अनिशा थापा
सरकारले बनाएको कानून सरकारकै कर्मचारी वा जनप्रतिनिधिले उल्लंघन गर्दैआएका छन् । कानूनमा सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक–शिक्षिका लगायतका सन्तति अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने उल्लेख छ । तर, अहिले सरकारी कर्मचारी र जनप्रतिनिधिबाट चुनिएर आएका जनप्रतिनिधिहरुको छोराछोरी सामुदायिक विद्यालयमा पठनपाठन गर्दैनन् ।
यता सामुदायिक विद्यालयमै पढाउने शिक्षक–शिक्षिकाहरु आफ्नो छोराछोरी त्यहाँ नपढाई निजी विद्यालयमा पढाउँछन् । यसरी सरकारी कर्मचारी र जनप्रतिनिधि नै सरकारले बनाएको कानून मान्दैनन् । जनताले तिरेको करबाट सामुदायिक विद्यालयमा अरबौं बजेट छुट्याइन्छ ।
तर, त्यो बजेटमा विद्यालयका शिक्षक–शिक्षिकाहरु मोजमस्ती गर्छन् । सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई दिनहुँ १५ रुपैयाँ खाजा खर्च दिने भनेर सरकारले निर्णय गरेको छ । तर, विद्यालयमा दश जना विद्यार्थी भएमा शिक्षक–शिक्षिकाहरु दुई सय जना विद्यार्थी छ भन्दै खाजा खर्च असुल्छन् ।
उता विद्यालयमा ५० लाखको बजेट आएमा विद्यालयका शिक्षक–शिक्षिका वा त्यहाँका जनप्रतिनिधि मिलेर ५ लाखको काम गरी ४५ लाख रुपैयाँ भ्रष्टाचार गरिन्छ । सामुदायिक विद्यालयमा पढाउने शिक्षक–शिक्षिकाहरु विद्यालय आउँछन्, हाजिर गर्छन् अनि विद्यार्थी पढाउनुको साटो आफ्नो पार्टी कार्यालय पुग्छन् ।
विद्यालयमा कुनै संघसंस्था वा विदेशीले लिएको सामग्री पनि विद्यार्थीलाई नदिई आफ्नो घरतिर लैजाने वा बेच्ने । यस्तै, सामुदायिक विद्यालयमा पढ्नका लागि भर्ना शुल्क, परीक्षा शुल्क र ड्रेस अनिवार्य रुपमा लगाउनुपर्छ । संविधानमा हरेक बालबालिकाको पढ्न पाउने अधिकार छ ।
तर, यहाँ त अनि भर्ना, परीक्षा शुल्क वा ड्रेस किन्ने पैसा नभएका बालबालिकाहरु शिक्षाबाटै वञ्चित भइरहेका छन् । सामुदायिक विद्यालयमा पढ्ने भनेकै गरीब जनताका छोराछोरी हुन् । तर, यहाँ त सामुदायिक विद्यालयमा भर्ना गर्ने पैसा नहुँदा वा परीक्षा शुल्क तिर्न नसक्दा गरिबका छोराछोरीहरु शिक्षाबाटै वञ्चित हुनुपरिरहेको छ ।
त्यस्तै, बालबालिकासँग झोला, जुत्ता, ड्रेस नभएमा शिक्षक–शिक्षिकाहरुले शैचालयमा थुन्ने वा मर्ने गरी कुट्ने । यसले गर्दा एकातिर गरीबका छोराछोरी शिक्षाबाट वञ्चित भएका छन् त अर्कातिर जनताले तिरेको कर दुरुपयोग भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुले कमिसनको लागि आफू कार्यरत विद्यालयमा पढ्ने विद्यार्थीलाई निजी विद्यालयमा पठाएको सुनिन्छ । अधिंकाश निजी विद्यालयमा वडाध्यक्ष, मेयर तथा राजनीतिक दलहरुकै लगानी रहेको छ ।
अहिले सामुदायिक विद्यालयमा पढाउने शिक्षक–शिक्षिका सबैले आफ्नो छोराछोरी निजी विद्यालयमा पढाएका छन् । जसले गर्दा उनीहरुलाई गरिब जनताको छोराछोरीले पढ्न पाए पनि वा नपाए पनि केही मतलब छैन ।
त्यस्तै, सरकारले विद्यालयको भौतिक पूर्वाधार वा विद्यार्थीलाई गुणस्तरीय शिक्षाको प्रवाह निम्ति छुट्याएको बजेट समेत शिक्षक–शिक्षिकाहरुले मिलेर आफू कार्यरत पार्टीमा खर्च गर्ने सुनिन्छ ।
त्यसैगरी, अवकाश भएका सरकारी कर्मचारीदेखि ज्येष्ठ नागरिक भत्ता खानेले समेत आफ्ना सन्तति निजी विद्यालयमा पढाउँछन् ।
अब शिक्षा मन्त्रालय, शिक्षा विभाग, गाउँपालिका, नगरपालिका, महानगरपालिकाले कि त सबै सामुदायिक वा सरकारी विद्यालय बन्द गरिदिनुपर्छ । होइन भने शिक्षक–शिक्षिकाहरुको यस्तो गतिविधि रोक्नुपर्छ ।
अहिले जनताले तिरेको करबाट सामुदायिक विद्यालयको लागि छुट्याइएको बजेटमा शिक्षक–शिक्षिकाहरु मोजमस्ती गर्छन् त गरिबका छोराछोरीहरु भर्ना शुल्क, परीक्षा शुल्क र ड्रेस किन्ने पैसा नभएर शिक्षाबाट वञ्चित भएका छन् । त्यसैले, अब भर्ना, परीक्षा शुल्क र ड्रेस किन्ने पैसा नभएकै कारण बालबालिकाहरु शिक्षाबाट वञ्चित हुनुहुँदैन ।
अवकाश कर्मचारी, बहालवाला कर्मचारी, शिक्षक–शिक्षिका, जनप्रतिनिधि आदिले आफ्नो छोराछोरी सामुदायिक विद्यालयमा नपढाएको खण्डमा उनीहरुको पेन्सन, तलबभत्ता र सेवासुविधा कटौती गरिदिनुपर्छ । अब यो कार्य पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबाटै सुरु गर्नुपर्छ ।
सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी नपढाउने अवकाशप्राप्त कर्मचारी, बहालवाला कर्मचारी, जनप्रतिनिधि आदिको पेन्सन, तलबभत्ता कटौती गर्नुका साथै राज्यबाट उपलब्ध सेवासुविधा पनि रोकिदिने भनेर महानगरपालिकाका मेयर बालेन शाहले निर्णय गर्न ढिलो भइसकेको छ ।
महानगरपालिकाभित्र ७७ वटै जिल्लाका मानिस बस्छन् । तर, अहिले पनि अधिंकाश बालबालिका होटेलमा काम गरिरहेको, यातायातमा सहचालकको काम गरिरहेको, घरायसी काममा संलग्न भएको प्रशस्त देखिन्छ ।
त्यसैले, महानगरपालिकाका मेयर बालेन साहले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना, परीक्षा शुल्क र ड्रेस अनिवार्य नगर्ने भनेर निर्णय गरेमा धेरै बालबालिकाहरु पढ्न पाउँछन् । अब कुनै पनि बालबालिका पढ्न भनेर विद्यालयको गेटभित्र छिरेपछि ऊ भर्ना शुल्क तिर्न नसकेर शिक्षाबाट वञ्चित हुनु नपरोस् ।
सरकारले गरिबका छोराछोरीका लागि भनेर सामुदायिक विद्यालयमा अरबौं रुपैयाँ खर्च गरिरहेको छ । तर, सामुदायिक विद्यालयमा पढाउने शिक्षक–शिक्षिकाहरुले भर्ना शुल्क, परीक्षा शुल्क र ड्रेस अनिवार्य गर्दा आज सामुदायिक विद्यालय रित्तिंदै गएका छन् भने पढ्न नपाएर ती बालबालिकाको भविष्य अन्धकार भएको छ ।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा पठनपाठन गर्ने बालबालिकाका लागि खाजा खर्च बढाएलगत्तै अहिले महानगरभित्रका सामुदायिक विद्यालयमा पढ्नेको संख्या ह्वात्तै बढेको छ । तर, अहिले विद्यार्थीहरुकै मुखबाट सुनिन्छ, ‘हाम्रै खाजा खर्चबाट शिक्षक–शिक्षिकाहरु खाजा खानुहुन्छ ।’
उनीहरु भन्छन्, ‘हामीलाई थोरै खाजा दिइन्छ । तर, सर म्यामहरु धेरै खाजा खानुहुन्छ ।’ यसरी विद्यार्थीको नाममा आएको खाजा खर्चदेखि हरेक चिजमा शिक्षक–शिक्षिकाहरुको हस्तक्षेप हुन्छ । शिक्षा प्रवाह गर्ने शिक्षकहरु नै यस्तो गलत कार्यमा संलग्न भएपछि मुलुकको विकास कसरी हुन्छ ?
सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु घरायसी झगडाको रिस विद्यार्थीमाथि पोख्छन् । यता विद्यार्थीलाई पढाउनुको साटो फेसबुक चलाउने वा डुलेर बस्छन् । त्यस्तै, विद्यालयमा पढ्ने बालिका राम्रो भएमा शिक्षकहरु गलत नजरले हेर्ने । उता विद्यालयमा आवश्यक परेको सामान हजार रुपैयाँमा किनेमा पाँच हजारको बिल पेश गर्ने ।
सामुदायिक विद्यालयको छेउछाउमा भएको खाली जग्गा वा विद्यालयमा निर्माण गरिएको सटर पनि भाडामा लगाएर शिक्षक–शिक्षिकाहरु रकम असुल्छन् । एउटै सटरको महिनामा रु. पाँचदेखि २५ हजारसम्म उनीहरु रकम असुल्छन् । तर, त्यो रकम राज्यको ढुकुटीमा जाँदैन । यसरी राज्यको सम्पत्ति दोहन भइरहेको छ । उदाहरणका लागि पद्मोदय स्कुल पुतलीसडक, सहीद शुक्र मावि अद्वैतमार्ग, बागबजार, पद्मकन्या विद्याश्रम, डिल्लीबजार उकालोका सटरहरुलाई लिन सकिन्छ ।
उता विद्यार्थीलाई आफैँले छानिएको कपडा पसल, स्टेशनरी आदिबाट किताव कापी, ड्रेस आदि किन्न लगाउने अनि त्यहाँबाट पनि कमिसन खाने । सामुदायिक विद्यालयमा पढाउने शिक्षक–शिक्षिकामा चेतनाको कमी हुँदा उनीहरुले गृहकार्य नगरेको निहुँमा विद्यार्थी कुट्दा कतिको ज्यान गएको छ त कति डरका कारण विद्यालय जान छोडेका छन् ।
शिक्षक–शिक्षिकाहरु जनताले नै तिरेको करबाट तलबभत्ता र सेवासुविधा उपभोग गर्छन् । तर, उनीहरु त्यही जनताका छोराछोरीमाथि अन्याय, अत्याचार गर्छन् । पछिल्लो समय जनता भन्छन्, ‘सरकारी विद्यालयमा पढाउने शिक्षक–शिक्षिकाहरु फटाहा र चोर हुन् ।’
हामी कोही मानिस शिक्षित भएमा उसलाई सम्मानको दृष्टिले हेछौँ । तर, सरकारी विद्यालयमा पढाउने शिक्षक–शिक्षिकाहरुको यस्तो व्यवहार र गतिविधिका कारण उनीहरुलाई जनता शिक्षित भन्दैनन् । अहिले पनि कति शिक्षक–शिक्षिकाहरुले नक्कली प्रमाणपत्र लिएर जागिर खाएको सुनिन्छ त कतिले राजनीतिक पार्टीको आडमा ।
यसरी पढाउने क्षमता नै नभएकाहरुले जागिर खाँदा आज विद्यार्थी वा बालबालिकाको भविष्य अन्धकारमा परिणात हुन थालेको छ । सामुदायिक विद्यालयमा पढाउन आउने कति कतिपय शिक्षिकलाई बेलुकाकै जाँडरक्सीले छोडेको हुदैँन भने कति शिक्षिकाहरु विद्यार्थी पढाउन आउँदा पनि छोटो कपडा र कपाल रंगाउने गर्छन् ।
यता कुनै विद्यार्थीले शिक्षकशिक्षिकाको विरोध गरेमा कि त्यो विद्यार्थीलाई पिटिन्छ होइन भने परीक्षामा फेल बनाइन्छ । यसरी पढाउने नाममा शिक्षक–शिक्षिकाहरुले जनताले नै तिरेको कर लुट्दा वा उनीहरुकै छोराछोरीमाथि अन्याय, अत्याचार गर्दा सञ्चारकर्मी र सम्बन्धित निकायको त्यसतर्फ ध्यान जाँदैन ।
सञ्चारकर्मीहरु नै आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाई निजी विद्यालयमा पढाउँछन् । जसले गर्दा उनीहरु सामुदायिक विद्यालयमा भएका बेथितिबारे अन्जान छन् । तर, सामुदायिक विद्यालयमा पढाउने शिक्षक–शिक्षिकाहरुले लुटको धन्दा मच्चाउँदा पनि विद्यार्थीको अभिभावक र सम्बन्धित निकाय दर्शक भएर बसेको छ ।
निजी विद्यालयहरुले एक विद्यार्थीबाट पाँच हजारदेखि लाखौँ रुपैयाँ भर्ना शुल्क लिनुका साथै महिनाकै २० हजारसम्म शुल्क असुलेको अहिले प्रशस्त सुनिन्छ । त्यस्तै, गाडी चढेको बापत पनि विद्यार्थीको अभिभावकबाट दोब्बर रकम असुलेको पाइन्छ । एउटा निजी विद्यालयमा करोडौँ रुपैयाँ लगानी हुन्छ ।
यता महिनामै दशौँ लाख नाफा कमाइन्छ । एउटा निजी विद्यालयमा ५ देखि २० वटासम्म विद्यार्थी बोक्ने बस हुन्छ र एउटा बसमा लाखौँ लाख लगानी गर्दा एउटै बसले महिनामा पाँच लाख कमाउँछ ।
तर, त्यो गाडीले ६-६ महिनामा जाँचपास, पञ्जीकरण नगर्नुका साथै घरेलु र कम्पनीमा पनि जाँदैन । त्यस्तै, पढाउने नाममा विद्यार्थी ठगेर कमाइन्छ । तर, त्यसको पनि राजस्व सरकारलाई तिर्दैनन् । यसरी राज्यले निजी विद्यालयबाट एक सुको राजस्व पाउँदैन ।
अहिले सासाना बालबच्चा पढाउने नाममा मन्टेश्वरीको स्थापना गरिएको छ । तर, यिनीहरु दर्ताबिनै सञ्चालन भइरहेका छन् । निजी विद्यालयहरुले पढाउने नाममा सर्वसाधारण जनतालाई ठग्दा सरकार निरीह बनेको छ । अहिले सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रवाह नगर्दा जनता आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन बाध्य छन् ।
तर, निजी विद्यालयहरु पढाउने नाममा लुटतन्त्र मच्चाइरहेका छन् । त्यसैले, अब सरकारले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी नपढाउनेलाई राज्यबाट उपलब्ध हुने सेवासुविधाबाट वञ्चित गराउने भनेर निर्णय गर्नुपर्छ ।
सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरु कि त सरकारी जागिर खान्छन् होइन त रोजगारीको लागि खाडी मुलुक जान्छन् । साथै, उनीहरुले पठाएको रेमिट्यान्सबाट अहिले मुलुकको अर्थतन्त्र धानेको छ । तर, निजी विद्यालयमा पढेका विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै अमेरिका, अस्ट्रेलिया जान्छन् र त्यहीँ बस्छन् । त्यसैले, अब सरकारले सामुदायिक विद्यालय सुधार गर्नुपर्छ र निजी विद्यालयको यस्तो ठगीधन्दा बन्द गर्नुपर्छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend