अरुणकुमार ज्ञवाली
कुम्भको परिभाषा के हो ?
पात्रो, पुराण सम्बन्धमा निर्णयकर्ता गर्गाचार्य, संहिता शास्त्री अर्जुनप्रसाद बास्तोलाका अनुसार पृथ्वीले सूर्यको परिक्रमा गर्न १ बर्ष लाग्दछ । बृहस्पतिले सूर्यको परिक्रमा गर्न १२ वर्षको समय लाग्दछ । बृहस्पति ग्रह बृष राशीमा प्रवेश गर्दा ७ ग्रह सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र र शनि राशीको अवस्था अंग्रेजीशब्द यू आकारमा पर्न जान्छ ।
यो यू आकारको तल्लो भाग फुकेको देखिंदा यसलाई कुम्भ अर्थात् घडाको रुपमा बर्णन गरिन्छ । आकाशमा ग्रहको आकार घडाको रुपमा उठाएपछि एक पक्ष १५ दिनसम्म बस्ने भएको कारण त्यसबीचको अवधिलाई अमृतकाल मानिन्छ । अमृतकालभित्र पनि ग्रहको विशिष्ट उपस्थिति रहेको तिथिलाई विशेष स्थान दिइएको छ ।
२९ जनवरीको दिन मकर राशीमा बृहस्पति ग्रहको दृष्टि साथै सूर्य ग्रह र चन्द्रमा ग्रह प्रवेश गर्ने भएका कारण मौनी अमावस्यको दिनलाई अमृतकालको संज्ञा दिइएको थियो ।
३ फेब्रुअरीपछि कलश आकारबाट ग्रहहरु चोइटिन थाल्ने कारण ३ फेब्रुअरी बसन्तपञ्चमीको स्नानलाई महत्व दिइएको छ । यसपछि क्रमशः १२ फेब्रुअरी माघ पूर्णिमासम्म ग्रहहरु छुट्टिने क्रम चलिरहन्छ र फागुन संक्रान्तिपछि ग्रह कलश आकारमा रहन्न ।
कुम्भको मेलाको अवधि कति हो ?
सनातनकालदेखि चल्दै आएको कुम्भ पाँच सय बर्षअघिसम्म केवल १६ दिनको हुने गर्दथ्यो । माघ महिनाको औंसी महिनादेखि माघ पूर्णिमासम्मको अवधिमा आकाशमा ग्रहको आकार पूर्ण कलशको रहने र फागुन प्रतिपदापछि लुप्त हुने कारण फागुन महिनाको सक्रान्तिमा कुम्भ मेला अन्त्य हुने गरेको थियो । स्कन्द पुराणमा प्रयागराज तिर्थमा कल्पवासको महात्म्यबारेमा बर्णन गरिएको छ ।
माघेसंक्रान्तिदेखि कल्पवास प्रारम्भ हुने भएका कारण कुम्भ मेला माघ संक्रान्तिदेखि फागुन संक्रान्तिसम्म एक महिनाको गर्ने परम्परा चलेको पाइन्छ । कुम्भ मेला गर्न विभिन्न सम्प्रदायका साधु सन्तहरुको संगठन (अखाडा)हरु आउने भएका कारण अखाडाको आग्रहमा कुम्भ मेला शिवरात्रीसम्म लम्ब्याउने गरेको इतिहासले देखाउँछ । तर वास्तविक कुम्भ माघ औंसीदेखि पूर्णिमाबीचको अवधि भएकाले बाँकी अवधि मेलामात्र रहेको मेरो बुझाइ छ । बसन्तपञ्चमीपछि बैष्णव साधुहरुका अखाडा हिंड्ने र जुना अखाडाका साधुहरु शिवरात्रीसम्म बस्ने वर्तमान अवस्था छ ।
१ सय ४४ वर्षपछिको कुम्भ स्थानको महत्व कति छ ?
हिन्दूधर्म सनातनदेखि प्रवाहित छ । यसको आदिकाल कसैले निर्धारण गर्न सक्दैन । १ सय ४४ बर्ष निर्धारण गर्नुपूर्व प्रारम्भिक मिति पत्ता लगाउनु आवश्यक छ । सनातनकालमा देवता र दानवबीचको युद्धकालको मिति निर्धारण गर्ने बुद्धिमता कसैमा पाइन्न । अतः हरेक कुम्भ १ सय ४४ बर्षकै मान्नुपर्दछ । सामाजिक सञ्जालको १ सय ४४ बर्ष भ्रमबाहेक केही होइन ।
प्रयागराज संगम स्नानमा अमृत अंश भेटिन्छ ?
सनातनकालमा समुन्द्र मन्थन हुँदा प्राप्त अमृत कलशको एक थोपा प्रयागराजमा खसेको पुराणको भनाइ छ । प्रयागराजमा कता भन्ने प्रश्न महत्वपूर्ण छ । प्रयागराजको गंगा, यमुना र सरस्वती नदीको संगम भएको स्थानमा हो भन्ने पुराणको भनाइ छ । वर्तमान स्थितिमा गंगा र यमुना देख्न पाइन्छ तर सरस्वती नदीको आरम्भ तथा अन्त कतै पाइन्न । सरस्वती नदी विलुप्त भएको हजारौँ बर्ष भइसकेको छ भने त्यस स्थानमा खसेको अमृतको थोपा भेट्न असम्भव छ । सनातनकालदेखि चलेको परम्परा हामीले बोकी आएका छौँ । तर संगमस्थानमा अमृत अंश भेटिन्छ भन्ने कल्पना गर्नु बुद्धिमानी मानिन्न ।
संगम कसलाई मान्ने हो ?
सामान्य बुझाइमा गंगा नदी र यमुना नदीको भौतिक मिलन र सरस्वती नदीको सांकेतिक मिलन स्थानमा सत्ययुगमा अमृतको एक थोपा प्रयागराजमा झरेको मानिन्छ । गंगा नदीको बहाव प्रत्येक बर्ष परिवर्तन हुने गर्दछ । अतः वर्तमान स्थितिमा बगिरहने गंगा यमुनाको संगमस्थल नै ऐतिहासिक स्थल हो भन्न मिल्दैन । प्रयागराजलाई तीर्थको राजा मानिन्छ । प्रयागराज गंगा नदी र यमुना नदीको पठार क्षेत्रलाई मानिन्छ ।
स्थानीय भाषामा झुसी, नैनी र अरिहल तीन क्षेत्रबीचको भूगोललाई प्रयागराज मानिन्छ । उक्त तीन क्षेत्रबीच जता नुहाए पनि भौतिक रुपमा समान मानिने गरिन्छ । गंगा र यमुनाको धाराको मिलन गहिरो स्थानमा हुने र डुङ्गा चढेर जानुपर्ने भएका कारण तीर्थयात्रीहरु गंगा वा यमुना तटमा एक अर्को नदी हेर्दै नुहाउने गरेको अवस्था छ ।
कुम्भमेला भर्न किन जाने ?
पुराण अनुसार सत्ययुगमा देवता र दानवबीच भागबण्डाका लागि संघर्ष भएको थियो । समुन्द्र मन्थनबाट प्राप्त अमृत देवताले लिई स्वर्गभोग गरी आएका छन् । दानवसँग अमृत कलश खोसाखोसमा एक थोपा प्रयागराजमा झरेको स्मृतिमा हामी कुम्भमेला भर्न जान्छौँ । सत्ययुगमा झरेको अमृत थोपाको साक्षी सरस्वती नदी नै लुप्त भइसकेपछि बाँकी नदीमा अमृत बगेको कल्पना गर्न सकिन्न । यथार्थमा कुम्भमेला भनेको साधुको मेला हो । हिमालयको कन्दरादेखि समुन्द्रको गुफाबीच साधनारत सिद्ध, साधु, बैरागी, अघोरी, बैष्णव आदि सम्प्रदायका साधुहरुको मिलनको महोत्सवको नाम हो कुम्भमेला ।
प्रत्येक सम्प्रदायका जिम्मेवार साधु, सन्त, महंत एवं साधकले आफ्नो कुटी स्थापना गरी ज्ञान आदान प्रदान गर्ने परम्परा रहिआएको छ । संसारभरीका सनातनी धर्म गुरुहरु अनिवार्यरुपमा कुम्भ मेलामा आउनुपर्ने परम्परा रहिआएको छ । भारत बर्ष भन्नाले हिमालयदेखि समुन्द्रसम्म जनाउँदछ । हरेक भूगोलको सिद्ध साधु कुम्भमा अनिवार्यरुपमा आउनुपर्ने परम्परा रहेको छ । सामान्य गृहस्थ व्यक्ति सहजरुपमा एक स्थानमा आफ्नो प्रकृति र आस्था अनुरुपको साधु योगीसँग दीक्षित हुनसक्ने र विभिन्न सम्प्रदायका सिद्ध, योगी, साधुबीच ज्ञान, सिद्धि र मोक्षको प्रक्रियाको सम्बन्धमा अन्तरक्रियाहुने स्थान हो कुम्भमेला ।
महाकुम्भको अवसरमा हजारौँ व्यक्ति सन्यास धारणको दीक्षा लिने गर्दछन् । प्रत्येक ३ वर्षमा भारतको चार स्थान हरिद्वार, प्रयागराज, नासिक र उज्जैनमा आयोजना हुने कुम्भमेला वास्तवमा आस्था र ज्ञानको मेला हो । नदीमा डुबुल्की लगाई ज्ञान हुने हो भने प्रयागको सरस्वती नदी सुकिसकेको छ । हरिद्वारको गंगाको बहावलाई नहर बाँधी मोडिएको छ, उज्जैनको क्षिप्रा नदी एवं नासिक नदीको गोदावरी नदीले अन्य नदीबाट पानी सापट मागेर बग्नुपरेको छ ।
असहाय नदीबाट स्वयम् प्रदूषणको कारण मृत अवस्थामा पुग्दैछन् । ती नदीमा डुबुल्की लगाउँदा अमृत प्राप्त हुन सक्दैन । यो मेला ज्ञानको मेला हो । संयम राखी साधु, गुरु, सिद्ध, पण्डित र योगीको खोजी गर्ने तथा आशीर्वाद लिने मेला भएका कारण प्रत्येक सनातनीले जानुपर्ने मेला हो । तर नुहाउने र भाग्ने मान्यताका साथ जाने तीर्थयात्रीले यो मेलाबाट कुनै उपलब्धी पाउन सक्दैनन् ।
कुम्भमेलामा नेपाली यात्रीको अवस्था कस्तो छ ?
सनातन शब्दभित्र नेपाली, भारतीय, अमेरिकी र अफ्रिकी रहन्न । यहाँ गुरु र शिष्य, साधक र ग्रहस्थमात्र रहन्छ । चार बेदको आचार्य र ६४ संहिताको ज्ञाता नेपाली नागरिक संहिताका शास्त्री अर्जुनप्रसाद बास्तोलासमेत कुम्भको साइत निकाल्ने टोलीमा भएका कारण संगमछेउको महत्वपूर्ण स्थान सेक्टर २४ मा नेपालको झण्डा फर्फराउनेगरी कुटी राख्ने स्थान पाउनुभएको छ ।
निःशुल्क खानबस्न पाउने भी. आई. पी. स्थानमा नुहाउन पाउने सुविधा अर्जुन बास्तोलाको टोलीले दिइआएका छन् । यस अतिरिक्त सेक्टर १८ अन्नपूर्ण मार्गमा र सेक्टर १९ मागलेश्वर आश्रमको टेन्ट रहेको छ ।
उक्त आश्रमस्थलमा निःशुल्क खानेबस्ने सुविधा छ । अन्य आश्रममा नेपालीले साधुसन्तको स्नेह पाएको देखिन्छ । मेरो व्यक्तिगत बुझाइमा धेरै भारतीय गुरुका आश्रम नेपालीले व्यवस्थापन गरिरहेको हुँदा नेपाली भनी परिचय दिँदा सम्मानजनक बास पाउने वातावरण छ ।
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend