Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कलैया यातायातमा अबिन्दर र साहको पाइलैपिच्छे सेटिङ, लिखित र ट्रायल फेललाई पनि लाइसेन्स !


    शुक्रबार, फाल्गुन १६ २०८१
    3.2K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका र विशेष अदालतबाट मुद्दा जितेका कर्मचारीहरुलाई प्रदेश सरकारले महत्वपूर्ण जनसम्पर्क कार्यालयको जिम्मेवारी दिने गरेको छ । अख्तियारले डामेका कर्मचारीहरु शक्तिकेन्द्रमा चलखेल गरी आकर्षक कार्यालयमा सरुवा हुने र झन् बढी भ्रष्टाचार गर्न तल्लीन हुने गरेका छन् ।

    मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले यातायात कार्यालय बाराको प्रमुखमा अख्तियारले डामेका अविन्दर दासलाई प्रमुखमा सरुवा गरेपछि त्यहाँ लाइसेन्स बितरणमा नांगो भ्रष्टाचार हुँदैआएको छ । मन्त्री रायलाई ठूलै रकम कबोल गरेर अधिकृत दास हालसालै यातायात कार्यालय कलैयाको प्रमुखमा सरुवा भएका छन् । उनी आएको एक महिना मात्र भएको छ ।  उनी आएको ३ दिनपछि नै सवारी अनुमतिपत्र(लाइसेन्स) बितरण पूरै सेटिङमा हुँदैआएको छ । अधिकृत दास गएको माघ ९ गतेदेखि यातायात कार्यालय कलैयामा हाजिर भएका हुन् ।

    सेवाग्राहीहरूले यातायात कार्यालयमा अपारदर्शी ढंगले लाइसेन्स बितरण हुने गरेको गुनासो गर्दै आएका छन् । कानुनी प्रक्रिया पूरा गरेर लाइसेन्स लिन चाहने नागरिक अन्यायमा परेको, तर आर्थिक चलखेल गर्न सक्नेहरू सजिलै लाइसेन्स प्राप्त गरिरहेको आरोप छ ।

    मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई प्रभावमा पारी विवादास्पद र बदनाम छविका अविन्दर दास यातायात व्यवस्था कार्यालय, कलैया, बाराका प्रमुखको जिम्मेवारी दिइएपछि त्यहाँ अवैध रूपमा लाइसेन्स खरिद–बिक्री सुरु भएको सेवाग्राहीकै गुनासो सुन्न सकिन्छ ।

    स्रोतका अनुसार बारा यातायातमा दररेट तोेकेर घुस असुली गर्दै ट्रायल र लिखित परीक्षामा फेल भएका अनुभवहीन तथा अयोग्य चालकहरूलाई समेत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुने गरेको छ । कार्यालय प्रमुख दासले सेटिङ मिलाउन केही कर्मचारी तथा बिचौलियालाई परिचालन गरेका छन् । जसले खुल्लमखुल्ला लाइसेन्स बिक्री गर्ने काम गरिरहेको स्रोत बताउँछ ।

    स्रोतका अनुसार कलैया यातायातबाट दास आएपछि विभिन्न मितिमा भएको नयाँ र वर्ग थप (क्याटागोरी ए, के, बी, सी, सी) तथा मेशिनरीको लिखित र प्रयोगात्मक परीक्षामा पास गराउन ठूलो आर्थिक चलखेल भएको छ । स्कुटर, मोटरसाईकल, ईरिक्सा, जिपकार, ट्याक्टर, मझौला सवारी र हेभी (ट्रक, बस), मेशिनरी समेतको घुसको दररेट फरक फरक तय गरिएको छ । बारा यातायातमा सवारीको किसिम अनुसार लाइसेन्सको दररेट १० देखि ६० हजारसम्म तय गरिएको छ ।

    कानुनी रूपमा लिखित तथा ट्रायल परीक्षा पास गरेपछि मात्र लाइसेन्स प्राप्त गर्नुपर्ने प्रावधान भए पनि आर्थिक लेनदेनमार्फत् फेल भएका उम्मेदवारलाई समेत लाइसेन्स उपलब्ध गराइने गरेको आरोप लागेको छ । स्रोतका अनुसार यातायात कार्यालय प्रमुख अविन्दर दास र सत्यनारायण साह मिलेर ट्रायल तथा लिखित परीक्षा फेल भएकाहरूलाई समेत लाइसेन्स बितरण गर्ने गरेको पाइएको छ ।

    कार्यालयले तोकेको दररेट अनुसार रकम बुझाउने उम्मेदवारहरूलाई ट्रायलमा पास गराउने, परीक्षाका नतिजा हेरफेर गर्ने तथा निश्चित शुल्क लिई लाइसेन्स प्रदान गर्ने कार्य भइरहेको स्रोतको दाबी छ ।

    अख्तियारले भ्रष्टाचार मुद्दामा एकपटक डामिसकेका कार्यालय प्रमुख दास कलैया यातायातको प्रमुख भएपछि झन् बढी कमाउधन्दामा लागेका छन् । खर्च गरेर मुद्दा जितेका र मुख्यमन्त्रीदेखि यातायात मन्त्रीलाई समेत खुसी पारेर यातायात कार्यालयमा सरुवा भएका उनी सवारी चालक अनुमति पत्र लाइसेन्स विक्री गरेर करोडौं कमाउने योजनामा तल्लीन भएर लागेका छन् ।

    दास यातायातमा सबैभन्दा बढी अवसर पाउने र कमाउनेमा पर्दछन् । उनी यसअघि नै यातायात व्यवस्था कार्यालय बीरगंज, पर्सा र गौरमा बसेर अकूत पैसा कमाएका विवादास्पद अधिकृतका रुपमा चिनिन्छन् । उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले बीरगंजको श्रीपुरमा फ्याक्ट्री सञ्चालन गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार यस्तै उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले बीरगंजसहित कयौं स्थानमा घरघडेरी जोडेका छन् ।

    यातायात व्यवस्था कार्यालय गौर, रौतहटको प्रमुख रहँदा पनि दासले बिचौलियामार्फत् सेटिङमा लाइसेन्स बिक्री गरेको आरोप लागेको थियो । दास रौतहट यातायात प्रमुख हुँदा दर्जनौं दलाल परिचालन गरी अबैध असुली गरेका बिषयमा समाचार आएका थिए ।

    विशेषबाट मुद्दा जितेपछि खुलेआम घुस असुली

    यातायात व्यवस्था कार्यालय बीरगंजमा नायब सुब्बा हुँदा निलम्बन समेत परिसकेका विवादास्पद हाकिम हुन् अविन्दर दास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते यातायात व्यवस्था कार्यालय बीरगञ्जका तत्कालीन प्रमुुख विश्वनाथ नेपाल, नायब सुब्बा अविन्दर दास सहित ५ जनाबिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बीरगञ्जले सवारीचालक अनुमतिपत्र कानूनविपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेख समेतको सरकारी कागजात नष्ट गरेकाले गौतम र तत्कालीन नायब सुब्बा अविन्दर दाससहित पाँचैजनाबिरुद्ध बिशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । तर तत्कालीन नायब सुब्बा अविन्दर दाससहित विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेका थिए । तिनै दास मुद्दा जितेर अधिकृतमा बढुवा भई गौर हुँदै कलैया यातायात प्रमुखमा सरुवा भएका छन् । र, कलैयामा सरुवा भएपछि उनले बिचौलिया र सेटिङमा परिचालन गरेका कर्मचारीमार्फत् घुसको दररेट तोकेर लाइसेन्स दिने क्रमलाई तीव्रता दिएका छन् ।
    प्रमुख दाससँगै कलैया यातायातमा सरुवा भएका अर्का कर्मचारी हुन् सत्यनारायण साह ।

    अधिकृत साह र कार्यालय प्रमुख दास मिलेर दलालमार्फत् मात्र लाइसेन्स बितरण हुने गरेको छ । स्रोतका अनुसार दलालमार्फत् नजाने सेवाग्राहीले लिखित र ट्रायल पास गर्नै सक्दैनन् । साह पनि बीरगंज यातायातमा काम गरी सेटिङमा लाइसेन्स बितरण गरी बदनाम भएका कर्मचारी हुन् । उनी बीरगंजबाट बारा सरुवा भए । फेरि रकम खर्चेर पर्सामा काज गराए, तर पर्सा यातायातमा उनको हैकम नचल्ने भएपछि एक महिनामै पुनः कलैया यातायातमा फर्केर लाइसेन्स सेटिङमा लागेको आरोप छ ।

    यसअघि अख्तियारले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुख तेजनारायण यादवसहित १० कर्मचारीबिरुद्ध आर्थिक लाभ लिएर ट्रायल परीक्षाको नतिजा फेरबदल एवम् थपघट गराएर लाइसेन्स बाँडेको अनुसन्धानबाट खुलेपछि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार