Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रिय शिक्षा दिवस : गलत इतिहास सच्याउने अवसर


    मंगलबार, भाद्र २५ २०८१
    4.1K
    Shares
    नेपाल फेस
  • १० मिनेट पाठ
  • प्रकृति अधिकारी

    १. विभिन्न सन्दर्भमा दिवस मनाइन्छ । बर्षेनि सन्दर्भ दिन पारेर दिवसको मिति तय गर्ने चलन हुन्छ । नारा पनि बर्षेनि फरक–फरक हुन्छ किनकि त्यो बर्षको सन्दर्भ र प्राथमिकताका आधार हेरिन्छ । शिक्षा मन्त्रालयले यसपटक आगामी पाँच वर्षसम्मका लागि नारा यसै वर्ष कायम गरिदिएको छ ।

    दुनियाँमा नभएको चलन । हुन त भएभरका लक्ष्यलाई गाँसेर बनाइएको छ नारा । त्यो नारा आगामी १० बर्षका लागि पनि चल्छ । तर त्यो भन्दैमा पाँच बर्षका लागि आजै नारा तय गर्ने कुरा कतिको उपयुक्त रहला ? सरकार परिवर्तन होला, नयाँ मन्त्री आउलान् । त्यो हुँदा अहिले तय गरिएको नारा नयाँ मन्त्रीले परिवर्तन नगर्लान् र ? उसो भए अहिले नै किन हतार गर्नुपरेको होला ? यो विषय शिक्षा मन्त्रालयका जिम्मेवार पदाधिकारी जानून् ।

    २. मैले आज उठाउन खोजेको मुद्दा फरक छ । त्यो के भने गलत इतिहासलाई अब सच्याउनुपर्छ । हुन त मैले विगतमा शिक्षाका कतिपय गलत तथ्य वा इतिहासलाई सच्याउन सप्रमाण तथ्य पेस गरेको सबैलाई जाहेर भएकै विषय हो । शिक्षा मन्त्रालयले २०३१ सालदेखि शिक्षा दिवस मनाउन लागिएको र त्यो बर्षको नारा फलानो हो भनेर गलत इतिहास लेख्यो । सबैले त्यसलाई स्वीकार गरे । सेवा आयोगका परीक्षामा त्यही कुरा सोधियो । उम्मेदवारले त्यही उत्तर दिए । परीक्षकले त्यसैलाई सही मान्दै अंक दिए । तर त्यो गलत थियो र हो भन्ने कुरा सप्रमाण प्रस्तुत गर्न चाहन्छु ।

    प्रकृति अधिकारी

    क. नेपालमा शिक्षा दिवस २०३२ सालबाट मात्र मनाउन थालिएको हो । राष्ट्रिय शिक्षा दिवसका दिन शिक्षा मन्त्रालयले बितरण गर्ने गरेको कार्यक्रम पुस्तिकाको पुछारमा ‘शिक्षा दिवसका आदर्श वाक्य’ भन्दै हालसम्मका नाराको फेहरिस्त नै छाप्ने गरेको छ । त्यसमा २०३१ सालमा ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्य अर्थात् नारा उल्लेख भएको भनी लेख्ने गरिएको छ ।

    हामी सबैलाई थाहा छ २०३१ साल फागुन १२ गते तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेक सम्पन्न भएको थियो । त्यस दिन अपराह्न उहाँले काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रका नाममा सन्देश दिनुभएको थियो । उहाँको सन्देशको उपशीर्षक ‘निःशुल्क प्राथमिक शिक्षा’मा उल्लेख थियो–यी सब कुराबाट हाम्रो मनमा केही तरङ्ग उठ्नु स्वभाविकै हो । हामी चाहन्छौँ, हाम्रो देशमा कोही भोका–नाङ्गा नरहून्, ओखतीमूलोको अभावमा कसैले पनि दुःख झेल्न नपरोस्, शिक्षाको उज्यालो घामबाट हाम्रा कुनै पनि बालबालिकाले वन्चित हुन नपरोस् र प्रत्येक नेपालीले उपयोगी सीप र इलम सिकी आफ्नो पाखुराको बलमा आत्मसम्मानका साथ स्वतन्त्र जीवनयापन गर्न सकून् ।

    हामी चाहन्छौँ, यातायात, कृषि, उद्योग सबै क्षेत्रका विकास होस् र देशका कुनाकाप्चामा बसेका सबै नेपाली बढ्दो मात्रामा सुखसमृद्धिको भागी हुन हुन पाऊन् । हामी चाहन्छौँ, यस देशको प्रत्येक भूभागमा लुकिराखेको क्षमताको सदुपयोग भई सबैले मानवोचित जीवनयापन गर्न सकून् र देशको प्रत्येक भाग राष्ट्रिय जीवनको मूलप्रवाहमा सम्मिलित होस् । यही नै हाम्रो भित्री आकांक्षा रहिआएको छ । तर अन्ततोगत्वा देशविकासको मूल आधार शिक्षा नै भएकाले यस क्षेत्रमा के पुरुष, के महिला सबैले समान रूपले अवसर उपलब्ध गर्न सकून् भन्ने उद्देश्यले हामीले हाम्रो सरकारलाई हाललाई देशभर निःशुल्क रूपमा प्राथमिक शिक्षाको व्यवस्था मिलाउन अह्राएका छौँ । यसरी हामीले देशभित्र र देशबाहिरबाट जगेर्ना गर्न सकेको सम्पूर्ण साधन नेपालीमात्रको सर्वाङ्गीण विकासको निम्ति सदुपयोग गराउन दृढसंकल्प गरिबक्सेका छौँ ।

     

    तत्कालीन राजा वीरेन्द्रवीर विक्रम शाहदेवले २०३२ मा राज्याभिषेकको अवसरमा देशबासीका नाममा दिएको मन्तब्यको समाचार गोरखापत्रमा प्रकाशित भएको थियो । सोही बर्षदेखि शिक्षा दिवस मनाउन सुरु भएको तथ्य यहाँ दिइएको छ ।

    राष्ट्रका नाममा दिइएको सम्बोधनको एउटा वाक्य ‘शिक्षाको उज्यालो घामबाट हाम्रा कुनै पनि बालबालिकाले वन्चित हुन नपरोस्’ लाई शिक्षा दिवसको आदर्श वाक्यका रूपमा गलत व्याख्या गरियो र प्रचार पनि गरियो । तत्कालीन राजा वीरेन्द्रको भाषणको एक अंशलाई टिपेर त्यो नारा थियो भन्नु र २०३१ सालमा शिक्षा दिवस मनाइएको उल्लेख गर्नु सर्वथा गलत हो । उहाँले दिनुभएको सन्देशमा अन्य धेरै कुरा उल्लेख थिए ।

    ख. २०३२ साल फागुन ९ गते गोरखापत्रको पहिलो पृष्ठमा ‘शिक्षा दिवस’ शीर्षकमा प्रकाशित राससको समाचारलाई हेरौँ– श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहदेवको शुभराज्याभिषेकको पुनित वार्षिकोत्सवको दिन प्रत्येक वर्ष फागुन १२ गते शिक्षा दिवसको रूपमा मनाउने श्री ५ को सरकारले निर्णय गरेको छ । शिक्षा मन्त्रालयका अनुसार उक्त दिवस विभिन्न कार्यक्रमका साथ मनाउन फागुन १२ गतेका दिन अधिराज्यका सबै शिक्षण संस्थाहरुलाई सार्वजनिक बिदा दिने पनि निर्णय गरिएको छ ।

    यो समाचार मुख्य प्रमाण हो । २०३२ सालबाट शिक्षा दिवस मनाउने निर्णय भएको थियो भन्ने प्रमाण नै यही हो । तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेक सम्पन्न भएको एक बर्ष पुगेको सन्दर्भमा मनाउन थालिएको हो । अब तेस्रो प्रमाण खोजिरहनु जरुरी पनि देखिँदैन । तर तेस्रो प्रमाण पनि प्रस्तुत गर्नेछु ।

    तत्कालीन शिक्षाराज्यमन्त्री डा. हर्कबहादुर गुरुङले शिक्षा दिवसको सन्दर्भमा दिएको सन्देशको जुन २०३२ साल फागुन १२ गतेको गोरखापत्रमा छापिएको थियो, त्यसमा उल्लेख एउटा अनुच्छेद पढौँ–शुभराज्याभिषेकको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष फागुन १२ गतेको दिनलाई शिक्षा दिवस मनाउने श्री ५ को सरकारले निर्णय गरेको हो । त्यसै दिन ध्रुवकुमार देउजाले ‘शिक्षा दिवस’ शीर्षकमा लेखेको लेखको पहिलो अनुच्छेदमा रहेको एउटा वाक्य हेरौँ–श्री ५ को सरकारले निर्णय गरेबमोजिम अब उप्रान्त प्रत्येक बर्ष आजकै दिनलाई अधिराज्यभरि शिक्षा दिवसको रूपमा मनाइनेछ ।  निजको लेखबाट पनि प्रष्ट हुन सकियो कि अब उप्रान्त हरेक बर्ष फागुन १२ गतेलाई शिक्षा दिवस मान्ने भन्ने । २०३१ सालबाट मनाइएको भए गत वर्षदेखि मनाउन थालिएको भनी उल्लेख हुने थियो । जबकि अब उप्रान्तले २०३२ साल नै हो भनी स्पष्ट भन्न सकियो ।

    ग. अब तेस्रो प्रमाणतर्फ लागौँ । २०३२ देखि २०३४ सालसम्म शिक्षा दिवसको सन्दर्भमा नारा वा आदर्श वाक्य दिइएको थिएन । २०३५ सालबाट मात्र नारा दिन थालियो । तर त्यस अवधिमा विभिन्न शीर्षकमा शिक्षा दिवसका बारेमा अन्तरक्रिया वा छलफल आयोजना गर्ने चलन रहेको देखिन्छ ।

    २०३३ साल फागुन १२ गते ध्रुवकुमार देउजाले लेखेको ‘शैक्षिक उपलब्धिको सुदृढीकरणतिर’ शीर्षक लेखको पहिलो अनुच्छेद पढौँ– अधिराज्यभरिका जनताको घर आँगनमा शिक्षा प्रकाश फैलाई देशबाट रोग र भोक निर्मूल गर्न कटिबद्ध राजाको शुभराज्याभिषेकको दिनलाई शिक्षा दिवसको रूपमा आज दोस्रो पटक मनाइँदैछ ।

    कुरो प्रष्ट छ । अर्थात् ‘आज दोस्रो पटक मनाइँदैछ’ भन्नुले २०३३ सालमा दोस्रो पटक मनाइएको प्रष्ट हुन्छ । भनेपछि २०३२ सालमा पहिलो पटक मनाइएको थियो भन्ने पुग्दो प्रमाण नै यही हो । राजनीतिक परिवेशका कारण २०३६ र २०३७ सालमा शिक्षा दिवस मनाइएन । २०६३ सालमा राजतन्त्र विस्थापित भएपछि त्यस बर्ष पनि शिक्षा दिवस मनाइएन । फागुन १२ गतेको सट्टा अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन गर्ने निर्णय गरियो । २०६४ सालदेखि भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा मनाउन थालियो ।

    ३. २०७६ सालमा शिक्षा मन्त्रालयले बितरण गरेको कार्यक्रम पुस्तिकामा ४० औँ शिक्षा दिवस भनी उल्लेख गरिएको थियो । त्यसमा २०३१ सालमा पहिलोपटक मनाइएको उल्लेख थियो भने २०३२, २०३३ र २०३४ साल उल्लेख नै थिएन । जबकि २०३२ देखि २०३४ सालका तीन बर्ष त मनाइएकै थियो र मनाइएको कुरा गोरखापत्रमा प्रकाशित समाचारहरुबाट पनि पुष्टि हुन्छ ।

    अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन मनाउनु उपयुक्त नहुने भन्दै २०७७ सालदेखि मनाइएन र २०७९ सम्म नै मनाइएन । २०८० सालमा असोज २ गते मनाउने निर्णय गरियो । र, मनाइयो पनि । निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन २०७५ साल असोज २ गते जारी भएको मितिका आधारमा नयाँ दिन कायम गरिएको हो ।

    गत बर्ष ४१ औँ शिक्षा दिवस भनी मनाइयो । यस बर्ष पक्कै पनि ४२ औँ शिक्षा दिवस भनेर मनाइन्छ होला । शिक्षा दिवस नमनाइएको बर्षलाई गणना गर्न मिल्ने हो वा होइन ? बहस गरौँ । मिल्ने नै हो भने २०३१ साललाई गणना गर्न मिलेन किनकि त्यो बर्ष शिक्षा दिवस मनाइएकै थिएन ।

    अब शिक्षा दिवस आउन ९ दिन बाँकी छ । शिक्षा मन्त्रालयले गलत तथ्यलाई नै बोक्छ वा खोजी गर्छ हेर्न बाँकी छ । गलत तथ्यलाई बोक्छ भने इतिहास किन चाहियो र ? मनपर्दी गरे भैगो । होइन, तथ्यलाई अवलम्बन गर्नुपर्छ भन्ने लागेमा तथ्य खोजोस्, त्यसका लागि म पनि सहयोग गर्न तयार छु । गलत इतिहासलाई सच्याउने अवसर यही हो । आउनुहोस्, खोजी र अनुसन्धान गरौँ । धन्यवाद

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार