Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोल पम्पको बक्यौता उठाउन आईजीपी अर्याल सक्रिय, घुमुवाको असुली धन्दाको छानबिन हुँदै


    सोमबार, फाल्गुन १४ २०८०
    3.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलको कल्याणकारी कोष अन्तर्गत संचालित पेट्रोल पम्पमा लामो समय काम गरेका ८ इन्स्पेक्टरले दिएको राजीनामा उनीहरुको कार्यकालको बक्यौता तिरेपछि मात्रै स्वीकृत हुने भएको छ । आईजीपी राजु अर्यालले जस जसका पालामा पेट्रोल पम्पको बक्यौता छ, त्यो असुली गरेपछि मात्र राजीनामा स्वीकृतिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि ८ इन्स्पेक्टर सशस्त्र मुख्यालयको कार्यदलमा हाजिर गर्दै बसेका छन् ।

    सशस्त्र प्रहरी बलको पेट्रोल पम्पमा कार्यरत १२ इन्स्पेक्टरले राजीनामा दिएका थिए । ती मध्ये ८ जनाको बक्यौता देखिएपछि उनीहरुले त्यो असुली नगरेसम्म राजीनामा स्वीकृत नगर्न आईजीपी अर्यालले निर्देशन दिएपछि उनीहरु कार्यदलमा हाजिर गरी दिन कटाइरहेका छन् । ८ जनामध्ये पूर्वआईजीपी शैलेन्द्र खनालको कार्यकालभर सशस्त्र मुख्यालय हलचोकको पम्पमा कार्यरत रविन थापा थिए । सो पम्पबाट मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीलाई मात्रै २७ लाखको तेल उधारोमा लगेका छन् । जुन बक्यौता उनले अहिलेसम्म तिरेका छैनन् ।

    पम्पमा कार्यरत सशस्त्रका इन्स्पेक्टरमध्ये कतिपय विदेश जाने सुरमा थिए । तर राजीनामा नै स्वीकृत नभएपछि कार्यदलको ब्यारेकमा दिन बिताउन बाध्य छन् ।  सशस्त्रको पेट्रोल पम्पको इन्चार्ज हुन ठूलो चलखेल हुनेगरेको छ ।

    यसैबीच, बिभिन्न संचारमाध्यममा बागमती प्रदेशका यसअघिका सशस्त्रका डीआईजी लक्ष्मणबहादुर सिंहले अस्पतालमा काजमा कार्यरत एक हवल्दारलाई सिभिलमा घुमुवा राखी ब्यापारीसँग डिल गर्न पठाएको बिषयमा छानबिन गर्न अर्का डीआईजी कुलबहादुुर नेम्वाङको अध्यक्षतामा समिति बनाइएको स्रोतले बताएको छ ।

    मधेश प्रदेशमा १ दशकभन्दा बढी सादा पोशाकमा खटिएका सहायक हवल्दार इमाम आलम ठकुराईलाई राजु अर्याल आईजीपी भएपछि घुमुवा अप्रेसन अन्तर्गत श्रीअन्तु गुल्म इलाममा सरुवा गरिएको थियो । तर उनी सरुवा गरिएको ठाउँमा जाँदै नगई १ बर्षदेखि बिरामी भएको भनी सशस्त्रको बलम्बुस्थित अस्पतालमा काजमा थिए ।

    नक्कली बिरामी भएर अस्पतालमा काजमा कार्यरत ठकुराईलाई बागमती प्रदेशका यसअघिका डीआईजी लक्ष्मणबहादुर सिंहले बीरगंज र बारामा भन्सारछलीका सामान ल्याउने ब्यापारीहरुकोमा अतिरिक्त आम्दानीका लागि परिचालन गरेको समाचार पत्रपत्रिकामा आएपछि नेम्वाङको अध्यक्षताम छानबिन समिति गठन भएको हो । मधेश प्रदेशमा डीआईजीका घुमुवाका रुपमा कार्यरत उनी विवादमा परेका थिए ।

    अस्पतालमा एक बर्षदेखि काजमा बसी मधेश प्रदेशका बारा पर्सामा ब्यापारीहरुसँग डिआईजीकोमा डिल गर्ने गरेको समाचार आएपछि उनलाई दरबन्दीमा हाजिर गराउन अस्पतालका डीआईजी किशोर प्रधानलाई रमाना दिएका थिए । उनी श्रीअन्तु गुल्ममा हाजिर भएकै भोलि पल्ट सशस्त्र मुख्यालयबाट उनलाई पठाइदिन पत्र गयो । उनलाई सशस्त्र मुख्यालयको कार्यबिभागमा हाजिर गराइएको छ ।

    नेपाल प्रहरीमा १ नम्बर गणमा राखे जस्तै सशस्त्रमा छानबिन गर्नुपर्नेहरुलाई कार्यदलमा राख्ने गरिएको छ । गल्ती देखिए कारबाही हुने र नदेखिए दरबन्दीमा खटाउने गरिन्छ । छानबिन हुन्जेल बाहिर पनि पनि जान नदिई कार्यदलमा राखिन्छ । तर इमाम ठकुराईलाई भने १० बजे हाजिर हुने र ४ बजे जाने सुविधा दिइएको छ ।

    पेट्रोल पम्पका इन्स्पेक्टरहरुलाई छानबिन नसकिएसम्म कार्यदलमा राखिरहेको सशस्त्र मुख्यालयले ठकुराईलाई भने किन ज्वाइँलाई जस्तै छुट दिएको हो भन्ने प्रश्न उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार