अनुसारको क्षेत्रफल (४६.११ व.मि.)

    ५. ५ह को कि.नं २४३, २४१ र ५ च १ को ९ नं. कित्ता नेपाल सरकारको बगरको क्षेत्रफल १०–३–२–० (५१९८.६० व.मि.)

    ६. ५च १ को लिटिल एन्जेल्स स्कुलको भित्रको कूलोको क्षेत्रफल १–२–३–२(६००.५५व.मि.)

    ७. मापदण्ड अनुसार खोलाको चौडाईको १० मिटर घटाउँदा नेपाल सरकारको बगर जग्गा बाँकी ४–१४–२–२.९५ (२५०१.८७ व.मि)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार