काठमाडौं । अहिले देशमा राजस्व संकलनले प्रतिबर्ष लक्ष्य हासिल गर्न सकिरहेको छैन । प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो सम्बोधनमा राजस्व संकलनमा कमी आएको बताउने गर्छन् तर, करको दायरामा ल्याउनैपर्नेहरुलाई भने आँखा चिम्लिएका छन् ।
नेपालबाट बर्षेनी खर्बौं रकम अध्ययनका नाममा विदेशिएको छ । नेपालबाट विद्यार्थी पठाउने शैक्षिक परामर्श कम्पनीहरुले सामाजिक सञ्जालमा विज्ञापन गरी कलिला विद्यार्थीहरुको मस्तिष्कमा विदेश जाने हाउगुजी भरिदिएका छन् । विप्रेषणबाट देशको अर्थतन्त्र धानिएको भनेर भाषण गर्न मन पराउने नेताहरु पनि शैक्षिक माफियालाई अनुकूल हुने ऐन र कानून बनाउनमै व्यस्त देखिन्छन् ।
अहिले युवा विद्यार्थीहरुको पहिलो शर्त नै युरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशमा अध्ययनका लागि जाने बनेको छ । कलेजहरु शैक्षिक परामर्श केन्द्रहरुसँग मिलेर कमिसन खाने वातावरण तयार गर्न नेपालमा केही गर्न सकिदैन, केही पनि हुँदैन, विधि र पद्धतिमा देश चल्दैन भन्ने नकरात्मक कुराहरुको प्रचार गरिरहेका छन् ।

राजधानी काठमाडौंका अधिकांश कलेजहरु शैक्षिक परामर्श केन्द्रका सञ्चालकसँग मिलेर आफ्नो कलेजमा काउन्सिलिङ गराउँछन् । कलेजहरुले शैक्षिक परामर्श केन्द्रबाट एक जना विद्यार्थीको दुई लाख रुपैयासम्म कमिसन सहजै प्राप्त गर्न सक्छन् । जबकि विज्ञानका विद्यार्थीहरु एक बर्ष पढाउँदा पनि उनीहरुले दुई लाख शुल्क लिन पाउँदैनन् । कतिपय कलेजका सञ्चालक, प्रिन्सिपल र शिक्षा मन्त्रालयका पहुँचवाला कर्मचारीहरु तिनै शैक्षिक परामर्शका नाममा विद्यार्थीहरुलाई विदेश पठाउनेहरुको खर्चमा बिभिन्न देशमा सयर गर्दछन् ।
पूर्वआइजीपी सर्वेन्द्र खनाल तत्कालीन अपराध अनुसन्धान महाशाखाको प्रमुख (एसएसपी) हुँदा परामर्श सेवाका नाममा वैदेशिक रोजगार ठगीमा संलग्न ४१ वटा संस्थामा छापा मारे । उनले २४ जनाविरुद्ध मुद्दा नै चलाए । उनले युवाहरुलाई ठगी गरेको भन्दै ६७ वटा केसमा अनुसन्धान गरे । २ सय ८ जना विद्यार्थी अलपत्र परेको भन्दै उक्त समयमा उनले अनुसन्धान अघि बढाएका थिए । तर, उनी त्यहाँबाट सरुवा भएपछि ती अनुसन्धानका फाइलहरुमा थप केही हुन सकेन । धुलो लागेर नष्ट भइसके होलान् ।
इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रा.लि. र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरियो । तथापि राज्यका नियामक निकायहरु कानमा तेल हालेर बसिरहेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी नारायण पोखरेलका अनुसार अहिले झण्डै ९ सय २६ शैक्षिक परामर्श केन्द्रहरु शिक्षा मन्त्रालयमा अनुमति लिएर सञ्चालनमा छन् । साथै १५ सय जत्ति दर्ता गर्नका लागि भन्दै पाइपलाइनमा छन् । अन्य सम्पूर्ण परामर्श केन्द्रहरुले अहिलेसम्म पनि निर्देशिकालाई सहर्ष स्वीकार गरिसकेका छैनन् ।
बागबजारमा रहेको एउटा शैक्षिक परामर्श केन्द्रले रसियामा अध्ययनका लागि भन्दै विद्यार्थी पठाए पनि भित्री सेटिङ चाहिँ सेनामा भर्ति गराएर रुस–युक्रेन युद्धमा भाडाका सिपाही बनाउने रहेछ । रुसी सेनामा भर्ना गर्न पठाएको सूचनाका आधारमा त्यसका सञ्चालक सुजता दाहाल पक्राउ परिन् । अहिले परामर्श सेवा भन्दै दर्ता गरेका र अन्य ट्युशन सेन्टरहरुले वर्किङ भिषा भन्दै सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा धमाधम प्रचार गरिएको छ ।
काठमाडौंको डिल्लीबजार ठेगाना खुलाइएको बेनो प्रालि नामक परामर्श कम्पनीले जापानमा रोजगारी भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरेको छ । दि आयल्स इन्स्टिच्यूटबाट विभिन्न देशमा पठाउने भन्दै विज्ञापन गरिएको छ । सामाजिक सञ्जालमा अन्य शैक्षिक परामर्श केन्द्रहरुले पनि प्रचार प्रसार गरेका कारण हामीले पनि त्यसै गरेको एक जना कर्मचारीले गौरवका साथ बताए ।
सेवा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्यूटले एस एस डब्लु भिसामा जापान पठाउनका लागि भन्दै फेसबुकमा प्रचार गरको छ । यस विषयमा इन्स्टिच्यूटका प्रमुख निमा तामाङसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भएन ।
त्यसैगरी ट्रष्ट मल्टिपल म्यानेजमेन्ट कम्पनीले स्लोभाकिया, आयरल्याण्ड, लक्जम्वर्ग, न्यूजील्याण्ड रोजगारीमा पठाउने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखिरहेको छ । त्यसका प्रवन्धक प्रकाश बीसी प्रतिक्रियाका लागि सम्पर्कमा आउनै चाहेनन् ।
कम्सल्ट नेपाल नामक शैक्षिक परामर्श सेवा केन्द्रले युरोपियन मुलुक दि नेदरल्याण्डमा १५ दिनमै भिसा लाग्ने भन्दै सामाजिक सञ्जाल टिकटकलगायत फेसबुकमा प्रचार गरेको छ । उसले भिडिओ नै बनाएर प्रचार गरिएको पाउन सकिन्छ । तथापि प्रतिक्रियाका लागि त्यसका संचालक सम्पर्कमा आएनन् । काठमाडौंको पुतलीसडकमा रहेको प्रान्जल एजुकेशनल कन्सल्टेन्सीले १५ दिनमै युकेको भिसा भन्दै सामाजिक सञ्जालमा प्रचार गरेको छ ।
यस विषयमा प्रमुख दाहलसँग प्रतिक्रिया लिँदा आफूले सामाजिक सञ्जालमा प्रचार गर्न पाउने बताए । यसरी सामाजिक सञ्जालमा झुटा प्रचार गर्ने कन्सल्टेन्सीहरु अहिले पनि बिना अनुगमन र रोकतोक विदेश जानेहरुसँग पैसा असुली गरिरहेका छन् ।
यी केही प्रतिनिधि उदाहरणमात्रै हुन् । सामाजिक सञ्जालमा विज्ञापन देखेपछि विदेश जानका लागि फस्ने र प्रहरीमा उजुरी दिने पीडितहरुको संख्या अत्यधिक बढेको छ । शिक्षा मन्त्रालयबाट एनओसी लिएर अध्ययनका लागि विदेशिने संख्या बृद्धि भइरहेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईसँग सामाजिक सञ्जाल फेसबुक, टीकटक, इन्स्ट्राग्रामलगायतमा विदेशमा अध्ययन र रोजगारीका निमित्त भन्दै प्रचार प्रसार गरिएका छन् नि, नियामक निकाय शिक्षा मन्त्रालयले के गर्दैछ भन्ने प्रश्नमा उनी भन्छन्–‘मन्त्रालयले नियमन गर्ने भनेको छ । दर्ता प्रक्रिया सकिएपछि नियमन गर्ने भनेर महाशाखाले काम गरिरहको छ ।’
परामर्श सेवा हेर्ने शाखाका प्रमुख उपसचिव सेमन्तराज कोइरालासँग पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईसँग सम्पर्क गर्दा उनले भने– ‘हाम्रा सदस्यहरुलाई कोड अफ कन्डक्टमै उल्लेख गरी गैरकानूनी कामको बन्देज गरिएको छ । यदि कसैले यस्तो काम गरेको भए हामी प्रहरी प्रशासन, शिक्षा मन्त्रालयमा कारबाहीका लागि पत्रचार गर्नेछौं ।’
शैक्षिक परामर्श केन्द्रमा अनुगमन शून्य
शैक्षिक परामर्शका नाममा खुलेका संस्थाहरुमार्फत् विदेश जाने बिद्यार्थीको अध्ययनमा मात्रैै बर्षेनी खरबौं रुपैयाँ विदेशिएको मात्रै छैन, यी संस्थाहरु अवैध रकम ओसारपसार(हुन्डी)मा समेत संलग्न रहेका छन् ।
विदेशी मुद्रा अपचलन गरी करछली गर्दै आएका त्यस्ता कन्सल्टेन्सीहरूले नेपाली विद्यार्थीलाई अस्ट्रेलिया पठाएबापतको कमिसन पनि उतै लिने र नेपाल भित्र्याउँदा गैरकानुनी च्यानल अर्थात् हुन्डीमार्पmत् कारोबार गर्दै आइरहेका छन् । मन्त्रालयका कर्मचारीहरू तिनै ठग कन्सल्टेन्सीको खर्चमा विदेशमा भ्रमणसमेत जाने गरेको पाइन्छ ।
विदेशमा शाखा खोलेर करछली गर्ने एजुकेसन कन्सल्टेन्सीहरूमा द्विराज शर्मा शिवाकोटीको अल्फाबिटा पहिलो नम्बरमा छ । उसले अस्टे«लिया सिड्नीमा शाखा खोलेको छ । महेशबाबु तिमिल्सिनाको कंगारु एजुकेसन, राजेन्द्र रिजालको काठमाडौं इन्फोसेस (केआइइसी), रमण कोइराला र नारायण कोइरालाको नोभा एजुकेसन एन्ड माइग्रेसन सर्भिस, सविता श्रेष्ठको नेपकम सर्भिस र नारायण बजाजको ग्लोबल रिचले अस्टे«लियामा शाखा खोलेका छन् ।
भूपाल सिटौलाको एबिसी एजुकेसन एन्ड माइग्रेसन, विराज पाण्डेको एजुकेसन पार्क, नयन लामिछानेको एजुकेशन प्लानेट प्रालि, बुद्धिसागर अर्यालको बुम¥याङ इन्टरनेसनल एजुकेसन सर्भिस र भूपेन्द्र सिटौलाको आइडीपी नेपालको नाम उल्लेख छ ।
त्यस्तै ग्रेस इन्टरनेसनल अल एजुकेसन कन्सल्टेन्सीले मेलबर्नमा शाखा खोेलेको छ । एइसिसी ग्लोबल, एक्सपर्ट एजुकेसन भिसा सर्भिस, मेट्स एजुकेसन, ओली एन्ड एसोसिएसट्स, अप्सन्स एजुकेसनल कन्सल्टेन्सी, द नेस्ट, मोटिफ एजुकेसन अबरोर्ड, अस स्टडिजले मेलबर्न र ब्रिबबनमा शाखा खोलेको उल्लेख छ । यी सबैको मुख्य काम नेपालको राजस्व छल्ने, मानवतस्करी गर्ने भएको बताइएको छ ।
डायरी एक्सप्रेस साप्ताहिकबाट
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend