Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीको एआइजी पद अति सस्तो,, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति


    बुधबार, पुष १७ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पद बढुवा तथा अवकाशको ‘सिजन’ चलेको छ।

    प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ‘कोही नछुटून्, कोही नदोहोरिउmन्’ नीतिअनुसार अब दुई एआइजी भागबण्डामा गर्ने अन्तिम तयारी भइरहेको छ।

    एआइजी भरतबहादुर बोहराले आइतबार र किरण बज्राचार्यले मंगलबार अवकाश पाएसँगै दुई पद रिक्त भएका छन् । ती दुई पदमध्ये एउटामा डिआइजी कुबेर कडायतलाई बढुवा गर्ने निश्चित भइसकेको छ ।

    लुम्बिनी प्रदेशको डीआईजीबाट भर्खरै सरुवा भएका कडायतलाई कुँवरले आफ्नो सचिवालयमा ल्याएर एआइजीको फुली दिन तयारी अवस्थामा राखेका छन् ।

    अर्को रिक्त पदमा जनक भट्टराई वा रविन्द्र केसीमध्ये कसलाई गर्नेबारे अन्योल छ। शक्तिकेन्द्रसँग ुतालमेलु नमिलेका कारण दुईमध्ये को एआइजी हुने भन्नेमा रस्साकस्सी चलिरहेको छ।

    कुँवरले आफ्ना ब्याचमेट कडायतलाई भागबन्डामा एआइजी बनाउने रणनीतिअनुसार तम्तयार राखेका थिए ।

    यसअघि त्यही रणनीतिअनुसार किरण राणा, केदार ढकाल, भरतबहादुर बोहरा र दुर्गा सिंहलाई एआइजी बनाइसकेका छन् । राणा, ढकाल र बोहरा अवकाशमा गइसकेका छन् ।

    ढकाललाई बढुवा गर्दा वरियतामा अगाडि रहे पनि कडायतले आपत्ति जनाएका थिएनन् । यदि, ढकाल बढुवा भएका थिएनन् भने डिआइजीमै अवकाशमा जान्थे । एआइजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाने तथा बढुवा हुने शृंखला अहिले चलिरहेको छ ।

    आफू अगाडि नै रहे पनि महानिरीक्षक कुँवरले सबैलाई एआइजी बनाइदिने बचन दिएका कारण कडायतले ढकाललाई बढुवाबाट रोकेका थिएनन् ।

    कुँवर चैतमा अवकाशमा जान्छन् । उनीसँगै अहिले बढुवा हुने एआइजीहरू पनि अवकाशमा जान्छन् । बुद्धि गुरुङ, दीपक थापा र टेकप्रसाद तामाङबाहेक सबै एआइजी अवकाशमा जाने भएका कारण कुँवरले आफ्ना ब्याचमेट अधिकृतहरू ‘कोही नछुटून्, कोही नदोहोरिउmन्’ रणनीति अख्तियार गरेका छन् ।

    कुँवरमाथि शक्तिकेन्द्र रिझाएर आलोपालो एआइजी पदको गरिमा नै घटाइदिएको आरोप लाग्ने गरेको छ। उनले पाँच दिन, एक महिनाका लागि भए पनि आफ्ना ब्याचमेटलाई एआइजी बनाएरै छाडेका छन् ।

    अहिले अवकाशमा गएकी बज्राचार्य सिनामंगलबाट बरामद गरिएको ६० किलो सुन प्रकरणमा विवादमा आएकी थिइन् । सुनकान्डको अनुसन्धानमा ‘मोलाहिजा’ गरेको आरोपमा उनलाई कारबाही सिफारिस नै गरिएको थियो । तर, कुँवरले बज्राचार्यलाई जोगाएका थिए ।

    बज्राचार्य गत मंसिर १७ गते नै अवकाशमा जान लागेकी थिइन् । तर, उनको पद लम्बिनुमा कागजात मुख्य थियो । उनले कागजातमा उमेर देखाएर एक महिना बढी पद कायम गराएको आरोप छ ।

    स्मरण रहोस्, यिनै महानिरीक्षक कुँवर, यिनै गृहमन्त्री रमेश लेखकले पोषराज पोखरेल एआर्इजी बढुवा सिफारिस भए पनि उनलाई फुली लगाउन बञ्चित गराएका थिए ।

    बढुवा सिफारिस भएर पनि फुली नपाएपछि पोखरेल डिआइजीबाटै अवकाशमा गएका थिए ।

    पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भएका थिए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए । सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटेपछि  बनेको नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली लगाइदिएन ।

    गृहमन्त्री लेखक, महानिरीक्षक कुँवरले त्यो सिफारिसलाई बेवास्ता गरेपछि पोखरेल अन्याय भएको दाबीसाथ सर्वोच्च अदालतमा निवेदन दिन गए । उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

    २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को फुली लगाएका थिए ।

    लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए । २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो ।

    त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए । लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना भएको थियो ।

    यी दुई वटा घटनापछि छोटो समयका लागि एआइजी बढुवाको सिजनु कुँवरको अवकाशउन्मुख समयमा क्रमिक रूपमा चलिरहेको छ।

    अहिले अवकाशमा गएका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य, बोहरासहित भीम ढकाल, केदार ढकाल र भरत बहादुर बोहरालाई मंगलबार एकैपटक बिदाई गरिएको छ। केदार ढकाल मंसिर २२ र भीम ढकाल मंसिर २७ गते अवकाशमा गएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार