Nepal Face
  • मंगलबार, २७ असोज २०८३
  • सुनारको अडियो प्रकरणको रास्वपाले छानबिन गर्ने, सांसद खगेन्द्रलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध


    मंगलबार, असोज २७ २०८३
    170
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन गर्ने भएको छ । सुनारलाई छानबिन निष्कर्षमा नपुगेसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा भाग लिन वा बोल्न रास्वपाले रोक लगाएको छ ।

    महिलामाथि हुने कुनै पनि प्रकारका दुव्र्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको उल्लेख गर्दै रास्वपाले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

    रास्वपाको बिज्ञप्तिमा उल्लेख छ-‘सांसद सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उहाँका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

    पार्टीका महामन्त्री बिपीन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–सांसद सुनारका बिषयमा सञ्चारमाध्यममार्फत् आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन् ।
    विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन । महिलामाथि हुने कुनै पनि प्रकारका दुव्र्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौं ।

    यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ । अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।

    सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने हाम्रो विश्वास छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

    ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ । राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ । कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार