गएको बैशाख ३१ गते संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुलाई स्वकीय सचिवको ब्यवस्था गर्न माग गर्दे रास्वपा सांसद बिपीन आचार्य
अनुसा थापा
मुलुकमा ७ सय ५३ वटा स्थानीय तह छन् । वडादेखि पालिकाका जनप्रतिनिधिले स्वकीय सचिव राख्ने गरेका छन् । वडाध्यक्ष, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले स्वकीय सचिव राख्छन् । अधिकांशको स्वकीय सचिव आफ्ना आफन्त छन् । कामका लागि भन्दा पनि आफ्नालाई पोस्नका निम्ति स्वकीय सचिव राख्ने गरिएको भेटिन्छ ।
एउटा गाउँपालिकामा ५ देखि १० वटा वडा हुन्छन् । महानगरपालिकामा त ३२ वटासम्म वडा रहेका छन् । वडाको संख्या ६ हजार ७ सय ४३ छ । ती सबले स्वकीय सचिव राखेका छन् । देशमा सात वटा प्रदेश छन् । प्रदेशका सांसद, मन्त्री, मुख्यमन्त्री र सभामुखले स्वकीय सचिव राख्ने गरेका छन् । केन्द्रमा राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुईटा सदन छन् ।
दुवै सदनका सांसदले स्वकीय सचिव राख्छन् । सभामुख, उपसभामुख, सांसद, मन्त्रीलगायतले स्वकीय सचिव राख्ने गरेका छन् । देशभर ३८ हजार जनप्रतिनिधि छन्, जसलाई जनताले मतदान गरेर पठाएका हुन् । जनप्रतिनिधिहरुले पद हेरेर ५० हजारदेखि तीन लाखसम्म सेवा सुविधा थाप्छन् ।
दुई पाङ्ग्रे पाँच लाख र चार पाङ्ग्रे २४ करोडसम्मको चढ्दै आएका छन् । जनप्रतिनिधिलाई गाडी मात्र दिएर पुग्दैन, इन्धन र मर्मत खर्च दिनुपर्छ । सवारीचालक नियुक्त गर्नुपर्छ । उनीहरु बैठक बस्दा सरकारी खर्चबाट खाजा खान्छन् । २० जना बैठक बसेका छन् भने ५० पोका खाजा मगाउँछन्, त्यो पनि एकदेखि तीन हजार पर्ने !
खाइसकेको सकियो, बाँकी भएको घरतिर दौडायो । बैठक बसेपिच्छे भत्ता पनि बुझ्छन् । सरकारले दिएको तलबले जनप्रतिनिधिलाई पुग्दैन, त्यही भएर भ्रष्टाचार गर्छन् । कार्यालयका लागि आवश्यक ५ लाखको सामान किने भने ५० लाखको बिल बनाएर भ्रष्टाचार हुने गरेको छ । १ करोड विकास बजेट आयो भने २० लाखको काम हुन्छ ।
बाँकी बाँडीचुँडी खान्छन् । २० लिटर इन्धन गाडीमा लाग्यो भने सय लिटरको बिल बनाउँछन् । गाडी मर्मतमा एक लाख रुपैयाँ खर्च भएमा पाँच लाखको बिल बनाउँछन् !
जनप्रतिनिधिहरु खानमै ध्याउन्न हुँदा सरकारी, सार्वजनिक कब्जा गर्ने क्रम बढेको छ । आफ्नो एरियामा भएको सरकारी, सार्वजनिक, ऐलानी, राजपरिवारको जग्गा र हदबन्दीभन्दा बढीको जग्गा जनप्रतिनिधि खोज्दैनन् । तिनलाई सार्वजनिक र पर्ति जग्गा खोज्ने र त्यसको संरक्षणमा चासो छैन ।
त्यसैगरी, ढुंगेधारा, कुवा, राजकुलो, खोलानाला, इनार खोज्न पनि जनप्रतिनिधिलाई मतलब छैन । पसलहरु दर्ता नभइकन सञ्चालनमा भएको देख्दादेख्दै पनि उनीहरु आँखा चिम्लिदिन्छन्, कर उठाउँदैनन् । घरबहाल कर उठाउनमा पनि उनीहरुलाई ध्यान छैन ।
अर्कोपटक चुनावमा भोट नपाउने डरले जनप्रतिनिधिहरु आफ्नो कर्तव्य पूरा गर्दैनन् । आफू कर नउठाउने अनि राज्यबाट आएको बजेटमा रजाइँ गर्ने । जनप्रतिनिधिहरुले १ लाखदेखि ५ लाख रुपैयाँ खाएर मापदण्डविपरीतका घरहरुलाई सम्पूर्णको प्रमाणपत्र दिइरहेका छन् । स्वकीय सचिवको नाममा विगतदेखि जनताले तिरेको कर दुरुपयोग भइरहेको छ ।
एउटा स्वकीय सचिवमा मासिक लाखौं रुपैयाँ खर्च हुन्छ । तलब, भत्ता, खाजा खर्चलगायतका सेवासुविधाका निम्ति लाखौं रुपैयाँ छुट्याउनुपर्छ । ३८ हजार जनप्रतिनिधिलाई स्वकीय सचिव राख्न दिँदा बर्षेनि अर्बौं रुपैयाँ खर्च हुन्छ । यो खर्च कहाँबाट जुटाउने ?
देश आर्थिक संकटबाट गुज्रिरहेको छ । लक्ष्यअनुसार राजश्व नउठेको भनी सरकार रोइलो गरिरहेको छ । यस्तोमा सरकारलाई स्वकीय सचिव नियुक्त गर्नका लागि सांसदहरुले नै दबाब बढाइरहेका छन् । र, दबाबमै परी सरकार पनि सांसदहरुको लागि स्वकीय सचिव नियुक्तितर्फ होमिएको छ । सुशीला कार्की नेतृत्वको सरकारले स्वकीय सचिवको व्यवस्था हटाएकोमा अहिलेको सरकारले फेरि स्वकीय सचिव राख्ने नीति ल्याउँदैछ ।
जनताले स्वकीय सचिव होइन, जनप्रतिनिधिलाई जिताएर पठाएका हुन् । तर, जनताले सिधै आफ्नो जनप्रतिनिधि भेट्न पाउँदैनन् । स्वकीय सचिवलाई भन्नुपर्छ, अनि तिनले समय दिए भनेमात्र जनप्रतिनिधि भेट्न पाइन्छ । भेट्नै वा कुरा गर्नै नपाउने हो भने के को जनप्रतिनिधि ?
जनताको कुरा नसुन्ने कसरी जनप्रतिनिधि हुन सक्छन् ? जनता नभेट्ने तर दलाल, ठेकेदार भेट्ने ? जनताको भोट लिन हुने, जनताले तिरेको कर खान हुने अनि जनतालाई भेट्नचाँहि नहुने ? स्वकीय सचिव एउटा मोहोरा हो, भ्रष्टाचार गर्ने । स्वकीय सचिवमार्फत् ठेकेदार, दलाल, कर्मचारीसँग सेटिङ मिलाउने अनि बाँडेर खाने !
कर्मचारी सरुवा–बढुवा, ठेक्कापट्टाको सबै विवरण स्वकीय सचिवले संकलन गर्छन् । स्वकीय सचिवले नै सम्बन्धित पात्रसँग डिल गर्छन् । अनि जनप्रतिनिधि र स्वकीयले आएको पैसा बाँडेर खान्छन् । सरकारी खर्च मितव्ययी बनाउन र बेथितिको अन्त्यका लागि कार्की सरकारले क्याबिनेटबाटै निर्णय गरेर स्वकीय हटायो ।
देश बनाउने नारा लगाएर आएको राष्ट्रिय स्वतन्त्र पार्टी र उक्त पार्टीका सांसदहरुले स्वकीय मागिसके । स्वकीय सचिव चाहियो भन्दै सदनबाट आवाज उठाइरहेका छन् । उपसभामुख रुबीकुमारी ठाकुरले पनि स्वकीय आवश्यक रहेको बताएकी छिन् । बरु, पुराना दलले मागेका छैनन्, नयाँलाई स्वकीय सचिव चाहिएको छ ।
यिनीहरुको दाउ स्वकीयमार्फत् ठेक्कापट्टा मिलाउने, सरुवा–बढुवा गर्ने र भ्रष्टाचार गर्ने हो । जनप्रतिनिधिले जनताको कुरा सुन्नुपर्छ । कुनैले सही सुझाव देला, कसैले नदेला । त्यसलाई फिल्टर गरेर कार्यान्वयनमा लैजाने काम सांसदहरुको हो । तर, सांसदलाई भेट्नै नपाउने ।
के यो जनताको मतको अपमान होइन । स्वकीयलाई कुरा राख्नुपर्ने हो भने किन जनताले दुःख गरेर जनप्रतिनिधि चुनेर पठाउनुपर्यो ? सिधै स्वकीय मात्रै नियुक्ति गरे भइहाल्यो नि । सदनमा जनताको कुरा नउठाउने, देशको कुरा नउठाउने । व्यक्तिगत कुरा मात्रै उठाउने । केही महिनाअघि नेपाली काँग्रेसकी सांसदले कोट नपाएको गुनासो गरिन् ।
रास्वपा र सो पार्टीका सांसदरुले स्वकीय किन मागिरहेका छन् । सदन त जनताको आवाज उठाउने ठाउँ हो न कि आफ्नो । तर, सांसदहरु आफ्नै कुरा सुनाउनमा व्यस्त छन् । कोट नलाएर सांसद भइँदैन ? कि देश र जनताको कुरा उठाउन कोट नै चाहिन्छ ? स्वकीय सचिव नभएर जनताको आवाज रोकिँदैन ।
सांसदहरुलाई जनताको मतको कदर नै भएन । छिमेकी देशले मुलुकको भूभाग कब्जा गरेका छन् । जनता आधारभूत आवश्यकताबाट बञ्चित छन् । सरकारी सम्पत्ति कब्जा भएको छ । बैदेशिक ऋण बढेको बढ्यै छ । तर, यो विषयमा कसैले चुइक्क आवाज उठाउँदैन । आफ्नो मात्र कुरा गर्छन्, सदनमा ख्यालठट्टा गरेर बस्छन् ।
जनताले त्यहाँ दाँत देखाएर हाँस्न पठाएका होइनन् नि । काँग्रेस, एमाले, माओवादी, नेमकिपा, मधेशी दल, जनमोर्चाले केही गरेन भनेर जनताले रास्वपालाई चुने । रास्वपाले पनि केही उखाल्ने देखिँदैन । अहिले नै आफ्नो सुविधाका लागि रोइलो गरिरहेकाले देशको लागि के गर्न सक्छन् ?
कुन कुरा सही, कुन गलत ? भनी छुट्याउन नसक्नेहरु अहिले सांसद भएका छन् । श्रम संस्कृति पार्टीले समानुपातिकमा परेकी ठाकुरलाई उपसभामुख बनायो । उनलाई नेपाली बोल्न र बुझ्न गाह्रो छ । त्योभन्दा पनि मुख्य कुरा उनीसहित धेरै सांसदले संसदीय व्यवस्था नै बुझेका छैनन् ।
उनीहरुले सिक्दै पाँच वर्ष सकिने देखिन्छ । अहिलेको सरकारले पनि केही गर्ने देखिँदैन । भदौ २३ र २४ गते त्यत्रो आन्दोलन भयो, देशमा खरबौंको क्षति पुगेको छ, ७७ जनाको ज्यान गएको छ, तर देशले के पायो ? जनताले नयाँ सरकार आएर के हुन्छ भन्ने ठानेका थिए, भयो अर्कै । जो पनि जनतालाई झुक्याउने अनि देश लुट्ने । सबै पार्टी उस्तै हुन् । एउटा जान्छ, अर्को आउँछ, फेरि देश लुट्छ ।
सांसदका स्वकीय सचिवले कति पाउँछन त तलब सुविधा ?
संघीय संसदमा प्रतिनिधिसभा सदस्य २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी ३ सय ३४ जना सांसद रहेका छन् ।
प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ गरी संघीय संसदका सदस्यको संख्या ३३४ रहेको छ ।
स्वकीय सचिवको तहः राजपत्र अंकीत तृतीय श्रेणी
तृतीय श्रेणीको अधिकृतको तलब ४३ हजार ६८९ रुपैयाँ
३ सय ३४ जना सांसदका स्वकीय सचिवका लागि राज्यले महिनामा खर्चिने कुल रकमः १ करोड ४५ लाख ९२ हजार १२६ रुपैयाँ ।
स्वकीय सचिवको नाममा वर्षमा राज्यले खर्च गर्ने कुल रकमः १७ करोड ५१ लख ५ हजार ५१२ रुपैयाँ
पाँच वर्षका लागि निर्वाचित सांसदले आफ्नो कार्यकाल अवधिभरका लागि स्वकीय सचिव राख्न पाउँछन् । यसरी हेर्दा पाँच वर्षमा सांसदको स्वकीय सचिवकै लागि मात्रै राज्यबाट ८७ करोड ५५ लाख २७ हजार ५ सय ६० रुपैयाँ खर्चिनु पर्नेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend