सूर्यवदना घिमिरे पण्डित
गुरु शब्दको अर्थ हामीले चार कक्षादेखि पढ्दै आएका छौँ । गु को अर्थ अन्धकार र रु को अर्थ हटाउने अर्थात् अँध्यारोबाट उज्यालो तर्फ लैजाने भन्ने हो । आषाढ शुक्ल पूर्णिमालाई हामी गुरुपूर्णिमा भनेर मनाउँछौँ । यसै दिन महर्षि ब्यासको पनि जन्मदिन पनि पर्ने हुनाले व्यास जयन्तीको रुपमा पनि मनाउँदै आएका छौँ । महर्षि व्यास सबै बेद, अठार पुराण एवं श्रीमद्भागवत महापुराणका सर्जक हुन् भनिएको छ । त्यसैले महर्षि उनलाई गुरुका पनि गुरु भनिन्छ ।
यतिमात्र हैन, व्यास महाभारतका रचयिता र त्यस युद्घका सशक्त एवं जीवन्त पात्र पनि थिए । उनले कौरव र पाण्डवका हरेक अल्झन र अप्ठ्याराहरूमा सल्लाह र सुझाव दिन्थे । पाण्डवभित्र गुरुबाणी अटाउने पात्रता थियो । महर्षिको आसय बुझेर काम गरे । धर्मयुद्घ जिते । कौरव पक्षले व्यासलाई पाखण्डी, लहडी र ढोगीको रूपमा लिए । धृतराष्ट लगायत उनका सन्तानले मुनिको सुझाव मानेनन् । तर व्यासले उनीहरूलाई उज्यालो मार्ग देखाउने काम गर्न भने कहिल्यै छोडेनन् । कौरव पक्षको पात्रता उल्टो थियो वा बिर्को लागेको थियो । त्यसैले अमृत र बिष चिन्न नसकेर सबै सखाप भए ।
अब छोटो चर्चा गरौँ गुरु के हो ?
गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।
हाम्रा उपनिषदहरूमा गुरुलाई ब्रह्मा, बिष्णु र महेश भनिएको छ । जुनसुकै भाषा, धर्म, संस्कृति र संप्रदाय भए पनि गुरुको महिमा उच्चस्थानमा रहेको पाइन्छ । मानव जीवनको अन्तिम लक्ष परमात्मालाई चिन्नु हो । परमात्मालाई हामीले सोझै देख्दैनौँ अर्थात् देखे पनि चिन्दैनौँ । त्यसैले परमात्मासँग आत्माको मिलन गराउने काम गुरुको हो भनिन्छ । गुरुबाट परमात्मा र शिष्य बिच पुलको रूपमा काम भइरहेको हुन्छ । उपनिषदमा रहेको अर्को छोटो श्लोकको मर्म पनि बुझ्यौैँ
ॐ असतोमा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
यसको अर्थ, हे परमेश्वर मलाई असत्यबाट सत्यमा र अँध्यारोबाट उज्यालोतर्फ लैजाऊ भनिएको हो । माथिका दुईवटा श्लोक हामी सबैले भन्दै आएका छौँ । यी दुई श्लोकका चुरोलाई नियालौँ । गुरुले बाहिरी ज्ञान मार्फत् आफ्नो शिष्यलाई रातबाट धकेलेर दिनमा पु¥याउने हैन । वास्तवमा गुरुले के कस्ता विषयहरूले अन्धकारमा पु¥याउँछ र कस्ता विषयले उज्यालोतर्फ लैजान्छ भनेर सजग गराउने हो । गुरुप्रति श्रद्वा र भक्ति भए मात्र गुरुले देखाएको मार्ग समात्न सकिन्छ । नत्र कौरव पक्षलाई महर्षि व्यासले दिएका उपदेश जसरी खेर जान्छन् । शिष्य कुवाको भ्याकुतोजस्तो जहाँको तहीँ हुन्छ ।
बिभिन्न शास्त्रहरूमा भनिएको छ, भगवान दत्तात्रयका चौबीस गुरु थिए । तर उनले कसैसँग कान फुकाएर वा कसैबाट प्रदान गरिएको लुगा, टीका पहिरेर उनहिरूलाई गुरु मानेका थिएनन् रे । भनिन्छ, उनका गुरुहरू–पृथ्वी, जल, अग्नि, वायु, आकाश, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पुतली, भमरा, हात्ती, माहुरी, मृग, माछा, गणिका, कुकर पंक्षी, बालक, कुमारी, सर्प, बाण बनाउने मान्छे, माकुरो र भृङ्गी थिए । दत्तात्रयमा सही र गलत छुट्याउने पात्रता थियो । त्यसैले उनले पञ्चमहाभूत, मान्छे, पशु, पँक्षी, किटपतङ्गका आचरणबाट के गर्न हुने, के गर्न नहुने भन्ने सिके । यसै गरेर कुन आचरण सन्यासीले र कुन आचरण गृहस्थाश्रममा रहेकाले पालना गर्नुपर्छ भन्ने कुराहरू हामी सबैलाई बताए ।
अबको सवाल हो अँध्यारो भनेकोे के हो ? उज्यालो भनेको के हो ? गुरुले उजयालोतर्फ लैजाने कसरी हो ? हामीले गुरु मानिसलाई मात्र मान्दै आएका छौँ । किनभने हामीलाई भौतिक रूपमा नै बोलेर, देखाएर सिकाएर हरदम सजग पार्न गुरु चाहिएको छ । आफैभित्र रहेको उज्यालोलाई अरूले बताइदिनु र चिनाइदिनुपर्नेछ । जसबाट बहिर्मुखी हैन, अन्तरमुखी बन्न सिक्नु परेको छ । वास्तवमा, अँध्यारो भनेको नरक रहेछ । भनिन्छ, नरकका द्वार– कामना, क्रोध र लोभ हुन् । कसैको बुझाइमा कामना र लक्ष एकै हो भन्ने हुनसक्छ ।
यो बुझाइमा आकाश र पाताल भन्दा पनि बढी फरक छ । लक्ष भनेको आफूले अरूलाई होचो नपारी अग्लो हुने क्रियाशीलता हो । आफैँसँग हुने हिजो र आजको प्रतिष्पर्धा हो । लक्षलाई बुझेर गरिने हरेक कर्महरू इश्वर समर्पित हुन्छन् । त्यस्ता व्यक्तिको काम नै राम बनेको हुन्छ । तर कामनाभित्र रीस र लोभ पनि टाँसिएर बसेका हुन्छन् । कामना सहितका कर्महरूमा यी सबै काम मैले गरेको हुँ भन्ने अहंकार हुन्छ । मनमा कामना लिएर काम गर्ने मान्छेले रामलाई काम बनाउँछ अर्थात् भगवानलाई आफ्नो स्वार्थमा लिन्छ ।
गुरुले शिष्यलाई यी र यस्ता भावमा रहेर काम नगर भनेर सजग पार्छन् । खासगरेर, गुरुले शिष्यलाई उज्यालोतर्फ जान नवब्रत गर अर्थात् नौ गुणको विकास गर भन्छन् । यी नौ गुणहरू– सत्यता, स्वाध्याय, साधना, क्षमाशीलता, सेवाभाव, सर्वमंगल भाव, मधुरवाणी, लक्षमा एकाकार र मुमुक्षत्व हुन् ।
यसैगरेर, गुरुको निर्देशन हुन्छ– अध्ययनशील बन, मूर्तमा अमूर्त चिज खोज, अभावमा हैन भावमा रहन सिक, आफैँभित्रको उज्यालो खोज, सुनेको देखेको र शास्त्र पढेको भरमा जान्ने सुन्ने देखिन नखोज । बुझ, सिक, अनुभूति गर, त्यसलाई व्यवहारमा ल्याऊ, बोलेर हैन, गरेर देखाऊ । सेवा गर्ने अवसरको खोजीगर । यो संसार सबै आफ्नै फैलावट हो भन्ने बुझ । वास्तवमा, व्यक्ति आलोकाँचो भइञ्जेल अरूको नकारात्मकताले असर पार्छ । आफू बलवान भए बाहिरी तत्वले प्रभाव पारेर हल्लाउँदैन । व्यक्ति आफैँमा दृढ निश्चयी बन्छ । त्यसैले गुरुको आग्रह हुन्छ–ध्यानबाट शून्यमा पुगेर जीवनउर्जा अनुभव गर । शून्यबाट आफ्नो रोजाइ वा सपना चिन । आफ्नो रोजाइमा एकाकार गर अर्थात् सपना, जपना त्यसैको गर । लक्ष अनुसारको कर्म गर अर्थात् संयम र सजगताकासाथ क्रियाशील बन । आफूभित्रकोे परंउर्जाको अनुभव गर । यस्तै माध्यमबाट हो गुरुले शिष्यलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने ।
अन्त्यमा, हामीलाई जन्मदिने र कर्मदिने मातापिता, हामीलाई ज्ञानदिने
गुरुजनहरू, अध्यात्मको मार्गमा डो¥याउने सदगुरुहरू, हाम्रो परिवार र नाता सम्बन्ध सबै परमात्माको देन हो । यसैगरी हाम्रो समाज, हामीले टेकेको धर्ती, हामीले लिएको श्वास, हामीले खाएको अन्न, पानी, हामी रहेको आकाश, सूर्य सबै कुरा परमात्माले हामीलाई दिएको उपहार हो । सबैको सम्मान गरौँ । सबैलाई धन्यवाद दिऊँ । सबैप्रति अनुग्रहित बनौँ । यही हुनेछ गुरुपूर्णिमा मनाउनुको सार्थकता ।
(लेखक जीवन विज्ञानकी प्रशिक्षक हुनुहुन्छ)
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend