Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मामा भ्रष्टाचारमा अख्तियारको मुद्दा खेप्दै, भान्जा सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिंदै


    मंगलबार, जेष्ठ १२ २०८३
    12.9K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौैं । राजेन्द्रकुमार भण्डारी नेतृत्त्वको सम्पत्ति छानबिन आयोग–२०८३ ले काम सुरु गरिसकेको छ । आर्थिक बर्ष २०६२–०६३ देखि आर्थिक बर्ष २०८२–०८३ चैत मसान्तसम्मको अवधिमा सार्वजनिक पदधारण गरेका र उक्त अवधिमा बहाल रही हाल जुनसुकै किसिमले सेवाबाट अवकाश भइसकेका राजनीतिक पदाधिकारी, कर्मचारी तथा निजहरूका परिवारसमेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन र छानबिन गर्नेछ ।

    २० बर्षसम्म सार्वजनिक पदधारण गरेका र उक्त अवधिमा बहाल रही अवकाश भएकाहरुको सम्पत्ति छानबिन गर्ने अधिकार सम्पन्न आयोगले एकाघर परिवार, ससुरालीका नाममा भएको सम्पत्ति विवरणसमेत हेर्नसक्नेछ । तर भान्जाभान्जीदेखि ब्यापारी, उद्योगीका नाममा राखिएको सम्पत्ति छानबिन गर्ने चुनौत आयोगलाई छ ।

    कतिपय पूर्वप्रधानन्यायाधी, न्यायाधीशदेखि नेपाल सरकारका सचिव, मुख्यसचिव, प्रधानमन्त्री, मन्त्रीहरुको सम्पत्ति ब्यापारी उद्योगीहरुकोमा लगानी भएको सम्पत्ति छानबिन गर्न पनि उत्तिकै चुनौती छ । उद्योग बाणिज्य महासंघका अध्यक्ष भइसकेकाहरुका उद्योग, ब्यापारमा भएको लगानीमा आयोगले छानबिन नगरेसम्म २० बर्षको दौरानमा भएका भ्रष्टाचारको जरो पत्ता लगाउने कुरा असंभव नै देखिन्छ ।

    सबैभन्दा ठूलो भ्रष्टाचार न्यायालय र त्यसपछि प्रशासनका उच्चतहमा बसेकाहरुले गरेका छन् । तर उनीहरुमध्ये धेरैले सम्पत्ति बिदेश लगिसकेका छन् भने स्वदेशमा पनि छानबिन आयोगले पत्ता लगाउन नसक्नेगरी अदृश्य लगानी गरेका छन् । कतिपयले छानबिनको दायरामा नआउने नातागोताको नाममा समेत लगानी गरेका तथ्यहरु बाहिरिएका छन् ।

    काठमाडौं महानगरपालिकाबाट कौडीको मूल्यमा नयाँ बसपार्क कब्जा गरी संरचना बनाएर भाडामा लगाएर मासिक लाखौं लाख भाडा असुली गर्ने दीपक कुँवरले नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको अरबौं रकम जग्गादेखि हाउजिङमा लगानी गरेको आरोप लाग्ने गरेको छ । काठमाडौैं–तराई द्रुतमार्ग(फाष्टट्रयाकदेखि कल्याणकारी कोषमा हुने गरेको भ्रष्टाचार र त्यसमा संलग्न सेनापतिहरुको समेत छानबिन गर्ने दायित्व आयोगलाई छ ।

    त्यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जीनीयरीङ कम्पनी लिमिटेडलाई अनियमिततापूर्वक करछुट दिएको आरोपमा अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो मागदाबी लिई मुद्दा दायर गरिएका पूर्वसचिव महेश्वर न्यौपानेले भान्जा सुजन पौडेलको नाममा बिभिन्न ठाउँमा लगानी गरेको समाचार बाहिरिएको थियो । न्यौपाने गृहसचिव हुँदा होस् वा अन्य मन्त्रालयमा हुँदा होस् पौडेलले नै बिचौलियाको कामसमेत गर्ने गरेका समाचार पनि आएका थिए ।

    न्यौपानेले भान्जा सुजन पौडेलमार्फत प्रहरीको सरुवा, बढुवादेखि ठेक्कापट्टामा आर्थिक चलखेल गर्दै आएका समाचार सार्वजनिक भएका थिए । बौद्धदेखि साँखुसम्मका क्रसर र बालुवामा डिल बिग्रिएको बेला पौडेलले प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख डिएसपी श्याम राईलाई घुस दिएर पक्राउ गराएका थिए । मामा न्यौपाने अख्तियारको सचिव रहेको बेला आँफै निवेदक बनेर पौडेलले स्टिङ अप्रेशन गर्न लगाइ राईलाई फसाएको आरोप पौडेलमाथि लाग्ने गरेको छ । राईले बिशेष अदालतबाट सफाइ पाएका थिए । राई हाल प्रहरीसेवाबाट अवकाश भइसकेका छन् ।

    न्यौपाने गृहसचिव हुँदा प्रहरीको सरुवा-बढुवामा भान्जाले बिचौलियाको काम गर्ने गरेका थिए । पत्रपत्रिकाले न्यौपानेका भान्जा पौडेलको अकुत सम्पत्तिबारे समाचार छापेका थिए ।

    मामा अख्तियारमा सचिव भएको १५ महिनामै भान्जा पौडेलले ५० औं रोपनी जग्गा जोडेको र उनको नाममा बालुवा खानीसमेत रहेको समाचार प्रकाशित भएको थियो । जसमा सचिव न्यौपानेको पनि लगानी रहेको उल्लेख गरिएको थियो । काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–३ का नातिराज पौडेलका नाति पुष्कलराज पौडेलका छोरा वर्ष २५ का सुजन पौडेलसँग आज त्यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर छानबिन गर्ने हो भने त्यो सबै सचिव न्यौपानेको आडमा आर्जन गरेको खुल्ने समाचार बुधबार साप्ताहिकले प्रकाशित गरेको थियो ।

    मामा न्यौपाने अख्तियारमा सचिव भएर आएपछि भान्जा सुजनले आफ्नो स्वार्थमा बाधक भएका बिभिन्न ब्यक्तिलाई स्टीङ अप्रेसन गराउने गरेका थिए । पौडेलले साँखुमा खरिद गरेको ३६ रोपनी जग्गा कित्ताकाट गर्न आनकानी गरेपछि २ लाख ५० हजार घुस दिएर साँखु नापी कार्यालयका प्रमुखलाई नै स्टीङ अप्रेसन गरी पक्राउ गराएका थिए ।

    सुजनको परिवार यसअघि सामान्य परिवारको भएको उनका छिमेकीहरूलाई थाहा छ । सुजन पौडेलका बुबा, अख्तियार सचिव न्यौपानेका भिनाजु पुस्कलराज पौडेल जजमानी पेसा गर्ने पुरोहित हुन । यसबाहेक उनको परिवारमा कोही पनि रोजगारीमा छैनन ।

    तर, मामा सचिव भएको केही वर्षमा छोरा सुजन पौडेलले अकूत सम्पत्ति आर्जन गरेको समाचार सार्वजनिक भएका थिए । पौडेलका नाममा काठमाडौंको साँखु क्षेत्रमा मात्रै उनको करोडौं मूल्यबराबरको जग्गा रहेको छ । मामा अख्तियारमा सचिव भएको अवधिमा मात्रै उनले करोडौंको जग्गा जमिन खरिद गरेको मालपोत कार्यालयको अभिलेखबाटै देखिने समाचारमा उल्लेख थियो ।

    सुजन पौडेल र दीपक कुँवर एक उदाहरण हुन्, यसैगरी उच्च ओहदामा बसेका धेरैले सम्पत्ति आफन्त र ब्यापारीका नाममा लुकाएको तथ्य भेट्टाउन सम्पत्ति छानबिन आयोगलाई ठूलो चुनौती छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार