Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बस्तीका बीचमा स्कुल हटाउन टोलका बासिन्दाको साथ, घरधनी नै बने अभिषाप

    ध्वनी प्रदूषणका बिरुद्ध गुहार माग्दा पूर्व बिमान चालकले पाएको हैरानी


    सोमबार, असार १ २०८३
    370
    Shares
    नेपाल फेस
  • १० मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध जस्तै लडिरहेका छन् ।

    उक्त ठाउँमा स्वर्गीय डा. ध्रुव मुडभरीको छोरा अनिस मुडभरीसमेतको नाममा रहेको उक्त घरजग्गा बर्षौंका लागि लिजमा लिएर समानता स्कूल सञ्चालन गरिएको छ ।
    विशेष प्रकारका विद्यार्थीको पढाइ हुने स्कूलकी सञ्चालिका यमुना कटवालले तिनै बिद्यार्थी देखाएर गैरकानूनी कार्य गरिरहेकी छन् भने बिमान चालक रमेशराज आचार्यले भुक्तमान पाएका छन् । स्कूलले महानगरपालिकाको आदेशलाई टेरपुच्छर लगाएको छैन । धमाधम संरचना बनाएको छ । तर, एउटा घरबाहेक सबै संरचनाहरु अनुमतिबिनै निर्माण भएका छन् ।

    संरचना करिब एक सय फिट लम्बाईको एउटा र २० फिटका दुई वटा गरी तीन वटा बिनाअनमुतिकै संरचनाहरु निर्माण गरिएका छन् तथापि नियामक निकाय काठमाडौं महानगरपालिकाले अलमल गर्दै थाहा पाए पनि नपाएझैं गरिरहेको अवस्था छ । पटक–पटकको उजुरी पश्चात् पनि छिमेकीहरुको सहमतिबिनै स्थानन्तरण गरी सञ्चालन गरिएको स्कूलका बारेमा नियामक निकाय काठमाडौं महानगरपालिकाका शिक्षा विभागलाई पूर्ण जानकारी छ । तथापि कारबाहीका लागि अघि बढिरहेको छैन ।

    महानगरपालिकाको लाचारी

    स्थानीय सरकारको मातहतमा रहेको यो समानता स्कूल उक्त स्थानमा स्थानान्तरण हुनुअघि युकेजीसम्मको पढाइ हुने गर्दथ्यो । स्कूललाई स्थानन्तरण पश्चात् पनि ग्रेड एकसम्मको स्वीकृति दिइएको छ । स्थानीय सरकारको अनुमतिबिनै स्कूललाई ठाउँ सारी गरिएको स्वीकार गर्दछन् विभागका अधिकारीहरु । छिमेकीको अनुमतिबिना नै ध्वनी प्रदूषण, होहल्ला र बाटोको मापदण्डबिनै वडाबाट पनि अन्यत्र सार्न आदेशको अलमल भइरहेको छ भने प्रभावित टोल र छिमेकीहरुले हैरानी खाएका छन् । छरछिमकीसँग अनुमति नलिइकनै कसरी स्थानान्तरणको अनुमति पायो भन्ने विषयमा महानगरपालिकाको शिक्षा विभाग अनुत्तरित छ ।

    वडाको अलमल कि साँठगाँठ ?

    उक्त ठाउँमा त्रिमूर्ति एकेडेमी नामक स्कूल सञ्चालन गर्नका लागि घरधनी अनिस मुडभरीले सम्झौता गरेका थिए । तब स्थानीयहरुले विरोध गरे । पेशाले बिमान चालक रहेका रमेशराज आचार्यसहितका टोल समितिका सदस्यहरुले त्रिमूर्ति एकेडेमी नामक स्कूल सञ्चालनका लागि घरधनी अनिस मुडभरीले सम्झौता गरी सहमति भइसकेको अवस्थामा हटाउन भन्दै वडामा निवेदन गरे । वडाध्यक्ष थापाले त्रिमूर्ति एकेडेमीका लागि दमकल नछिर्ने साँघुरो बाटो, बस्तीमा होहल्ला र ध्वनी प्रदूषण हुने जस्ता विषयलाई ध्यानमा राखी स्कूल सञ्चालनका लागि मापदण्ड मेल नखाने पत्रमा उल्लेख गरेका थिए । तर, एउटा स्कूललाई मापदण्ड नपुगेको भन्दै हटाएपछि अर्को स्कूलको कसरी मापदण्ड पुग्यो, यो अहिले खोजीको विषय बनिरहेको छ ।

    बिभिन्न निकायमा  उजुरीको चाङ, भएन सुनुवाइ

    समानता स्कूलले गरेको होहल्ला र ध्वनी प्रदूषणका विरुद्धमा स्थानीयरुपमा प्रत्यक्ष प्रभावित रमेश आचार्यसहितले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उजुरी दिए । उक्त क्षेत्र हेर्ने विद्यालय निरीक्षकले त्यसको प्रतिवेदन तयार गरिन् । तथापि समस्या जहाँको तहीँ रहन गयो । अनेक प्रकारका कठिनाइ उत्पन्न भएको भन्दै त्यसलाई यथास्थितिमा चलाउन दिइयो ।

    २०८१ चैत ५ मा का.म.न.पा.३ को वडा कार्यालयमा वडाध्यक्ष प्रेम थापासमक्ष पीडितमध्येका रमेशराज आचार्यले स्वच्छ वातावरण कायम राख्न तथा छरछिमेकमा बाधा पार्नेगरी सञ्चालित विद्यालय हटाइपाउँ भनी निवेदन दिए । त्यसअघि २०८१ चैत ५ मा स्थानीय टोलबासीहरुको भेलाले टोलमा ध्वनी प्रदूषण हटाई शान्त वातावरण कायम राख्ने विषयमा सर्वसम्मतिले सहमति गरिएको थियो । स्थानीय टोलबासीहरु पुनम श्रेष्ठ, मनोज प्रसाद राजभण्डारी, विकास कंसाकार, रमेशराज आचार्य, भगी कट्टेल, सुश्मा सिम्खडा, रमेश कोइराला, शोभा गुरुङ र प्रकाशराज पाण्डेले प्रदूषण गराई हैरानी दिने विद्यालयलाई हटाउने निर्र्णय गरे ।

    २०८१ चैत ५ मा दर्ता नम्बर स.द.न. ५५० जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गरियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा (१) ठ को सार्वजनिक आवगमनमा बाधा गर्न नमिल्ने, मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ३ ले सम्पत्तिको उपभोग सम्बन्धी व्यवस्था र २०७४ को परिच्छेद ९ घर बहाल सम्बन्धी ब्यवस्था तथा नेपालको मौलिक हक अन्तर्गत जीवनरक्षाका हक, स्वच्छ वातावरणमा बाच्न पाउने हकसमेतको आधारमा निवेदकको मौलिक हक अधिकारको बञ्चित गरिएको विषयमा निवेदन दिइयो । उक्त निवेदनमाथि प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले प्रतिवेदन पेश गर्नका लागि २०८१ चैत ५मा शिक्षा विकास तथा समन्वय इकाई ताहाचल काठमाडौंलाई पत्रचार गरे । जुन हालसम्म पनि कारबाही भएको छैन ।

    २०८२ जेठ १ मा काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा १४६३६ नम्बरमा दर्ता गरियो । टोलका तर्फबाट गरिएको उजुरीमा निवेदकहरु रमेशराज आचार्य, पुनम श्रेष्ठ, भगीमाया ढुंगेल, रमेश कोइराला, राजेन्द्र कुमार कटुवाल र हेम क्षेत्री थिए । तथापि महानगरपालिकाको शिक्षा विभागमा कार्यरत उक्त क्षेत्रकी विद्यालय निरीक्षक रुक्मिला अधिकारीले प्रतिवेदन पनि बनाइन् । तथापि उल्टै स्कूललाई कक्षा सञ्चालनका लागि एक कक्षासम्म स्वीकृत दिने निर्णय गरियो । र, कुनै कारबाही भएन । यसमा विभागका कर्मचारीहरुको पनि मिलेमतो हो कि भने टोलबासीहरुको गम्भीर आशंका रहेको छ ।

    ध्वनी प्रदूषणको प्रत्यक्ष मारमा परेका पूर्व विमान चालक रमेशराज आचार्यले प्रहरी वृत्त महाराजगञ्जमा सञ्चालकका विरुद्धमा पटक–पटक मौखिक उजुरी दिए । तथापि स्कूलका पदाधिकारी टसमस नै भएनन् । वृत्तका डिएसपीले विद्यालयमा साउण्डप्रुफ वाल राखी विद्यालय सञ्चालन गर्न सहमति गर्ने कबुलियतना गराएका थिए । तथापि बाह्र वर्ष रामायण पढायो सीता कसकी जोई भने जस्तै भयो ।

    राष्ट्रिय सतर्कता केन्द्र्रमा उजुरी

    सरकारका नियामक निकायहरु बिभिन्न प्रलोभनमा परेर कानूनबमोजिम काम नगरेका कारण बर्षांै दिनदेखि अलमलमै दिन बिताउन बाध्य पूर्व विमानचालक रमेशराज आचार्यले टोलको तर्फबाट राष्ट्रिय सतर्कता केन्द्र्रमा उजुरी गरेका छन् । अहिले केन्द्रका अधिकारीहरुले यो विषयमा हालसम्म अलमल हुनुमा कारणको खोजीे भइरहेको बताए । निवेदन २०८३ जेठ १९ गते दर्ता नम्बर ५६२८ मा दर्ता गरिएको छ ।

    सतर्कता केन्द्रमा ‘चलखेलका कारण छरछिमेकमा बाधा पर्नेगरी सञ्चालित विद्यालय हटाउन आनाकानी गरेको सम्बन्धमा’ उजुरी गरिएको बताइन्छ । केन्द्रमा भएको उजुरी पश्चात अहिले पीडितहरुको पीडा सुन्नेसम्मको धैयता राख्ने कार्य भएको छ । तर, अझै न्याय पाउने काम भएको छैन ।

    वातावरण विभागमा उजुरी

    वातावरणीय प्रभाव मूल्यांकनबिनै स्कूल सञ्चालन गर्दै आएकी यमुना कटवालले वातावरण विभागका महानिर्देशकको अनुरोधलाई समेत ठाडै इन्कार गरेकी छन् । विभागका महानिर्देशक ज्ञानराज सुवेदीसमक्ष कानूनबमोजिम साउन्ड प्रुफ राखेर गल्ती नगर्ने भनी महाराजगञ्ज वृत्तमा मिलापत्र गरियो । तर त्यो मिलापत्र अनुसार काम कटवालले गरिनन् । स्कुलले मिलापत्र कार्यान्वयन नगरेपछि २०८३ बैशाख १६ मा वातावरण विभागमा उजुरी गरिएको थियो । तथापि सञ्चालिका कट्वालले महानिर्देशक सुवेदी समक्ष आफू टसमस नहुने धम्कीपूर्ण भाषा प्रयोग गरेकी थिइन् ।

    बिनाअनुमति धमाधम संरचना निर्माण

    एउटा घरको मात्रै बहाल सम्झौता गरिएको भए पनि अहिले टहराहरु बनाएर विद्यार्थी पढाउने काम गरिएको छ । तथापि अनुमतिबिना बनाइएको भएपनि नियामक निकायलाई पनि गुमराहमा राखेर नयाँ–नयाँ संरचना त्यहाँ निर्माण गरिएका छन् । बिदाको दिनमा लुकीछिपी टहरा बनाइएका छन् ।

    सञ्चालकहरुको दुहुनो गाई बन्दै विशेष विद्यालय
    समानता स्कूलमा विद्यार्थीहरुले प्रतिमहिना २५ हजार रुपैयाँ शुल्क बुझाउने भएपनि त्यसका अतिरिक्त आईएनजीओहरुको पनि राम्रो अनुदान आउने गरेको एक अभिभावकले खुलासा गरेका छन् । त्यसको लोभमा नाम चलेका सेलीब्रेटीहरुलाई सञ्चालक यमुना कटवालले अध्यक्ष बनाउने गरेको गरेकी छन् ।

    पहिला नपुगेको मापदण्ड अहिले कसरी पुग्यो वडाध्यक्षज्यू ?

    २०८० मंसिर २६ गते स्थानीयहरुले उक्त ठाउँमा विद्यालय सञ्चालनका लागि सहमति भएको उजुरी पश्चात् वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले त्रिमूर्ति एकेडेमी नामक स्कूल हटाउन सिफारिस गरेका थिए । उनले उक्त समयमा साँघुरो बाटो, बस्तीमा हुने ध्वनी प्रदूषण र खानेपानीका लागि बोरिङ खन्नसमेत मापदण्ड बिपरीत हुने आधार र कारण खुलाए । तर, अहिले भने त्यो आधार र कारण कहाँ हरायो पत्तो भएन । स्थानीय टोलबासीले प्रश्न गरेका छन् ।

    वडाध्यक्षको आश्वासन पानीको फोका जस्तै

    का.म.न.पा. ३ का वडाध्यक्ष प्रेम थापाले झण्डै ६ महिनादेखि वडाको अधिकार सम्पूर्ण आफनो भएकाले स्कुल हटाइदिने भन्दै पीडित रमेशराज आचार्यलाई पचासौं पटक आश्वासन दिएका थिए । तर, उनको आश्वासन पानीको फोका जस्तै भयो । अहिले आफ्नो पहुँच नपुगेको भन्दै लाचारी ब्यक्त गर्दैछन् । वडाको सम्पूर्ण अधिकार हातमा लिएका वडाध्यक्षले नै यस्तो उत्तर दिएपछि अहिले पीडितहरु कहाँ जाने अलमलमा छन् ।

    के भन्छन् घरधनी अनिस मुडभरी ?

    स्कूललाई घर भाडामा दिएका अनिस मुडभरीसँग छिमकीको सहमतिबेगर नै स्कूललाई घर भाडामा दिनुभएको हो भन्ने विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले भने ‘म ब्यस्त छु पछि कुरा गरौंला ।’ यस विषयमा स्कूलकी सञ्चालक यमुना कटवालसँग सम्पर्क गर्दा सफल हुन सकेन । कामनपा–३ का वडाध्यक्ष प्रेम थापासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् । डायरी एक्सप्रेस साप्ताहिकबाट साभार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार