Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रेम, श्रद्धा र श्राद्धलाई कसरी बुझ्ने ?


    शुक्रबार, असोज १९ २०८०
    4.4K
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • सूर्यबदना घिमिरे पण्डित 

    हाम्रो बोलीचालीको भाषामा सानालाई प्रेम र ठूलालाई श्रद्धा गर्ने हो जस्तो  बुझिन्छ । वास्तवमा यी शब्द देख्दा फरक भए पनि भावमा फरक छैन । यहाँ  एउटा उदाहरण लिऊँ । कसैलाई यता आइज भन्नु, आऊ भन्नु र आउनुहोस्  भन्नुमा शब्द फरक छन् । तर वास्तवमा आफू भएकैतिर आऊ भनेर बोलाएकै हो ।

    अब हामी पनि प्रेम र श्रद्धालाई भिन्न रूपमा नहेरौँ । जहाँ प्रेम, त्यहाँ श्रद्धा यस्तै जहाँ श्रद्धा त्यहाँ प्रेम । जुन काम श्रद्धापूर्वक गरिन्छ त्यो हो प्रेम ।

    यसैगरी  जुन काम प्रेमपूर्वक गरिन्छ त्यही हो श्रद्धा ।  नेपालका हरेक चाडवाडको भित्री आशयलाई मनन गर्ने हो भने परिवारको विभिन्न  नाता सम्बन्धमा गाँसिएका सबैजनालाई श्रद्धा गर्ने चाडपर्वहरू छन् । बाबु, आमा,  दाजुभाइ, दिदीबहिनीलाई मान्ने अर्थात् श्रद्घा गर्ने चााडबाडहरू बर्षभित्रमा कुनै  न कुनै दिन आउँछन् । यसैगरेर हाम्रा जीवनमा महत्वपूर्ण योगदान दिने पशुपंक्षी, रूख बिरुवा झारपात सबैप्रति श्रद्धाभाव पोख्ने दिनहरू छन् ।

    हामीलाई हाम्रो अगाडि देखेकाकालाई मात्र माया लाग्ने हैन । सात समुद्रपारी  भएका सन्तान वा आफन्तलाई सम्झदा पनि प्रेमभाव आउँछ । त्यसैले टाढा भएकालाई फोन गर्छौं मेल गर्छौं । स्मरण गरेर भावुक बन्छौँ । त्यो हो  हाम्रो प्रेमको प्रकटीकरण ।  अब म सन्दर्भ जोड्दैछु दिवंगत भएका आमाबाबुको । सबैका आमाबाबु सदा रहँदैनन् । ती अब छैनन् भनेर हाम्रो मनले नसम्झने, सम्झदा भाव परिवर्तन नहुने भन्ने हुँदैन ।

    अहिले शरीर भएका नाता सम्बन्धलाई मान्ने वा प्रेम गर्ने दिनहरू भएजस्तै बितेका आफ्ना पुर्खा अर्थात् पितृहरूका लागि स्मरण गर्दै श्रद्धाभाव व्यक्त गर्ने पनि दिन र विधि छन् । हाम्रा धर्मशास्त्रहरू त्यति कमजोर छैनन्, जसले आफ्नो श्रोतलाई बिर्सने अवस्था आओस् ।  त्यसैले आआफ्ना आमाबाबुको मृत्यृ भएको दिनको तिथिमा र आश्विन शुक्ल प्रतिपदादेखि औँसीसम्म सोही तिथिमा श्राद्ध गर्ने विधि बताइएको छ । यी १५  दिनलाई पितृपक्ष भनी नाम दिइएको छ । श्राद्धविधिका पुस्तकहरू छन् । लेखिएको  विधिअनुसारश्राद्ध गराइदिने कार्यकाका लागि ब्राह्मण अर्थात् पुरोहितहरू पनि  पाइन्छन् ।
    पहिला पहिला शास्त्रीय कुरालाई अकाट्य हिसाबले मानिन्थ्यो ।

    पछि आएर त्यस्ता  कुराहरूको प्रमाण खोज्न थालियो । बुझाउनेले प्रयास नगर्ने र प्रमाण खोज्नेले  बुझ्न नचाहने प्रवृत्ति बढ्यो । शास्त्रका कुनै पात्रहरूले गरेका कुरा र अमर्यादित कामलाई उसले गर्नहुने मैले नहुने किन भनेर हेर्न थालियो । हाम्रा शास्त्रमा  फलाना फलाना कामबाट समाजले दुःख पायो । परिवारले दुःख पायो भनेर  देखाउन खोजिएका कथाहरू पनि छन् । पछि आएर ती खलपात्रहरूले गरेका कुरा सबैले गर्न हुने भनेर पनि बुझ्न थालियो ।

    यो इष्ट बुझाइ हैन, अनिष्ट बुझाइ भयो  । झण्डै त्यसकै थिचाइमा परेको छ आजकल श्राद्ध भन्ने विषय । पितृहरूका आशीर्वादले हाम्रो जीवन यहाँसम्म आइपुगेको छ । जति अनुभूति भएपनि व्यवहारिक रूपमा सदा सम्झिरहन सकिँदैन । त्यसै भएर निश्चित दिनहरू तेकिएका छन् हाम्रा नीतिशास्त्रहरूले । यी दिनहरू भनेको आफू हुनुको श्रोतलाई आदर, सम्मानस्वरूप सम्झने दिनहरू हुन् । हामी अहिले जहाँ जे जस्तो शरीर, उच्च पद, प्रतिष्ठा र संसारकै विद्वान भए पनि यसका श्रोत हाम्रा पितृ नै हुन् अर्थात् पूर्वज नै हुन् ।

    अहिले हामीले हाम्रा छोराछारी गरेजस्तै हाम्रा बाबुआमाले हामीलाई गरे । पूर्खादेखिको प्रेम र श्रद्धाको लहरो हामीसम्म आइपुगेको छ । यो लहरो निरन्तर अगाडि बढिरहेछ । हामी अहिले जो जहाँ छौँ, आफनो खुसी त्याग गर्ने बाबुआमाका श्रृंखलाका विन्दू हौँ ।

    मात्र शब्द छ आमा र बाबु । आमा वा बाबुको परिभाषा यी दुई अक्षर संचनामा सीमित छ र ? कस्ताकस्ता मै हुँ भन्ने विद्वानले पनि बाबुआमाको परिभाषा दिन सकेका छैनन् । बाबु आकाश र आमा धर्ती भन्छन् । यी दुवैको जोडलाई प्रेम नाम दिएका छन् ।

    यदि आमा र बाबुको परिभाषा प्रेम हो भने के हो त प्रेम ? हामीले कहिले पायौँ  प्रेम । कहाँ छ प्रेम, कस्तो हुन्छ प्रेमको रूप र रङ्ग ? कसले, कहिले र कति दियो प्रेम ? यस मानेमा भन्ने हो भने हामीले कहिल्यै प्रेमलाई देखेकै छैनौँ ।

    केटाकेटी पाराका मान्छेले भन्न सक्छन्, कसरी पाउँछन् पितृले हामीले दिएको  कुरा ? देवताको पूजामा पनि हामी जे चढाउछौँ, त्यो जहाँको तहीँँ रहन्छ,आखिर हामी आफैँले खान्छौँ ।

    त्यसैगरी आमाबाबुले पनि माया कहिले गरे त ? खानलाउन वस्तु दिए माया दिएनन् । आमाले दुध चुसाइन्, माया चुसाइनन् । हिँड्न हात समातेका हुन्, माया दिएनन् । बाबुआमाले सबै वस्तु दिए, सेवा दिए तर थपक्क हातमा वा झोलामा माया दिएनन् । यदि यही भनाइलाई मान्ने हो भने माया, प्रेम, श्रद्धा भनेको कुरा थिएन, अथवा केही छैन भन्नुपर्ने हुन्छ । वास्तवमा कसरी देखाउने माया, प्रेम, श्रद्घा, भक्ति ? अनि नदेख्दैमा कसरी छैन भन्न सकिन्छ ?

    यदि यी सबैकुरा हुन् भने दिवंगत आमाबाबुलाई सम्झने कसरी ? यसकै लागि हो श्राद्घको विधि । अब हामी, श्राद्ध भन्ने वित्तिकै बुझ्न सक्छौँ, आफ्ना पितृप्रति गरिने श्रद्धा । वास्तवमा श्राद्ध भनेको प्रेम हो, भक्ति हो । आफूले आफ्ना पितृहरू सम्झने दिनमा सबै सामान जुटाउँदा मनमा भक्ति हुनुपर्छ । बिनाहतार कार्य सम्पन्न गर्नुपर्छ । श्रद्घाको कार्यमा जुटेका छोरा बुहारीले जति श्रद्धाभावले गर्छन्, उति नै आफ्नो मनमा आनन्द र शान्ति हुन्छ । यही हो पितृको आशीर्वाद । आफ्ना बाबुआमा भौतिक रूपमा होऊन् वा नहोऊन्, हाम्रा यस जुनीका बाबु र आमा मात्र तिनै हुन् । अब कोही हाम्रा आमाबाबु बनेर आउँदैनन् ।

    यसरी आफूले आमाबाबुलाई सम्झेको समयमा कतै दान गर्दा, कसैलाई खुवाउँदा,  कसैको सेवा गर्दा, पितृकार्यको सहयोग गर्नेप्रति श्रद्धाभाव व्यक्त हुँदा, केही वस्तु र सेवा दिँदा मनमा आउने सन्तुष्टि नै पितृको आशीर्वाद हो । पितृ आफूले केहीे पाए पाएनन्, त्यो कुरा अलग हो तर श्रद्धा गर्नेलाई सन्तुष्टी दिए ।

    त्यसैले आफ्ना पितृप्रति श्रद्घा र प्रेमले, सम्पूर्ण विधि पु¥याएर गरिनुपर्छ श्राद्ध । श्राद्ध गराउने कामका लागि आउने पुरोहित ब्यास जत्तिकै मान्य हुन् । के सामान चाहिन्छ, पवित्र कति हुनुपर्छ भनेर सिकाइदिने, गराइदिने मान्छेलाई आदर सम्मान दिन नसकेमा पितृऋण झन् थपिन जान्छ । पितृऋण कमगर्न गरिने श्राद्धले झन्  नथपियोस् भन्ने कुरामा सचेत रहनुपर्छ । हामी पुरोहितलाई दक्षिणा दिएर उहाँको कामको कदर गर्छौँ ।

    दक्षिणा दिँदा थपेर दिन्छौँ । जस्तोः ।।। हजारंदश, एक सयं एघार आदि हिसाबले । यसरी थप गरेर जो दिइन्छ, त्यही हो आभार प्रकट ।
    त्यही हो अनुग्रह । यही हो धन्यवाद भावको प्रकटीकरण हो ।

    वास्तवमा श्राद्घलाई श्रद्घा भावले हेरौँ । यी दिनहरूलाई कर्मकाण्डीय हिसाबले विधि  पु¥याउने काम भनेर सम्झने गल्ती कसैले, कहिल्यै नगरौँ । श्रोतप्रति अनुग्रहित
    बनौँ । सुखी, शान्त र समृद्ध हुने बाटा यिनै हुन् । हरि ॐ

    (लेखक जीवन विज्ञान प्रशिक्षक हुनुहुन्छ)

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार