Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कठपुतली सरकारका रमिता हेरौं, कठिन घडीमा आरोप-प्रत्यारोप नगरौंः सूर्य थापा


    बिहिबार, चैत्र २६ २०८२
    445
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसांसद सूर्य थापाले पार्टी कठिन घडीमा रहेको अध्यक्ष केपी शर्मा ओलीलाई गलत आरोपमा पक्राउ गरी कैदमा राखिएको समयमा एकापसमा आरोप प्रत्यारोप नगर्न आग्रह गरेका छन् ।

    थापाले पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले पोखरामा ब्यक्त गरेको अभिब्यक्तिको बचाउ गर्दै यस्तोबेलामा नेताहरूबीच चलिरहेका सार्वजनिक विवाद र घोचपेच उचित नभएको उल्लेख गरेका छन् । प्रश्न को नेता सही र को गलत भन्ने खालको आरोप–प्रत्यारोप पार्टीपंक्तिले चाहेको, रूचाएको र नखोजेकोले यस्तो तरिका, अभ्यास र शैली रोकेर सामूहिक समीक्षा, तथ्य आधारित निष्कर्ष र ठोस समाधान दिने ल्याकत नेतृत्वले देखाउन सक्नुपर्ने भन्ने आम अपेक्षा रहेको थापाले उल्लेख गरेका छन् ।

    सामाजिक संजालमा उनी लेख्छन्–‘ नेकपा (एमाले) अत्यन्त कठीन घडीमा छ । आज पार्टी अध्यक्षलाई गलत आरोपमा पक्राउ गरी कैदमा राखिएको छ । काबा अध्यक्ष तोकिएको छ, तर सचिवालय बाहेकका कुनै केन्द्रीय तहका बैठक बसेका छैनन् । यस्तोबेलामा नेताहरूबीच चलिरहेका सार्वजनिक विवाद र घोचपेच उचित छैनन् । प्रश्न को नेता सही र को गलत भन्ने खालको आरोप–प्रत्यारोप पार्टीपंक्तिले चाहेको, रूचाएको र खोजेको छैन। यो तरिका, अभ्यास र शैली रोकेर सामूहिक समीक्षा, तथ्य आधारित निष्कर्ष र ठोस समाधान दिने ल्याकत नेतृत्वले देखाउन सक्नुपर्दछ भन्ने आम अपेक्षा रहेको छ ।
    तथ्य हेरौं त

    १. जननेता मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली –जो पार्टी प्रमुख हुँदा पनि पार्टीभित्ररबाहिर अनि देशभित्रर देशबाहिरबाट आक्रमण, निन्दा, असहयोग र आलोचनाको घेरा हालिएको हो भन्ने त जगजाहेर तथ्य हो । व्यक्तिका स्वभाव, शैली र नेतृत्व क्षमताअनुसार बढी वा घटीमात्रै भएको हो । आज काबा अध्यक्ष रामबहादुर थापा मगर हुनहुन्छ, अनि निशाना त त्यतै सोझाइएको छ । भोलि केपी, विद्या, ईश्वर, विष्णु, गोकर्ण, शंकर, प्रदीप, योगेश, महेश, खिमलाल, रामकुमारी र सुहाङ जो भए पनि विरोधीहरूबाट खेप्नुपर्ने यस्तै घेराबन्दी, हमला र निशाना नै हो । कसैले पार्टीको नीति, नेतृत्व र भविष्यको प्रतिरक्षा गरेर हिंड्दैन, अनि वैरी–विरोधीसँग समेत ‘नाइस टु अल’ हुन खोज्छ भने रामराम मात्रै भन्न सकिन्छ, काँध थाप्न त सकिँदैन ।

    २. काबा अध्यक्ष लामो माओवादी पृष्ठभूमिबाट आउनु भएको हो, उहाँले प्रयोग गर्ने भाषा, शैली र पदावलीभन्दा आजको दृष्टि, अडान र व्यवस्थापनमा केन्द्रित भएर उहाँलाई पार्टी सम्हाल्न सहयोग गर्ने हो । एउटा विषम परिस्थितिमा उहाँ काबा अध्यक्ष तोकिनुभएको छ र संसदीय दलको नेता सर्वसम्मत हुनुभएको छ । काबा अस्थायी व्यवस्थापनमात्रै हो, दलको नेता यस अवधिका लागि सायद आवधिक होला । यो भिन्नतालाई बुझेर अघि बढ्नु उचित हुनेछ । यस स्थितिमा सके सहयोग गर्ने, नसके सार्वजनिक खपतका लागि आलोचना, निन्दा र भत्र्सनामा नउत्रिनु नै परिपक्व नेतृत्वाट अपेक्षित शैली मानिएला । हो, आज उहाँ काबा हुनुभएको छ, उहाँले निवेदन हाल्नुभएर त यी कुनै जिम्मा पाउनुभएको होइन, संस्थागत र अल्पकालीन प्रबन्ध मिलाउँदा कथाले यही गर्न माग ग¥यो र उहाँ चयन हुनुभयो वा तोकिनुभयो । यस वास्तविकतालाई स्वीकार गरेर अघि बढ्नु नै बुद्धिमत्तायुक्त कदम हुन्छ ।

    ३. हाम्रो नेतृत्व तह र तलका हरेक व्यक्तिका क्षमता र सीमा प्रकट भएका छन् । काबा अध्यक्षले जबजको भाषा र पदावली प्रयोग नगरेको भनेर धेरै भुट्भुटिनु नै उचित नहोला, मान्छेका पृष्ठभूमि, शैली र अभ्यास व्यवहारमा अभिव्यक्त हुने गर्दछन् । उहाँबाट मदन भण्डारी वा केपी शर्मा ओलीको जस्तै स्कुलिङ र अभिव्यक्ति खोजेर त पाउन संभव छैन । यस्तो अपेक्षा गरेर पूरा हुनेवाला पनि छैन । आधारभुत कुरामा भने ध्यान दिनुपर्दछ ।

    ४. पार्टी अध्यक्ष दुश्मनको गैरकानुनी र प्रतिशोधपूर्ण कब्जामा हुनुहुन्छ, काबा अध्यक्षले यही त भन्नुभएको छ । यसका बिरुद्ध गीता बाचन गरेर होस् कि जबजबाट निर्देशित भएर होस् वा जुनसुकै तबरले संघर्ष गर्ने होइन र ? मुख्य नेतृत्वमाथि अमानवीय हमला र धरपकड हुँदा हामीले देखाउने क्षमता कहाँ र के होला त ? कि खुच्चिङ गरेर बस्ने हो ? कार्यकर्ता र जनताले हामी सबैलाई नजिकबाट हेरिरहेका छन् । हाम्रा कुनै काम, कदम र व्यवहारले ‘दुश्मन’लाई आनन्दित बनाउने र पार्टीमा भाँडभैलो मच्चाउने काम गर्नुहुँदैन ।

    ५. महाधिवेशनले पार्टी नेतृत्वको र निर्वाचनले जनमतको छिनोफानो गरेका छन् । निश्चय नै निर्वाचनमा पराजय सामान्य छैन । यसको वस्तुनिष्ठ र सम्यक समीक्षा गरेर अघि बढ्नु आवश्यक छ । हामी एमालेहरू आफैंले सूर्य चिन्हमा उम्मेदवारहरूले जित्नेगरी भोट हाल्न/हलाउन र जित्न/जिताउन त साँच्चै लाग्यौं ? कम्तिमा सबैले देशभरि ऐनामा आफ्नो सुन्दर मुहार हेर्ने अभियान संचालन गरौं । कतै टिकट वितरणमा चित्त बुझेको थिएन होला, अनि भोट अरूलाई हाल्न मिल्थ्यो त ? यसरी टाउको दुखेको दबाई गोडामुनि लगाएर पार्टी उँभो लाग्दैन । एमालेलाई ‘सिंगल डिजिट’ सिटमा सीमित गरिदिने भन्दै ककसले अभियान नै संचालन गरेका थियौं, कम्तिमा मम भनौं र स्वघोषणा गरेर आफनो इमान्दारी देखाऔं !

    ६. अध्यक्ष केपी शर्मा ओली कैद र उपचारमा हुनुहुन्छ । अहिले हरेकले म त ठीक छु, उहाँलाई भनेकै थिएँ, सुन्नुभएन, मान्नुभएन र यस्तो भयो भनेर पानीमाथिको ओभानो बन्न प्रतिस्पर्धा गर्नसक्छौं, त्यसै गरौं ! उहाँका कारणले उच्च नेतृत्व, विशेष जिम्मेवारी र राजकीय नियुक्तिसमेत प्राप्त गरेकाहरू सबभन्दा बढी असन्तुष्ट बनेर निन्दा गर्न, मौन बस्न र रमिते बन्न लागौं ! अझ हात ओभानो नै हुन नपाएकाहरू (सबैचाहिं होइन) ले बढीभन्दा बढी यस्तो गरेर उहाँलाई मात्र दोषी देखाउँदै आफ्नो महानता प्रदर्शन गर्न प्रतिस्पर्धा नै गरौं ! खासमा यो पार्टी जोगाउन कुनै लाभ, सुविधा र हित हासिल नगरेको पंक्तिचाहिं कठोर संकल्प गरेर अघि बढ्छ । किनभने, यो कसैको पार्टी होइन, नेपाललाई माया गर्ने नेपालीको पार्टी हो ।

    ७. मौन बसेर, अराजकता मच्चाएर, अरूको देखासिकी वा नक्कल गरेर र जुनसुकै तरिकाले पार्टीलाई संस्थागत र सामुहिक निष्कर्षबाट होइन, व्यक्तिगत हानथाप गरेर संचालन गर्न खोज्दा सर्वनाश हुनु अनिवार्य छ । बैरीहरूले चाहेको यही हो, कम्तिमा यतिचाहिं हेक्का राखौं ।

    ८. भरखरैको निर्वाचन हारेकाले अरूलाई दोष नलगाऔं, आफैंले सकिनँ भनेर स्वीकार गरौं । बिषको प्याला आफैले सिनित्त पिउने हिम्मत गरौं । आखिर हार र जित फरक नै हो रहेछ भनेर बुझौं । दोष र जिम्माको भारी आफैलें बोकेर अरूलाई आफ्ना र आफन्तका अमूल्य भोटसमेत सहयोग गर्नेहरू सबैसबैका महानताको उच्च प्रशंसा गरौं । तैपनि परिणाम भने स्वीकार गरेर अघि बढौं ! एक फागुनले सर्वस्व सकिएको छैन । यो जनमत पनि आवधिक मात्रै न हो ।

    ९. कमसेकम कठपुतली सरकारका रमिता त हेरौं । विदेशमा रहेका सबै नेपालीलाई स्वदेशमा फर्काएर रोजगारीको व्यवस्था गर्न तिनलाई स्मरण गराऔं । हामीले नसकेका र उनीहरूले गर्छौं भनेका काम गर्न दिऔं उनीहरूले गर्न सकेभने केही बिग्रँदैन, धन्यवाद भन्न कञ्जुस्याई नगरौं । तर हेक्का राखौं–शत्रुको प्रशंसा र मित्रको निन्दाले हामी सबैप्रतिको धेरै तथ्य स्पष्ट गरिरहेको हुन्छ ।

    १. चुच्चे नक्सा(कालापानी, लिपुलेक र लिम्पियाधुराको स्वामित्व)सहितको निशानछाप र राष्ट्रिय हितको पैरवी गर्न नछाडौं र नचुकौं । किनभने, हाम्रो राष्ट्रिय अडान मौसमी होइन, जो सत्तामा पुग्दा मस्त निदाउँछ र सडकमा पुग्दा बढी जागृत हुन्छ । सांघाई होस वा दिल्ली, वासिङ्गटन र लण्डन जहाँसुकै पुग्दा, रहँदा वा बस्दा होस्, मातृभूमिप्रतिको अटुट स्नेह, कर्तव्य र जिम्मेवारीबोध गरौं/नभुलौं/नबिर्सौं । हरेक पद र ओहदा, अनि जीवन नै पनि अस्थायी हो, यी कुनैभन्दा इमान, इज्जत र निष्ठा धेरै महत्वपूर्ण हुन्छन् । हामी पेटका लागि होइन, देश र न्यायप्रेमी जनताका लागि बाँचौं । तथ्यमा टेकौं, भ्रमबाट मुक्त भएर कर्तव्य पूरा गरौं ।

    सबैको जय होस्, भलैभलो होस् र देशको सर्वोपरी हित होस् !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार