Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू–१९ एसिया कप : नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य


    शुक्रबार, मंसिर २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । उत्तम मगरको अर्धशतकप्रेरित नेपालले यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा आएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रनको योगफल खडा गर्यो ।

    नेपाली टिमको खातामा उत्तमले ५१ रन थपे । दबाबपूर्ण अवस्थामा सुझबुझपूर्ण ब्याटिङ गरेका उनले ७६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । ४६–६ को नाजुक अवस्थामा उत्तमले छैटौँ विकेटका लागि दीपेश कडेलसँग ६८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । दीपेशले ३१ रन बनाए । ओपनर अर्जुन कुमालले २१ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    पाकिस्तानविरुद्ध नेपाली कप्तान देव खनाल १३ बलमा रनको खाता नखोली आउट भए । सिनियर टोलीका गुल्सन झाले पनि टिमको खातामा एक रन मात्र थपे ।

    नेपाललाई सस्तैमा रोक्न पाकिस्तानमा मोहम्मद जिसानले ६ विकेट लिए । ९.२ ओभर बलिङ गरेका उनले एक मेडनसहित १९ रनमात्र खर्चिए । अमिर हसनले दुई विकेट लिँदा अली असफान्ड र उबैद साहले समान एक विकेट लिए ।

    आजको खेलपछि नेपालले समूहको दोस्रो खेलमा मंसिर २४ गते आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । आईसीसी एकेडेमी ओभल–२ मा नै हुने यो खेल पनि नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

    यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीनवटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् ।

    समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछन् । प्रतियोगिताको फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

    अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार