Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जेनजी प्रदर्शन: बीबीसीको डकुमेन्ट्री, भीड नियन्त्रण र बल प्रयोग


    सोमबार, फाल्गुन १८ २०८२
    3.2K
    Shares
    नेपाल फेस
  • १६ मिनेट पाठ
  • रेशम पराजुली

    गएको भदौ २३ र २४ गते जेनजी समूहले शान्तिपूर्ण रुपमा गर्ने भनिएको विरोध र पछि भड्किएको दङ्गा नियन्त्रण गर्ने क्रममा कलिला स्कुले बालबालिकासहित १९ जनाको ज्यान जानेगरी गरिएको प्रहरी कारबाही, त्यसले निम्त्याएको विध्वंशकारी घटनाले संसारको ध्यान खिच्यो ।

    सरकार तथा सरकारका सुरक्षा निकाय लगायतका संयन्त्र निस्प्रभावी बन्यो । र, २४ गते आफ्ना संरचनामाथि धावा बोल्दा समेत जवाफी कारबाही गर्न अझ भन्दा आफ्नो आत्मरक्षाका लागि बल प्रयोग गर्न पाउने नौतिकतासमेत सरकारले गुमायो । जसको परिणाम क्षणभरमै खरबौं तथा मूल्यमा ढाल्न नमिल्ने राष्ट्रिय धरोहर तथा अमूल्य निधिहरु खरानीको रासमा परिणत भए । यसले भौतिक क्षतिमात्र होइन, सुरक्षाकर्मीको बस्ने बासमात्र होइन मनोबल समेत बर्षौं नउठ्नेगरी थलियो ।

    आगजनी भएको संसद भवन

    नेपालका जेनजी पुस्ताको प्रशंसा संसारभर चुलियो । २७ घण्टामा युगान्तकारी परिवर्तन भएको उदघोष गरियो । नयाँ सरकार गठन भयो । नयाँ सरकारले जेनजीको प्रदर्शनमा भएको जनधनको क्षतिसमेतको घटना छानबिनका लागि बिशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय आयोगको गठन गर्यो । आयोगले काम सम्पन्न गरेतापनि आयोगको म्याद थप्दै छानबिन प्रतिबेदन पेश गर्ने साइत जुराउँदैछ ।

    के हो त भीडमा बल प्रयोग गर्ने कानूनी व्यवस्था ? कसले दिन्छ भीडलाई बल प्रयोग गर्ने आदेश ??

    निम्न कानूनी व्यवस्था तथा प्रावधान अनुसार भीड नियन्त्रण तथा व्यवस्थापनमा पहिलो दायित्व र जिम्मेबारी नेपाल प्रहरीको हो ।
    नेपालका मौजुदा कानुनले भीड नियन्त्रण सम्बन्धी गरेका कानूनी व्यवस्थाहरु तथा भीड लगायत अन्य अवस्थामा पनि बल प्रयोग गर्नसक्ने अवस्थाहरु :

    १. प्रहरी ऐन,२०१२

    प्रहरी ऐन, २०१२ को दफा १७ को उपदफा ९३० बमोजिम कुनै चल,अचल सार्वजनिक सम्पत्तिमा आफ्ना सामुन्ने नोक्सानी हुन लागेको देखेमा प्रहरी कर्मचारीले आफैं अगाडि सरी सो नोक्सानी रोक्नसक्ने व्यवस्था ।

    प्रहरी ऐन, २०१२ को दफा १९ को उपदफा (१) सार्वजनिक सभा र जुलुसको व्यवस्था अन्तर्गत सार्वजिनक बाटो, सडक वा आवतजावत गर्ने स्थानमा सभा गर्ने वा जुलुस निकाल्ने सम्बन्धमा जनसाधारणलाई असुविधा पर्ने वा शान्ति भङ्ग हुने स्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी वा निजबाट त्यस कामका निम्ति अख्तियार पाएका प्रहरी अधिकृतले सभा र जुलुसका निम्ति ठाँउ बाटो र समय तोक्न सक्नेछ ।

    २. उपदफा (१) विपरीत कुनै कार्य भए गरेमा प्रमुख जिल्ला अधिकारी वा निजबाट त्यस कामका निम्ति अख्तियार पाएका प्रहरी अधिकृतले त्यस्तो सभा वा जुलुस रोक्न वा भङ्ग गर्न सक्नेछ ।

    २. आवश्यक वस्तु संरक्षण ऐन, २०१२ 

    यस ऐनको दफा ६ अनुसार कसुरदार उपर मनासिव माफिकको शक्ति प्रयोग गर्ने अधिकारः कसूरदारलाई वारदात भएको ठाउँमा पकाउ गर्न खोज्दा जवर्जस्ती हुलहुज्जत गरी वा त्यसै भाग्न उम्कन खोज्यो भने त्यस्तालाई भाग्न उम्कन दिनुहुँदैन । सो गर्दा हातहतियार नचलाई नहुने भएमा प्रहरी फोर्सको हेड कन्स्टेबल र सो भन्दा माथिका कुनै अधिकृतले वा नेपाली सेनाका पति र सो भन्दा माथिका कुनै अधिकृतले अन्य फोर्सका सो सरहका कुनै पति वा अधिकृतले आफै वा आफ्ना मातहतका अरुलाई अर्डर दिई भरसक घुँडामुनि हातहतियार चलाई वा गोली हानी पक्राउ गर्नुपर्छ ।

    लेखिए बमोजिम पक्राउ गर्न खोज्दा मानिस मर्न गएमा समेत सम्बन्धित सरकारी कर्मचारीलाई बात लाग्नेछैन । स्पष्टीकरणः यस दफाको प्रयोजनको निमित्त अन्य फोर्स भन्नाले मिलिसिया पाईनियर, रिजर्भ र ग्यारिजनलाई समेत जनाउँछ ।

    ३. स्थानीय प्रशासन ऐन,२०२८ 

    ऐनको दफा ५ को देहाय खण्ड (क) जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने,

    (ग) जिल्लाभित्र रहेका नेपाल सरकारका सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने, गराउने ।

    दफा ६ अनुसार जिल्लामा शान्ति सुरक्षा कायम राख्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाइ लगाएको र सो सिलसिलामा प्रहरीलाई गैरकानूनी जुलुस, भेला रोक्न लगाउने, नसकेमा प्रमुख जिल्ला अधिकारी स्वयम् वा निजको मातहतको अधिकारी पठाएर रोक्न लगाउने स्पष्ट कानूनी व्यवस्था छ ।

    हो, त्यहीबेलामा भीड नहटी गैरकानूनी क्रियाकलाप गरेमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम सिलसिलेवार बल प्रयोगको सिद्धान्त वा चरण अपनाउने, सम्झाइ बुझाइ गर्ने, लाठीचार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, पानीको फोहोरा प्रयोग गर्ने, हवाइफायर गर्ने, त्यसपछि पनि नहटेमा तपाइँहरु हट्नुहुँदैन भने गोली प्रहार हुन्छ भनेर स्पष्ट जानकारी गराउने, त्यति गर्दा पनि नहटेमा घुँडामुनी पारेर गोली चलाउन आदेश दिने ।

    यसको लागि प्रहरीबाट मात्र सम्भव नहुने भएमा नजिकको सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको सहयोग लिने र सो को जानकारी गृहमन्त्रालयमा २४ घण्टाभित्र दिने भन्ने स्पष्ट व्यवस्था छ ।

    त्यसैगरी भीड नहटेमा दफा ६ (क) अनुसार कफ्र्यू आदेश जारी गर्ने, तोडफोड आगजनी रोक्न दङ्गा क्षेत्र घोषणा गर्ने, कफ्र्यू आदेश जारी गर्दा भीड नहटेमा देख्दासाथ गोली हन्न आदेश दिने, जसरी हुन्छ शान्ति सुरक्षा कायम गर्ने दायित्व र जिम्मेबारी प्रमुख जिल्ला अधिकारीको हुन्छ ।

    ४. मुलुकी अपराध संहिता,२०७४ 

    मुलुकी अपराध संहिता, २०७४ को दफा २४ अनुसार आत्मरक्षाका लागि बल प्रयोग गर्ने कानूनी व्यवस्था :

    निजी रक्षाका लागि गरेको काम कसूर नमानिने : (१) यस परिच्छेदको अधीनमा रही निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको कुनै काम कसूर मानिने छैन ।

    (२) प्रत्येक व्यक्तिलाई आफ्नो वा अरु कसैको जिउ, ज्यान वा सम्पत्तिलाई कुनै गैरकानूनी क्षतिबाट बचाउने अधिकार हुनेछ ।

    (३) यस दफा बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिलाई कुनै गैरकानूनी क्षतिबाट बचाउन सकिँदैन भन्ने मनासिब विश्वास भएमा वा विश्वास गर्नुपर्ने मनासिब कारण भएमा मात्र प्रयोग गर्नुपर्नेछ ।

    मुलुकी अपराध संहिता, २०६४ को दफा २५ अनुसार निजी रक्षाको अधिकारमा बन्देज :

    (१) दफा २४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वा कामका बिरुद्ध निजी रक्षाको अधिकार प्राप्त हुन सक्ने छैन ।

    (क) कसैको जिउ वा सम्पत्तिमा गैरकानूनी क्षति पुर्याउने काम हुँदाका बखत त्यस्तो क्षतिबाट बचाउन तत्काल सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था भएकोमा,

    (ख) जसको जिउ वा सम्पत्तिमा क्षति पुगेको हो त्यस्तो व्यक्तिले नै क्षति पुर्याउने व्यक्तिलाई उत्तेजित गरेको कारणबाट त्यसरी क्षति पुगेकोमा,

    (ग) अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्रसेवकले असल नियतले कुनै काम गरेकोमा,

    (घ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले कुनै काम गरेकोमा,

    (ङ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले दिएको निर्देशन अनुसार कसैले कुनै काम गरेकोमा ।

    अव कुरा आउँछ के भीडमा बल प्रयोग सही ढंगले भयो ?

    के सो दिन जेनजी समूहले माइतघरमा शान्तिपूर्वक भेला जम्मा गर्ने भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निबेदन दिई आफ्नो जुलुसलाई समेत सुरक्षा पुर्याउन अनुरोध गरेकोमा के जुलुस शान्तिपूर्ण भयो त ?

    सो समयमा जुलुसको नेतृत्व गरिरहेको जेनजीकी नेतृ रक्षा बमले भीडलाई चर्को स्वरमा गाडीमाथि चढेर आज हामी गैरकानूनी काम गर्दैनौं ! तोडफोड गर्दैनौं ! आगजनी गर्दैनौ ! निषेधित इलाका तोड्दैनौं भनेर माइकिङ गरेअनुसार नै भयो त ?

    अगाडि स्कुले सानासाना बालबालिकालाई विद्यालय पोशाकमा निषेधित इलाका तोड्न लगाएर आफूहरु पछिबाट संवेदनशील क्षेत्रको कम्पाउण्डवाल भत्काएर, हाइपोइन्ट ड्यूटीमा हतियारसहितको सशस्त्र प्रहरीको हाइपोइन्ट कब्जा गर्नु कानूनसम्मत थियो त ?

    के अन्तर्राष्ट्रिय मानवीय कानून अनुसार स्कुले बालबालिकालाई मानवढाल (Human Shield) बनाउनु आन्दोलनकारीको कानूनसम्मत कार्य थियो त ?

    सुरक्षामा खटिएको प्रहरीले निषेधित क्षेत्र नतोड्न पटक–पटक अनुरोध गर्दा कसैले सुन्यो त ? मान्यो त ?

    जव TOB ज्याकेट लगाएको जत्थाले बुलेट मोटरसाइकलमा आएर निषेधित क्षेत्र तोड्न थालेपछि र आफ्नो कार्यक्रम अपहरण भएको थाहा पाएपछि प्रदर्शनकारहरुले हाम्रो कार्यक्रम यो होइन भनेर तुरुन्त प्रदर्शनको कार्यक्रम फिर्ता भएको घोषणा गरे त ?

    हिजो फूटपाथको पसल सामान हटाउन होस् वा फोहोर व्यवस्थापनको क्रममा विवाद हुँदा होस् नेपाल प्रहरीको साथ नपाई डेक चल्न नसक्ने काठमाडौं महानगरपालिकाका प्रहरीहरु सो आन्दोलनमा प्रहरीलाई सहयोग गर्नु त कहाँ हो कहाँ उल्टै महानगरपालिकाका प्रहरीले यूनिफर्ममा गाडी चढेर आई बानेश्वरको एभरेष्ट होटल अगाडिको निषेधित इलाका तोड्ने र प्रहरीमाथि धावा बोल्ने प्रदर्शनकारीलाई खुलेआम मिनरल वाटरका बोतल बाँडेर पुरस्कृत गर्नु न्यायसंगत थियो त ?

    सो दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कम्पाउण्ड वाल तोडेर भित्र पस्न खोजेको भित्र गएर पूजा गर्न न पक्कै होइन ? कि सामाजिक सञ्जाल रोक्ने निर्णय भएको ठाँउ त्यही थियो वा सामाजिक सञ्जाल बन्द गरेर त्यसको साँचो त्यहाँभित्र झुण्डाइएको वा राखिएको त थिएन होला ?

    निषेधित क्षेत्र तोडेर भित्र जानुको उद्देश्य सो दिन सम्मेलन केन्द्र मर्मत गर्नु र रङरोगन गर्नु पक्कै थिएन । सो प्रदर्शन भन्दा ठिक एक हप्ता अगाडि इन्डोनेशियाको मखासरस्थित प्रान्तीय प्रतिनिधिसभा हलमा जेनजीले गरेको आक्रमण र आगजनी गरेको खबरबाट सुरक्षाकर्मी अनभिज्ञ थिएनन् भने प्रदर्शनकारीहरु पनि उक्त घटनाबाट प्रभावित थिएनन् भन्ने आधार के थियो ?

    अब जाउँ बीबीसीको डकुमेन्ट्री र पिटर वानले सो प्रदर्शनमा गोली चलाउन दिएको आदेशको चिरफारतर्फ :

    सर्वप्रथम सो दिनको भीड शान्त थियो कि उत्तेजित ?

    भीडले निषेधित क्षेत्र तोडेको थियो कि थिएन ?

    भीडले मिनरल वाटरको बोतलमा पेट्रोल बम बनाएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ड्यूटीमा रहेका प्रहरीमाथि फालेको हो कि होइन ?

    एम्बुलेन्सभित्र सशस्त्र प्रहरी बलका महिला प्रहरी हुँदाहुँदै बाहिरबाट आगो लगाउने प्रयास गरेको हो होइन ?

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सुरक्षार्थ खडा भएको हाईपोष्ट ड्यूटी कब्जा लिएको हो कि होइन ?

    मेन गेटको फलामे व्यारिकेट उचालेर प्रहरी माथि फालेको हो कि होइन ?

    मेनगेट भत्काउने, आगजनी, तोडफोड के बाँकी थियो त गर्न ?

    भीडमा बल प्रयोग गर्नका लागि पर्याप्त आधार थियो । बिनाबल प्रयोग भीड हट्नेवाला थिएन । तर प्रश्न आउँछ के भीड बल प्रयोगको सिद्धान्तअनुरुप भएको थियो त ? सुरुमा नियमसंगत थियो तर भित्रबाट गोली आउन थाल्यो । तर त्यो गोली घुँडामुनि हुनुपर्नेमा छात्ती र टाउकोमा पर्योे र प्रहरीमात्र होइन दुईतिहाइको सरकार प्रमुख हेलीकोप्टरबाट भागेर ज्यान जोगाउनुपर्यो ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र राज्यको महत्वपूर्ण प्रतिष्ठान (Vital Installation) को रुपमा रहेको । जनताका प्रतिनिधि बसेर राज्यका लागि कानून निर्माण गर्नेमात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषय भएको स्थान हो यसको सुरक्षाका लागि बाह्य पेरिमिटर सशस्त्र प्रहरी बलले र आन्तरिक सुरक्षा नेपाल प्रहरीको स्पेशल टास्कफोर्सले गर्दै आएको थियो । जव भीड विध्वंश मच्चाउँदै पेरिमिटर बाहिरको सुरक्षा टोली र सशस्त्र प्रहरीको पेरिमिटरभित्रको सुरक्षा घेरा तोडेर अन्तराष्ट्रिय सम्मेलन केन्द्रभित्र पसेर तोडफोड गर्न लागे तबमात्र गोली अन्धाधुन्ध चल्न थालेको हो । हो, त्यतिबेला नै हो अग्रपङ्क्तिमा रहेका मानव ढालको रुपमा राखिएका स्कुले ड्रेसमा रहेका बालबालिकाहरुलाइ गोली लागेको ।

    गोली प्रहार गर्दा घुँडामुनी नै हो माथि प्रहार गर्न मिल्दैन । तर तत्कालीन अवस्थामा घुँडामुनी गोली प्रहार गर्नका लागि गोली चलाउने सुरक्षाकर्मी भुइँमा सुतेर सास रोकेर टार्गेट फिक्स गरेर मात्र फायर गरेमा गोली ताकेको स्थान अर्थात् घुँडामुनी पर्दछ । त्यतिबेला फायर गर्न लाइन पोजिसनमा सुत्दा के सुरक्षाकर्मी सुरक्षित हुन सक्दथ्यो । चारैतिरबाट ढुङ्गा मुडा प्रहार गर्दा सही निशानामा गोली लाग्न सक्दछ । पक्कै पनि सक्दैन । चाहेर पनि तलमाथि जान सक्दछ । यो कुराको अनुसन्धान त होला नै ।

    यो प्राविधिक पक्ष भन्दा ठुलो प्रश्न सुरक्षाकर्मीको मनोवैज्ञानिक पक्ष पनि त्यत्तिकै महत्वपूर्ण रहेको थियो । सुरक्षाकर्मी ५–७ बर्ष पहिलाको टीकापुर कैलालीको घटनाबाट पनि झस्केको हुन सक्दछ । त्यतिबेला साथमा भएको हतियार पनि फायर नगर्दा एसएसपीसहितका १० जनाको उत्तेजित भीडले चरम यातना दिएर हत्या गरेको तीतो यथार्थलाई नजिकबाट नियालेको हुनसक्दछ ।

    नेपालका कुनै पनि मौजुदा कानूनले भीडलाई गोली चलाउन आदेश दिने अधिकारी तोकेको छैन । यदि कथम्कदाचित प्रहरी महानिरीक्षक स्वयं नै भीड नियन्त्रणमा खटिए पनि प्रमुख जिल्ला अधिकारीको आदेश बेगर उनले गोली चलाउन पाउँदैनन् । यसो हुनको कारण Theory of Civil Supremacy को कारण हो । यदि जोसँग बन्दुक छ उसैसँग आदेश पनि भएमा जे पनि हुन सक्दछ । निरङ्कुशता हुनसक्ने हुँदा Check and Balance को सिद्धान्त अनुसार सुरक्षाकर्मीसँग बन्दुक र आदेश सीडीओसँग राखिएको हो ।

    त्यसो भए सर्वसाधारण तथा आमजनमानसमा प्रश्न उठ्न सक्दछ प्रहरी महानिरीक्षकको भूमिका के त ? प्रहरीमहानिरीक्षकले मातहतका प्रहरी अधिकारीसँग समन्वय र निर्देशनकारी भूमिका निभाउन सक्दछ । जस्तो भीडमा चाहिने जनशक्ति, गृहमन्त्रालय तथा अन्य सुरक्षा निकायसँग समन्वयकारी भूमिका आदि ।

    जव फिल्डमा खटिएको प्रहरीलाई समयोचित आदेश आउँदैन र आदेश आएकोमा पनि एक्सन गर्दैन भने प्रहरी महानिरीक्षकले आदेश अनुसार नियम अनुसार बल प्रयोग गर भन्नु, फिल्डमा खटिएका प्रहरीको उच्च मनोबल प्रदान गर्नु प्रहरी महानिरीक्षकको दायित्व र जिम्मेवारी हो । नकि प्रदर्शनकारीले निषेधित इलाका तोडे, साधारण बल प्रयोग गर्दा पनि रोकिएनन्, सार्वजनिक सम्पत्ति तोडफोड गरे, ड्यूटी पोष्ट कब्जा गरे, आगजनी गर्न थाले भनेर रिपोर्ट गरेमा प्रहरी महानिरीक्षकको हैसियतले भन्ने के हो ?

    प्रदर्शनकारीकारीलाई फूलमालाले स्वागत गर, अविर लगाऊ तिमीसँग भएको हतियार प्रदर्शनकारीकारीलाई सुम्पिदेऊ भन्ने हो त ? नियम अनुसार काम गर कफ्र्यू आदेश अनुसार गर भन्ने हो ।

    प्रहरी महानिरीक्षकले प्रदर्शनकारीलाई ताकेर गोली हान भनेर आदेश दिन कानूनले मिल्दैन । स्थानीय प्रशासन ऐन, २०२८ ले प्रहरी महानिरीक्षकलाई चिन्दैन । कानूनले नमिल्दा नमिल्दै टाउको र छात्तीमा ताकेर गोली हान भनेर प्रहरी महानिरीक्षकले पनि फिल्डमा खटिएकाले कुनै हालतमा मिल्दैन । भोलि छानबिनका क्रममा गोली हान्ने सुरक्षाकर्मीले मैले प्रहरी महानिरीक्षकको आदेशले गोली हानेको हो भनेर सुख पाउँदैन ।

    गैरकानूनी तरिकाले गोली चलाउने सुरक्षाकर्मीलाई कारबाही हुन्छ । घुँडामाथि गोली चलाउनेमाथि छानबिन हुन्छ । दोषी ठहरिए उसलाई सजाय हुन्छ, यो कुरा हरेक प्रहरी जवानलाई सिकाएको हुन्छ । जानकारी गराएको हुन्छ । प्रहरीले अधिकतम बल प्रयोग भनेको घुँडामुनीमात्र हो भन्ने कुरा जानेका थिएनन् भन्न मिल्ने स्थिति देखिँदैन ।

    त्यसो भए गोली कसरी चल्यो र ३ घण्टा नबित्दै १९ जनाको ज्यान गयो त ? गम्भीर विश्लेषण गर्नु जरुरी छ । यस प्रकारका आन्दोलन त भइरहन्छन् । फेरि पनि गोली त पक्कै नै चल्छ अनि त्यसबेला फेरि सत्ता चलाउनेहरू हेलीकप्टरबाट भागिरहने, सरकार परिवर्तन भइरहने र चुनाव भइरहने हो त ? विकास यसरी नै हुन्छ त ? एउटा दल आउँछ अर्कोलाई गाली गर्छ । आफूले फेरि त्यही गल्तीलाई दोहोर्याउँछ । आखिर यो चक्र कहिलेसम्म चलिरहने ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार