Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मधेश प्रदेशका घुमुवाले डीआईजीका नाममा घुस लिने गरेको ब्यापारीको आरोप (अडियोसहित)


    सोमबार, बैशाख ७ २०८३
    980
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयबाट घुमुवाका रुपमा ८ वटै जिल्लामा परिचालन गरिएका बरिष्ठ सई गोपाल थापामगर र सिरहामा दरबन्दी भए पनि धनुषामा समेत खटाइएका अर्का सई जयलाल यादवको असुली आतंकको बारेमा ब्यापारीले नै रहस्य खोलेको अडियो बाहिरिएको छ ।

    धनुषाका ब्यापारी राजेश महासेठले प्रहरीकै एक जुनियर अधिकृतसँग मधेश प्रदेशका घुमुवालाई मासिक ३० हजारदेखि डेढ लाख रुपैयाँसम्म दिने गरेको बताएको अडियोमा सुन्न सकिन्छ । ब्यापारी महासेठले डीआईजीको नाममा घुमुवा यादव र थापामगरले रकम लैजाने गरेको अडियोमा सुनिन्छ । गृहमन्त्री सुधन गुरुङकैमा उक्त अडियो पुगिसकेको छ । गृहमन्त्रालय स्रोतबाट नेपालफेसलाई प्राप्त अडियोमा महासेठले आफूले सई जयलाललाई ३० हजार र उमेश नामका ब्यापारीले मासिक डेढ लाख दिने गरेको बताएका छन् ।

    डीआईजीका घुमुवा सई यादव र बरिष्ठ सई थापामगरले नाका–नाकामा ब्यापारीबाट असुली गर्ने र नदिने ब्यापारीको सामान बरामद गर्ने अभियान नै चलाउँदैआएका थिए । जयलाल यादवले सिरहा र धनुषामा डीआईजीको नाममा असुली गर्ने गरेको बिषयमा नेपालफेसले यसअघि नै सार्वजनिक गरिसकेको छ । डीआईजी गोविन्द थपलियाको आडमा थापामगर र यादवले तस्करीको लाइन चलाएर ब्यापारीबाट मासिक असुली गर्ने र बदनाम जिल्लाका प्रहरीका एसपीहरुको हुने गरेको गुनासो एसपीहरुले गरे पनि सुनुवाइ हुने गरेको छैन ।

    डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दी भएका सई जयलाल यादवलाई धनुषामा घुमुवाका रुपमा खटाएको आरोप छ । धनुषाका एसपी रुगमबहादुर कुँवरका नाममा समेत उनले असुली गर्दैआएका छन् । यद्यपि एसपी कुँवरले भने धनुषाका नाका नाकामा आफैं राति राति गस्तीमा निस्किएर विगत २ महिनायता तस्करीको लाइन पूरै बन्द गरेको स्रोत बताउँछ ।

    प्रदेशका डीआईजीका नाममा घुुमुवा यादवले ब्यापारी उमेश साहबाट यादवले केही दिनअघि नजराना लिए । तर ०८२ चैत १ गते प्रदेशका घुमुवा थापामगरले जटही नाकामा तिनै साहको सामान बरामद गरिदिएपछि हंगामा मच्चियो । थापामगर र जयलालले गर्दा प्रहरीको बदनाम हुँदा अनाहकमा फुलगामा चौकीका सई तानिए । जिल्लाका एसपी र प्रदेशका डीआईजीको जानकारीबिना थापामगरले उक्त सामान बरामद मात्र गरेका थिएनन्, बरामद सामानको फोटो फेसबुकमा राखेका थिए ।

    धनुषाका एसपीले सिरहामा कार्यरत सईलाई धनुषामा बोलाउन सक्दैनन्, डीआईजीले नै जयलाललाई धनुषामा काम गर्न दिनू भनेर आदेश दिएर उनी परिचालित हुँदै तस्करीको सेटिङ गरेका थिए । जयलाल यादव लामो समयदेखि मधेश प्रदेशका जिल्लामा घुमुवाका रुपमा कार्यरत रहेका विवादित जुनियर अधिकृत हुन । उनी उठाउन र बुझाउने कलामा निपूर्ण मानिन्छन् ।

    डीआईजीका घुमुवा थापामगरले समन्वय नै नगरी जथाभावी सुटुक्क जाने, तस्करीसँग डिल गर्ने, डिल नमिले समात्ने गर्दा जिल्लाका इन्चार्ज र प्रदेशबीचको सम्बन्धमै दरार आएको छ । धनुषाको प्रतिनिधि घटनामात्र हो, डीआईजी कार्यालयका घुमुवा थापामगर र जयलालका कारण प्रदेशका ८ वटै जिल्लाका एसपीहरु असन्तुष्ट रहेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार