Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सेन्चुरी र बाँसबारीपछि टीकापुर र बालमन्दिर काण्डमा पनि मुद्दा नचलाउने सीआईबीको तयारी


    शुक्रबार, भाद्र १४ २०८१
    2.9K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • माधव पौडेल

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले छानबिन सुरु गरेका ठूला भ्रष्टाचार काण्डका फाइल एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारले धमाधम तामेलीमा राख्ने र मुद्दा नचलाउने निर्णय गर्ने क्रम अगाडि बढाएको छ । रिलायन्स स्पीनिङ मिल्सको कीर्ते कागजात प्रकरण, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अतिक्रमण र सेन्चुरी बैंकको कमसल धितो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले मुद्दा नचलाउने गरी रायका लागि सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरिसकेको छ ।

    सीआईबीको प्रमुखमा दीपक थापालाई सरुवा गरिएपछि यी ठूला भ्रष्टाचारका काण्डमा एकपछि अर्का भीभीआईपीलाई मुद्दा नचलाउने निर्णय गराउने क्रम सुरु भएको छ । थापाले कार्यभार सम्हाल्नासाथ सीआईबीको कार्यक्षेत्र अन्तर्गतका जटिल प्रकृतिका अपराधको अनुसन्धानलाई भन्दा प्रचण्ड सरकारको पालामा सुरु गरिएका ठूला भ्रष्टाचार काण्डका आरोपीलाई उन्मुक्ति दिनेमै बढी केन्द्रित हुने गरेको छ । अपराध र कीर्ते प्रकरणका ठूला यी काण्डको छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउनपट्टि नलागी उनी उन्मुक्ति दिनेमै बढी आफ्नो क्षमता लगाउँदैआएका छन् ।

    तीन वटा ठूला भ्रष्टाचार काण्डमा कांग्रेसका बहालवाला सांसद तथा ब्यापारी र प्रधानमन्त्री केपी ओलीका निकट रहेका पवन गोल्यानलाई रिलायन्स स्पीनीङको कागजात कीर्ते प्रकरणमा उन्मुक्ति दिइसकेपछि अब टीकापुर र बालमन्दिर जग्गा प्रकरणको फाइलमा पनि ब्यापारी र राजनीतिक ब्यक्तिलाई जोगाएर निरीह कर्मचारीलाई मुद्दा चलाएर ढिसमिस पार्ने खेल सुरु भइसकेको छ । केही दिनभित्रै बालमन्दिर र टीकापुरको फाइल पनि टुंगो लगाइँदैछ ।

    टीकापुर जग्गा हिनामिनामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित संलग्न भएकोमा छानबिन अगाडि बढेको छ भनेर त पूर्वगृहमन्त्री रवि लामिछानेले संसदमा केही दिनअघि बोलेका थिए । तर एकाध कट्ठा जग्गा लिनेहरुलाई मुद्दा चलाउने र शीर्षतहका राजनीतिक ब्यक्तिलाई उन्मुक्ति दिनेगरी प्रतिवेदन तयार गर्न एआईजी थापाले निर्देशन दिइसकेको स्रोतको दाबी छ । राजनीतिक ब्यक्तिहरुको नाम नराखी अनुसन्धान प्रतिवेदन तयार गरेर टीकापुर जग्गाको फाइल टुंगोमा पुर्याउन एआईजी थापा लागेका छन् ।

    कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै १२५ कट्ठा सरकारी जग्गा राजनीतिक पहुँच प्रयोग गरी कौडीको मूल्यमा लिनेहरुमा वर्तमान परराष्ट्रमन्त्री आरजु राणा, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायत छन् । टीकापुरको जग्गा अनियमिततापूर्वक बितरण गर्ने नगर विकास समितिका पदाधिकारीहरुबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा पनि दायर गरेको छ । तर त्यसरी राजनीतिक पहुँच प्रयोग गरी जग्गा लिने आरजु राणा र रेशम चौधरीलाई भने मुद्दा दायर गरेको छैन ।

    बालमन्दिरको जग्गाको लिजमा मुछिएको बृहस्पति स्कुल बिशाल ग्रुपको हो । पूर्वअर्थमन्त्री तथा हाल प्रधानमन्त्री ओलीका सल्लाहकार डा. युवराज खतिवडा र वर्तमान अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग विशाल ग्रुपको राम्रो सम्बन्ध रहेको छ । खतिवडा अर्थमन्त्री हुँदा विशाल ग्रुपलाई लाभ हुनेगरी बजेटमा करका दरहरु परिवर्तन गरेको बिषय पनि चर्चामा आएको थियो । जसले बिशाल ग्रुपलाई ठूलो लाभ भएको बिषय मिडियाले उजागर गरेका थिए । बिशाल ग्रुपको अर्थमन्त्री पौडेलसँग पनि राम्रो सम्बन्ध रहेको छ ।

    बिशाल ग्रुपले कौडीको मूल्यमा बालमन्दिरको उक्त जग्गा लिजमा लिएर नियम कानुनबिपरीत राई स्कुललाई सबलिजमा दिएको बिषयमा सीआईबीले छानबिन गरेको थियो । बालमन्दिरको जग्गा भाडामा भएको अनियमितता प्रकरणमा करिब ३० बर्ष बाल संगठनको अध्यक्ष रहेकी सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रितासिंह बैद्य पनि संलग्न छिन् ।

    सीआईबी गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय हो । सीआईबीमा अनुसन्धानमा पोख्त राम्रा अधिकृतलाई एउटा एउटाको मानिस भएको ट्याग लगाउँदै सरुवा गर्ने प्रपन्च पनि भइरहेको छ । सेन्चुरी बैंकको घोटाला, वालेट, सुनतस्करी, किप्टो करेन्सी कारोबारको अनुसन्धान गर्ने क्षमतावान अधिकृतलाई एआईजीलाई कुरा लगाएर सीआईबीबाट धपाउन लागिएको छ ।

    जटिल अपराधको अनुसन्धान गरेका सीआईबीमा कार्यरत काबिल अधिकृतहरुलाई सेटिङमा असहयोग गरेको भन्दै पूर्व एआईजी श्यामलाल ज्ञवालीको निकट भएको बिल्ला भिराएर सरुवा गराउन आईजीपी बसन्तबहादुर कुँवरकोमा सूची पठाउने काम पनि एआईजी थापाले गरेको स्रोत बताउँछ । यस्तो सूचीमा इन्स्पेक्टरदेखि एसपीसम्म छन् ।

    त्यसैगरी सीआईबीमा कार्यरत डीआईजी किरण राणाले जुनियरहरुको कुरा एआईजीलाई लगाउने काम गरेको आरोप छ  । स्रोतका अनुसार उपत्यका ट्राफिक कार्यालयको प्रमुख हुनका लागि एआईजी थापालाई कुरा लगाउने र उनले लगाएका कुरा भेरिफाई नगरीकनै कतिपय योग्य अधिकृतलाई ज्ञवालीको निकट भनेर सीआईबीबाट सरुवा गर्न लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार