Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दिल्ली सम्झौताभित्रका कुरा 


    सोमबार, साउन १९ २०८२
    3.4K
    Shares
    नेपाल फेस
  • २४ मिनेट पाठ
  • अर्जुनध्वज अर्याल

    नेपालको पहिलो गभर्नरप्रति समर्पित, सामान्य गाता, एडु सञ्जालद्वारा प्रकाशित र २३४ पृष्ठमा समेटिएको दिल्ली सम्झौता शिक्षा पत्रकार प्रकृति अधिकारीको तेस्रो कृति हो । लेखन शुरुवात नेपाल-भारत सन्धिबाट भएको छ भने मैजारो मानिस कुँदने ‍औँलाबाट गरिएको यस पुस्तकमा ३० विषय सूचीसहित रहेका छन् । भौतिक र डिजिटल गरी दुबै माध्यममा उपलब्ध यो पुस्तक रु ५० मा ईबुकका रुपमा पनि अहिले पनि सहजै उपलब्ध रहेको छ ।

     

    नेपाल-भारत सन्धि शीर्षकमा उल्लेख गरिएअनुसार विक्रम सम्वत २००७ श्रावण १६ गते तदनुसार ईस्वी सन् १९५० जुलाइ ३१ तारिख सम्पन्न सन्धिमा हस्ताक्षर, सुभसाइत हेरी अपरान्हको ठिक ४ बजे, सुनले मोडिएको मसी भर्ने कलमद्वारा गरिएको रहेछ । सन्धि तयारको पृष्ठभूमिका लागि नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको दिल्ली यात्राका थुप्रै रोचक कहानी उल्लेख गरिएको छ यस अध्यायमा । विश्वमा प्रधानमन्त्रीलाई १९ तोपको सलामी दिने चलन भए पनि मोहनशम्शेरको चाहनाअनुसार २१ तोपको सलामी दिएको, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु समकक्षीको स्वागातार्थ दिल्लीको रेल्वे प्लेटफर्ममा पुगेको कुरादेखि भारतीय प्राइमिनिस्टर सहायता कोषमा एक लाख रुपिँया चन्दा दिएका विषयवस्तु समेटिएका छन् । त्रिभुवनलाई पदच्युत गरी ज्ञानेन्द्र शाहलाई राज्यारोहण गराई श्रीपेच पहिराइदिनका लागि श्रीपेच लिन जाँदा नमकको सोझो गर्न भन्दै महिलाले सहजै ढोका नखोलिदिएको कुरा बढो मार्मिक रहेको पाइन्छ । यस अध्याय पढ्दै गर्दा दिल्ली सम्झौता वास्तवमा अलिखित भएको थियो भन्ने कुरा बुझ्न सकिन्छ । राजा त्रिभुवन दिल्ली सवार भएपछि कस्लाई राजा बनाउने भनेर बसेको भारदारी सभामा केहीले मोहनशम्शेरलाई नै राजा बन्न भनेका कुराहरु समेत उल्लेख गरेको पाइन्छ ।

     

    लेखक

    मिथक ‘दिल्ली सम्झौता’ उपशीर्षकमा हैदरावाद हाउसमा त्रिपक्षीय सम्झौता गरियो भने पनि ती तीन पक्षमा को-को थिए भन्ने नै प्रष्ट छैन् । नेपालका तर्फबाट हस्ताक्षरकर्ता विजयशम्शेर र भारतको तर्फबाट राजदूत चन्द्रेश्वरप्रसाद नारायण उल्लेख गरिए पनि तेस्रो पक्ष राजा थिए वा तत्कालीन विद्रोही नेपाली काँग्रेस भन्ने भेउ पाउन सकिँदैन् । यहाँ उल्लेखित विभिन्न पात्रहरुले ‘दिल्ली सम्झौता’ को लिखित दस्तावेज अहिलेसम्म फेला नपरेकाले खोजीको विषय रहेको भनेर भनेका छन् । पटक-पटक नेपालको राष्ट्रियता अप्ठेरोमा परेको कुरा उल्लेख गरेको पाइन्छ । अलिखित दिल्ली सम्झौतामार्फत बनेको अन्तरिम सरकारका प्रधामन्त्री मोहनशम्शेरले नौ महिनापछि राजीनामा गर्दै ‘प्रधानमन्त्री जो पनि हुनसक्दछ, तर राष्ट्रियता गुमेपछि प्राप्त गर्न सकिँदैन’ भनेका कुराले नेपालको राष्ट्रियता कति कठिन मोडमा रहेको थियो वा सत्ता छोडन पर्दाको पीडा हो, जो अहिलेका शासकले पनि यही रटान लगाउने गरेका छन् । रुद्रशम्शेर र मोहनशम्शेर बीचको वार्तालापमा ज्ञानेन्द्रलाई सिंहासनमा राख्नु भूल भएको कुरा मोहनशम्शेरले स्वीकार गरेको कुरा पढन पाइन्छ । तर किन भूल भएको भन्ने तथ्य भने पाइँदैन ।

    जुद्व हुन्, जुद्व होइनन् उपशीर्षकमा जुद्वशम्शेर लगायतहरुका शालिकका विषयमा लेखिएको छ। नेपालमा बनेका शालिक कहाँबाट कसरी ल्याइएको थियो, पछि कसरी नेपालीले बनाउने मौका पाए भन्ने कुरा उल्लेख गरिएको छ ।

     

    नेपालका राजकुमारहरुको विवाहका लागि भारतका विभिन्न सहरमा गएर डोला खोजेर ल्याउने प्रसँग उल्लेख गरिएको छ । तर राणाहरुले स्वदेशमा नै बिहे गर्ने गरेका रहेछन् भन्ने कुरा थाहा लाग्छ । डोलाका लागि के कति रकम खर्च गरिने रहेछ, कति दिन लाग्दथियो, भारतको कहाँसम्म पुगेर खोजिन्थ्यो र कति जनासम्म कन्या हेरेर कसरी निर्णय गरिन्थ्यो भन्ने रोचक तथ्यहरु अध्ययन गर्दा बडा मजा लाग्छ । राणाजीका बिहेमा श्रीपेच को कोले लगाउन पाउँथे, राज्यकोषबाट खर्च कसरी गरिन्थ्यो, भोजभतेर कसरी व्यवस्था गरिन्थ्यो, जन्तीको प्रोसेसन, स्वयंवर गर्ने तरिका आदिका विषयमा गज्जवका विषयवस्तु समेटिएका छन् । दरबारका बडामहारानीका सुत्केरी स्याहारमा त्रिभुवन जन्मिँदा राज्यले दोसल्लाका लागि एक लाख १० हजार ५३६ रुपियाँ खर्च गरेकोदेखि अन्नप्रासनका लागि चाहिने माल चारजना महाजन राखी घटाघट गरी किफायत दरमा लिने कुरासम्म उल्लेख गरिएको छ । त्यसैगरी श्री ३ का किरिया श्रेस्तामा जङ्गको चिता सेलाउँदा ‘गरिप गुरुवा’ का लागि दुई हजार रुपियाँ खर्च गरिएकोदेखि धीरशम्शेर घाँटीमा लुइँचेको हाड अड्किएर जीवन-मरणको अन्तिम अवस्थामा पुगेका रोचक तथ्य पढन पाइन्छ ।

    त्यसैगरी राणाहरुको अस्तु १० दिनभित्र कासी र रिडीमा छेपन गर्ने प्रचलन र आशौच कसले कसरी बार्ने कुराहरु उल्लेख गरिएको छ । त्यस बेलाको खान्गीमा सरकारी जागिरदारलाई बाली उठाउनेको सट्टा बेतन दिने निर्णयमा कम्पु पल्टनका सैनिकले, निर्णयमा चित्त नबुझाएर सहभागीहरुका घरमा आगो लगाइदिएका थिए । सम्भवत नेपालको इतिहासमा भएको यो नै पहिलो सैनिक विद्रोह थियो । १९९३ सालमा नै महाराजहरूका लागि वार्षिक चार हजार आठ सय मोहरु ठेकिएको रहेछ मात्रै होइन ठ्याह र मठ्याहाका आधारमा तलब पाउने कुरादेखि जुवाइँहरुले पनि तलब पाउँदा रहेछन् भन्ने जानकारी पाउन सकिन्छ । मधेशका कर्मचारीलाई कम्पनी रुपियाँमा र पहाडका कर्मचारीलाई मोहरु तलब दिने गरिएकोमा २०१३ सालदेखि सबैलाई मोरुमा दिने गरिएको रहेछ । २५ वर्षसम्म अविच्छन नोकरी गरेपछि छ खण्डको एक खण्ड जीउताभर पेन्सन पाउने रहेछन् कर्मचारीहरुले । डाक्टर, वैद्य, मास्टर, प्रोफेसर, इन्जिनियर, ‍‌ओभरसियरहरुले पनि छ खण्डको एक खण्ड पेन्सन पाउने रहेछन् भने जङ्गीले पाँच खण्डको एक खण्ड पेन्सन व्यवस्था भएकोमा युरोपियनहरुका हकमा भने सुरुमा जति तलब पाएको छ त्यसको छ खण्डको एक खण्ड पेन्सन पाउने रहेको तथ्य जानकारी पाउन सकिन्छ ।

     

    शुक्रराजलाई ‘अन्तिम इच्छा के छ ?’ भनेर सोध्दा बागमतीमा स्नान गरेर मर्न पाउँ भन्ने जवाफ दिएको र सोहीअनुसार अनुमति पाएर आफैँले आफ्नो घाँटीमा डोरी हालेर मृत्युवरण गरेको कुरा सन्तानब्बे सालको पर्वमा भेटन सकिन्छ । चार सपुतलाई मार्ने घटनाले तत्कालीन श्री ३ महाराज जुद्वशम्शेरको मन:स्थिति बिग्रन गै विभिन्न दान गरेर सबैको सामु श्रीपेच झिकी पद्मशम्शेरलाई पहिराइदिँदै नेपालमा रामराज्य ल्याएस् भन्दै १८ जना राजबन्दीलाई रिहा गरी रिडी प्रस्थान गरे । पछि भारतको देहरादुनतर्फ लागेका रोचक घोचक प्रसँगहरु पढदा इतिहासको बारेमा जानकारी पाउन सकिन्छ ।

    कति वर्षपछि बन्ला तर शुक्रराजलाई फाँसी दिएको ठाउँमा उनको शालिक बन्नेछ भन्ने कुरा लक्ष्मणशम्शेरले भनेका थिए भन्नेकुरा उपत्यका स्तब्ध भएको दिनमा लेखिएको छ । जुन कुरा सत्य भएको तथ्य कालिमाटी हुँदै त्रिपुरेश्वरतिर जाँदा उनको शालिक देखेपछि सम्झना आउँछ । आवेगमा आउने व्यक्ति जुद्वशम्शेर भएको कारणले नेपालका होनाहार युवाले असामयिक मृत्युवरण गर्न पुगेका रहेछन् भन्ने आभास यस अध्यायले गराउँदछ । शहिद गेट कसरी, कसले, कति खर्चमा बनाए । डिजाइनर को थिए, कति पटक डिजाइन परिवर्तन भए जस्ता कुराको बारेमा जानकारी पाउन सकिन्छ।

     

    जसरी पहिलोपटक ज्ञानेन्द्रको शीरमा श्रीपेच स्थीर हुन सकेन ठिक त्यसैगरी दोस्रोपटक पनि नडगमगाओस् भनेर ज्ञानेन्द्रले श्रीपेच दुबै हातले अडाउन खोजेको प्रशंगदेखि नारायणहिटी राजदरबार छोडदा गरिएको पत्रकार सम्मेलनका बेला पत्रकारहरुको उदण्ड व्यवहारले पैदा गरेको वातावरणका बारेमा लेखिएको अध्याय हो दुईपटक श्रीपेच लगाउने राजा । राजाले दरबार छोडन लाग्दा रोइकराइ गरेका कर्मचारीलाई ज्ञानेन्द्र आफैँले कसरी सम्झाइबुझाइ गरेका थिए भन्ने कुरा थाहा लाग्छ यहाँ । नारायणहिटीका विभिन्न दरबारहरुको बारेमा रुचि राख्नेलाई पनि राम्रै जानकारी यसले प्रदान गर्दछ । मुकुटमा हुमाउ चरो (बर्ड अफ प्याराडाइज) सहितको कल्की प्रयोग गर्न सुरु गरेका थिए राजा पृथ्वीनारायण शाहले भन्ने तथ्यको जानकारी गराउँछ बुलेटप्रुफ सिसा भित्रको श्रीपेच अध्यायले । अहिलेका श्रीपेच सुधारिएका रहेछन् भन्ने जानकारी दिन्छ यसले । तहअनुसार कसकसले कस्तो कस्तो श्रीपेच लगाउन पाउँथे भन्ने तथ्य उजागर गरिदिन्छ यो अध्यायले । बेलायत यात्राका बेला बकिङ्घम दरबारको विशेष समारोहमा जङ्गबहादुरले श्रीपेच लगाएर सवार हुँदा लण्डनबासी अचम्ममा परेरका मात्रै रहेनछन् । कहाँबाट आएका मानिस हुन् ? शरीरमा के पहिरेका छन् ? भनी एकअर्कामा जिज्ञासा राखेको कुराको जानकारी छ यसभित्र ।

    राणा परिवारमा ज्वाँइसम्मलाई श्रीपेच लगाउने अवसर रहेछ । राजदरबारका वरवधुले बिहेमा कल्कीसहितका मुकुट लगाउने रहस्योद्घाटन गर्छ यो अध्यायले । त्रिभुवन र महेन्द्रको खटपटका कारण ज्यूरिचमा उपचार गर्न जाँदा त्रिभुवनले आफ्नो श्रीपेच कुनै एक विश्वास पात्रलााई राख्न दिए तर महेन्द्रको राज्यरोहणमा सो श्रीपेच नभेटिएर आफू युवराज हुँदा प्रयोग गर्ने गरेको श्रीपेच लगाएका प्रसँग राखिएको छ । यसले दरबारमा पहिलेदेखि नै मतभेद हुने कुराको संकेत मात्रै गर्दैन २०५८ जेठ १९ को घटनालाई सम्झन बाध्य पार्दछ । राणाजीहरु कसैले पनि श्रीपेचको चाँद सरकारलाई फिर्ता नगरी बिक्री गरेको रहस्य थप रमाइलो छ । अहिले नैतिक शिक्षाको महत्त्व छ भन्नेले त्यतिबेला नैतिक शिक्षा नै थिएन भन्ने त होला नि ? निवर्तमान राजाले नेपाल सरकारलाई जिम्मा लगाएको श्रीपेच कति सुरक्षित तबरले राखिएको छ भन्ने जानकारी थप रमाइलो रहेको छ । श्रीपेचसँग सम्बन्धित थुप्रै रहस्यका पोका फुकाउँदा कम्ती मजा लाग्छ । पढेर मात्रै अनुभव गर्न सकिन्छ ।

     

    २००४ सालदेखि २०७० सालसम्मका निर्वाचनका रहस्यमय पोका बोकेको अध्याय हो निर्वाचन तिनताक र यिनताकको । चन्द्रशम्शेरले जनताको चेतनाका तहलाई हेरेर भनेका थिए- जङ्गबहादुरका समयमा जनता भेँडा समान सोझा थिए, वीरशम्शेरका पालामा साँढे समान भइसकेका थिए र मेरो पालामा अहिले सिंह समान भइसकेका छन् । साँच्चै उतिबेलै सिंह समान भएका जनता अहिले कस्ता भएका छौ त ? नेपालको पहिलो आम निर्वाचनमा काँग्रेसले के कारणले त्यति धेरै सिट जित्न सकेको रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ यो पढेपछि । अहिलेको निर्वाचन महँगो भयो भनेर बोल्दै गर्दा २०१५ सालकै निर्वाचनमा काँग्रेसले एक करोड विदेशी धन कसरी खर्चिए होला ? सोच्न बाध्य बनाउँछ । किन संसदको पहिलो अधिवेशन असार १६ गते मध्यरात १२ बजे बोलाइएको होला ? निर्वाचन लगतै विश्वबन्धु थापाले चितवनमा कसरी जग्गा किन्न सकेका थिए ? यस्ता थुप्रै किस्सा समेटिएको छ ।

    त्यो त्रिभुवन सदन खण्डमा २०५८ साल जेठ १९ को विभत्स हत्या काण्डलाई समेटेको छ । घटना घटेको त्रिभुवन सदन किन भत्काइए होला ? इतिहास बोकेका थुप्रै सामग्री कसले कहाँ पुराए होलान् ? दीपेन्द्र सुत्ने पलङ पनि किन जलाइए होला ? दरबारमा मनोरञ्जनको व्यवस्था कसरी गरिँदो रहेछ ? यस्तै यस्तै विषयवस्तुलाई समेटिएको छ यहाँ ।

     

    भारदारी सभामा छलफल गराइ जापानमा विभिन्न छ विषयमा अध्ययन गर्न पठाएका आठ जना मानिसको जात फर्किएपछि आफ्नै जातमा रहने गरी प्रधानमन्त्री चन्द्रशम्शेरले निर्णय गराएका थिए भन्ने तथ्य त्यतिबेला इलम सिक्न जापान भन्ने खण्डमा राखिएको छ । सम्भवत विदेश अध्ययन गर्न जाने यो टोली नै पहिलो हो । छुवाछुतको स्तर कति थियो भन्ने कुरा त बम्बैबाट नै चाहिने शुद्ध पानी भराइ अछुत जातले छुन नदिने बन्दोबस्त गरिनुले नै प्रस्ट पार्दछ । उनीहरुको रेखदेखका लागि स्वामी पूर्णानन्द गिरी खटाइएका थिए भने आवश्यक रकम हन्डी गराइ लिनू भन्ने निर्देशन गरेको देखिन्छ । विद्यार्थी अनुशासनमा नरहेमा हपकी दपकी पिटपाट समेत गरी तह लगाउने अख्तियार स्वामी गिरीलाइ दिएको कुराले अनुशासनलाई कति महत्त्वपूर्ण रुपमा लिएको रहेछ भन्ने थाहा पाउन सकि न्छ। ती विद्यार्थीको थप हेरचार गरी दिनलाई गभरमेन्ट इन्डियाबाट टोकियोमा रहेका बृटिश मिनिस्टर बहादुरलाई लेखि पठाएको पाइन्छ । विद्यार्थीले जापानमा कस्ता कस्ता समस्या भोग्नु पर्यो, प्रतिमहिना कति घरभाडा तिर्नु पर्थ्यो, कुकलाई कति पैसा तिर्न पर्थ्यो, बम्बैबाट जापान पुग्न लाग्ने समय, जहाज भाडा आदिका विषयमा उल्लेख गरिएको छ । विद्यार्थी जापान पुगेपछि कुखुरा र जापानीहरुले पकाएको खाना खाएको गुनासो स्वामीले चन्द्रशम्शेरसँग लेखेर गराएका थिए । सम्भवत नेपालीले पहिलोपटक कुखुरा खान सिकेकै जापानबाट नै हो कि ? अध्ययन गरी नेपाल फर्किएका विद्यार्थीले कहाँ कहाँ के के काम गरे र देशलाई कति फाइदा पुग्यो भन्ने जानकारी यस खण्डले दिन्छ । जापानले पनि आफ्ना विद्यार्थीलाई अध्ययनका लागि विभिन्न देशमा पठाएको कुरा बुझ्न सकिन्छ ।

    १९०७ सालमा धादिङको चरङ्गेको अचानेमा जन्मिएका अच्युतानन्द लामिछानेको विमान बनाउने प्रयास प्रशासनले कसरी असफल बनाइदियो भन्ने कुरा विमान पण्डितको सपना अध्यायमा राखिएको छ । वाष्पशक्तिबाट चल्ने दुईजना अटाउने गाडा बनाउन लागेको ऋण गेहेन्द्रशम्शेरमार्फत उनका पिता विरशम्शेरले दिएको १० हजारले तिरेका थिए । अमेरिकाको आकाशमा विमान उड्छ रे भन्ने सुनेका लामिछानेले टेकुको पचलीघाटमा बनाउदै गरेको विमान दरबारमाथि पनि उड्छ भन्ने कुरा सुनेका प्रहरीले कसरी अगाडि बढाउनबाट रोकेका थिए भन्ने कुरा पढन् सकिन्छ । उनको प्रयासलाई प्रोत्सान दिएको भए नेपालको पहिचान कस्तो हुने थियो होला ? केवल अनुमान मात्रै गर्न सकिन्छ । यो अध्यायमा नेपालमा कहिले विमान आयो र नेपालीले विमानलाई कसरी बुझ्दथिए भन्ने कुराको अनुभूति गर्न सकिन्छ । नेपालमा भएका शुरुशुरुका विमान दुर्घटनाका बारेमा उल्लेख गरिएको छ।

    बेलायत पठाइएका सौगात खण्डमा बेलायत यात्रामा गएका जङ्गबहादुरले तत्कालीन समयको साढे दुई लाख पाउण्ड बराबरको बहुमूल्य सामान महारानी भिक्टोरियाका लागि लगेको कुरा पढन पाइन्छ । तर महारानीले ती सामानभन्दा पनि नेपालीको जनजीवनसँग सम्बन्धित सामानहरु हेर्ने इच्छा गरेका कारणले जङ्गबहादुरले संकलन गरी पठाउन सन्देश पठाएका थिए । सोहीअनुसार संकलन गरी पठाएको सामानको सूची २९ पृष्ठको थियो भनेबाट नै अनुमान गर्न सकिन्छ कि पठाउन बाँकी के थियो होला । तर ती सामग्री जङ्गबहादुरले महारानीलाई हस्तान्तरण गरे कि गरेनन् भन्ने कुराको पत्तो पाउन नसकेको कुराले पाठकलाई अलि खिन्न बनाउन सक्छ ।

    त्यसैगरी रिलभित्रका तमासा उपशीर्षकले राणाहरुले प्रजालाई सिनेमा हेर्ने अवसर कसरी मिलाएका थिए भन्ने कुरा बुझ्न सकिन्छ। भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालमा सिनेमा हल नभएको थाहा पाएपछि अनौठो मानेकाले मोहनशम्शेरले सिनेमाघर बनाएका रहेछन् । पुरुष र महिलाका लागि सिनेमा हेर्ने दिन र समय फरक फरक पारिएको र पत्नीसहित गएकाले कुन क्लासको टिकट लिने पर्ने व्यवस्था गरिएको थियो भन्ने रोचक कुरा बुझ्न सकिन्छ । सिनेमा हल निर्माण गर्दा पालना गर्नुपर्ने सर्तहरुले थप रोचकता प्रदान गर्दछ । कुल आम्दानीको कति प्रतिशत सरकारलाई बुझाउनु पर्ने गरी ९९ वर्षका लागि सिनेमाघर निजी क्षेत्रलाई दिएको कुराले निजी क्षेत्रको प्रवेशलाई संकेत गर्दछ । सामान्य विवाद समयमै नमिलाउँदा जनसेवा सिनेमाघरमा आगोलागी भएको कुरा कसरी महेन्द्रको कू तिर सोझिएको थियो भन्ने कुराले रहस्य थप्दछ । सिनेमा जलिरहेको समयमा राजा महेन्द्रसँग पाकिस्तानी राष्ट्रपति फिल्ड मार्सल अयुब खाँ हुनुले कू का लागि उनको सल्लाह त थिएन भन्ने कौतुहलता थप गराउँदछ । राणाजी, दरबार र सिनेमा खण्डले पनि राणाकालमा मनोरञ्जनको व्यवस्था कसरी गरेको थियो भन्ने कुरा बुझ्न सहयोग गर्दछ।

     

    एसएलसीलाई शिक्षाको फलामे ढोका भनेर कसले परिभाषित गरेको हो थाहा छैन् तर अहिले पनि त्यो हाउगुजी जिवितै छ भलै परिवर्तित नाम एसइइ भए पनि । अहिले एसएलसी भन्नाले कक्षा १२ बुझिन्छ भने परम्गरागत रुपले बुझ्दा कक्षा १० लाई बुझिन्थ्यो । शक्तिमा भएकाले शक्तिको दुरुपयोग कसरी गर्थे भन्ने एउटा दृष्टान्त हो गोरखापत्र र शैक्षिक प्रसङ्ग खण्ड । २००३ सालको एसएलसी परीक्षा तत्कालीन शिक्षा डाइरेक्टरको छोरा परीक्षा सरु हुनु दुईअघिदेखि ज्वरो आएर बिरामी भएको कारणले एक सातालाई परीक्षा सारिएको थियो । तर परीक्षा सारेको आरोप गोरखापत्रलाई लगाइएको रहेछ । किन त्यसो गरिए होला ? अक्षराङ्क शिक्षा कहाँ छापियो, गोर्खा भाषा प्रकाशिनी समिति, गोरखापत्रलाई के कस्ता जिम्मेवारी दिएको रहेछ जस्ता कुराहरुको पोका फुकाउन सहयोग गर्छ यस खण्डले ।

    नेपालमा प्याराजम्पको इतिहासको उत्खनन गर्न सहयोग गर्दछ प्याराजम्पको ५० वर्षे उडान उपशीर्षकले । प्याराजम्प कसरी लियोनार्दो दा भिन्सीसँग जोडिन पुग्छ, नेपालीहरु कहिले र कहाँ गएर प्याराजम्पमा सहभागि भए, नेपालको पहिलो प्याराजम्पर महिला र पुरुष को रहेछन्, के नेपालका राजा महाराजाहरु पनि वास्तवमै प्यारजम्पर थिए त भन्ने रमाइला कुराको ज्ञान पाउन सकिन्छ यस खण्डमा । गौचर कसरी गौचर हुन पुगेको रहेछ, काडमाडौँभित्र बाहिर गर्न कस-कसले राहदानी लिनु पर्थ्यो, नेपालमा सबैभन्दा पहिले कहाँ हवाईजहाज देखिएको थियो, दुर्घटना भएको प्लेनसँग उभिएर रामनाथ अघोरी बाबाले किन लाशको रगत चाटे, प्लेन दुर्घटनापछि मृत्कको आत्माको शान्तिका लागि के गरियो र नेपालमा भएका विमान दुर्घटनाका पुराना कहानीका बारेमा पढ्न पाइन्छ नपुरिने त्यो घाउ अध्यायमा ।

     

    जुद्धशम्शेरको इस्तिहार अध्याय जुद्धशम्शेरले १९९० साल माघ २ को विनाशकारी भूकम्पले पुर्याएको क्षतिलाई व्यवस्थापन कसरी गरे भन्ने कानुनी दस्तावेज हो। प्रजालाई कसरी आश्वस्त पारे ? २०७२ र त्यसपछि गएकाका भूकम्पबाट पीडितहरु किन राहत र पुनःनिर्माणमा सहि ढंगले सहभागी हुन सकेनन् र अहिलेका शासकले उनीबाट के सिक्ने ? भूकम्पका बेला लिएको ऋण तिर्न नसक्दा के कस्तो सजाय पाएका रहेछन् ? भन्ने कुराको अनुभव गर्न सकिन्छ यहाँ । नब्बे सालका भूकम्प र नेपालमा विभिन्न समयमा गएका भूकम्पहरुको फेहरिस्त हो नब्बे सालका कुरा खण्ड । तीन टुक्रा भएर ढलेको धरहराको पुनःनिर्माण र धरहरा हेर्न कति पैसा तिर्नु पर्थ्यो र अन्य कुराहरुको साक्षी हो नब्बे सालका साक्षी उपशीर्षक । धर्मेन्द्रको सिनेमामाथि प्रतिबन्ध खण्डले नेपालका शासकले कसरी हल्लाको भरमा निर्णय गर्दा रहेछन भन्ने जानकारी दिन्छ । यस्तै भएर ऋतिकरोसन काण्ड घटेको होला भनेर अनुमान लगाउन सकिन्छ । त्यसैले त होला नेपाललाई हल्लैहल्लाको देश भनेर चित्त बुझाउन परेको ।

     

    अहिले हामीले देखिरहेको टुँडिखेल कसरी टुँडिखेल हुन पुग्यो, यहाँ के-के गरिन्थ्यो, कस्ता-कस्ता महत्त्वपूर्ण घोषणाहरुको साक्षी हो यो, भाइ हो, बडो अपसोसको कुरा छ कि मैले कस्तो नेपाल छाडेको थिएँ, अहिले कस्तो देख्नुपर्यो भनेर जुद्धशम्शेरले किन भने, सेनालाइ किन धर्मशास्त्रको कक्षा दिन थालियो, पद्मोदय स्कुल कसरी बन्यो, भोटाहिटीको नाम भोटाहिटी कसरी बन्यो, सोह्रहाते गणेशको मन्दिरबीच बाटोबाट अहिलेको ठाँउमा ल्याउन के गरियो जस्ता कुराको सँगालो हो टुँडिखेलको कथा खण्ड । नेपालका शालिकहरुको नालिबेलीका बारेमा लेखिएको र पुस्तकको अन्तिम खण्ड हो मानिस कुँदने औँला । यसमा शासकहरुका शालिकहरु कति कति मूल्यमा विदेशबाट ल्याइन्थ्यो र पछि नेपालमा कति सस्तो मूल्यमा बन्न लागे, बनेका शालिक किन हराए होलान्, चन्द्रशम्शेरकै पालामा अब विदेशबाट शालिक नझिकाउनु भने पनि किन मानिएन, अहिले देखिने बग्रेल्ती शालिकका सर्जक को हुन्, पृथ्वीनारायण शाहको शालिक कहिले बन्यो आदि कुराहरुको बारेमा पढ्दा खुबै मज्जा लाग्दछ यो खण्ड ।

     

    वास्तवमा इतिहास, राजनीति, विदेश सम्बन्ध, मनोरञ्जन, समाज र शिक्षाका बारेका धेरै कुराको सँगालो हो पुस्तक ‘दिल्ली सम्झौता’ । थाहा नपाएकाहरुका लागि यसमा थुप्रै रहस्यका पोकाहरु रहेका छन् । पढ्दा साच्चिँकै मज्जा आउँछ । यो पुस्तक राजनीतिमा प्रत्यक्ष सहभागी भएका र नभएका सबैले पढ्न पर्ने रहेको अनूभव भयो पढदै गर्दा । ओहोदामा रहेकाहरुले पढनै पर्ने कुराको बोध त पुस्तकको प्रथम वाक्य “ जति ठुलो नसिब उति ठूलो वहदा, जति ठूलो वहदा उति ठूलो काम जति ठूलो काम उति ठूलो जवाफदेही जति ठूलो जवाफदही उति ठूली फिकिर जति ठूली फिकिर उति ठूलो दुःख हुन्छ। नेपालको प्राइमिनिस्टर वहदा आनन्दको होइन तर येसबाट जति दुःख छ सो सब मबाट जो कुछ तिमीहरु सबैलाई सुख मिलन सक्यो भने तिही सन्तोषले मात्र मेटिनेछ भन्ने निश्चचय गरेको छु” ले गराउँद छ । चन्द्रशम्शेरले राज्याभिषेकमा बोलेका यी कुराले शासकिय पदको महत्त्व र गरिमा कति महत्त्वपूर्ण रहेको छ भनेर संकेत गर्दछ । काम नगर्ने ठाँउ न कुठाँउ अन्टसन्ट बोली हिँड्ने जवाफदेहीहिन शासकले बुझ्न र मनन गर्न पनि यो पुस्तक पढ्नै पर्दछ जस्तो लाग्दछ । प्राज्ञिक लेखन नभएपनि अध्ययन र अनुसन्धानमा रुचि हुनेहरुका लागि सबल खुराक र अनुसन्धानका लागि प्रयाप्त विषयवस्तु प्रदान गर्दछ यसले । त्यसकारण विद्यालय र विश्वविद्यालयमा अध्ययन अध्यायपन गर्ने सबैले एकपटक पढनै पर्दछ ।

     

    राज्यकोषको रकम दुरुपयोग अहिले त राजनीतिमा लागेका वा लागेकाका आसेपासेलाई फेसन जस्तै बनेको छ। अहिलेका शासकले यो विकृतीलाई रोक्न जुद्धशम्शेरको नब्बे सालको इस्तिहार उपयोगी हुन सक्छ । २०७२ को भूकम्पको पुनःनिर्माण अहिले पनि हुन नसकि रहेको अवस्थामा त्यो समयमा कसरी सम्भव हुन सक्यो होला ? ऋण रकमको दुरुपयोग गर्नेलाई कसरी दण्ड सजाँय गरे जस्ता कुराको उत्खनन गर्न सकिन्छ । कर्मले राजकज चल्छ कि धर्मले भनेर थाहा पाउन सुभसाइत भन्दै राजा फर्काउन उद्दत समूहका लागि पनि सान्दर्भिक सामाग्री हुन सक्छ । किनकि साइत हेराएर प्रत्येक काम गर्ने राणा शासन कसरी सकियो ? बहुचर्चित १९५० को सन्धि गरी सत्तामा रहिरहने जिजीविषा लिएर दिल्ली जान २००६ माघ २५ गते विहान चार बजेर ३७ मिनेटको साइत गरेका मोहनशम्शेर त्यो दिन हरिहरभवनमा बास बसे । २७ गते दिउँसो २:१५ मा फर्पिङ् तर्फ प्रस्थान गरे । त्यो बसाइँ हिड्न नसकेर नभै ज्योतिषीले २६ गते बागमती नाघ्न शुभ नहुने ठहर गरेकाले थियो । त्यसकारण अहिलेका ज्योतिषीका लागि पनि त पढ्नु वाञ्छनीय हुन्छ सही सल्लाह र सुझावका लागि, चाहे ती राजा महाराजा हुन् वा छैँठौ-सातौँ पटक प्रधानमन्त्रीको लाइनमा रहेका हुन वा आम भूँइमान्छे किन नहुन् ।

     

    पत्रकारिता शैलीमा लेखिएको चर्चित दिल्ली सम्झौता कागजी रुपमा भएको हो त ? भन्ने जिजीविषाले पढन हतारिएको थिएँ । वास्तवमा के हो दिल्ली सम्झौता ? कुन-कन पक्ष सहभागी भएका थिए ? सबैको एकमुष्ठ जवाफ छ ‘मिथक दिल्ली सम्झौता’ मा। इतिहास वा राजनीति वा कूटनीतिका जानकार लक्षित समूह पाठक नभएको भनेर लेखकले भने पनि तिनका विद्यार्थीका लागि भने महत्त्वपूर्ण पठन सामग्री भने अवश्य हो । तत्कालीन भाषालाई जस्ताका त्यस्तै राखिएका विषयवस्तु बुझ्न अलिक कठिन हुन सक्छ नयाँ पुस्तालाई।  गोरखापत्रमा छापिएका विषयवस्तुको सँगालोमा थोरै मिहेनत गरेर उद्दहरण थपी सन्दर्भ सामाग्रीसहित तयार पारेको भए प्राज्ञिक तहकै पुस्तक नै तयार हुने महशुस गर्न पुगिन्छ पढ्दा । कतिपय ठाँउमा टङ्कनका सामान्य त्रुटिबाहेक उल्लेखनीय गल्ती भेटिएनन् । समग्रहमा पठनीय र संग्रहणीय पुस्तक तयार पारी हामीलाई अमूल्य गुन लगाउनु भएकोमा लेखकप्रति हार्दिक आभारसहित यत्तिमै मैजारो गरियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार