Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवाबाट तस्करी रोकिएन, सेटिङ मिलेपछि बरामद ट्रक चेक नगरी छाड्ने चलखेल


    बिहिबार, जेष्ठ ३१ २०८१
    3.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • रसुवागढी । भन्सार कार्यालयका कर्मचारीकै सेटिङमा रसुवा भन्सार कार्यालयबाट तस्करी हुने गरेको छ ।  ब्रान्डेड सामानलाई कम गुणस्तरको भनेर भन्सार छली हुने गरेको छ भने बढी परिमाणको सामान कम घोषणा गरेर पनि राजस्व चुहावट हुँदैआएको छ ।

    यसैक्रममा मंगलबार मात्रै भन्सार विभागको अनुगमन टोलीले रसुवा भन्सार कार्यालयबाट पास भइसकेका केही ट्रक सामान भन्सार छलीको आशंकामा छड्के चेक जाँच गरेको छ । भन्सारछलीको आशंकामा बरामद गरिएका ट्रकको सामान रिचेक नगर्न ब्यापारीहरुले माथिसम्म नै सेटिङ गरेकाले सामसुम पार्न लागिएको स्रोतले बताएको छ ।

    रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रामप्रसाद पाठकको सेटिङमा भित्रिएका ती सामान भन्सारछली गरी भित्रिएको सूचनाका आधारमा भन्सार विभागको टोलीले पुनः चेकजाँच गर्ने भएपछि ब्यापारीको समूहले माथिबाटै दबाब दिएर नगरी छाड्ने चलखेल भइरहेको छ । उक्त सामान अमृत कार्की, नवराज तिमल्सिना र वाङछिरिङ तामाङको समूहको भएको बताइएको छ ।

    भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले छड्के चेक सधैं भइरहने बताए । उनले भने–‘रसुवा भन्सारमा पनि छड्के चेक भएको हो । त्यसक्रममा भन्सारछलीको आशंकामा केही ट्रकको सामान पुनः चेकजाँच गरिएको हो ।’
    भन्सारछलीको आशंकामा बिभागको टोलीले रिचेक गर्ने भने पनि राजनीतिक दबाबमा नगरिएकोबारेमा उनले भने–‘त्यस्तो कुरा होइन, विभागले छड्के चेक गरेको हो, त्यस्तो दाबाब आएको छैन । सामान रिचेक भइरहेको छ । भन्सारछली गरेको भेटिए कारबाही हुन्छ ।’

    यसअघि डा. प्रकाशशरण महत अर्थमन्त्री भएपछि बुद्धराज बस्नेतले  उनका भान्जा नाता पर्ने अरुण थापासँग मिलेर भन्सार सेटिङ गरी ब्रान्डेड सामान कम गुणस्तरका देखाउने, गलत घोषणा गर्ने र कपडामा भेप लुकाएर ल्याउने गरेको थियो । उनीहरुले प्रतिट्रक २ लाख रुपैयाँमा सेटिङमा तस्करी गर्दैआएका थिए । राजस्व अनुसन्धान बिभागका तत्कालीन महानिर्देशक नवराज ढुंगानाले पनि सो समयमा तस्करीका सामान बरामद नगरी सेटिङमा साथ दिएका थिए । त्यो समयमा भन्सार बिभागले अनुगमन गरी पुनः चेकजाँच गर्ने क्रममा कपडामासमेत भेप तस्करी गरेको पाइएको थियो ।

    भन्सार विभागले अनुगमन कडाइ गरेपछि सेटिङमा ट्रक छुटाउँदै आएका बुद्धराज बस्नेतहरुले गएको पुसमा तस्करी गर्न पाउनुपर्ने माग राखी १ महिना भन्सारबाट सामान आयात ठप्प पारेका थिए । नियमसंगत ढंगले भन्सार तिरेर सामान छु्टाउन चाहने क्यारिङवालाहरुलाई समेत उनीहरुले धम्की दिएर रोकेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार