काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ ।
जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो ।
यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघ-संस्थाका प्रतिनिधिहरुको प्रतिक्रिया बुझ्न र यस सम्बन्धी सूचना संकलन गर्न आज छलफल कार्यक्रम आयोजना गर्यो ।
‘मदिरा ऐनले यस्ता बस्तुको प्रवर्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन ।’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्नुपर्छ ।’ पुस्ताले व्यवहारिक शिक्षाका रुपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक छ । यसो नहुँदा स्तरीय उत्पादनका लागि पूर्खाले प्रयोग गरेको सिप थाहा हुँदैन । उनले, संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए ।
छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरु सहभागी भएका थिए ।
उनीहरुले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिनुभयो । कानुनी समस्या छन् । महानगरपालिका आफैँले कार्यक्रम अगाडि सारेकोले आवश्यकता आधारमा प्रचलित कानुन संशोधन हुनेमा आशावादी छौँ । उनीहरुले धारणा राख्दै भने, ‘सांस्कृतिक तथा भोज कार्यका लागि तयार गरिने उत्पादनले आयआर्जन गरायो भने यो हाम्रा लागि ठूलो सहयोग हुनेछ ।’
छलफलमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले, स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका दर्ता प्रवर्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ । यस्तो उत्पादन बेचविखन गर्न भने पाइँदैन । ‘यस्तो अवस्थामा रहेको स्थानीय पेय पदार्थको उत्पादन तथा गुणस्तर कायम राख्ने रैथाने विधिको अध्ययन थालिएको छ ।’
समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका बस्तुको मात्र अध्ययन हुनेछ । कार्यक्रमका बारेमा जानकारी दिँदै स्मार्टसिटी विज्ञ बिज्ञान घिमिरे भने, ‘पेय पदार्थ उत्पादन गर्ने तरिका, समय, उत्पादनका लागि प्रयोग गरिने भाँडाकुँडा, ताप तथा उर्जा, कच्चा पदार्थ, उत्पादित बस्तुको भण्डारण, प्रयोगको मात्रा, उपभोक्तालगायतका विषयमा अध्ययन हुनेछ । यसका लागि गुथिहरुको पेय पदार्थ उत्पादन गर्ने ठाउँमा गएर विधिको अध्ययन हुनेछ । नमूना संकलन गरेर मात्राको तथा गुणको परीक्षण गरिनेछ ।’
ब्राण्डिङको कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ् गर्न सकिन्छ भन्ने थाहा हुनेछ ।
यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिनेछ । यसपछि मार्केटिङ् गर्ने, बजारीकरण गर्ने चरणमा पुगिन्छ । यति गरेपछि ब्राण्डिङ् गरिएका पेय पदार्थ अन्तरराष्ट्रिय बजारमा लैजान सकिन्छ ।
वडा नं. १८ की नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चा पदार्थ तयार पारिने), लय् (१ महिना राखेर कच्चा पदार्थ तयार पारिने) र पुइकेगु (व्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।
काठमाडौँमा पुस महिनाको पानीमा बनाएको उत्पादनलाई उत्कृष्ट मानिन्छ । मंसिर, पुस र माघमा कच्चा पदार्थ बनाउने, यसलाई भण्डारण गरेर मौसम र शुभकार्यको प्रकृतिअनुसारको स्तरमा उत्पादन गर्ने गरिन्छ ।
पहिले यसका लागि तामाको भाँडाको प्रयोग गरिन्थ्यो । भण्डारण गर्दा तापक्रम मिलाउन पराल र माटाको घ्याम्पो प्रयोग हुन्थ्यो । शुभकार्यमा सगुनका रुपमा आफैँले उत्पादन गरेको वस्तुको प्रयोग हुन्थ्यो । अहिले बजारमा प्राप्त हुने पेय पदार्थ किनेर शुभकार्य चलाउने गरिएको छ । भाँडाकुँडा पनि अल्मुनियम र प्लाष्टिक प्रयोग हुने गरिएको छ । यसले गर्दा एकातिर स्थानीय आय घटेको र खर्च बढेको छ । यस्तै गुणस्तरमा पनि ह्रास आउन थालेको छ ।
मौलिक सिपबाट गुणस्तरीय पेय पदार्थ बनाउने परम्परालाई पुनस्र्थापना गर्ने र यसको दिगो सुरक्षाका लागि ब्राण्डिङ् गर्ने महानगरपालिकाको योजना हो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend