Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • रास्वपा सांसदका जेन्जी स्वकीयलाई अभिमुखीकरण


    आइतबार, असोज ११ २०८३
    50
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिव तथा सहयोगीहरूको भूमिका व्यक्तिगत सहयोगमा मात्र सीमित नराखी संसदीय तथा राजनीतिक काममा सक्रिय सहकर्मीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

    रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको सचिवालयले असोज ११ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरेको ‘स्वकीय सचिव अभिमुखीकरण तथा समन्वय कार्यक्रम’ मा स्वकीय सचिवहरूको भूमिका, जिम्मेवारी, अध्ययन–अनुसन्धान, सूचना व्यवस्थापन, गोपनीयता, नागरिक सम्पर्क तथा अभिलेखीकरणबारे साझा कार्यदिशा तय गरिएको हो ।

    कार्यक्रममा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले स्वकीय सचिवले सांसदको दैनिक कार्यसम्पादनलाई सहज बनाउनेमात्र नभई संसदमा प्रभावकारी प्रस्तुति, विषयगत अध्ययन, समन्वय र तथ्य व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

    सचेतक क्रान्तिशिखा धितालले स्वकीय सचिवलाई केवल  ‘Personal Assistant’ भन्दा व्यापक अर्थमा ‘Political/Parliamentary Assistant’  का रूपमा बुझ्नुपर्नेमा जोड दिएकी थिइन् । सांसदले संसदमा प्रस्तुत गर्ने विषयवस्तुको गुणस्तर र तयारीमा स्वकीय सचिवको अध्ययनशीलता प्रतिविम्बित हुने उनको भनाइ थियो ।

    कार्यक्रमले सांसदका लागि विधेयक, संसदीय कार्यसूची, समितिका एजेन्डा तथा सार्वजनिक सरोकारका विषयमा अध्ययन गरी आवश्यक तथ्य र सन्दर्भसहित संक्षिप्त नोट तयार गर्नुपर्ने जिम्मेवारीसमेत औंल्याएको छ। साथै सांसदले विगतमा उठाएका विषय, माग गरेका योजना, प्राप्त बजेट तथा बाँकी पहलहरूको व्यवस्थित अभिलेख राख्नुपर्नेमा जोड दिइएको छ ।

    त्यसैगरी सचेतक प्रकाशचन्द्र परियारले निर्वाचन क्षेत्रका समस्या, नागरिकका गुनासा तथा सुझावको व्यवस्थित अभिलेख राख्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समाधानको प्रगति अनुगमन गर्ने कार्यलाई जोड दिनुपर्ने बताए ।

    कार्यक्रममा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको नियमित अनुगमन, तथ्यगत र संयमित सूचना सम्प्रेषण तथा सार्वजनिक कार्यक्रममा सांसदको सहभागिताका लागि आवश्यक पूर्वतयारी गर्नुपर्नेमा समेत जोड दिइएको थियो । गोपनीयता, आर्थिक पारदर्शिता, सुशासन, अनुशासन र राजनीतिक मर्यादालाई स्वकीय सचिवको कार्यशैलीको आधार बनाउनुपर्ने बताइएको छ ।

    रास्वपाले स्वकीय सचिवहरूको कामलाई व्यवस्थित बनाउन डिजिटल अभिलेखीकरणमा समेत जोड दिएको छ । सांसदका भाषण, प्रश्न, प्रस्ताव, पत्राचार, बजेट माग, योजना तथा सार्वजनिक प्रतिबद्धताको डिजिटल अभिलेख राख्ने र नियमित कार्यतालिका तथा फलोअप प्रणाली विकास गर्ने कार्यदिशा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

    स्वकीय सचिवको भूमिकालाई अध्ययन, अनुसन्धान, समन्वय, गोपनीयता, सञ्चार, नागरिक सम्पर्क र अभिलेखीकरणसँग जोड्दै सांसदको संसदीय कामलाई तथ्यमा आधारित, समयबद्ध, व्यवस्थित र नागरिकमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार