Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सबै शिक्षकलाई सचिवसरह पारिश्रमिक दिनुपर्छ


    मंगलबार, फाल्गुन ६ २०८१
    6.2K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • प्रकृृति अधिकारी

    शिक्षक राजनीतिका बारेमा लेख्दा लेख्दा धारावाहिक पो भएछ । कोही बात छैन, बहस भएको छ । ठिकै भएको छ ।

    १. विश्वमा सबैभन्दा सम्मानित र आदरणीय पेसा कुनै छ भने त्यो शिक्षण नै हो । शिक्षण पेसा निकै उच्च हो । शिक्षक र विद्यार्थीबीचको उमेर जतिसुकै अन्तर होस् तर शिक्षक भनेका शिक्षक नै हुनुहुन्छ । हामीलाई अध्यापन गर्नुभएका शिक्षकसँग आज पनि भेट्दा उत्तिकै सम्मान रहने गरेको छ । आदरभाव रहने गरेको छ । हरेक दिन उठेर बुबाआमालाई ढोग्ने चलन कमैका घरमा होला तर उही शिक्षक हरेक दिन भेट्दा बडो सम्मान र आदरका साथ नमस्ते गरिन्छ । हुन त हाकिमलाई पनि नमस्ते गरिन्छ, तर त्यसमा चाकरी पनि लुकेको हुन्छ । शिक्षकलाई गरिने नमस्तेभित्र कुनै चाकरी लुकेको हुँदैन । स्वार्थ भनेकै गुरुप्रतिको आदरभाव हो ।

    प्रकृति अधिकारी

    साविकको शिक्षा विभागका तत्कालीन महानिर्देशक बेलायत अध्ययन गर्दाको सम्झना गर्ने गर्नुहुन्छ । उहाँ एउटा कार्यक्रममा सहभागी हुँदा ड्यासमा बेलायतकी महारानीलाई बोलाइयो त्यसपछि प्राध्यापकहरूलाई । तर बेलायतकी महारानी ड्यासमा नगएर पहिले प्राध्यापकहरूलाई उक्लिन दिनुभयो । किन भन्दा शिक्षकको स्थान उच्च हुन्छ । हो, यो स्थान नेपालमा पनि छ । मलाई लाग्दैन अझै पनि हाम्रा शिक्षक तल हुनुहुन्छ । उहाँको स्थान शीरमै छ । शीरमै रहनुपर्छ ।

    यहाँ त तहअनुसार पारिश्रमिक छ । मेरो विचारमा त्यो गलत हो । नियुक्ति तहअनुसार ठिक हो । किनकि कुन तहका शिक्षकले कुन तहका विद्यार्थीलाई अध्यापन गर्ने भन्ने तोकिनुपर्छ । तर पारिश्रमिक समान हुनुपर्छ । नेपाल सरकारको सचिवसरह सबै शिक्षकको पारिश्रमिक हुनैपर्छ । प्राथमिक तहका शिक्षकको किन बढी भन्ने तर्क पनि आउला । हामीले के कुरा भुल्नुहुँदैन भने विद्यार्थीको जग प्राथमिक तहबाट बन्न थाल्छ । तसर्थ बढी मिहिनेत (परिश्रम) प्राथमिक तहका शिक्षकले गर्नुपर्छ । खटाइ बढी प्राथमिक तहमा हुन्छ ।

    माटोलाई भाँडा बनाउने काम उहाँहरूले गरिदिनुभएपछि माथिका तहका शिक्षकलाई त्यति धेरै मिहिनेत पर्दैन । असल नागरिक बनाउन प्राथमिक तहकै शिक्षकको भूमिका महत्त्वपूर्ण रहन्छ । उहाँहरूले गलत पढाइदिनुभएमा विद्यार्थी गलत बन्छ । सही बाटो देखाइदिनुभएमा असल विद्यार्थी बन्छ । तसर्थ पारिश्रमिक समान हुनुपर्छ भन्नेमा म प्रष्ट छु ।

    २. हरेक पेसाभित्र असल र खराब चरित्र लुकेको हुन्छ । मानिसलाई बाहिरबाट हेर्दा वा सामान्य कुरा गरेका भरमा असल वा खराबको धारणा बनाउन सकिँदैन, लामो संगत गर्नुपर्छ । सप्तरीको बरमझियामा जानुभएमा झन्डै २० किलोमिटर बाटोमा पेडा पसल पाउनुहुन्छ । कुन पेडा पसल ‘ओर्जिनल’ हो भन्ने खुट्याउन सक्नुहुन्न । त्यहाँ त असली पेडा पसल, पुरानो पेडा पसल, बुढा पेडा पसल, वैजनाथ पेडा पसल लेखिएका हुन्छन् र सबैले आफ्नो पसल पहिलो हो भनेरै दावी गर्छन् ।

    निकै अनुसन्धान गर्नुभयो भने बल्ल पहिलो कुन हो भनेर पत्तो पाउनुहुन्छ । ठिक त्यस्तै हो हरेक पेसाभित्रका मानिसको चरित्र । पत्रकारिता, प्रशासन, लेखा, व्यापार जेजति छन् सबै पेसाभित्र असल र खराब मानिस पाइन्छन् । सबै दुधले नुहाएका शुद्ध नहुन सक्छन् । शिक्षण पेसा फरक नहुन सक्छ । सबै पेसा ठिक हुन्, पेसा खराब हुँदैन, व्यक्तिको आचरण खराब हुने हो ।

    मैले कहिल्यै पनि शिक्षकलाई दलको झोला बोकेको भन्दै अनेक संज्ञा दिएको छैन । मेरो लेखोटमा शिक्षकहरूले नै अनेक संज्ञा दिनुभएको छ । दिने गर्नुभएको छ । त्यो किन भयो भन्दा समस्या त छ नि । त्यो समस्याका विरुद्धमा मेरो आवाज हो । कम्तीमा विद्यालय परिसरभित्र राजनीति नगरौँ, राजनीतिक क्रियाकलाप नगरौँ भन्ने आवाज । म यसमा अडिग छु । अरुलाई गलत लाग्ला, म सही छु नै भन्छु ।
    ३. नेपाल शिक्षक महासंघको विधानलाई म ‘मूर्दावाद’ भन्छु । सबै शिक्षक अटाउन नसक्ने पनि विधान हुन्छ र ? सबै शिक्षकलाई जबर्जस्ती राजनीतिमा तान्ने कस्तो विधान हो ? हो, महासंघभित्र यहाँनेर ‘भाइरस’ प्रवृत्ति देखिएको छ । सबै शिक्षकले सदस्यता पाउने र मताधिकारको प्रयोग गर्न पाउने गरी विधान संशोधन गर्न महासंघका पदाधिकारीहरूलाई भगवान पशुपतिनाथले सत्बुद्धि प्रदान गरून् ।
    को अध्यक्ष छान्ने भन्ने सबैले अधिकार प्रयोग नै गर्न नपाउनेगरी बन्देज नै लगाइदिने त ?

    राजनीतिक झोला बोकेरमात्र विद्यालय प्रवेश गर, अनि मात्र सदस्य बन्न पाउँछौ भन्ने ? यस्तो विधि बसाल्न कस्तो बुद्धिको विकास भएको हो अचम्म छ । कुनै पनि संघसंगठनमा यस्तो त छैन । अनि शिक्षकले नै ‘राजनीति गर, दलको झन्डा उठायौ भने तिमी योग्य हौ, होइन भने तिमी अयोग्य बन्यौ’ भन्ने ? हामी कुन संस्कारबाट हुर्किँदैछौँ ?

    अझ पनि ढिलो भएको छैन । सबै शिक्षकले अपनत्व लिनसक्ने महासंघ बनाउनुपर्छ । बनाउनुपर्यो । अनि बाहिर बसेका हामी जस्ता दर्शकले शिक्षकले राजनीति गरे भन्नु स्वभाविक ठहर्छ । शिक्षकको संस्थामा मुख्य पदाधिकारी पद कुम्ल्याउन सदस्य संख्या बढाउने यो कस्तो विधि हो ? सोच्दा अचम्म लाग्छ । तसर्थ महासंघका पदाधिकारी सच्चिनु सुध्रिनु जरुरी छ । तपाईँहरुप्रति धेरै शिक्षक रुष्ट हुनुहुन्छ । तपाईँहरु ती शिक्षकका आफ्नो कहिल्यै बन्न सक्नुभएको छैन । बन्न सक्नुहोस् । शुभकामना ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार