Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?


    बिहिबार, पुष ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ। नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक सुरू हुनुअघि साउद र साब्रीबीच भेटवार्ता भएको हो।

    काठमाडौंमा भएको उक्त भेटमा कोलम्बो-लुम्बिनीबीच सीधा हवाई सम्पर्कको सम्भावनाबारे कुराकानी भएको स्रोतले जनायो।

    परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उनीहरूबीच काठमाडौं-कोलम्बोको हवाई सम्पर्कको सुरूआत उत्साहजनक र लुम्बिनीलाई पनि कोलम्बोसँग जोड्न सकिने विषयमा कुराकानी भएको हो।

    भेटमा परराष्ट्रमन्त्री साउदले श्रीलंकामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे कुरा उठाएका थिए।

    यस्तै, जलवायु परिवर्तनका कारण आ-आफ्नो मुलुकले भोग्नुपरेको समस्याका बारेमा पनि यी दुई मन्त्रीबीच कुराकानी भएको थियो।

    यसैबीच नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक अहिले बसिरहेको छ।

    काठमाडौंमा सुरू भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउदसहित परराष्ट्र सचिव सेवा लम्साल र सरकारका उच्च प्रतिनिधिहरूको सहभागिता छ भने श्रीलंकाका तर्फबाट पनि परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू बैठकमा सहभागी भएका छन्।

    दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, संस्कृति, पर्यटन र शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्नेलगायत विषयमा छलफल हुनेछ।

    त्यस्तै, आजै नेपाल र श्रीलंकाबीच विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार