Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा सरकारी विद्यालयको १६ करोड मूल्यको जग्गा अतिक्रमणः वडादेखि महानगरपालिकासम्म सेटिङ


    बुधबार, फाल्गुन २१ २०८१
    2.6K
    Shares
    अन्जु कर्माचार्यको घरअगाडिको राम आधारभूत विद्यालयको जग्गा । उक्त जग्गा अतिक्रमण गरी भइरहेको निर्माण
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • पोखरा । कानून फितलो भएकाले सरकारी जग्गा अतिक्रमण गर्नेहरुको हौसला बढ्दै गएको छ । सरकारी जग्गा अतिक्रमण भइरहेको सूचना भए पनि सरोकारवाला निकायले तत्काल एक्सन नलिएका कारण त्यस्ता धेरै जमिन कब्जा गर्नेहरुको मनोबल बढ्दै गएको देखिन्छ ।

    यसैक्रममा पोखरा महानगरपालिकाको एक विद्यालयको करोडौं मूल्य पर्ने जग्गा ब्यक्तिले अतिक्रमण गरेका छन् । अन्जु कर्माचार्य र रमेश कर्माचार्यले पोखरा महानगरपलिका वडा नम्बर ८ सिमलचौरस्थित राम आधारभूत विद्यालयको २ रोपनी ७ आना ३ पैसा ३ दाम जग्गा अतिक्रमण गरेका हुन् । उनीहरुले विद्यालयको करिब ४० आना उक्त जग्गा अतिक्रमण गरी ढलान गर्न सुरु गरेपछि विद्यालयले उक्त निर्माण रोक्न माग गर्दै कर्माचार्य दम्पत्तिलाई पत्राचार गरेको थियो । पत्र काटेपछि पनि उक्त निर्माण कार्य रोकिएको छैन । विद्यालयको उक्त जग्गासँगै कर्माचार्यको घर छ । उनको घरअगाडिको जग्गा विद्यालयको हो । त्यही विद्यालयको जग्गा उनले अतिक्रमण गरी ढलान गरेका छन् ।

    राम आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले अन्जु कर्माचार्यलाई ५ फागुन, २०८१ मा उक्त जग्गामा निर्माण कार्य अगाडि नबढाउन पत्र लेखेका थिए । न्यौपानेले पोखरा महानगरपालिका वडा नम्बर ८ र महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पत्राचार गरेका छन् । तर प्रधानाध्यापक न्यौपानेले पत्राचार गरेपछि पनि अन्जु र रमेश कर्माचार्यले निर्माणलाई अगाडि बढाइरहेका छन् । विद्यालयले निर्माण रोक्नका लागि पोखरा महानगरपालिका वडा नम्बर ८ मा निवेदन दिंदा पनि रोकिएको छैन । कर्माचार्य दम्पत्तिको प्रभावमा परी विद्यालयको करिब १६ करोड पर्ने उक्त जग्गामा निर्माण हुँदा पनि बेवास्ता गरेको आरोप पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालमाथि लागेको छ ।

    राम आधारभूत विद्यालयको उक्त जग्गा कर्माचार्यको घर कम्पाउन्डसँगै जोडिएको छ । जसको मूल्य प्रतिआना ५० लाख रहेको स्थानीय बताउँछन् । न्यूनतम ४० लाख आनाको हिसाबले पनि १६ करोड रुपैयाँको उक्त जग्गा अतिक्रमण रोक्न विद्यालय नजिकका स्थानीयहरु समेत जुर्मुराएका छन् । सिमलचौरका स्थानीय बासिन्दाले केही दिनअघि विद्यालयको जग्गा अतिक्रमण गरी निर्माण नगर्न अनुरोध गर्दा अन्जु कर्माचार्यका पति रमेश कर्माचार्यले अटेर गरेका छन् । उल्टै वडादेखि महानगर जहाँ गए नि हुन्छ, मलाई कसैले केही गर्न सक्दैनन्, सबैतिर मैले मिलाएको छु, घर निर्माण हुन्छ’ भन्ने जवाफ दिएको एक स्थानीयले नेपालफेसलाई बताए ।

    अन्जु कर्माचार्यको घरअगाडिको राम आधारभूत विद्यालयको जग्गा । उक्त जग्गा अतिक्रमण गरी भइरहेको निर्माण

    विद्यालयको जग्गा गैरकानुनी रुपमा कब्जा गरी निर्माण रोक्न आग्रह गर्ने स्थानीयलाई थर्काएर कर्माचार्यले डर, धाकधम्की देखाएर काम अगाडि बढाएको आरोप छ । यसमा प्रशासन, महानगरपालिका तथा वडा थाहा नपाए जसरी कानमा तेलहालेर बसेकोमा विद्यालयका शिक्षक, कर्मचारी र स्थानीय आश्चर्यचकित भएका छन् ।

    सार्वजनिक सम्पत्ति त्यो पनि विद्यालयको जग्गा समेत हडप्ने र ढलान गर्ने रमेश कर्माचार्य ब्यापारी हुन् । उनको घर अगाडिको स्कुलको जग्गामा विद्यालयको मातहतमा महानगरपालिकाले शारीरिक व्यायाम गर्ने पार्क निमार्ण गरेको छ । कर्माचार्यले साढे २ रोपनी जग्गा हडपे हडपे, पार्कमा शारीरिक व्यायाम गर्न आउने बृद्धबृद्धा बालबालिका लगायत सबैजसो व्यक्तिहरुलाई फोहोर भयो भनेर उल्टै धम्क्याउने गरेका छन् । विद्यालयको जग्गा अतिक्रमण गरेर ढलान गरेका उनले विद्यालयको पार्कमा आउनेहरुलाई धम्क्याएकोबारेमा समेत प्रशासनले सुनुवाइ नगरेको स्थानीयले गुनासो गरेका छन् ।

    पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल कर्माचार्य दम्पत्तिले विद्यालयको जग्गा अतिक्रमण गरी भवन बनाएको स्वीकार गरेका छन् । विद्यालयको जग्गा अतिक्रमण भएकै हो पनि भन्ने तर खाली गराउनतिर भने उनले चासो नदिई अन्य निकायतिर पन्छाएर उम्किइरहेका छन् ।

    विद्यालयले जग्गा मिचेर ढलान भइरहेकाले रोक्न निवेदन दिंदा पनि किन निर्माण नरोकेको भन्ने प्रश्नमा उनले सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारण हो भने । पछि जिल्ला प्रशासन कार्यालय कास्कीतिर पन्छाए ।
    कर्माचार्य दम्पत्तिले राम आधारभूत बिद्यालयको जग्गा अतिक्रमण गरी ढलान गरिरहेको त्यो निर्माण कार्य रोक्न प्रधानाध्यापक तीर्थराज न्यौपानेले निवेदन दिंदा पनि किन नरोकिएको भन्ने प्रश्नमा वडाध्यक्ष बरालले भने–‘महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निर्माण प्रक्रिया अगाडि नबढाउनका लागि लेखेका छौं । जिल्ला प्रशासन कार्यालयले नै हाम्रो निवेदन अनुसार कारबाही अगाडि बढाएन । तर प्रशासनले हाम्रो निवेदन अनुसार कारबाही अगाडि नबढाएको भन्दै उम्किए । जग्गा अतिक्रमण गर्ने कर्माचार्यले तपाईंलाई प्रभावमा पारेको आरोपका बारेमा उनले भने–‘त्यस्तो हुँदैहोइन, हामी निर्माण रोक्न तयार छौं । तर प्रशासनले गर्दा बिलम्ब भएको हो ।’

    प्रधानाध्यापक न्यौपाने स्वयम्ले विद्यालयको नाममा रहेको जग्गा मिचिएको र त्यो जग्गामा भइरहेको निर्माण रोकी पाउँ भनेर वडामा पत्राचार गर्दा पनि नरोकिनुले भूमाफियाहरु कति शक्तिशाली छन् । र, उनीहरुको प्रभाव महानगरपालिकादेखि राज्यका निकायसम्म कति बलियो छ भन्ने उजागर गरेको छ ।

    राम आधारभूत विद्यालयको जग्गा अतिक्रमण भएको र विद्यालयले पत्र लेख्दा पनि किन उक्त जमिनमा निर्माण नरोकिएकोबारेमा पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीसँग प्रतिक्रियाका लागि फोन गर्दा उनी सम्पर्कमा आएनन् ।

    त्यसैगरी, विद्यालयको जग्गा अतिक्रमण गर्ने अन्जु र उनका श्रीमान रमेश कर्माचार्यसँग सम्पर्क गर्ने प्रयास पनि सफल हुन सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार