काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभाग, काठमाडौँका तत्कालीन नायव सुब्बा रघुनाथ घिमिरेका बिरुद्ध २ करोड १४ लाख ४६ हजार ६ सय ५ रुपैयाँ २४ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकाले त्यति नै रकम बिगो दाबी गर्दै आइतबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । घिमिरेकी पत्नी शारदा गौतमका बिरुद्ध पनि मुद्दा दर्ता गरेको छ । बजेटमा करका दर हेरफेर गर्ने र सीसीटीभी फुटेज डिलिट गर्ने मुख्य योजनाकार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई भने अख्तियारले मुद्दा दर्ता नगरी उन्मुक्ति दिएको छ ।
एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीमा छानबिन गर्ने क्रममा घिमिरेले २ करोड १४ लाख ४६ हजार ६ सय ५ रुपैयाँ २४ पैसाको बैधानिक स्रोत देखाउन नसकेकाले उनीबिरुद्ध मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ सम्मको अनुसन्धान जाँच अवधिमा घिमिरेको वैधानिक आयमा उनको पारिश्रमिक, उनकी श्रीमती शारदा गौतमको पारिश्रमिक, उनको छोरीको पारिश्रमिक आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल (घर भाडा), कम्पनी लाभांश वापत प्राप्त वैधानिक आय समेत जोड्दा ५ करोड २५ लाख १६ हजार ३ सय २७ रूपैयाँ ४४ पैसा बैधानिक आय देखिन्छ । जसमा श्रीमती शारदा गौतमले अभिकर्ता कमिसन वापत प्राप्त रकम, राजस्व अनुसन्धान विभागबाट प्राप्त गरेको पुरस्कार, शेयर बिक्री, नगद लाभांश आय र अवकाश पश्चात प्राप्त आयसमेत जोडिएको छ ।
सोही जाँच अवधिमा घिमिरेको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माण, रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकरमा भएको खर्च, विभिन्न कम्पनीहरुको शेयर खरिदमा भएको खर्च, कर्जा र ऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम तिरेको खर्च रकम, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, विद्युतीय उपकरण खरिदमा भएको खर्च, बैंक मौज्दात रकम, विदेश भ्रमण खर्च, सुन तथा चाँदी खरिदमा भएको खर्चसमेत गरी जम्मा रु. ७ करोड ३९ लाख ६२ हजार ९ सय ८४ रुपैया ६७ पैसा खर्च तथा लगानी गरेको देखिन्छ । घिमिरेको कुल बैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा रु. २ करोड १४ लाख ४६ हजार ६ सय ५ रुपैयाँ २४ पैसाको बैधानिक स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ ।
प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको र २ करोड १४ लाख ४६ हजार ६ सय ५ रुपैयाँ २४ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेकाले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा मुद्दा दर्ता भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । घिमिरेलाई २ करोड १४ लाख ४६ हजार ६ सय ५ रुपैयाँ २४ पैसा बराबरको विगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।
पूर्व नासु घिमिरेले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनको श्रीमती शारदा गौतमको नाममा हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र अपुग विगोको हकमा स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, अनुसार मुद्दा दर्ता गरेको छ ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend