Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गैह्रीगाउँ हत्या प्रकरणमा पक्राउ परेका युवकको बयान- ठाउँ ठाउँमा हत्या गरेको दाबी


    मंगलबार, असोज ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका बोल्न नसक्ने २३ वर्षीय युवक यतिबेला काठमाडौं प्रहरी परिसरको थुनामा छन् ।

    ‘एग्रेसिभ’ स्वभावका भएकाले सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखेर सन्जय भन्डारीलाई हिरासतमा राखिएको छ । जन्मजात बोल्न नसक्ने ती आरोपीलाई प्रहरीले बहिरा संघका अधिकारी र दोभाषे अगाडि राखेर सोधपुछ गरिरहेको छ ।

    अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘बोल्न नसक्ने भएपनि युवक निकै चलाख देखिन्छन्। अनेक कुराहरु गरेर अलमलमा पारिरहेका छन्।‘ ती अधिकारीका अनुसार सन्जयले काठमाडौं, ललितपुर र सिन्धुपाल्चोकमा पनि मान्छे मारेको बताएका छन् ।

    प्रहरीले सन्जयले मान्छे मारेको भनेका ठाउँमा प्रहरीले बुझेको पनि थियो। स्वंय उनलाई पनि ती घटनास्थलमा पुर्यामएको थियो ।

    ‘उनले एउटा घटनास्थलबारे हामीलाई भनेको कुराहरु केही मिलेको छ । त्यहाँ बुझ्दा मान्छेको हत्या भएको पनि देखिन्छ । तर मारिएका मान्छेबारे अरु केही थाहा नभएकाले पुष्टी गर्न गाह्रो छ । उनले बोलेका ठाउँमा शंका गर्ने ठाउँहरु चाहीँ छन्’, ती अधिकारी भन्छन् ।

    काठमाडौंको रातोपुल र बालुवाटार क्षेत्रमा आफुले दुई जनाको हत्या गरेको सन्जयले सोधुपछका क्रममा बताएका थिए । अनुसन्धानका क्रममा ती ठाउँमा मानिस केही समय पहिला मृत भेटिएको पनि पाइएको छ । सन्जयले केहीलाई मारेर गाडेको पनि बताएका छन् । ‘पत्याउनु हुन्न भने ती ठाउँमा खनेर हेर्नुस्’, सन्जयले प्रहरीलाई भन्ने गरेका छन् ।

    ‘उनी यसरी बोलिरहेका छन् की पूर्णरुपमा पत्याउन सकिने अवस्था पनि छैन’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् । दुई वर्षअघि बौद्धको टाउन प्लानिङमा मान्छेको एउटा मात्र खुट्टा भेटिएको घटना पनि आफुले गराएको उनले बताएका छन् । ‘हत्या गरेर एउटा खुट्टा बोरामा ल्याएर राख्ने सिसिटिभीमा देखिएका चार जनामध्ये म पनि एक हुँ’, सन्जयले भनेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार