Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस, सूचना चुहावटको आरोप


    शुक्रबार, असोज २३ २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।

    दाहाललाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुनेगरी बर्खास्त गर्न सिफारिस भएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

    सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा भएको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार सिफारिसअनुसारको निर्णय प्रक्रियाका लागि गृह मन्त्रालयमा आवश्यक कागजात तयार भइरहेको छ । दाहाललाई बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ ।

    एआईजी दाहाल गत असोज १९ गते निलम्बनमा परेका थिए । उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ नाताका हुन्। असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई हिरासतमा भेट्न पुगेका थिए ।

    दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधि र समयतालिकासम्बन्धी सूचना निगरानी तथा चुहावट गरेको आरोप लागेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचनाहरू फेला परेका थिए ।

    त्यस्तै, विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको र त्यसमा दाहालको भूमिका रहेको आशंकासमेत छानबिनका क्रममा उठेको स्रोतको दाबी छ ।

    छानबिन समितिको सिफारिससँगै दाहालमाथिको विभागीय कारबाही प्रक्रिया निर्णयको चरणमा पुगेको छ ।

    अब बर्खास्तसम्बन्धी सिफारिस कार्यान्वयन हुने वा नहुने भन्ने निर्णय मन्त्रिपरिषद्बाट हुन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार