Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शिक्षा मन्त्रालयमा रैथाने सहसचिवको रजगज, सचिवको भरपूर साथ


    बिहिबार, चैत्र १९ २०८२
    775
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयमा जरा गाडेर बसेका रैथाने सहसचिव हुन्, शिवकुमार सापकोटा । उनी बिगत ४ बर्षभन्दा बढी समयदेखि शिक्षा मन्त्रालयमा रजगज गर्दैआएका छन् ।

    योजना तथा अनुगमन महाशाखा प्रमुख छन् सापकोटा । सुमना श्रेष्ठ शिक्षा मन्त्री हुँदा उनीसँग कुरा नमिलेपछि चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको थियो । तर तत्कालीन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उनलाई हाजिर गराउन अस्वीकार गरेपछि केही समय जिम्मेवारीबिहीन भएका थिए । उनको छवि राम्रो नभएकाले हाजिर गराइएन । तर विद्या भट्टराई शिक्षामन्त्री भएपछि सापकोटा फेरि मन्त्रालयका हर्ताकर्ता भए ।

    भट्टराईले राजीनामा दिएपछि रघुजी पन्त शिक्षामन्त्री भए । उनको पालामा पनि उनको हैकम चलिरह्यो । जेनजी बिद्रोहपछि शिक्षा मन्त्री भएका महावीर पुनले सापकोटाले मन्त्रालयका हरेक काम अड्काउने, कर्मचारीलाई उचाल्ने गरेको पत्तो पाएपछि सरुवा गर्ने तयारी गर्दागर्दै निर्वाचन आचारसंहिता लागू भयो । सापकोटाहरुले मन्त्रालयमा काम हुन नदिएपछि पुन नै राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न गएका थिए ।

    एमालेनिकट सहसचिव सापकोटालाई शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले पनि संरक्षण गरेका छन् । अघिल्ला सरकारका पालामा शिक्षा मन्त्रालयका कर्मचारी सरुवादेखि हरेक फाइल सापकोटा र पौडेलकै सेटिङमा मात्र सदर हुने गरेका थिए ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार बिष्णु रिमालको निर्देशनमा विद्या भट्टराईलाई असफल बनाउन पनि सापकोटा–पौडेलकै भूमिका रहेको चर्चा हुने गरेको थियो । लोकबहादुर भण्डारी लगायतका केही शिक्षाका ब्यापारीहरु र बिष्णु रिमालले शिक्षा क्षेत्र सुधार गर्न अवरोध गरेपछि भट्टराईले अपमानपूर्वक राजीनामा दिएर हिंड्नुपरेको थियो ।

    वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारका शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा मन्त्रालयका यी रैथाने सहसचिव सापकोटालाई राखिरहे उनी पनि सफल हुन गाह्रो पर्ने मन्त्रालय स्रोत बताउँछ । त्यसो त ११ कक्षासम्मको मात्र परीक्षा तयारी कक्षा र ब्रिजकोर्ष बन्द गर्ने भनिएकोमा उच्च शिक्षाको समेत बन्द भनेर सूचना निकाली मन्त्रीलाई विवादमा ल्याउने काम गरिसकेका छन् । सहसचिवहरु सबै प्रदेशमा खटिन्छन् । तर सापकोटा शक्तिकै आडमा अहिलेसम्म प्रदेशमा जानुपरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार