गोडैता, सर्लाही । मधेश प्रदेश सशस्त्र प्रहरी बल(छिन्नमस्ता बाहिनी) का प्रमुख कृष्ण ढकालले सोमबार दिउँसो सर्लाहीको बलरा नगरपालिका–५ भगवानपुरस्थित मनोज मोहन सिंहको फर्निचर उद्योगमा ठूलो परिमाणमा स्याउ भण्डार गरी भारततर्फ लान लागेको सूचना पाए ।
सूचना पाएलगत्तै उनले बाहिनी र सर्लाही–महोत्तरीका गणबाट झन्डै १ सयको संख्यामा सशस्त्र प्रहरीको डफ्फा तयार गरी सर्लाही भन्सार कार्यालय मलंगवाका भन्सार अधिकृत डम्बर बस्नेत र नेपाल प्रहरी चौकी गडैया सर्लाहीबाट २० जनाको टोली लिएर सोमबार राति अन्दाजी ९ बजे भगवानपुरमा स्याउ राखिएको गोदाम छापामार्न पठाए ।
सशस्त्र प्रहरीसहित भन्सारको टोली तस्करीको स्याउ गोदाममा पुग्नासाथ १ सय भन्दा बढी स्थानीयले ढुंगामुढा र पेट्रोल हालेको बोतलले आक्रमण गर्न सुरु गरे । रातिको समयमा एक्कासी आक्रमण भएपछि सशस्त्रको टोलीले हवाई फायर गर्न सुरु गर्यो ।
स्थानीय र सशस्त्रको टोलीबीच ढुंगा हानाहान भइरहेको बेला स्याउ लोड भएका ६ वटा गाडी हतार हतार दौडाएर तस्करहरुले भारतीय सीमा पार गराउन सफल भए । सशस्त्रको नेतृत्वमा गएको टोलीले एउटा गाडीमात्र बरामद गर्न सफल भएको छ । जुन गाडीमा करिब ५ लाखको स्याउ बरामद भएको छ ।
तस्करीको स्याउ बरामद गर्न जाँदा सुरक्षाकर्मीमाथि नै आक्रमण हुनुले दण्डहीनता कति मौलाएको छ भन्ने कुरा बलराको सोमबारको घटनाले पुष्टि गरेको छ ।
उक्त स्याउ सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोज मोहनकुमार सिंहको भगवानपुरस्थित फर्निचर उद्योगमा गोदाममा राखिएको सूचना डीआईजी ढकालसमक्ष पुगेको थियो । जुन स्याउ भारततर्फ तस्करी का लागि नै चीनदेखि सीमासम्म लाने गरिएको यो घटनाले पुष्टि गरेको छ ।
डीआईजी ढकालले स्याउ तस्करी हुन लागेको सूचना पाएर आफूले नै रेकी गर्न लगाएर कन्फर्म भएपछि भन्सारका कर्मचारीसहित अप्रेसन गर्न टोली पठाएको बताए । उनले भने–त्यति ठूलो परिमाणको सामान (स्याउ) डम्प भएको सूचनापछि कन्फर्म गरी टोली पठाएर २ तिर ब्लक गरी त्यहाँ अप्रेसन गरिएको हो । १
सयभन्दा बढी सशस्त्र प्रहरी अप्रेसनमा पठाएँ । मेरो प्रत्यक्ष सम्पर्कमा रहेर टोली अप्रेसनमा पठाएको हो । तर टोली पुग्नासाथ सय डेढ सयको संख्यामा मानिस भेला भएर पेट्रोल बम सुरक्षाकर्मीतिर फाले । पेट्रोल बम छल्दाछल्दै तुरुन्तै ६ गाडी भगाएर भारतीय सीमातर्फ बोर्डर पार गराए । टोलीले हवाई फायर गरेर भीड तितरबितर पार्ने क्रममा लोड भएका ती गाडी भगाइए ।
सशस्त्र प्रहरी बलको मधुबनी बीओपी पोस्टका इन्चार्ज इन्स्पेक्टर लोकेन्द्रबहादुर चन्द र सशस्त्र मुख्यालयबाटै खटिएका घुमुवा सहायक हवल्दार रोशन मिश्रकै सेटिङमा ब्यापारीहरु नवीन चौधरी, राजेश ठाकुर, बिजय यादव, बलरा नगरपालिका वडा नं ५ का वडाध्यक्ष मनोज मोहनकुमार सिंहले स्याउ तस्करी गर्ने गरेको आरोप छ ।
सो क्षेत्रबाट तस्करी हुने गरेको र भन्सारछलीको ठूलो परिमाणमा स्याउ भारततर्फ पठाउनका लागि राखिएको भए पनि थाहा नपाएकोबारेमा सम्बन्धित(मधुवनी) बीओपीका अधिकृतको बारेमा छानबिन सुरु गरिसकेको डीआईजी ढकालले बताए । सशस्त्र प्रहरी बल मुख्यालयको अनुगमन शाखाका डीएसपी सुदिप रेग्मीले सहायक हवल्दार मिश्र र राजीव यादवलाई सर्लाहीमा घुमुवाका रुपमा खटाएका छन् । आईजीपी राजु अर्याल बिदेश गएको मौकामा उनले रोशन मिश्र र राजीव यादवलाई सर्लाही र अर्का सन्तोष यादवलाई बारामा घुुमुवाका रुपमा खटाएका छन् । सशस्त्र मुख्यालयबाट आईजीपीले नै पठाएको भन्दै उनीहरुले त्यहाँका बसे र बीओपी इन्चार्जसँग मिलेर तस्करीको लाइन चलाउँदै लाभ लिने गरेको आरोप छ ।
चीनदेखि सर्लाहीको बलरामा सेटिङमै लगेर भारतमा स्याउ तस्करी हुँदैआएको थियो । डीआईजी ढकालले १५ लाख मूल्यको गाडी र साढे ४ लाख रुपैयाँको स्याउ बरामद भन्सारमा बुझाएको बताए ।
तस्कर समूहले स्थानीयलाई ढाल बनाएर सुरक्षाकर्मीमाथि आक्रमण गरेर ६ वटा गाडी भगाएर भारत लगे पनि तस्कर समूहको ढाड भाँचिएको बताए–‘म दाबीका साथ भन्छु, ६ वटा गाडी भगाएर लगे पनि सशस्त्र प्रहरीको यो अप्रेसनले भन्सारछली गर्ने समूहको ढाड भाँचिएको छ ।’
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend