Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले महासचिव शंकर पोखरेलले पनि छोडे ओलीको साथ, सचिवालयमा अध्यक्ष ओली अल्पमतमा


    शनिबार, जेष्ठ ९ २०८३
    410
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको गुण्डुमा जारी नेकपा (एमाले)को सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पनि पार्टी नेतृत्वको पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले अनपेक्षित पराजय ब्यहोरेपछि एमालेमा नेतृत्व पुनर्गठनको बहस चर्किंदैआएको छ ।

    एमालेको जारी सचिवालय बैठकमा शुक्रबार चार उपाध्यक्षले नेतृत्व पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए । आजको बैठकमा महासचिव पोखरेलले पनि नेतृत्व पुनर्गठनको पक्षमा आफ्ना भनाइ राखेपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् ।

    शनिबार बसेको सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको परिणाम र वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै अब पार्टी यथास्थितिमा चल्न नसक्ने बताएका छन् ।

    बैठकमा सहभागी एक नेताका अनुसार महासचिव पोखरेलले अध्यक्ष ओलीलाई सोझै ‘राजीनामा दिनुस्’ भन्ने शब्द प्रयोग नगरे पनि घुमाउरो पाराले नेतृत्व हस्तान्तरण र मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । महासचिवले भनेका थिए– ‘पार्टी पुनर्गठनको आवाज निकै ठूलो भइसकेको छ । अब यो स्थितिमा पार्टी अघि जान सक्दैन, परिस्थिति सहज छैन । त्यसैले गम्भीर समीक्षा र सुधारसहित अघि बढ्नुपर्छ ।’

    लामो समयदेखि ओलीको ‘दायाँ हात’ का रूपमा चिनिएका र हरेक संकटमा उनको प्रतिरक्षा गर्दै आएका शंकर पोखरेलकै यो अभिव्यक्तिलाई एमालेभित्र ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ । एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।

    यसअघि शुक्रबार बसेको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने प्रष्ट अडान राखिसकेका थिए। शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव पोखरेलका साथै उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले पनि खुलेरै नेतृत्व परिवर्तनको कुरा उठाएका छन् ।

    उपमहासचिव लेखराज भट्टका अनुसार शनिबारको बैठकमा तीन उपमहासचिव र पाँच जना सचिवले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा अझै ४ जना सचिवहरूले बोल्न बाँकी छ । भोलि आइतबार बिहान साढे ११ बजे पुनः सचिवालय बैठक बस्ने तय भएको छ । भोलिको बैठकले एमालेको भावी दिशा तय गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार