Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • अख्तियारका पदाधिकारीको नियुक्ति खारेज गराउन बिचौलिया भट्टको शक्तिकेन्द्रमा हारगुहार


    मंगलबार, पुष २ २०८१
    3.5K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेपालको जलविद्युतदेखि पुनर्वीमा कम्पनी, सेयर दलाल, लघुवीमा कम्पनीको लाइसेन्स घोटालामा मुछिएका विवादास्पद बिचौलिया ब्यापारी दीपक भट्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग क्रुद्ध भएका छन् ।

    नेपाल वीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालका बिरुद्ध गएको मंसिर २४ गते उमेर सच्याएर थरीथरीका नागरिकता लिएको उजुरीका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको र पुनर्वीमाको लाइसेन्स लगायतका घोटालामा आयोगले छानबिन सुरु गरेपछि भट्ट अख्तियारका पदाधिकारीसँग आक्रोशित भएका हन् । यतिसम्म कि वीमा प्राधिकरणमा उनले गरेको लाइसेन्सको घोटाला छताछुल्ल हुने भएपछि उनी अख्तियारकै पदाधिकारीलाई हटाउने खेलमा लागेका छन् ।

    वीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई भटुटले नै सेटिङमा नियुक्ति गराएका थिए । सिलवालले नियुक्ति हुनासाथ भट्टको हिमालयन पुनर्वीमा कम्पनीको लाइसेन्स दिने र ब्यापारको नीतिगत ग्यारेन्टी गरिदिएका थिए । ७ वटा प्रदेशमा ७ वटै लघुवीमा कम्पनीको लाइसेन्स लिने कार्यमा पनि भट्ट नै  बिचौलिया थिए । सिलवालबाटै हिमालयन पुनर्वीमा कम्पनीको आधारभूत मूल्यमा १ सय रुपैयाँ प्रिमियम थपेर २ सय ६ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति लिएका थिए ।

    भट्टले सिलवालको कार्यकाल सकिनुअघि ४ वटा जीवन र निर्जीवन वीमा कम्पनी दर्ता गराउन करोडौंको डिल गरिसकेका थिए । २ वटा जीवन र २ वटा निर्जीवन वीमा कम्पनी दर्ता गर्नका लागि भट्टले सबै सेटिङ मिलाइसकेका थिए । २०८१ माघमा सिलवालको कार्यकाल सकिन लागेकाले मंसिरभित्रै अनुमतिपत्र लिने तयारीमा भट्ट थिए । तर अख्तियारले मंसिर २४ गते थरीथरीका नागरिकता लिएका सिलवालबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि भट्टको योजना तुहिएको छ ।

    भएकै वीमा कम्पनीले राम्रोसँग ब्यापार गर्न नसकेको अवस्थामा थप वीमा कम्पनीलाई आर्थिक चलखेलमा लाइसेन्स दिनुअघि नै अख्तियारले मुद्दा दर्ता गरेपछि भट्ट आक्रोशित भएका छन् । र, सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै अख्तियारका पदाधिकारीको नियुक्ति खारेजी गराउने भन्दै बुढानीलकन्ठ र बालुवाटार मिलाउन तल्लीन छन् । बुढानीलकन्ठ मिलाउन उनले एक डडेलधुरातिरका आफ्नै थरका बिचौलिया लगाएका छन् ।

    अदालतबाट नियुक्ति खारेज गराउन नसकेमा महाभियोग नै लाउनुपर्ने भन्दै उनी ठाउँ ठाउँमा दौडधूप गरिरहेका छन् । चौधरी ग्रुपको स्ट्यान्टर्ड इन्स्योरेन्स, मनकामना इन्स्योरेन्स लगायतका ४ वटा कम्पनी दर्ताका लागि भट्टले डिल गरी एडभान्स समेत लिइसकेको अवस्थामा सिलवालबिरुद्ध मुद्दा दर्ता भएकाले सबै योजना चकनाचूर भएको छ । भट्टले अख्तियारका पदाधिकारीको नियुक्ति खारेज गराउन सेढाई थरका एक बिचौलियामार्फत् पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग समेत भेटवार्ता गरिसकेको स्रोत बताउँछ ।

    नेपालमा लाइसेन्स घोटालाका मुख्य पात्र दीपक भट्टले नियुक्ति खारेज गराउन राजनीतिकदेखि न्यायिक क्षेत्रमा देखाएको सक्रियताबाट आयोगका अख्तियारका पदाधिकारीसम्म पुगिसकेको छ । वीमा प्राधिकरणको अध्यक्ष भएपछि हिमालयन पुनर्वीमा कम्पनीलाई अनुमति दिंदादेखि ब्यापारको ग्यारेन्टी गरिदिने नीतिगत ब्यवस्था र प्रिमियम थपेर आइपीओ जारी गर्न दिने निर्णयका कागजात समेत अख्तियारले लगिसकेको छ । त्यसका अलावा ७ वटा लघुवीमाको अनुमतिमा भएको चलखेलको कागजात पनि आयोगले छानबिनका लागि मागेको छ । वीमा प्राधिकरणको लाइसेन्सदेखि आईपीओ र ब्यापारको ग्यारेन्टी गर्ने क्रममा अरब रुपैयाँकै आर्थिक लेनदेन भएको समाचारहरु सार्वजनिक संचारमाध्यममा आएका थिए । सिलवाल अध्यक्ष भएपछिका सबै घोटाला उधिन्दा भट्टले उन्मुक्ति नपाउने भएपछि उनी आयोगबिरुद्ध खनिन थालेका छन् ।

    अख्तियारका वर्तमान पदाधिकारी रहेसम्म लाइसेन्स घपलादेखि ठेक्का सेटिङ गर्न नपाउने देखेपछि उनी निकै तनावमा छन् । धितोपत्र बोर्डमा आफ्नै ब्यवसायिक पार्टनर सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्ति गराएर हिमालयन स्टक एक्सचेन्जको लाइसेन्स लिने खेलमा रहेका भट्ट अख्तियारले त्यो पनि नदिने संकेत पाएपछि आत्तिएका छन् । संसदको अर्थसमिति, अदालतदेखि सबैतिर सेटिङ मिलाएर नयाँ स्टकको लाइसेन्स दिने वातावरण तयार गरेका भट्ट अख्तियारले रोक्ने त्रासमा छन् ।

    चीन र भारत जस्ता विशाल अर्थतन्त्र भएका देशमा २ वटा स्टक मात्र भएकाले नेपाल जस्तो सानो देशमा एउटै पर्याप्त भएको तर्क अर्थशास्त्री र सेयरबजारका विज्ञहरुको मत छ । एउटै स्टकलाई बजार पर्याप्त नभएको अवस्थामा निजी क्षेत्रमा अर्को स्टक ल्याएमा त्यो चल्दैन भन्ने स्पष्ट हुँदाहुँदै भट्ट जसरी पनि लाइसेन्स लिने दाउमा छन् । लाइसेन्स लिने र नचले पुनः सरकारी स्टक एक्सचेन्जमा गाभ्ने दाउमा भट्ट छन् । यसरी सरकारी स्टक एक्सचेन्ज नै कब्जा गर्ने रणनीतिमा भट्ट रहेको बिषयमा नेपालफेस डटकमले यसअघि पटक पटक समाचार सार्वजनिक गरिसकेको छ ।  उनले हिमालयन स्टक एक्सचेन्जको लाइसेन्स लिनका लागि धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गराउन ५ अर्बकै चलखेल गरेको समाचार मिडियाहरुले उजागर गरिसकेका छन् ।

    सम्पत्ति शुद्धीकरण विभाग के गर्दैछ ?

    बाबु चतुर्भुज भट्ट कृषि सामग्री कम्पनीको महाप्रन्धक हुँदा मल नै नल्याई करोडौं घोटाला गरेको आरोपमा जेल परेपछि आरएक्स मोटरसाइकलमा नेतादेखि हाकिमका घर घरमा छुटाउनका लागि धाउने दीपक भट्ट आज अरबौं अरबका मालिक छन् । उनले लाइसेन्स घोटाला र ठेक्कामा सेटिङ गरेर अथाह सम्पत्ति जोडेको आरोप लाग्दैआएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहुँच नहुनेहरुलाई छानबिन गरे पनि भट्ट जस्ता अरबौंको सम्पत्ति शुद्धीकरण गर्नेलाई भने छुनसमेत सकेको छैन ।

    ‘मन्त्रालयका सचिवदेखि मन्त्रीसम्मै फेरबदल गर्नसक्ने भट्टले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पनि आफ्नै सेटिङमा बनाउने भएकाले उनको छानबिन गर्ने हिम्मत कसले गर्ने र ?’ अख्तियारकै एक अधिकारीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार