Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन : स्वास्थ्य सेवाभन्दा खरिदमा किन केन्द्रित छ सरकारी संयन्त्र ?


    बिहिबार, मंसिर ११ २०८३
    260
    Shares
    नेपाल फेस
  • १२ मिनेट पाठ
  • भोलाप्रसाद रोका

     

    एउटा सरकारी अस्पतालमा बिरामी सिटी स्क्यान गर्न पुग्छ। अस्पतालमा सिटी स्क्यान मेसिन छ, तर बिग्रिएको छ। अर्को अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति छैन । कतै डायलाइसिस मेसिन छ, तर मर्मत गर्ने प्राविधिक छैनन्। कतै उपकरण जडान नै गरिएको छैन। अन्ततः बिरामी निजी अस्पताल पुग्छ र आफ्नो क्षमताभन्दा बढी खर्च गरेर उपचार गराउन बाध्य हुन्छ ।

    सार्वजनिक खरिद, मर्मतको बेवास्ता, निजी अस्पतालतर्फको रेफरल र स्वास्थ्य प्रशासनको जवाफदेहितामाथि खोजमूलक विश्लेषण

    विडम्बना के छ भने, बिरामीले सेवा नपाइरहेको त्यही अस्पतालमा अर्को आर्थिक वर्ष नयाँ उपकरण खरिदको बजेट माग भइरहेको हुन्छ। सार्वजनिक लगानीबाट बनेको अस्पताल बिरामीको उपचार गर्ने संस्था हो कि करोडौँका उपकरण थन्क्याउने गोदाम ?

    यो प्रश्न नेपालको स्वास्थ्य प्रशासनको कार्यशैली, सार्वजनिक खरिद प्रणाली र नागरिकप्रतिको राज्यको जवाफदेहितासँग जोडिएको छ । समस्या उपकरण नहुनुमात्र होइन, उपलब्ध उपकरण सञ्चालन गर्न नसक्नु, बिग्रिएपछि मर्मत नगर्नु र आवश्यक सेवासमेत निजी क्षेत्रमा निर्भर बनाउनु हो ।

    एक अर्बभन्दा बढीका उपकरण बिग्रिएर थन्किएका छन्

    नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले सूचनाको हक प्रयोग गरेर स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको विवरणमा आधारित अनुसन्धानात्मक रिपोर्टले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको अवस्था सार्वजनिक गरेको छ। श्रोतः नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क, असोज २४, २०८३।

    २०८३ असार मसान्तसम्मको विवरणअनुसार वीर अस्पतालका २४९ र राष्ट्रिय ट्रमा सेन्टरका १५३ गरी ४०२ उपकरण बिग्रिएर थन्किएका थिए । तीन जना बायोमेडिकल इन्जिनियरले गरेको मूल्याङ्कनका आधारमा ती उपकरणको अनुमानित वर्तमान मूल्य एक अर्ब छ करोड ९६ लाख ५५ हजार रुपैयाँ रहेको अनुसन्धानमा उल्लेख छ। यसमध्ये ट्रमा सेन्टरका उपकरणको मूल्य ५६ करोड ५० लाख ८० हजार र वीर अस्पतालका उपकरणको मूल्य ५० करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

    यो सरकारी लेखा मूल्य वा प्रत्यक्ष वित्तीय नोक्सानीको प्रमाणित रकम होइन; प्राविधिकहरूले अनुमान गरेको उपकरणको मूल्य हो। तर सार्वजनिक सम्पत्तिको उपयोग अवस्थाबारे यसले गम्भीर प्रश्न उठाएको छ ।

     

    राष्ट्रिय ट्रमा सेन्टरमा २० करोड ४० लाख रुपैयाँमा प्राप्त इन्ट्राअपरेटिभ सिटी उपकरण चार वर्ष नपुग्दै बिग्रिएको छ। २८ वटा भेन्टिलेटर, २४ वटा बिरामी निगरानी उपकरण र अन्य अत्यावश्यक उपकरण पनि प्रयोगविहीन अवस्थामा छन् । वीर अस्पतालमा २६ भेन्टिलेटर, ३८ बिरामी निगरानी उपकरण र सातवटा हेमोडायलाइसिस मेसिन बिग्रिएका छन् । वीर अस्पतालका ४० उपकरण आपूर्तिकर्ताको प्राविधिक सहयोग नपाएका कारण मर्मत हुन नसकेको विवरणसमेत सार्वजनिक भएको छ ।

    यसै अनुसन्धानमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९९ ले मर्मतसम्भार गर्नुपर्ने जिन्सी मालसामान तीन महिनाभित्र मर्मत गर्नुपर्ने व्यवस्था गरेको विषय पनि उठाइएको छ । स्रोत: नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क, असोज २४, २०८३।

    यसअघि महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले विभिन्न सरकारी अस्पतालमा ४४ करोड ७४ लाख ९९ हजार रुपैयाँभन्दा बढी मूल्यका उपकरण प्रयोगविहीन रहेको औँल्याएको थियो । राष्ट्रिय ट्रमा सेन्टरको पाँच करोड ३७ लाख ८२ हजार रुपैयाँको क्याथ ल्याब दक्ष जनशक्ति अभावमा २०७२ सालदेखि सञ्चालनमा आउन सकेको छैन । २४ करोड ७७ लाख नौ हजार रुपैयाँका सिटी स्क्यान प्रणालीलगायत उपकरणसमेत प्रयोगविहीन रहेको प्रतिवेदनमा उल्लेख छ ।

    यो अवस्था कुनै एउटा अस्पतालको प्रशासनिक कमजोरी मात्र होइन, राष्ट्रिय स्वास्थ्य प्रणालीको व्यवस्थापकीय असफलताको सङ्केत हो ।

    नयाँ खरिदमा उत्साह, मर्मतमा उदासीनता किन ?

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा सन् २०२३ अक्टोबरदेखि २०२४ मार्चसम्म पाँच प्रदेशका ८० सार्वजनिक स्वास्थ्य संस्थामा गरिएको मेडिकल उपकरण सर्वेक्षणले पनि समस्याको गम्भीरता देखाएको छ ।

    अध्ययनअनुसार ७१ प्रतिशत उपकरण मात्र राम्रो अवस्थामा सञ्चालनमा थिए । ६ प्रतिशत उपकरण राम्रो अवस्थामा हुँदाहुँदै प्रयोगमा थिएनन्, ९ प्रतिशत बिग्रिएका थिए र १४ प्रतिशत जडान नै भएका थिएनन् । बिग्रिएका उपकरणमध्ये ७५ प्रतिशत मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने अध्ययनको निष्कर्ष थियो ।

    यसको अर्थ उपकरणको समस्या नयाँ खरिदबाट मात्र समाधान हुँदैन। उपलब्ध सम्पत्तिको उचित व्यवस्थापन, प्राविधिक जनशक्ति र मर्मत प्रणाली पनि उत्तिकै आवश्यक छन् ।

    राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न सरकारी अस्पतालका ४८४ वटा बिग्रिएका उपकरण मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको उदाहरण यस सन्दर्भमा उल्लेखनीय छ। ती उपकरणको अनुमानित मूल्य २४ करोड ३० लाख रुपैयाँ थियो । नयाँ खरिद गर्नुपरेको भए ठूलो सार्वजनिक खर्च आवश्यक पर्ने उपकरण सामान्य प्राविधिक मर्मतबाट पुनः प्रयोगमा आएका थिए । श्रोतः राष्ट्रिय आविष्कार केन्द्रको प्रगति विवरण ।

    यस्तो अवस्थामा प्रश्न उठ्छ—मर्मत गर्न सकिने उपकरण किन वर्षौँसम्म थन्किन्छन्? नयाँ उपकरण खरिदका लागि बजेट माग गर्न सक्ने प्रशासनले पुरानो उपकरण मर्मतका लागि किन प्रभावकारी पहल गर्दैन ?

    नयाँ खरिदमा व्यक्तिगत लाभ वा कमिसनको सम्भावना रहेको आरोपसमेत अस्पतालका अधिकारी र खरिद विज्ञका भनाइमार्फत सार्वजनिक अनुसन्धानमा उठाइएको छ । तर यसलाई सबै प्रशासक वा सबै खरिदमा प्रमाणित भ्रष्टाचार भन्न मिल्दैन। सम्बन्धित खरिद निर्णय, आपूर्तिकर्ता, प्राविधिक सिफारिस र आर्थिक कारोबारको स्वतन्त्र छानबिन आवश्यक छ ।

    वीर अस्पताल र ट्रमा सेन्टरको पछिल्लो तीन वर्षको खरिद प्रक्रियासम्बन्धी विवरणमा वीर अस्पतालले १०३ वटा टेन्डर आह्वान गरेको र खरिद गुरुयोजनाबिनै उपकरण खरिद भएको महालेखाको निष्कर्ष अनुसन्धानमा उद्धृत छ। आर्थिक वर्ष २०८१/८२ मा ट्रमा सेन्टरले चार करोड ३० लाख र वीर अस्पतालले दुई करोड २६ लाख रुपैयाँका उपकरण प्रतिस्पर्धाबिना सोझै खरिद गरेको विवरणसमेत सार्वजनिक भएको छ ।

    खरिद प्रक्रियामा प्रतिस्पर्धा सीमित हुनु, आवश्यकताबिनाको खरिद र मर्मत नगरी नयाँ उपकरण ल्याउने प्रवृत्ति सार्वजनिक खरिद ऐन, २०६३ को पारदर्शिता, प्रतिस्पर्धा र मितव्ययिताको मर्मसँग मेल खाँदैन ।

    उपकरण बिग्रनुको कारण मेसिन मात्र होइन, व्यवस्थापन पनि हो

    एसियाली विकास बैंकको सन् २०२४ को अध्ययनले नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा उपकरण व्यवस्थापनका मुख्य चुनौतीका रूपमा दक्ष जनशक्तिको अभाव, मर्मत प्रणालीको कमजोरी, आपूर्ति व्यवस्थापन र उपकरणको उपयोगमा देखिएका समस्या औँल्याएको छ । श्रोतःराष्ट्रिय आविष्कार केन्द्र

    उपकरण खरिद गर्दा त्यसलाई जडान गर्ने स्थान, विद्युत् क्षमता, सञ्चालन गर्ने विशेषज्ञ, उपभोग्य सामग्री र मर्मत खर्चको सुनिश्चितता नगर्नु प्रमुख कमजोरी हो। कोभिड महामारीका बेला खरिद गरिएका वा अनुदानमा प्राप्त कतिपय भेन्टिलेटर प्रयोगमा नआउँदा बिग्रिएको दृष्टान्त पनि सार्वजनिक भएको छ ।

    नेपालमा गरिएको Maintenance versus replacement of medical equipment: A cost-minimization analysis among district hospitals in Nepal शीर्षकको सन् २०२२ को अनुसन्धानले नियमित मर्मतको आर्थिक औचित्य स्पष्ट गरेको छ। अध्ययनअनुसार करारमा आधारित मर्मत प्रणालीले मर्मतविहीन अवस्थाको तुलनामा तीन वर्षमा कुल लागत करिब १० प्रतिशत र दस वर्षमा करिब १८ प्रतिशत कम गर्न सक्ने देखाएको थियो ।

    त्यसैले नयाँ मेसिन किन्नु मात्र लगानी होइन; पुरानो मेसिनको उपयोगी आयु बढाउनु पनि सार्वजनिक लगानीको प्रतिफल हो ।

    सरकारी अस्पतालबाट निजी अस्पतालमा रेफरल : सेवा अभाव कि स्वार्थको द्वन्द्व?

    उपकरण बिग्रिएको, विशेषज्ञ नभएको वा आवश्यक सेवा उपलब्ध नभएको अवस्थामा बिरामीलाई अर्को सक्षम अस्पतालमा पठाउनु चिकित्सकीय दायित्व हो। तर सरकारी अस्पतालमै उपलब्ध सेवा हुँदाहुँदै निजी अस्पतालमा बिरामी पठाइन्छ भने त्यो गम्भीर छानबिनको विषय हुन्छ ।

    यसमा दुईवटा सम्भावना छुट्याउन आवश्यक छ। पहिलो, सरकारी अस्पतालको वास्तविक सेवा क्षमता कमजोर भएर बिरामी रेफर गरिएको हुन सक्छ। दोस्रो, चिकित्सक वा संस्थाको निजी व्यावसायिक स्वार्थले अनुचित रेफरललाई प्रोत्साहन गरेको हुन सक्छ ।

    दोस्रो सम्भावनालाई प्रमाणबिना सबै चिकित्सकमा आरोप लगाउन मिल्दैन। तर चिकित्सकको निजी अस्पतालसँगको आबद्धता, रेफरलको कारण, सरकारी अस्पतालमा सेवा उपलब्धताको अवस्था र बिरामीले निजी अस्पतालमा तिरेको खर्चको विश्लेषण गरेर स्वार्थको द्वन्द्व पहिचान गर्न सकिन्छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०२५ जनवरीमा राष्ट्रिय बिरामी रेफरल निर्देशिका जारी गरेको छ। यसले आफूले उपचार गर्न सक्ने अवस्थामा बिरामीलाई अन्यत्र पठाउन नहुने र रेफरल गर्दा अर्को अस्पतालमा सेवा तथा शय्या उपलब्धताको सुनिश्चितता गर्नुपर्ने व्यवस्था गरेको छ ।

    त्यस्तै, स्वास्थ्य बीमा बोर्डले २०२६ जनवरीमा उपलब्ध सेवा आफ्नै संस्थामा नदिई अनावश्यक रेफरल गर्ने अस्पतालको दाबी भुक्तानी रोक्ने तथा दोहोरिएमा सेवा सम्झौता निलम्बन गर्नेसम्मको चेतावनी दिएको थियो ।

    यी व्यवस्थाले समस्या पहिचान भएको देखाउँछन्। तर पछिल्ला दुई वर्षमा सरकारी अस्पतालबाट निजी अस्पतालमा कति बिरामी रेफर भए, तीमध्ये कति रेफरल आवश्यक थिए र कति अनुचित थिए भन्ने एकीकृत राष्ट्रिय तथ्याङ्क सार्वजनिक रूपमा उपलब्ध छैन । यही तथ्याङ्क अभावले पनि जवाफदेहिताको अवस्था कमजोर रहेको देखाउँछ ।

    तीन वर्षको खरिद र मर्मत खर्चको हिसाब सार्वजनिक गरियोस्

    स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले पछिल्ला तीन आर्थिक वर्षको अस्पतालपिच्छे मेडिकल उपकरण खरिद, मर्मत र वार्षिक मर्मत सम्झौताको खर्च सार्वजनिक गर्नुपर्छ। उपलब्ध सार्वजनिक दस्तावेजमा यस्तो एकीकृत विवरण भेटिँदैन। त्यसैले अस्पतालको आर्थिक अभिलेखबाट तथ्याङ्क निकाल्नु आवश्यक छ ।

    त्यसैगरी उपकरणको खरिद मूल्य, हालको अवस्था, मर्मतयोग्यता, सञ्चालनमा आएको दिन, सेवा बन्द भएको अवधि र मर्मतमा लागेको खर्चको विवरण सार्वजनिक गर्नुपर्छ ।

    स्वास्थ्य बीमा बोर्डसँग सरकारी अस्पतालबाट अन्य सरकारी तथा निजी अस्पतालमा गरिएका रेफरलको सङ्ख्या, रेफरलको कारण, सेवा उपलब्धताको अवस्था, भुक्तानी भएका दाबी र अनावश्यक रेफरलका कारण रोकिएका भुक्तानीको विवरण माग गर्नुपर्छ ।

    अबको कार्ययोजना : खरिद होइन, सेवा परिणाममा आधारित प्रशासन

    सरकारले तत्काल सातवटै प्रदेशमा बायोमेडिकल उपकरण मर्मत केन्द्र स्थापना गर्नुपर्छ। तीन महिनाभित्र सरकारी अस्पतालका उपकरणको डिजिटल लेखापरीक्षण सम्पन्न गरी बिग्रिएका र जडान नभएका उपकरणको वर्गीकरण गर्नुपर्छ। छ महिनाभित्र मर्मतयोग्य उपकरण सञ्चालनमा ल्याउने लक्ष्य राख्नुपर्छ ।

    नयाँ उपकरण खरिद गर्नुअघि पुरानो उपकरण मर्मत गर्न सकिन्छ कि सकिँदैन भन्ने स्वतन्त्र प्राविधिक परीक्षण अनिवार्य गर्नुपर्छ। खरिद सम्झौतामा वारेन्टी, स्पेयर पार्ट्स, तालिम, क्यालिब्रेसन र दीर्घकालीन मर्मतको जिम्मेवारी स्पष्ट राख्नुपर्छ ।

    अस्पताल प्रमुखको कार्यसम्पादन मूल्याङ्कनमा उपकरण सञ्चालनको अनुपात, बिरामीले प्राप्त गरेको सेवा, प्रतीक्षा अवधि, रेफरलको औचित्य र बिरामी सन्तुष्टिलाई आधार बनाउनुपर्छ। अनुचित रेफरल र खरिदमा अनियमितता प्रमाणित भएमा सम्बन्धित पक्षलाई कानुनी कारबाही गर्नुपर्छ ।

    निष्कर्ष : मेसिनको मूल्य होइन, नागरिकले पाएको उपचार महत्त्वपूर्ण

    सार्वजनिक अस्पतालमा करोडौँका उपकरण बिग्रिएर थन्किनु र नागरिक उपचारका लागि निजी अस्पताल धाउन बाध्य हुनु राज्यको प्राथमिकता र जवाफदेहितामाथिको प्रश्न हो ।

    स्वास्थ्य मन्त्रालयले मेडिकल उपकरण व्यवस्थापन प्रणाली (बीईएमएस) विकास गरेको छ। सङ्घीय अस्पतालमा उपकरण लेखापरीक्षण अनिवार्य गर्ने निर्णय पनि गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग मर्मतका लागि सहकार्य गर्ने प्रयास भएका छन्। अब यी प्रयासलाई नियमित, संस्थागत र परिणाममुखी बनाउनु आवश्यक छ ।

    सरकारले प्रत्येक नयाँ खरिदसँगै एउटा प्रश्नको उत्तर दिनुपर्छ-यो उपकरणबाट दैनिक कति बिरामीले सेवा पाउनेछन्? त्यसलाई सञ्चालन गर्ने जनशक्ति छ कि छैन ? मर्मत कसले गर्छ? र पुरानो उपकरण किन प्रयोग गर्न सकिएन  ?

    नागरिकले कर तिरेर अस्पताल बनाएका हुन्, मेसिन थन्क्याउने गोदाम बनाउन होइन। स्वास्थ्य प्रशासनको सफलता कति करोडको उपकरण खरिद भयो भन्नेमा होइन, कति नागरिकले समयमै गुणस्तरीय उपचार पाए भन्नेमा मापन हुनुपर्छ ।

    अन्ततः, बिरामीलाई उपचार दिन नसक्ने अस्पतालमा नयाँ उपकरण थप्दै जानु विकास हो कि सार्वजनिक स्रोतको व्यवस्थापकीय असफलता ? स्वास्थ्य प्रशासकको प्राथमिकता खरिदको बिलमा देखिने कि बिरामीको उपचारमा ?

    हालः चन्द्रागिरी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार