Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • २ महिनामा अभियान चलाएर कम्तीमा चार–पाँच लाख सदस्य बनाउने योजना छ : राजेन्द्र पाण्डे, नेकपाका नेता


    बुधबार, असोज २१ २०८३
    315
    Shares
    नेपाल फेस
  • ११ मिनेट पाठ
  • २०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका सुपुत्र उहाँ २०३२ सालदेखि नै राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । नेकपा(माले)ले पञ्चायती निर्वाचन उपयोग गर्ने नीतिबामेजिम २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा उम्मेदवार भई थोरै मतले पराजित हुनुभएका पाण्डे २०४४ सालको निर्वाचनमा जिल्ला पञ्चायत धादिङको सभापति बन्नुभएको थियो । बहुदलीय ब्यास्थाको पुनस्थापना पश्चात् २०४८, २०५१, २०५६ र २०७० सालको संसदीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँ २०७४ सालमा प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

    केन्द्रीय सरकारको शिक्षा, स्थानीय विकास मन्त्री हुँदै बागमती सरकारको मूख्यमन्त्रीसमेत बन्नुभएका पाण्डे ४ वर्ष ६ महिना बन्दी जीवन, एक बर्ष भूमिगत र १० वर्षसम्म शिक्षण पेशामा आवद्ध हुनुभएको थियो । उहाँसँग नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन र अन्य दलभित्रका समसामयिक विषयमा नारायणप्रसाद शर्माले गरेको छोटो अन्तर्वार्ताः

    ० नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन सुरु भएको छ । तपाईंले नेपाली कम्युनिस्ट पार्टीको नेताका हैसियतले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

    नेपालको लोकतान्त्रिक आन्दोलनका लागि राणाकालदेखि नै लड्दै आएको पार्टी हो नेपाली काङ्ग्रेस । यो पार्टी पछिल्ला दिनमा गणतन्त्रको पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने कार्यमा पनि लाग्यो । यसकारण सकरात्मक भूमिकाहरु छन् । गत फागुन २१ गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेस पनि नराम्ररी पराजित हुनुपरेको छ । काङ्ग्रेस र एमालेको संयुक्त सरकार भएकै समयमा जेनजी आन्दोलन पनि भयो । त्यो विध्वंशमा राज्यलाई एक खालको धक्का दिन पुग्यो । त्यो समयका नेताहरुको कमीकमजोरी, सत्तालिप्सा र जसरी भए पनि पदमै बस्नुपर्ने प्रवृत्तिका कारण सिंगो देश आक्रान्त भएको छ ।

    अहिले नेपाली काङ्ग्रेससहित पुराना दलहरु संकटको घडीमा छन् । जसले लोकतन्त्र र गणतन्त्रका साथै राजाको शासन अन्तका लागि लडे, उनीहरुप्रति घृणा फैलाउने नयाँ शक्तिहरु देखापरेका छन् । त्यो शक्तिले निर्वाध रुपमा सामाजिक सञ्जालबाट पुराना पार्टीहरु सबै बदमास हुन्, भ्रष्टाचारी र जनविरोधीहरु हुन् भन्दै आफ्ना कुराहरु प्रचार गरिरहेका बेलामा नेपाली काङ्ग्रेसले १५ औं महाधिवेशन सम्पन्न गर्दैछ । जनताकाबीचमा जाने क्रम सकारात्मक छ ।

    ० नेताहरुको कमीकमजोरी, सत्तालिप्सा र जसरी भए पनि पदमै बस्नुपर्ने प्रवृत्तिका कारण सिंगो देश आक्रान्त भएको छ ।
    ० स्थानीय तहको निर्वाचन फागुनमै गराउँछौं भनेर अहिलेको सरकारले भनेको छ ।
    ० अहिले पार्टी खोल्न हौसिएका साथीहरु केही दिनपछि खोजेको एउटा कोठाको बहाल पनि तिर्न सक्तैनन् ।
    ० पार्टीमा विचारको संङ्घर्ष भएन भने छलफल चलाउनुपर्छ ।
    ० दुई महिनामा अभियान चलाएर कम्तीमा चार–पाँच लाख सदस्य बनाउने योजना छ ।
    ० मेरा लागि के हुन्छ भन्ने स्वार्थी, असंगठित र समाजका लागि कामै नलाग्ने शक्तिबाट केही पनि हुँदैन ।
    ० अहिले पार्टी नेताहरुको परिवार नै पार्टीका पक्षमा छैनन् ।
    ० संसारभरि बिक्न सक्ने जनशक्ति तयार गर्नुपर्छ भन्ने लाग्छ ।

    ० महाधिवेशनमा शेरबहादुर देउवा सहभागी नभएपछि पार्टी विधिवतै रुपमा फुट्यो नि हैन ?

    हो, देउवालगायतका नेताहरु सहभागी नहुनु नराम्रो पक्ष हो । सबै नेताहरु समेट्न सक्नुपर्दथ्यो । शेरबहादुर देउवाको घरमा हमला हुँदा पनि काङ्ग्रेसका जिम्मेवार पदाधिकारीहरुले बेठीक भयो भन्न पनि सकेनन् । आफ्नै पार्टीका सभापतिमाथि आक्रमण हुँदा पनि गलत भयो भन्न नसक्नेहरु कसरी पार्टीका नेता हुन सक्छन् ? भन्ने कुरा पनि उठ्यो । आज आएर जुन महाधिवेशन भएको छ, यसले हिजो लोकतन्त्रप्रति प्रतिवद्ध भएका ठूला दलहरु नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी लगायत मधेशकेन्द्रित दलहरु पनि जनताकाबीचमा उभिने र महाधिवेशन आदीको माध्यमबाट आफ्नो गुमेको साखलाई फिर्ता लिने काममा भूमिका निभाउन सकून् भन्ने लाग्छ ।

    कांग्रेसको महाधिवेशनमा उपस्थिति हेर्दा आशा पनि जगाएको छ । यस्तो उपस्थिति हामीले पनि गराउन सक्छौं भन्ने अरु राजनीतिक दलहरुलाई पनि लाग्छ । स्थानीय तहको निर्वाचन फागुनमै निर्वाचन गराउँछौं भनेर अहिलेको सरकारले भनेको छ । यदि त्यही ढंगले अघि बढ्यो भने राम्रो हो । अरु राजनीतिक दलको पनि जोश, जाँगर अघि बढोस् भन्ने शुभकामना दिन चाहन्छु ।

    ० नेपाली कम्युनिस्ट पार्टीले पनि महाधिवेशन गर्न सकिरहेको छैन । फेरि एकाथरी असन्तुष्ट नेताहरु अर्को कम्युनिस्ट केन्द्र बनाउने भन्दै लागिरहेको अवस्था छ । यसलाई कसरी लिनुभएको छ ?

    यो समग्र कम्युनिस्ट आन्दोलनको रोग हो । जसरी भए पनि जति जनाको भए पनि पार्टीमा अध्यक्ष हुनुपर्ने अवस्था बनिरहेको छ । ठूलो पदमा बस्नैपर्ने अवस्था छ । यो रोगले ग्रसित भएर विगतमा पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेकाहरु पनि अर्को पार्टीको नेता हुने रहरमा छन् । पार्टीभित्र वैचारिक र राजनीतिक सङ्घर्ष चलाउने छलफल बढाउनेतर्फ लाग्नुको सट्टा दुई चार जना मान्छे जम्मा गर्ने आदत बनेको छ ।

    पार्टी खोलेर अध्यक्ष भइहाल्ने रोगले कम्युनिस्ट आन्दोलनलाई माथि उठ्न त पक्कै पनि दिंदैन । किनभने १२ वटा कम्युनिस्ट पार्टीहरु छन् । अर्को एउटा थपिएपछि १३ वटा हुन्छन् । अर्को पार्टी खोल्ने जाँगर केही नेतामा पलाएको छ । जुन गलत हो । पार्टीभित्र गलत सिद्धान्त छ, गलत काम भइरहेको छ भने त्यसको विषयमा पार्टीभित्रै बोलेर, लेखेर, कार्यर्तालाई आफूतर्फ आकर्षित गरेर काम गर्नुपर्छ पुनः नयाँ पार्टी जन्माएर के हुन्छ ?

    संग्लो पार्टीलाई टुक्र्याायौं भनेर एमालेका कतिपय नेताहरुले हामीलाई आरोप लगाउँछन् । यस्तो अपजस आइरहेको अवस्थामा फेरि नयाँ पार्टी खोल्ने विषयमा म पटक्कै छैन । राम्रो काम पनि होइन । अहिले पार्टी खोल्न हौसिएका साथीहरु केही दिनपछि खोजेको एउटा कोठाको बहाल पनि तिर्न सक्तैनन् । पार्टीमा विचारको संङ्घर्ष भएन भने छलफल चलाउनुपर्छ ।

    नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन हामीले मंंसिरमा तोकिसकेका थियौं । तर, अहिलेको बर्षातका कारण सदस्यता अभियान राम्ररी चलाउन सकिएन । दुई महिनामा अभियान चलाएर कम्तीमा चार–पाँच लाख सदस्य बनाउने योजना छ । त्यसपछि वडा अधिवेशन गर्नेछौं । आगामी फागुनमा निर्वाचन भयो भने महाधिवेशन सम्भव छैन । जेठमा फेरि प्रदेशको निर्वाचन हुन्छ । त्यसपछि आगामी मंसिरमा राम्रै हैसियतमा महाधिवेशन गर्ने योजनामा छौं ।

    ० नेपाली काङ्ग्रेसमा १८ देखि २८ बर्षसम्मका युवाहरुबाट वडा ईकाइमा पनि अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीमा युवाहरुलाई आकर्षण गराउने के योजना छ ?

    हाम्रा २५ बर्षदेखि ४० वर्षसम्मका युवाहरुलाई पार्टीको सबै तहमा ५० प्रतिशत पु¥याउने हाम्रो लक्ष्य छ । गाउँदेखि केन्द्रसम्म ५० प्रतिशत युवा समेटिनेछन् । त्यहीँभित्र महिला र दलितहरु समेटिनेछन् । तथापि लोकतन्त्रप्रति प्रतिबद्ध दुईवटा कम्युनिस्ट पार्टी, एउटा नेपाली काङ्ग्रेस, मधेशकेन्द्रित दलहरु सबै दलहरुमा युवाको आकर्षण छैन । युवाहरुको आकर्षणका लागि विशेष योजनाका साथ अघि बढ्दैछौं ।

    अहिले पार्टी नेताहरुको परिवार नै पार्टीका पक्षमा छैनन् । अहिले आम नेपालीका नजरमा सेल्फ सेन्टर भएको छ । मेरो लागि के हुन्छ ? भन्ने प्रश्न लिएर हिंड्ने जमातको विकास भएको छ । त्यो सेल्फ सेन्टर जमातका कारण देशको राष्ट्रियता नै गुम्नसक्छ । लोकतन्त्र नै गुम्न सक्छ । मेरा लागि के भएको छ र ? मेरा लागि चाहियो भन्ने कुराले लोकतन्त्र, देश र समाजको रक्षा गर्दैन । मेरो लागि के हुन्छ भन्ने स्वार्थी, असंगठित र समाजका लागि कामै नलाग्ने शक्ति केही पनि हुँदैन । त्यो खालको गलत विचारविरुद्ध पनि युवाहरुलाई प्रष्ट पार्नुपर्दछ ।

    ० अहिले तपाई पुनः मनमोहन मेमोरियल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । संस्थालाई कसरी सुधार गर्ने योजना छ ? अलपत्र मेडिकल कलेजको योजनालाई कसरी अघि बढाउनुहुन्छ ?

    सरकार हाम्रोविरुद्धमा लाग्यो । अभियन्ता हौं भन्नेहरुले पनि हाम्रै विरुद्धमा काम गरे । छिमेकी देश भारतका पश्चिम बंगाल, बिहार, उत्तर प्रदेशमा मात्रै ५१÷५२ करोड जनसंख्या छ । यी ठाउँका धेरै युवाहरु डाक्टर पढ्न चाहन्छन् । तर उनीहरुले राम्रो कलेज पाएका छैनन् । हाम्रो देशमा डाक्टर, इन्जिनियर र आइटी जस्ता विषय पढाउने कलेजको जति विकास गर्न सक्छौं । त्यत्तिकै मात्रामा वैदेशिक मुद्रा भित्र्याउन सकिन्छ । यतिबेला हामीले सलाम खाने जनशक्ति डाक्टर, इन्जिनियर, पाइलट भन्दा अपमान भोग्नुपर्ने जनशक्तिलाई रोजगारीका लागि विदेश पठाइरहेका छौं । हामीले त लेवर सप्लाई गरिरहेका छौं ।

    हामीले २०७० सालमा डाक्टर पढाउन संरचना तयार गरिसकेका थियौं । तथापि छेक्ने काम गरियो । सरकार र केही अभियन्ता भन्नेहरुले पनि छेके । अन्तिममा २०७५ सालमा कानून नै बनाएर छेकियो । जसमा काठमाडौं उपत्यकामा १० बर्षसम्म मेडिकल कलेज खोल्न नदिने भनियो । जुन अर्को बर्ष पुग्दैछ । त्यसपछि यो सरकारसँग अनुरोध गर्नेछौं । बिगतमा जे भए पनि हामी अनुरोध गरी सञ्चालनका लागि तयारीमा रहनेछौं । हामीले त मनमोहन विश्वविद्यालय बनाउने भनेर बागमती प्रदेशमा सबै प्रस्ताव पनि पेश गरिसकेका छौं ।

    प्रदेश सरकारले अध्ययन पनि गरिरहेको छ । उसको रेकर्डभित्र मनमोहन विश्वविद्यालय बनाउनुपर्छ भन्ने नै छ । त्यही अनुसार हामी अघि बढिरहेका छौं । मलाई लाग्छ अबको एक डेड बर्षभित्र मैले भनेका दुईवटै कुराहरु पूरा हुन्छन् भन्ने लाग्दछ ।

    ० नेपालमा विदेशी पाठ्यक्रम पढाएर अभिभावक र विद्यार्थीहरुलाई गुमराहमा राख्ने काम भयो भनेर शिक्षासेवी डा. रुद्रराज पाण्डेले भन्नुभएको छ । त्यस विषयमा के भन्नुहुन्छ ?

    विदेशी विश्वविद्यालयका पाठ्यक्रम पढाउनु भनेको नराम्रो त होइन । स्तरीय पाठ्यक्रम ल्याएर नेपालमा पढाइ सञ्चालन गर्नुपर्दछ । संसारभरि बिक्नसक्ने जनशक्ति तयार गर्नुपर्छ भन्ने लाग्छ । त्यसो त अंग्रेजी भाषा नै हाम्रो होइन । तथापि अंग्रेजी नै पढ्दिनँ भन्दा पनि त चल्नै सकिँदैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार