Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ठूला भ्रष्टाचार काण्ड तामेलीमा राख्दै सीआईबी, बाँसबारीदेखि सेन्चुरी बैंक घोटालाका आरोपीलाई उन्मुक्ति


    आइतबार, भाद्र ९ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । पूर्वगृहमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले सुरु गरेका ठूला भ्रष्टाचारका काण्डहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले एकपछि अर्को तामेलीमा राख्न सुरु गरेको छ । रिलायन्स स्पीनिङ मिल्सको कीर्ते कागजात प्रकरणमा पवन गोल्यान, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अतिक्रमण गर्ने चौधरी ग्रुप र सेन्चुरी बैंकको कमसल धितो प्रकरण सीआईबीले तामेलीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

    ठूलो आर्थिक लेनदेनमा पवन गोल्यानले रिलायन्सको मुद्दा नचलाई फाइल नै तामेलीमा राख्न लगाएका छन् । परराष्ट्रमन्त्री आरजु राणासँगै सेटिङ मिलाएर रिलायन्सको कीर्ते प्रकरणमा सीआईबीले मुद्दा नचलाई उन्मुक्ति दिएको छ । रिलायन्सले डेडिकेटेड र ट्रंकलाइनको ७५ करोड रुपैयाँ बक्यौता तिरेको छैन । तर त्यो ७५ करोड बक्यौता तिर्नुपर्ने उल्लेख नगरी, अन्य कतिपय विवरण लुकाएर घाटामा भएको रिलायन्सले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निस्कासन गर्न लागेको उजुरीपछि सीआईबीले धितोपत्र बोर्डबाट कागजात नियन्त्रणमा लिएको थियो । तर सीआईबीले छानबिन गरिरहेकै समयमा गोल्यानले शक्तिकेन्द्रमा आर्थिक चलखेल गरी तामेलीमा हाल्न लगाएका छन् । घाटामा गएको कम्पनीले आईपीओ जारी गर्न पाउँदैन । कीर्ते कागजात पेश गरी नक्कली नाफमा देखाएर गोल्यानले आईपीओ जारी गरी सर्वसाधारणबाट अरबौं रकम उठाउने चालबाजी गरेका छन् ।

    चौधरी ग्रुपले हडपेको बाँसबारीको जग्गामा पनि सीआईबीले तामेलीमा मुद्दा नचलाई तामेलीमा राख्ने प्रक्रिया अगाडि बढाइसकेको स्रोतलेब बताएको छ । चौधरी ग्रुपले हडपेको बाँसीबारीको १० रोपनी जग्गा सरकारका नाममा आइसकेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै मुद्दा नचल्ने निर्णय गर्न लागेको स्रोतले बताएको छ । बाँसबारी जग्गा हडपेर कांग्रेस सांसद बिनोद चौधरी र उनका भाइ अरुण चौधरीले चाँदबाग स्कुल र अपार्टमेन्ट निर्माण गरेका छन् । बिनोद चौधरीलाई खुसी पार्न सीआईबीका प्रमुख दीपक थापाले बाँसबारी प्रकरण पनि तामेली राख्न लागेका छन् । जग्गा फिर्ता हुँदैमा मुद्दा नचल्ने भए ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरस्टोर्सका संचालक मीनबहादुर गुरुङमाथि सीआईबीले किन मुद्दा दायर गर्यो ? गम्भीर प्रश्न उठेको छ ।

    त्यसैगरी, सेन्चुरी बैंक घोटाला प्रकरणमा अर्का कांग्रेस सांसद उमेश श्रेष्ठका भाइ राजेश श्रेष्ठलाई उन्मुक्ति दिने र बैंकका कर्मचारीलाई मात्र मुद्दा चलाउने भएको छ । स्रोतका अनुसार सेन्चुरी बैंकको घोटालाका मुख्य योजनाकार उमेश श्रेष्ठका भाइ राजेशसहितका संचालकलाई मुद्दा नचलाउनेगरी कर्मचारीलाई मात्र मुद्दा बुझाउन लागिएको छ ।

    थोरै धितोमा धेरै ऋण प्रवाह गर्ने तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठसहित नौजनालाई गएको जेठ २८ गते सीआईबीले पक्राउ गरेको थियो । राजेश श्रेष्ठसहितका कर्मचारीहरुले जाली कागजात तयार गरी देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको स्वामित्वमा रहेको पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण ड्रिस्टिलरीका नाममा कम धितोमा २ अर्ब ३० करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर यो प्रकरणमा श्रेष्ठसहितका संचालकलाई उन्मुक्ति दिएर कर्मचारीलाई मुद्दा दर्ता गर्नका लागि अनुसन्धान अधिकृतलाई एआईजी थापाले दबाब दिएका थिए । अनुसन्धान अधिकृतले अनुसन्धानका क्रममा संचालकलाई जोगाउन नसकिने भनेपछि एआईजी थापाले आफैंले हस्ताक्षर गरी कर्मचारीलाई मात्र मुद्दा चलाउने गरी टुंग्याएको स्रोतले बताएको छ ।

    सीआईबीका प्रमुखमा एआईजी दीपक थापालाई सरुवा गर्नासाथ यी बहुचर्चित भ्रष्टाचार काण्डमा एकपछि अर्कोगरी सफाइ दिने प्रक्रिया सुरु गरिएको हो । सीआईबीमा जानासाथ थापाले सत्तारुढ दल संलग्न भ्रष्टाचार काण्डमा सफाइ दिन लागेका हुन् । टाट उल्टेको रिलायन्स स्पीनिङ मिललाई कीर्ते कागज देखाएर कृत्रिम नाफा गरेको प्रष्ट हुँदाहुँँदै जनता ठग्न सेयर जारी गर्ने बाटो खुलेको छ ।

    सीआईबीका प्रमुखमा एआईजी दीपक थापालाई सरुवा गर्नासाथ यी बहुचर्चित भ्रष्टाचार काण्डमा एकपछि अर्कोगरी सफाइ दिने प्रक्रिया सुरु गरिएको हो । सीआईबीमा जानासाथ थापाले सत्तारुढ दल संलग्न भ्रष्टाचार काण्डमा सफाइ दिन लागेका हुन् ।

    त्यसैगरी पूर्वगृहमन्त्री रवि लामिछानेको पालामा सुरु भएको बालमन्दिर जग्गा लिज प्रकरणमा पनि सीआईबीले मुद्दा नचलाउने तयारी गरेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार