Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • १० अर्बको ठेक्का ह्याकिङमा मुछिएका गौली फरार, खड्का गृहमन्त्रीलाई ब्रिफिङ गर्दै


    बुधबार, बैशाख २ २०८३
    12.1K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सरकारी विद्युतीय बोलपत्र(ई–बिडिङ) ह्याकिङ प्रकरणको संयुक्त अनुसन्धान गरिरहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र साइबर ब्यूरोले अहिलेसम्म ६ जना निर्माण ब्यवसायी पक्राउ गरिसकेको छ । आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौलीलाई नियन्त्रणमा लिए पनि उनी अस्पतालमा प्रहरीकै निगरानीमा छन् । आशिषका अर्का संचालक निर्माण गौलीबिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । उनी फरार छन् ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ५ वटा प्याकेजको बोलपत्रमा आशिष निर्माण सेवा र भिमेश्वर ग्रुपले ह्याकरको सहयोगमा ई– प्रक्योपमेन्ट सिष्टममा अनधिकृत पहुँच पुर्याई ठेक्काका दररेट हेरफेर गरेको खुलेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले साईबर ब्यूरोलाई कारबाहीका लागि पत्र लेखेको थियो ।

    साइबर ब्यूरो र सीआईबीले संयुक्त रुपमा छानबिन गर्ने क्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १० अर्बको ५ वटा प्याकेजमध्ये ३ वटा ठेक्का ह्याकरको मद्दत लिएर सिष्टममा अनधिकृत पहुँच पुर्याइ लिएको पाइएपछि आशिष निर्माण सेवाका संचालकद्वय ऋषिकेश गौली र निर्माण गौलीका बिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । ऋषिकेश पक्राउ परिसकेका छन् भने निर्माण फरार छन् ।

    आशिष काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटै प्याकेजका बोलपत्रमा सीआईबीले अनुसन्धान गरिरहेको छ । खानेपानीका २ वटा प्याकेजको ठेक्का पाएको भिमेश्वर ग्रुपका बारेमा पनि अनुसन्धान भइरहेको सीआईबी स्रोत बताउँछ । ह्याकरको सहयोगमा ई–प्रक्योपमेन्ट सिष्टममा अनधिकृत पहुँच पुर्याएका भिमेश्वर ग्रुपका संचालक सहदेव खड्का आफ्नो कम्पनी ह्याकिङमा संलग्न छैन भन्दै हिंडिरहेका छन् ।

    धादिङमा अनुगमनमा गएका गृहमन्त्री गुरुङलाई ब्रिफिङ गर्दै भिमेश्वर ग्रुपका सहदेव खड्का

    ह्याकर गिरोह परिचालन गर्ने कार्यमा भने निर्माण गौली रहेको आशंका गरिएको छ । ह्याकरहरुसँग मिलेर ठेक्का हत्याएको आशंकामा छानबिन भइरहेका भिमेश्वरका खड्का आफू चोखो बन्न गृहमन्त्री सुधन गुरुङ धादिङमा अनुगमनमा जाँदा उनलाई गुमराहमा पार्दै ब्रिफिङ गर्दै हिंडिरहेका छन् ।

    भीमेश्वर ग्रुपका संचालक सहदेव खड्काले आफूले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको एउटामात्र प्याकेजमा टेण्डर बिड गरेको र आफ्नो कम्पनी ह्याकिङमा संलग्नै नभएको प्रतिक्रिया दिएका छन् ।

    विद्युतीय बोलपत्र ह्याकिङ प्रकरणमा लहरो तान्दा पहरो नै आउने र थुप्रै ठूला निर्माण व्यवसायीहरू छानबिनको दायरामा आउने भएका छन् ।

    तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, समानान्तरका अच्यूतप्रसाद खरेलबिरुद्ध पनि ह्याकिङ गरेर ठेक्का लिएकोमा सार्वजनिक खरिद अनुगमन कार्यालय र सीआइबीमा उजुरी परेको छ ।

    त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का पनि आशिष निर्माण सेवा र रेलिगेयर कन्ष्ट्रक्सन जेभीले ईबिडिङ नै ह्याक गरेर लिएको आशंका गरिएको छ । समानान्तर ग्रुपका खरेल र रेलिगेयरका संचालक शेरबहादुर केसी साझेदार हुन् । यी दुई कम्पनी आयल निगमको पोखराको इन्धन डिपोदेखि अन्यत्र पनि साझेदार हुन् ।
    सर्वोच्च अदालतको ठेक्का पनि चलखेलकै आधारमा समानान्तरले लिएको आरोप लाग्दैआएको छ ।

    तुँदीका सुवेदीले लिएका हाइड्रो लगायतका बिभिन्न आयोजनाका ठेक्काका बिषमा पनि छानबिन भइरहेको सीआईबी स्रोत बताउँछ । नौबीसेदेखि मलेखुसम्मको सडक विस्तारको कामको जिम्मा पाएको शर्मा–लामा चिनियाँ कम्पनी जेभीको ठेक्काको बिषय पनि छानबिनको घेरामा परेको छ ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटा प्याकेजसहितका अधिकांश ठेक्का ह्याकर गिरोहमा संलग्न ज्योति सुवेदी करोडौं रकम उठाएर फरार रहेको सूचना सीआईबीमा पुगिसकेको स्रोत बताउँछ । उनी र आशिषका निर्माण गौली अझै पक्राउ पर्न सकेका छैनन् । केही प्रहरीहरुले संरक्षण गरेका कारण गौलीको समूह पक्राउ पर्नबाट जोगिंदैआएको छ ।

    भीमेश्वर ग्रुपको खण्डन

    २०८३ बैशाख २ गते नेपालफेस डटकममा प्रकाशन गरिएको ‘१० अर्बको ठेक्का ह्याकिङमा मुछिएका गौली फरार, खड्का गृहमन्त्रीलाई ब्रिफिङ गर्दै’ शीर्षकको समाचारमा यस भिमेश्वर ग्रुप र यसका अध्यक्ष सहदेव खड्काबारेमा सीआईबीले अनुसन्धान भइरहेको भन्ने विषयमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त समाचारमा उल्लेख भए बमोजिम यस भिमेश्वर ग्रपले एडीबीको सहयोगमा आयोजना गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका व्याकेजहरुमध्ये २ वटा प्याकेजको ठेक्का नपाएको व्यहोरा जानकारी गराउदछौं ।

    साथै ह्याकिङमा प्रकरणमा यस संस्था र संस्थाका अध्यक्षको कुनै पनि संलग्नता नरहेको र सो सम्बन्धी कुनै पनि अनुसन्धानमा नतानिएको जानकारी गर्दछौं । अतः कुनै आधिकारीक प्रमाणविना गलत समाचार अनलाइनमार्फत् सम्प्रेशण गरिएकोमा तुरुन्त समाचारको खन्डन गर्नुहुन अनुरोध गरिन्छ । साथै व्यक्तिगत मानमर्दन हुनेगरी सम्प्रेषण गरिएको समाचार खन्डन नगरिए उक्त नेपालफेसविरुद्ध काननी उपचार खोजिने जानकारी गरिन्छ । विवेक आचार्य, ब्यवस्थापक

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार