बिष्णु घिमिरे
काठमाडौं । इतिहास केवल बितेका घटनाहरूको अभिलेख होइन, समाजलाई सही दिशा दिने विचार, संघर्ष र योगदानको जीवन्त दस्तावेज पनि हो । कुनै व्यक्ति आफ्नो जीवनकालमा कति पदमा पुग्यो वा कति प्रतिष्ठा कमायो भन्नेभन्दा उसले समाजलाई कति बदल्न सक्यो भन्ने कुराले उसको वास्तविक उचाइ निर्धारण गर्छ ।
यही कसौटीमा हेर्दा श्रीकान्त अधिकारी नेपाली समाजका एक दूरदर्शी, साहसी र परिवर्तनकारी व्यक्तित्वका रूपमा स्मरणीय हुनुहुन्छ । उहाँको स्मृति दिवस केवल श्रद्धाञ्जली अर्पण गर्ने दिन होइन, उहाँले देखाउनुभएको सामाजिक रूपान्तरणको बाटो र अधुरा सपनालाई पुनः स्मरण गर्ने अवसर पनि हो ।
वि.सं. १९८४ जेठ १३ गते लमजुङको दुराडाँडा स्वाँरामा पिता हरिदास अधिकारी र माता इन्दुमाया अधिकारीका सुपुत्रका रूपमा जन्मिनुभएका श्रीकान्त अधिकारीको जीवन राजनीतिक चेतना, सामाजिक विद्रोह, शैक्षिक अभियान र सामूहिक विकासको अनुपम संगम थियो । जयतु संस्कृतम आन्दोलनबाट उहाँमा राजनीतिक चेतनाको बीजारोपण भएको थियो ।

बनारसमा रहँदा कृष्णप्रसाद भट्टराई, बीपी कोइराला, सुवर्णशमशेर राणा र सूर्यप्रसाद उपाध्यायलगायतका नेताहरूसँगको संगतले उहाँको राजनीतिक विचार र सामाजिक दृष्टिकोणलाई थप परिपक्व बनायो । तर उहाँको चेतना व्यक्तिगत राजनीतिक भविष्य निर्माणमा मात्र सीमित रहेन । उहाँले सिकेको विचार र अनुभव आफ्नै गाउँ, समाज र राष्ट्रको परिवर्तनमा लगाउनुभयो ।
हलोक्रान्ति : जातीय विभेदविरुद्ध साहसिक विद्रोह
श्रीकान्त अधिकारीको जीवनको सबैभन्दा ऐतिहासिक र परिवर्तनकारी पक्षमध्ये एक वि.सं. २००६ साउन ११ गते दुराडाँडाको अर्चल्यानीस्थित बाटेगरामा भएको हलोक्रान्ति हो । उहाँसहित २७ जना अग्रजले हलो जोतेर तत्कालीन समाजमा विद्यमान जातीय विभेद, श्रमप्रतिको हेपाहा दृष्टिकोण र सामाजिक रूढीविरुद्ध विद्रोह गर्नुभयो । त्यतिबेला ब्राह्मण समुदायका व्यक्तिले हलो जोत्नुलाई सामाजिक प्रतिष्ठाविरुद्धको काम मानिन्थ्यो । यस्तो मान्यतालाई चुनौती दिँदै हलो समात्नु सामान्य कृषि कर्म थिएन, त्यो सामाजिक समानता र श्रमको सम्मानका पक्षमा गरिएको वैचारिक क्रान्ति थियो ।
बलरामको हलोको प्रतीकात्मक शक्तिलाई सामाजिक परिवर्तनको अस्त्र बनाउने उहाँहरूको साहसले नेपाली समाजमा नयाँ बहस जन्मायो । जातका आधारमा श्रमलाई सानो–ठूलो ठान्ने प्रवृत्तिविरुद्धको त्यो अभियान आज पनि सामाजिक न्यायको इतिहासमा महत्त्वपूर्ण छ । हलोक्रान्तिले दिएको सन्देश स्पष्ट थियो—मानिसको सम्मान उसको जातले होइन, कर्म र मानवीय मूल्यले निर्धारण गर्नुपर्छ ।
शिक्षाको जगबाट गाउँ बदल्ने सपना
श्रीकान्त अधिकारीको अर्को महान योगदान शिक्षा विस्तार हो । उहाँले विकासको पहिलो आधार शिक्षा हो भन्ने बुझ्नुभएको थियो । त्यसैले २००७ सालको राजनीतिक परिवर्तनपछि उहाँले आफ्नो ऊर्जा गाउँको शैक्षिक र सामाजिक विकासमा लगाउनुभयो । वि.सं. २००८ सालमा दुराडाँडा क्षेत्रका विभिन्न १२ स्थानमा प्राथमिक विद्यालय स्थापना गर्न उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । २००९ सालमा सर्वोदय विद्यालय स्थापना गरेर ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्नुभयो ।
पोखराको पृथ्वीनारायण कलेज स्थापनामा पनि उहाँको महत्त्वपूर्ण योगदान रह्यो । पचभैयामा अमरसिद्ध नमुना माध्यमिक विद्यालय निर्माण तथा विकासमा उहाँको अग्रसरता स्मरणीय छ ।
उहाँको शैक्षिक अभियानको एउटा महत्त्वपूर्ण अध्याय पाणिनि संस्कृत माध्यमिक विद्यालय तथा गुरुकुल आश्रमको स्थापना हो । संस्कृतज्ञ पण्डित बद्रीनाथ सुवेदीले संस्कृत शिक्षाको विस्तारका लागि दुराडाँडालाई उपयुक्त भूमि ठानी श्रीकान्त अधिकारीलाई पत्र लेखेर अगुवाइ गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि स्थानीय समुदायको सहभागितामा गुरुकुल आश्रम स्थापनाको बृहत् अभियान सुरु भयो ।
वि.सं. २०२६ मंसिरमा कीर्तिपुरस्थित ऐतिहासिक थलोमा पाणिनि संस्कृत माध्यमिक विद्यालय तथा गुरुकुल आश्रम सञ्चालनमा आयो । आश्रमअन्तर्गत गौशाला, उद्यान, हवनकुण्ड, पुराण वाचन मञ्च, वाचनालय र उपचार केन्द्रजस्ता संरचनाको परिकल्पना गरियो । स्थानीय श्रम, स्रोत र सहयोगबाट गुरु तथा विद्यार्थीका लागि पर्णकुटी निर्माण गरिए । आश्रम सञ्चालनका लागि सात जना अग्रजको सप्तऋषि मण्डल बनाइयो ।
सयौँ आमाहरूले प्रतिव्यक्ति १०८ रुपैयाँका दरले आर्थिक सहयोग गरे । उनीहरू ‘एक सय आठ आमाहरू’का रूपमा परिचित भए । देउसीभैलो, चन्दा अभियान र चतुर्वाहु चन्दा समूहदेखि अनेकौँ अग्रज तथा दाताको योगदानले यो अभियान संस्थागत रूप लिन सफल भयो। यसले श्रीकान्त अधिकारीको नेतृत्व व्यक्तिगत प्रयासभन्दा सामूहिक सहभागितामा आधारित थियो भन्ने प्रमाणित गर्छ ।
राजनीति पदका लागि होइन, समाज परिवर्तनका लागि
श्रीकान्त अधिकारीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पश्चिमाञ्चल क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । वि.सं. २०१५ मा सांसद निर्वाचित हुनुभयो । २०२१ सालमा लमजुङ जिल्ला पञ्चायत सभापति र २०३१ सालमा राष्ट्रिय पञ्चायत सदस्य बन्नुभयो । तर उहाँको राजनीतिक पहिचान पद र जिम्मेवारीमा मात्र सीमित थिएन ।
शिक्षा, कृषि, सामाजिक सुधार, स्थानीय सहभागिता र ग्रामीण विकास उहाँका प्राथमिकताका विषय थिए । उहाँले राजनीतिलाई जनताको जीवनस्तर परिवर्तन गर्ने माध्यमका रूपमा बुझ्नुभयो । उहाँको पुस्तक ‘राजनीति : एक सिद्धान्त’ मा अभिव्यक्त विचारले पनि उहाँको राजनीतिक दर्शन र राष्ट्र निर्माणप्रतिको दृष्टिकोणलाई बुझ्न सहयोग गर्छ । दुराडाँडा होस्, पोखराको पचभैया होस् वा काठमाडौंको धापासी, जहाँ रहे पनि समाजसँग जोडिएर सामाजिक चेतना र विकासका कुरा फैलाउनु उहाँको विशेषता थियो ।
विचार अझै बाँकी छ
वि.सं. २०६९ कार्तिक ३० गते भाइटीकाको दिन उहाँले भौतिक संसारबाट बिदा लिनुभयो । उहाँको निधनपछि दुराडाँडाले एउटा अभिभावक र दूरदर्शी अगुवा गुमाएको अनुभूति गर्यो । तर उहाँले रोपेको शैक्षिक चेतना, सामाजिक समानताको विचार र सामूहिक विकासको अभ्यास अझै जीवित छन्। दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले उहाँको स्मृतिमा हरेक भाइटीकाका दिन पाणिनि गुरुकुल आश्रमलाई ५१ हजार १०८ रुपैयाँ सहयोग गर्ने अभियान सुरु गरेको छ ।
यो चौथो वर्षसम्म निरन्तरता पाउनु उहाँप्रतिको सम्मान मात्र नभई उहाँले स्थापना गर्नुभएको शैक्षिक अभियानलाई जीवित राख्ने सकारात्मक प्रयास हो । प्रतिष्ठानकी अध्यक्ष तथा संस्थाकी अभिभावक गायत्री अधिकारीसहित पदाधिकारी र सहयोगीहरूको योगदान यस अभियानका लागि प्रेरणादायी छ । आजको पुस्ताले श्रीकान्त अधिकारीलाई केवल इतिहासका एक राजनीतिकर्मीका रूपमा होइन, सामाजिक विभेदविरुद्ध विद्रोह गर्ने साहसी अभियन्ता, शिक्षाको उज्यालो फैलाउने दूरदर्शी योजनाकार र सामूहिक विकासका प्रवर्तकका रूपमा बुझ्न आवश्यक छ ।
अन्ततः श्रीकान्त अधिकारीको वास्तविक स्मारक कुनै भवन, शिलालेख वा वार्षिक स्मृति कार्यक्रम मात्र होइन । उहाँले उठाउनुभएको समानता, शिक्षा, श्रमको सम्मान, सामाजिक न्याय र सामूहिक विकासको अभियान नै उहाँको जीवन्त स्मारक हो । व्यक्ति मर्छ, तर विचार मर्दैन । समय बित्छ, पुस्ता फेरिन्छन्, तर समाज बदल्ने महान कर्म इतिहासमा अमर रहन्छन् । श्रीकान्त अधिकारी त्यस्तै व्यक्तित्व हुनुहुन्छ, जसको जीवनबाट आजको पुस्ताले सिक्नुपर्ने पाठ अझै धेरै छन् । दूरदर्शी समाजसेवी, शिक्षाप्रेमी तथा परिवर्तनका अग्रदूत स्वर्गीय श्रीकान्त अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली १
भोलाप्रसाद रोका आडम्बर, महँगा पहिरन र सामाजिक प्रतिष्ठाको प्रतिस्पर्धामा हाम्रा चाडपर्वको मौलिकता हराउँदै त छैन ? आस्था, आत्मीयता र भाइचाराको उज्यालोभन्दा घरको झिलिमिली ठूलो हुन...
सम्राट उपाध्याय नेपालको निजामती सेवामा ट्रेड युनियन यति कमजोर कहिल्यै पनि भएको थिएन । नेपाल प्रहरीले एक साताअघि संचार गृहमा गएर पत्रकारहरुलाई गिरफ्तार शुरु गर्यो...
भोलाप्रसाद रोका, तथ्याङ्कशास्त्री एउटा हातमा शैक्षिक प्रमाणपत्र छ, अर्को हातमा राहदानी । आँखामा सपना छ । मनमा अन्योल । आफ्नै देशमा केही गर्ने कि विदेश...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend